फेरी अर्काे सहकारीले ठग्यो बचतकर्ताको पौने २१ करोड रुपैयाँ

<p>काठमाडौं । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख रुपैयाँ बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै २ हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रुपैयाँ रकम फिर्ता माग [&hellip;]</p>

काठमाडौं । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख रुपैयाँ बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै २ हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रुपैयाँ रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार चार सय ९६ जनाले निवेदन दिएको बताए ।

‘अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ, अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ ,’ उनले भने ।

गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचतपास बुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ । बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् ।

‘हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ, सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ,’ बचतकर्ता सुमन कुँवरले भने । उक्त सहकारीमा ३७ हजार रकम बचत रहेको उनको भनाइ छ ।

त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताए । ‘सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, ३÷४ दिन कार्यालयमा धाएँ, मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ,’ उनले भने । बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् ।

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ ।

Share News