विकासन्युज

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी

दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निमार्णको काम भइरहेको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । ‘बोलपत्र आह्वान गरेर डिपीआर निमार्णको प्रक्रिया अघि बढिसकेको छ’, उपकुलपति जोशीले भने, ‘हामीले यसै शैक्षिक शत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी काम गरिरहेका छौँ ।’ विश्वविद्यालयले अहिले पाठ्यक्रम निमार्णको काम अन्तिम चरणमा पु¥याएको उनले बताए । ‘मेडिकल कलेजमा पाँच विषयको अनुमति लिनेछौँ तत्काललाई दुई विषयको मात्रै अध्ययन हुन्छ”, उनले भने, ‘अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा छन्, त्यसलाई थप गरेर सुरुवातमा तीन सय शय्याको अस्पताल सञ्चालन हुनेछ ।’ सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । ‘डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ, प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ’, उनले भने, ‘विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउने छन् ।’ मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । यसैगरी मेडिकल कलेजका डीन डा हेमनाथ जोशीले अहिले डडेल्धुरा क्षेत्रीय अस्पतालमा सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताए । ‘अस्पतालको भवन निर्माण भइरहेको छ, अझै आठ/नौ महिना समय लाग्छ’, उनले भने, ‘स्नातक तहको अध्ययनका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र पठाइसकेका छौँ ।’ उनले चिकित्सा शिक्षा आयोगबाट अनुमति पाए आउँदो फागुन/चैतबाट विद्यार्थी भर्ना गर्ने तयारी भइरहेको बताए । रासस

 महानगरको निर्णय र सवारीसाधन व्यवस्थापनमा समस्या

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ । २०८० साल वैशाख २९ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयअनुसार असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ । महानगरपालिकाको यस निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौँमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने जनाउँदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरुले महानगरसँग अनुरोध पनि गरेका छन् । सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौँ छाड्ने यात्रुहरुको सङ्ख्या करिब ७५ हजार हुन आउँछ र भित्रिनेको सङ्ख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णयअनुसार ती यात्रु उपत्यका जुनसुकै स्थानको भए पनि टिकट काट्न बसपार्क पुग्नुपर्ने हुन्छ । सवारीसाधन चढ्न बसपार्क पुग्नुपर्ने हुन्छ । ओर्लिन बसपार्क नै पुग्नुपर्ने हुन्छ । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको बर्बादी र आर्थिक भार पनि बढाउने छ । बसपार्कको क्षमता र सवारीसाधन   सैद्धान्तिक रुपमा बसपार्कमा सवारीसाधनहरु जानुपर्छ, यात्रुहरु बसपार्कबाटै यात्रा गर्नुपर्छ भन्ने विषयलाई नराम्रो भन्न मिल्दैन । तर नयाँ बसपार्कको पार्किङ क्षमता सात सय सवारीसाधन मात्रै हो । महानगरको निर्णयअनुसार लामो, मध्यम र छोटो दूरीमा चल्ने सबै सवारीसाधनहरु बसपार्क भित्र्याउने हो भने पार्किङ गर्ने विषय परको कुरो, चढाउने र ओराल्ने मात्रै गर्न पनि नयाँ बसपार्कले धान्न सक्दैन । सामान्यतया विपी राजमार्ग भएर पूर्व चल्ने सवारीसाधनहरु करिब दुई हजार, पूर्वअरनिको यातायात प्रालिका करिब छ सय, पूर्व चल्ने रात्रि तथा दिवा सेवा करिब दुई सय बल्खुबाट तराई चल्ने सुमो करिब आठ सय, पनौती–धुलिखेलका करिब चार सय, पृथ्वी राजमार्ग चल्ने करिब चार सय, पश्चिम चल्ने करिब सात सय, पासाङ ल्हामु राजमार्गमा चल्ने करिब दुई सय गर्दा करिब करिब पाँच हजार सवारीसाधनहरु हुन आउँछ । बसपार्कको विस्तार र व्यवस्थापन नगरी यही अवस्थामा सबै सवारीसाधनहरु बसपार्क जानैपर्छ भन्नु व्यावहारिक हुँदैन । ट्राफिक समस्या र कोलाहलमय बसपार्क   कोटेश्वर, गौशाला, चावहिल, सुकेधारा, सातदोबाटोले धानिरहेको विपी राजमार्गबाट पूर्व जाने सवारीसाधनहरु, पूर्व अरनिको यातायात प्रालिका बस, पूर्व चल्ने रात्रि तथा दिवा सेवाका बस, बल्खुबाट तराई चल्ने सुमो, पनौती, धुलिखेलका बसहरु करिब १० देखि १४ किलोमिटर चक्रपथ घुमेर बसपार्क जानुपर्दा यसको असर उपत्यकाका सडकमा प्रत्यक्ष पर्ने निश्चित छ । महानगरको यो निर्णय गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि भनिएको छ । तर उल्टै यसले अस्तव्यस्त पार्नेछ । अहिले पनि सहरको कुनै क्षेत्रमा यातायात सञ्चालनमा कुनै समस्या आए दिनभर पूरै उपत्यका असर पर्ने गर्दछ । त्यसलै चक्रपथ मात्रै होइन, काठमाडौँ उपत्यकाका सबै सडक ट्राफिक समस्याले तहसनहस बन्ने देखिन्छ । हजारौँ यात्रु गन्तव्यका लागि सवारीसाधनको खोजीमा भौँतारिनुपर्ने हुन्छ भने ती सवारीसाधनका श्रमिक तथा सवारीसाधनहरु पनि असुरक्षित हुने अवस्था आउने निश्चित छ । टिकट काउन्टर व्यवस्थित गर्नुपर्छ, हटाउने होइन   बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने, कोटेश्वर, कलङ्की, गौशाला, चावहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने निर्णय अव्यावहारिक छ । यो निर्णयले हवाईजहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइँदैन भने जस्तै हुन्छ । यसको असर सबैभन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रालिद्वारा चक्रपथ आसपास रहेका तीन सय टिकट काउन्टर र त्यहाँ काम गर्ने करिब एक हजार पाँच सय श्रमिकको रोजीरोटी खोसिन्छ । हटाउने होइन काउन्टर सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ । कानुनअनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउन्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउन्टर, एक काउन्टर एक टिकट नीति बनाउने, काउन्टरमा एउटै साइजको बोर्ड राख्ने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोसाक लगाएर मात्रै काउन्टरमा काम गराउन आवश्यक छ । त्यस्तै, यात्रुहरुले ठगिनु नपरोस् भनेर काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूची राख्ने, बस छुट्ने समय यात्रु आइपुग्नुपर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई मेसेज गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने गरी सञ्चालन गर्न सकिन्छ । यात्रुहरुको गुनासा तथा सुझावका लागि काउन्टरमा सुझाव पेटिका राख्ने, प्रशासनिक सहायताका लागि प्रहरीको टोल फ्री नं काउन्टरमा राख्ने र जनसरोकारका विषयमा प्रशासन तथा सरोकारवालाहरुसहित सबैको सहभागितामा समस्याहरुको समाधान गर्ने गरी काउन्टरहरुलाई व्यवस्थित गर्न सकिन्छ । वैकल्पिक बसपार्क निर्माणको तयारी  नयाँ बसपार्क अपायक स्थानमा छ । यो बसपार्क कुनै पनि दृष्टिकोणबाट उपयुक्त स्थानमा छैन । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका कोटेश्वर, कलङ्की, बल्खु हो । बसपार्कहरु सहर प्रवेश नाका आसपास हुनुपर्दछ । सहर भित्रिने र बाहिरिने सवारीसाधनहरु सकेसम्म सहर पार गर्नु नपरोस् । तर, नयाँ बसपार्क मुख्य नाकाको ठीक विपरीत दिशामा अवस्थित छ । कलङ्की नाकाबाट बसपार्क करिब आठ किलोमिटर दूरी, बल्खु नाकाबाट करिब १० किलोमिटर दूरी र कोटेश्वर नाकाबाट करिब १४ किलोमिटर दूरीमा रहेको छ । महानगरपालिकाले नयाँ बसपार्कको विकल्प तयार गर्दै जानु पर्दछ । पश्चिमबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि नागढुङ्गा नाका आसपासमा बसपार्क व्यवस्था गर्नुपर्दछ, पूर्वबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनहरुका लागि कोटेश्वरदेखि सल्लाघारी आसपासमा बसपार्क व्यवस्था गर्नुपर्छ । त्यस्तै, दक्षिणकाली नाकाबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि बल्खुदेखि चौभार आसपासमा बसपार्कको व्यवस्था गर्नु पर्दछ । साँखु, नाङ्लेभारे नाका लागि जोरपाटी आसपास बसपार्क बनाइनु पर्दछ । हाल रहेको नयाँ बसपार्कलाई नुवाकोट, रसुवा नाका तथा सिटी बसपार्कको रुपमा व्यवस्थित गर्न सकिन्छ । निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा छ, स्वयम् महानगर र बसपार्क सञ्चालन गरिरहेको कम्पनीको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत हुनुपर्छ । यस निर्णयले कुनै कम्पनीलाई पार्किङ शुल्क र काउन्टर भाडाको आयसँग जोडिएको अनुमान बजारमा धेरैले गरेकाले एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भीर निर्णय गर्न सक्दैन भन्ने भनाइ पनि रहेको छ । बसपार्कको क्षमता वृद्धि र थप संरचना निर्माण नगरी अहिलेकै अवस्थामा यति धेरै सवारीसाधनको व्यवस्थापन गर्न चुनौतीपूर्ण हुनेछ । अन्त्यमा   यी विषयहरु सार्वजनिक सरोकारका विषय हुन् । महानगरपालिका यो महत्वपूर्ण विषयमा गम्भीर र जिम्मेवार हुनु पर्दछ । वैकल्पिक बसपार्क सञ्चालन, टिकट काउन्टर व्यवस्थापन र यात्रुमैत्री बनाउने विषयमा महानगरले मापदण्ड बनाउन जरुरी छ । महानगरले बनाएका मापदण्डहरुलाई व्यवसायी र श्रमिकले इमान्दारीपूर्वक पालना गर्नुपर्छ । तर यात्रु र सवारीसाधन सबैलाई प्रभाव पार्ने निर्णय गर्दा त्यसको असरहरुबारे अध्ययन र सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी गरिएको निर्णय कार्यान्वयन गर्न कठिन हुन्छ । यसले अनावश्यक विवाद ल्याउँछ । सरकारले नागरिकको आवाज सुन्नुपर्छ । सरोकारवालाहरुलाई साथसाथै लिएर समृद्ध र सुन्दर शहर बनाउन लाग्नुपर्छ । रासस (लेखक राई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष हुनुहुन्छ)

असारमा बैंकको कर्जाको ब्याजदर घट्ने

काठमाडौं । वाणिज्य बैंकहरुले असारमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले असारमा ब्याजदर स्थीर राख्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले विकासन्युजलाई जानकारी दिए । यसअघि बैंकहरुले जेठमा ब्याजदर स्थिर राखेका थिए । हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन् । सोही ब्याजदर असारमा लागू हुने छ । महँगी उच्च भएका कारण ब्याजदर स्थीर राख्नु परेको अध्यक्ष केसीले बताए । निक्षेपतर्फ मुद्दतीको ब्याजदर ७.९९ प्रतिशतमा झरिसकेको हुँदा अहिले ब्याजदर कम गर्दा असर पर्ने उनको भनाइ छ । उनका अनुसार असारमा कर्जाको ब्याजदर भने केही प्रतिशत घट्ने छ । ‘असारमा निक्षेपको ब्याजदर स्थीर रहन्छ, कर्जाको ब्याजदर स्वतः घट्दै जान्छ, बैंकहरुले स्प्रेडदर नै घटाउनु पर्छ, स्प्रेडदर २०÷२५ प्वाइन्टले घट्दा कर्जाको ब्याजदर स्वतः घट्छ,’ उनले भने, ‘आधार दर पनि घटिसकेको छ, त्यसको प्रभाव पनि असारमा पर्छ, यसरी नै कर्जाको ब्याजदर घट्छ ।’ उनले तत्काल निक्षेपको ब्याजदर नबढ्ने बताए । यता विकास बैंकहरुले पनि असारमा ब्याजदर स्थीर राख्न सक्ने एक विकास बैंकका सीईओले बताए । असारमा ब्याजदरका विषयमा निर्णय गर्न डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले बुधबार बैठक बस्ने भएको छ । फाइनान्स कम्पनीहरुले पनि असारमा ब्याजदर स्थीर राख्ने भएका छन् । असारमा कर्जा प्रवाह कम हुने भएकाले ब्याजदर स्थीर रहन सक्ने नेपाल वित्तीय संस्था संघले बताएको छ । ब्याजदर सम्बनी निर्णय गर्नका लागि संघको बैठक मंगलबार बस्ने भएको छ ।

सबैका रोजाइमा राराताल, भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या बढ्दो

  मुगु । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ । बाजुराको ज्ञानोदय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएका शिक्षक मदन पौडेलले खत्याड गाउँपालिकाको मसानेसम्म सडक सञ्जाल जोडिएपछि एकै दिनमा रारा आउन सफल भएको बताए । पहिला पनि शैक्षिक भ्रमणमा राराताल आएको स्मरण गर्दै उनले भने, ‘तीन वर्ष पहिले रारामा शैक्षिक भ्रमण हिँडेर आउजाउ गर्दा पाँच दिन लागेको थियो, अहिले गाडीमा दुई दिनमै आउजाउ हुने भयो ।’ उनले १० कक्षामा अध्ययनरत १५ विद्यार्थी र तीन शिक्षक प्रतिव्यक्ति छ हजार खर्चिएर रारा भ्रमणमा आएको बताए। छात्रा जानकी तिमिल्सिनाले रारा घुम्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘राराताल सफा, मनोरम र निश्चल रहेको देखेँ । रारा घुम्न पाउँदा खुसी लाग्यो । ’ भ्रमणका क्रममा वनस्पति, जडीबुटी, चराचुरुङ्गी, माछाका साथै मठमन्दिर देखे पनि त्यसको विवरण र सङ्ग्रहालयको व्यवस्थापन नहुँदा धेरै जानकारी लिन नपाएको गुनासो उनले गरे । भ्रमणमा आउने आगन्तुकले राराको मध्यवर्ती क्षेत्रभित्र पाइने विभिन्न प्रजाति र यहाँको संस्कृतिका विषयमा सूचना लिन सहज होस् भन्ने उद्देश्यले निर्माण भएको सूचना केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठले निकुञ्जभित्र रहेका विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, चराचुरुङ्गी, माछाको विवरण सूचना भवनमा अभिलेख राख्नलाई अर्थ मन्त्रालयबाट रकमको व्यवस्थापन नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बताए । चालु आर्थिक वर्षमा रारातालमा भ्रमण गर्न आउने नेपालीको सङ्ख्या छ हजार सात सय २७ पुगेको छ । विदेशी पर्यटकको सङ्ख्या भने एक सय ७७ रहेको छ । भ्रमण गर्न आउने आगन्तुकबाट ११ लाख ६० हजार दुई सय रूपैयाँ राजस्व जम्मा भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा १० प्रतिशत छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच व्यवसायीक सम्झाैता भएकाे छ । सेफ्स बर्गरसँग बैंकले बैंकका भिसा डेबिट कार्ड प्रयाेगकर्तालाई छुट दिन समझाैता गरेकाे हाे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गरका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

अवैधरूपमा घरमा राखिएको हुचिल बासस्थानमै छोडियो

गोरखा । डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकले जानकारी दिए । हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिदलखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई उसकै बासस्थानमा छाडिएको उनले बताए । ‘हुचिललाई उसको साविकको बासस्थानबाहेक अन्य ठाँउमा छाड्दा आहाराको खोजीमा समय लाग्ने पनि हुन्छ’, वनअधिकृत गायकले भने, ‘यसलाई सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस् भनेर पनि प्राकृतिक बासस्थानमा छाडिएको हो ।’ बरामद पक्षीको जीवनरक्षाका लागि प्राकृतिक स्थानमै लगेर छाड्नका लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले बरामद भएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडेको हो । वडाध्यक्ष दिलीपनारायण थापा, स्थानीयवासी, प्रहरी र पत्रकारको रहोवरमा हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडिएको वनअधिकृत गायकले जानकारीले दिए । ‘हुचिलको मुख्य आहारा खरायो, न्याउरी मुसा, मुसालगायत हो’, उनले भने, ‘दिनभरि आराम गर्ने र रातको समयमा आहाराको खोजीमा निस्कने र आहारा गर्ने गर्दछ ।’ नेपालको पहाडी भेगमा पाइने प्रजातिको हुचिल तराई भेगमा पाइने हुचिलभन्दा ठूलो हुने वनअधिकृत गायकको भनाइ छ । नेपालमा पाइने २३ प्रजाति हुचिलमध्ये नौ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए। नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ । हुचिलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको वनअधिकृत गायकले जानकारी दिए । रासस

त्रिविले भन्यो : समायोजन हुन इच्छुक क्यापसले निवेदन पेस गर्नु

काठमाडौं ।  त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस  गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको हो । सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।