मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज पहिलो पटक भैरहवामा अवतरण

<p>काठमाडौं । मलेशियाबाट आएको नेपाल वायुसेवा निगमको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । २०७९ को वैशाख १५ गते औपचारिक रुपमा उद्घाटन गरिएको सो विमानस्थलमा निगमले पहिलो पटक उडान गरेको हो । १५८ सिट क्षमताको जहाजले मंगलबार ९० जना यात्रु लिएर भैरहवा आएको थियो । १ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स [&hellip;]</p>

काठमाडौं । मलेशियाबाट आएको नेपाल वायुसेवा निगमको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । २०७९ को वैशाख १५ गते औपचारिक रुपमा उद्घाटन गरिएको सो विमानस्थलमा निगमले पहिलो पटक उडान गरेको हो । १५८ सिट क्षमताको जहाजले मंगलबार ९० जना यात्रु लिएर भैरहवा आएको थियो ।

१ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो । मलेसियाबाट आएका ३० जना यात्रुहरूलाई भैरहवा अवतरण गराएर ६० जना यात्रु लिएर निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो । तर हाल मलेसिया–भैरहवा ३१ हजार र मलेशिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ ।

निगमले पहिलोपटक मलेशिया–भैरहवा उडान सुरू गरेपछि पर्यटनमन्त्री सुदन किराती आफैँ यात्रुहरूको स्वागतका लागी भैरहवा पुगेका  थिए ।

सातामा एउटा उडान

निगमले सुरुवाती चरणमा मलेसिया भैरहवा उडान सातामा एक वटा गर्ने तयारी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले सुरुवाती चरणमा एउटा उडान गर्नेभन्दै आवश्यकता अनुसार उडान थप गरिने बताए ।

उनका अनुसार मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

Share News