पार्ले एग्रोको बि-फिज नेपाली बजारमा सार्वजनिक, माल्टको स्वादमा पहिलो पटक चिसो पेय पदार्थ
काठमाडौं । भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले नयाँ पेय बि-फिज नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याउको स्वादमा यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो । यो सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ । बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो भने अब कम्पनिले बी फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउने बताएको छ । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको छ । पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भन्छीन्, ‘पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहन्छ। हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं, जुन हाल बी फिजले गर्छ। ३० रुपेयाँबाट नै यसको मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’ पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनि साउथ एसियन वेभरेजेजसँग सहकार्य गर्दै छ। साउथ एशियन बेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बि फिजको वितरण गर्नका लागि तयार रहेको बताएका छन् ।
‘सेयर र घरजग्गामा कडाइ गरौं, बैंकहरु ओभर क्यापिटालाइज्ड भए’
काठमाडौं । पू्र्व अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर र घरजग्गामा कडाइ गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । शोधान्तरमा स्थितीमा सुधार नभएको र मुद्रास्फीति ८ प्रतिशतको नजिक रहेको बताउँदै उनले भने सतर्क हुनु पर्ने बताए । ‘अहिले पनि बैकहरु ओभर क्यापिटालाइज्ड भएका छन्, अब ऋण लगानी गर्नुस् निक्षेप उठाउनुस्, पूँजी पुगिसकेको छ, सेयर बजार र घरजग्गामा कडाइ गरौं,’ उनले भने । प्रत्येक वर्ष ३० प्रतिशतले बिजनेश बढ्दा पनि बैंकरहरु खुशी नभएको उनी बताउँछन् । साथै आफूले प्रयास गरेको भएपनि बैंक सञ्चालक र ब्यापारीहरु छुट्याउनु पर्ने उनको भनाइ छ । उनले बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने बताए । ‘बैंकका मालिक र बिजनेस म्यान छुट्याउनु पर्छ, मैले प्रयास गरको हो तर सम्भव भएन, अब आवश्यक छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर एकल अंकमा र कर्जाको ब्याजदर न्यूनतम दोहोरो अंकमा राख्नुपर्छ ।’ उनले रिफाइनान्समा पैसा बढाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नियमन राष्ट्र बैंकले गर्न नहुने उनको भनाइ छ । राष्ट्र बैंकले लाइसेन्स दिएर पनि लघुवित्तको नियमन गर्न नसकेको बताए । ‘सिआरआर सीडीलाई चलाउनु हुँदैन, सस्तो लोकप्रियताका लागि काम गर्नु हुँदैन, आफ्नो जिम्मेवारी के हो भन्ने बारे सोच्नु पर्छ, अर्कोको चिन्ता गर्नु हुँदैन,’ उनले भने ।
’माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ
काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ । विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ। संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन्।
ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ : पूर्व गभर्नर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले ठूला व्यवसायीहरुले अर्बौं रकम घरमै राख्ने गरेको बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रीले यस्तो बताएका हुन् । ‘ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ, उहाँहरुले बैंकिङ्ग प्रणालीमा रकम नपठाउँदा तरलता अभाव भयो, अब तरलता सहज गर्नका लागि सबै रकम प्रणालीमा ल्याउनु पर्छ,’ उनले भने । उनले ठूला व्यवसायीले अर्बौं रकम घरमा राखेर तरलता अभाव श्रृजना गरेको बताए । उनका अनुसार उत्पादन नहुने तर मूल्यवृद्धि बढ्ने अवस्था रहेको छ । अर्थतन्त्रमा साढे ६ खर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको उनको भनाइ छ । ‘बोरामा तौलिएर भ्रष्टाचार हुन्छ रे, ६० प्रतिशत व्यापार भारतसँग भइरहेको बेला भारतसँगको विनिमय दर पेगलाई हटाउनु पर्छ भन्ने सुनिन्छ, त्यसको लागि आन्तरिक रुपले उत्पादनमा बलवान् हुनु पर्छ,’ उनले भने, मुद्दती निक्षेपमा ६० प्रतिशत बचत छ, यो रकम चलायमान गर्नु पर्छ ।’ युक्रेनबाट आएको भटमासमा गरिएको लगानी पनि कृषिमा गरिएको लगानी भनेर वितरण भइरहेको उनको भनाइ छ ।
उच्च तापक्रमका कारण करोडौँको ड्रायगन कुहियो
पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । तीन पटक (लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन् । यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पुर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रायगन क्षति गरेको छ । ‘पहिलो पटक सुरु गरेको खेतिमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो’, तामाङले भने । ड्रायगनको बोट पहेँलिनु, फल कुहिँनुले पहिलो पटक मै नराम्रो झट्का लागेको उनले बताए । ‘अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ । पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्छ’, पूर्व वडाध्यक्ष तामाङले भने । पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रायगनका बोटमा क्षति भएको छ । अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन् । लिम्बूले यस पटकको घाम र हावाले रू १५ लाख बराबरको ड्रायगन कुहिएको जानकारी दिए । फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मैसमका कारण चाउरिएर साना दाना लागेका उनले बताए । एक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बूको भनाइ थियो । ‘एक पटकको लगानीले २५ वर्षसम्म उत्पादन दिने गरेको छ । सुरुमा केही समस्या भए पनि पछि सामान्य हेरचाहा गरे राम्रो उत्पादन हुन्छ’, उनले भने । सुनवर्शी नगरपालिका–१ मा सञ्चालित तुर्छा ड्रायगन फ्रुट फर्ममा १५ देखि २० लाख रुपैयाँ बराबरको फुल्दै गरेको ड्रायगनका फल बोटमै ओइलिएर खसेका फर्मका सञ्चालक गणेश राईले बताए । लागतार एक हप्तासम्म लागेको चर्को घाम र बढ्दो गर्मीका कारण तीन लटसम्मका फल कुहिएको उनले बताए । मोरङ गछियामा व्यावसायिक ड्रायगन खेती गर्दै आएका टिएन तामाङको फर्ममा चारदेखि पाँच लाख बराबरको ड्रायगन कुहिएको छ । सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासि लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो । पूर्वी नेपालमा पहिलो पटक ड्रायगन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए । आफूले सञ्चालन गरेको तर्जुमा ड्रायगन फ्रुट फर्ममा मात्रै पाँच /सात लाखको फल कुहिएर झरेको उनको भनाइ थियो । ‘ड्रायगनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ । यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्ने गर्छ । ड्रायगनमा फूल फूल्ने, फल लाग्ने र फल पाक्ने क्रम सगसँगै हुन्छ । सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ’, घलेले भने । उनका अनुसार फल पाक्न सुरु भएपछि १९ हप्तासम्म प्रत्येक एक हप्ताको फरकमा फल टिप्न सकिन्छ । ड्रायगन फलको नेपालमा अत्यधिक माग छ । खुल्ला सिमानाका भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आएको ड्रायगन फ्रुटले नेपाली बजार चलेको छ । बाहिरबाट आयात हुने ड्रायगन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रायगनले बजार नपाउने किसानको भनाइ छ । नेपाली ड्रायगनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरु बताउँछन् । पूर्वमा ड्रायगन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन् । नेपालमा ड्रायगन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो । चर्को घामका कारण ड्रायगनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या आउन थालेको किसानले गुनासो गरेका छन् । ड्रायगन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ । साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ ।रासस
सानिमा जिआईसीको सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो । नवर्निवाचित सञ्चालकहरुमध्ये संस्थापक सेयरधनीहरुको तर्फबाट कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवालले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) ले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् । काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसैगरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित भएको छ । साथै, कम्पनीले आफ्नो् व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।
पुर्व गभर्नरको सुझाव : सरकारले गलत गरिरहेको छ, हस्तक्षेप गर्नुस्
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलले सरकारले गलत गरिरहेकाले मौद्रिक नीति मार्फत् हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर रावलले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गएकाले सन्तुलित मौद्रिक नीति आवश्यक हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले अहिलेको समयमा सन्तुलित मौद्रिक नीति ल्याउनु पर्छ, हस्तक्षेपकारी भुमिका खेल्नु पुर्छ, अन्तर्राष्ट्रिय र आन्तरिक वातावरणको अध्ययन गरेर मौद्रिक नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘शोधान्तर स्थिति चापमा छ, मुद्रास्फीति बढेको छ भने विस्तारित मौद्रिक नीति आवश्यक हुन्छ तर, अहिले त्यस्तो आवश्यक छैन ।’ उनले अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्ने बजेट नल्याएको उनको भनाइ छ । अर्थमन्त्रीको काम करका विषय चलाउने काम मात्रै भएको उनको भनाइ छ । ‘आज प्याजको पैसामा भ्याट लगाएको छ, अर्थमन्त्री कर मात्रै हेर्छन्, उत्पादन बढाउन तर्फ लाग्नु पर्नु हो तर, करका विषय चलाउने काम मात्रै भयो,’ उनले भने । उनले मर्जर एफपिओमा कर लगाउनु जायज नभएको बताए । यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्ने उनको भनाइ छ । साथै, राष्ट्र बैंकको पनि यस्ता मुद्धामा भूमिका हुनु पर्ने उनले बताए । ‘मर्जर एफपिओमा कर लगाउनु जायज होइन, यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्छ, यस्तो मुद्दामा राष्ट्र बैंकको भूमिका हुनु पर्छ, अडान लिन सक्नु पर्छ, तपाईले जित्नु भएको छ, यस्ता विषयमा लड्नुस्,’ उनले भने ।
वर्षा बाधक बन्दा नेपाल र भारतबीचको खेल रद्द
काठमाडौं । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन । यस खेल रद्द भएसँगै नेपाल र भारत ‘ए’ ले समान एक/एक अङ्क बाँडेका छन् । अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।