पुर्व गभर्नरको सुझाव : सरकारले गलत गरिरहेको छ, हस्तक्षेप गर्नुस्
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलले सरकारले गलत गरिरहेकाले मौद्रिक नीति मार्फत् हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर रावलले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गएकाले सन्तुलित मौद्रिक नीति आवश्यक हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले अहिलेको समयमा सन्तुलित मौद्रिक नीति ल्याउनु पर्छ, हस्तक्षेपकारी भुमिका खेल्नु पुर्छ, अन्तर्राष्ट्रिय र आन्तरिक वातावरणको अध्ययन गरेर मौद्रिक नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘शोधान्तर स्थिति चापमा छ, मुद्रास्फीति बढेको छ भने विस्तारित मौद्रिक नीति आवश्यक हुन्छ तर, अहिले त्यस्तो आवश्यक छैन ।’ उनले अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्ने बजेट नल्याएको उनको भनाइ छ । अर्थमन्त्रीको काम करका विषय चलाउने काम मात्रै भएको उनको भनाइ छ । ‘आज प्याजको पैसामा भ्याट लगाएको छ, अर्थमन्त्री कर मात्रै हेर्छन्, उत्पादन बढाउन तर्फ लाग्नु पर्नु हो तर, करका विषय चलाउने काम मात्रै भयो,’ उनले भने । उनले मर्जर एफपिओमा कर लगाउनु जायज नभएको बताए । यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्ने उनको भनाइ छ । साथै, राष्ट्र बैंकको पनि यस्ता मुद्धामा भूमिका हुनु पर्ने उनले बताए । ‘मर्जर एफपिओमा कर लगाउनु जायज होइन, यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्छ, यस्तो मुद्दामा राष्ट्र बैंकको भूमिका हुनु पर्छ, अडान लिन सक्नु पर्छ, तपाईले जित्नु भएको छ, यस्ता विषयमा लड्नुस्,’ उनले भने ।
वर्षा बाधक बन्दा नेपाल र भारतबीचको खेल रद्द
काठमाडौं । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन । यस खेल रद्द भएसँगै नेपाल र भारत ‘ए’ ले समान एक/एक अङ्क बाँडेका छन् । अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।
कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति
धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए । स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा एक करोड रुपैयाँ बढीको क्षति भएको उनले जानकारी दिए । प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए । उनले समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उनको भनाइ थियो ।
नवलपुरमा चौधरी ग्रुपले खोल्यो नयाँ गल्फ रिसोर्ट मिराया
काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने विश्वास गरिएको हस्पटालिटीले जनाएको छ । अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्कभित्र गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन् । साथै, शाश्वतधाम दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुने विश्वास कम्पनीको छ । ‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’ यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको हस्पिटालिटीले जनाएको छ । मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ । मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्तगर्न सक्ने छन् । रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरु प्नि रिसोर्टमा छन् । यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचिभएका मानिसहरुका लागि पनि मिराया उत्कृष्ट गन्तब्य बन्ने विश्वास ग्रुपले जनाएको छ। मिरायागल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउँने अतिथी वा उनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित रहेको कम्पनीले जनाएको छ। रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्प यहाँ उपलब्ध छन् । काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । यो भगवान बुद्धको जन्म स्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ । मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ । रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ । आध्यात्मिक अनुभव खोज्नेहरूकालागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनि उपलब्ध गराउँछ ।
किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए । अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे । उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए । उनले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताए । करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने उनको भनाइ छ । अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए । उनले सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए । उनले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए । उनले भने,‘ ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो । कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’ उनले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरुलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताए। नेपाली किसानहरुले ढुक्क भएर उत्पादन बढाउन उनले आग्रह गरे ।
अब माइक्रोबस र जीप चढ्न नयाँबसपार्क जानुपर्ने
काठमाडौं । के तपाई काठमाडौंभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबुस्थित नयाँबसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ । सो व्यवस्थासँगै अब काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने झण्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन् । रातका समयमा जुन ठाउँमा पार्किङ गरेपनि यात्रु चढाउनका लागि नयाँबसपार्कभित्र पुग्नुपर्ने हुन्छ । नयाँबसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ । लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माण गर्ने काम भइरहेको बताउँछन् । ‘नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ,’ उनी भन्छन् । यस्तै, जीप तथा माइक्रोबसलाई नयाँबसपार्क भित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि माइक्रोबस तथा जीप समन्वय समिति लागेको छ । समितिले गत जेठ ३० गते पत्रकार सम्मेलन गरी काठमाडौँका विभिन्न क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्य काठमाडौं महानगरपालिकाले गत जेठ १९ गते लामो, मध्यम तथा छोटोदूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको बताउँछन् । ‘स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन,’ उनी भन्छन् । यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । असार १ देखि सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उनले यात्रुलाई आग्रह गरे । हाल काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, वुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका छन् । संयोजक आचार्य नयाँबसपार्कभित्रबाट माइक्रो बस तथा जीप सञ्चालन गर्नका लागि लोत्से बहुृउदेश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताउँछन् । ‘नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउनका लागि आवश्यकपर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ,’ संयोजक आचार्य भन्छन् । नयाँ बसपार्कबाट माइक्रोबस तथा जीप सञ्चालन गर्दै गर्दा यात्रुहरुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न उहाँले महानगरपालिकासँग आग्रह गरे । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौंभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिका लागेको बताउँछन् । ‘काठमाडौं महानगरपालिकाले लामो तथा छोटोदुरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्क निर्माण गरी उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ,’ उनी भन्छन् । ‘बसपार्कभित्र सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने उनको भनाइ छ ।’ काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता रहेको छ । रासस
चर्को खडेरीले सुके पानीका मुहान, १ गाग्री पानीका लागि १ घण्टा हिँडनु पर्ने
गलेश्वर । चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् । पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन । लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको बताउँछन् । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका ७४ वर्षीय डम्मरबहादुर सिउथानी मगर दुई दशकअघिसम्म गाउँको जरुवामा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले घर बनाएको झल्झली सम्झन्छन् । सोही गाउँपालिका वडा नं ३ रुमका ७६ वर्षीय बलबहादुर विकलाई पनि घरको सिरानमा रहेको पाखो र डहरे खोलाको छेउमा रहेका दुईवटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको याद छ । उनका अनुसार आजभोलि शिरानको पाखोमा न पानीको कुवा छ न त डहरेखोलामा पोखरी नै छन् । वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताए । ‘लामो खडेरी र चर्को गर्मीका कारण पानीका मुहान सुक्दै गएका छन् । अबको चार महिना खानेपानीको हामीलाई निकै सकस हुन्छ’, उनले भने । बेनपा–६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन् । केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खासगरी विसं २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा टीकाबहादुर पुनले बताए । ‘भूकम्पका साथै दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पानीका मूल सुक्दै गएपछि यहाँ समस्या उत्पन्न भएको छ । मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्’, उनले भने । कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभइ, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ । उनीहरुका अनुसार वनजङ्गल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका वातावरण संरक्षणकर्मी बताउँछन् । ‘सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्’, थानीय डिलबहादुर सापकोटाले भने । यही गतिमा विकासका नाममा अनियन्त्रित रुपमा सडक खन्दा केही वर्षमा भूक्षयको समेत जोखिम बढ्ने उनले बताए । उनका अनुसार विकासका नाममा मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन् । चिन्तामा जेठो पुस्ता टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति चिन्तित छन् । पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ । वनजङ्गल, डाँडाकाँडामा जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप बढेका छन् भने गाउँ, बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी चलेका डोजरले सडक निर्माण भएर यातायातको सुविधा विस्तार भए पनि पानीका मुहान सुकेपछि खानेपानी बोक्न सास्ती हुन थालेको बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए । उनका अनुसार डोजरले वनजङ्गल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान, झरना र कुवासमेत नासिएका छन् । ‘डोजरले जथाभावी सडक खन्दा पानीका प्राकृतिक मुहान सङ्कटमा परेको छन् । कुवा, झरना र जलुकेनी केही रहेनन्, डोजरले सबै सक्यो, यस्तै अवस्था भइरहने हो भने अबका केही वर्षमा नै खानेपानीको हाहाकार उत्पन्न हुन्छ’, उपाध्यायले भने, ‘बरु सडक घुमाउरो भए पनि केही हुँदैन तर पानीका मुहान भने बचाउन आवश्यक छ ।’ गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन् । लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १८ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । डोजरको रजगजले नासियो जल डोजरका कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन् । माईथान मन्दिर नजिकै रहेका चार वटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँमा खानेपानीको समस्या भएको स्थानीय इन्द्रमति फगामीले बताए । गाउँमा रहेका पानीका मुहान सुक्न थालेपछि खोलाको पानी पिउनुका साथै टाढा रहेका पानीका मुहानमा पानी लिन जानुपर्ने बाध्य रहेको उनको भनाइ थियो । ‘तीन–चार वर्षअघिसम्म कलकल बग्ने ढोडेनी खोलाको पानी अहिले सुकेको छ । माछा, भ्यागुता र चेपागाँडा कहिल्यै नटुट्ने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा कमिला हिँड्न थालेका छन्’, बेनी नगरपालिका–१ अर्जमका तीलाबहादुर थापाले भने । जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको उनको भनाइ छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन् । ‘डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, छाप, घतान, पात्लेखेतलगायतका गाउँमा पनि खानेपानीमा मुहान सुकेका छन्’, वास्बोटकी यमुना आचार्यले भने । पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको उनको भनाइ थियो । डोजरका कारण मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान सङ्कटमा परेका स्थानीयले बताएका छन् । रासस
जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको छ : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको बताएका छन् । ईप्पानको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले विद्युत विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहेको पनि बताएका हुन् । ढकालले नेपालमा कुल बिजुली उत्पादनमा ५० प्रतिशत भन्दा बढी निजी क्षेत्रको सहभागिता रहेको पनि बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा बंगलादेशसम्म विद्युत व्यापारको बाटो खोलेको र व्यापारमा पनि सहजीकरणको वातावरण सिर्जना भएको बताएका छन् । ‘अहिले विद्युतका विकासकर्ता समस्यामा छन्, पीपीए, ट्रान्समिसन लाइन समयमा नहुँदा विद्युत खेर जाने लगायतका समस्याहरू आइरहेका छन्, यो समस्या तत्काल समाधान गरी विद्युतीय विकासको पूर्वाधारहरू तयार गर्न आवश्यक छ,’ उनले भने । यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न वैकल्पिक उपाय भनेकाे उर्जा रहेको बताएका छन् । उनले विद्युतीय क्षेत्रमा देखिएका समस्याहरूको समाधानको निमित्त सरकारको ध्यान केन्द्रित हुनुपर्ने पनि बताए । नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिद्युत किन्ने सम्झौता हुनु निकै ठूलो उपलब्धिमूलक विषय रहेको उनको भनाइ छ । पीपीए खुल्ला गरेको खण्डमा खर्बौं बराबरको विदेशी लगानी पनि भित्रिन सक्ने अग्रवालले जानकारी दिए । ऊर्जा उत्पादकहरू विद्युत व्यापारमा सक्षम रहेको र देश सम्वृद्धिको आधार जलविद्युत भएकाे अध्यक्ष अग्रवालकाे भनाइ छ ।