काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलले सरकारले गलत गरिरहेकाले मौद्रिक नीति मार्फत् हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर रावलले यस्तो बताएका हुन् ।
पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गएकाले सन्तुलित मौद्रिक नीति आवश्यक हुने उनको भनाइ छ ।
‘राष्ट्र बैंकले अहिलेको समयमा सन्तुलित मौद्रिक नीति ल्याउनु पर्छ, हस्तक्षेपकारी भुमिका खेल्नु पुर्छ, अन्तर्राष्ट्रिय र आन्तरिक वातावरणको अध्ययन गरेर मौद्रिक नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘शोधान्तर स्थिति चापमा छ, मुद्रास्फीति बढेको छ भने विस्तारित मौद्रिक नीति आवश्यक हुन्छ तर, अहिले त्यस्तो आवश्यक छैन ।’
उनले अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्ने बजेट नल्याएको उनको भनाइ छ । अर्थमन्त्रीको काम करका विषय चलाउने काम मात्रै भएको उनको भनाइ छ ।
‘आज प्याजको पैसामा भ्याट लगाएको छ, अर्थमन्त्री कर मात्रै हेर्छन्, उत्पादन बढाउन तर्फ लाग्नु पर्नु हो तर, करका विषय चलाउने काम मात्रै भयो,’ उनले भने ।
उनले मर्जर एफपिओमा कर लगाउनु जायज नभएको बताए । यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्ने उनको भनाइ छ । साथै, राष्ट्र बैंकको पनि यस्ता मुद्धामा भूमिका हुनु पर्ने उनले बताए ।
‘मर्जर एफपिओमा कर लगाउनु जायज होइन, यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्छ, यस्तो मुद्दामा राष्ट्र बैंकको भूमिका हुनु पर्छ, अडान लिन सक्नु पर्छ, तपाईले जित्नु भएको छ, यस्ता विषयमा लड्नुस्,’ उनले भने ।