हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो । ‘नेपालमा हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर ज्यादै महँगो रहेकाले यही अवस्थामा भ्याटसमेत थप्दा भाडादर महँगो भई पर्यटक आवागमन नै घट्ने, नेपालमा भाडादर महँगो तथा सीमा नजिक हुँदा बागडोगरा, गोरखपुरलगायतका हवाईमैदान रोज्ने सम्भावना रहेको छ’, अध्यक्ष थापाले भने । सरकारले १० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा उक्त निर्णयले गम्भीर असर पर्ने उनको भनाइ छ । नेपालमा मात्र भ्याट लगाउँदा नेपालका ट्राभल एजेन्सीले जारी गर्ने टिकट महँगो हुने र अनलाइन तथा विदेशबाट टिकट लिँदा सस्तो पर्ने भएकाले धेरै टिकट विदेशबाट लिने र विदेशी मुद्रा आर्जन गुम्नुका साथै ट्राभल एजेन्सीले दिएको रोजगारी र व्यवसायीसँग सरकारले पाइरहेको कर गुम्ने खतरा बढेको नाट्टाले जनाएको छ । नेपाली नागरिक विदेश घुम्न जाँदा यात्रुले पाएको विदेशी मुद्राको सहुलियतबाटै प्याकेज टुर खरिद गर्नुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने नाट्टाको माग छ । भेटमा अर्थमन्त्री डा महतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीलाई समस्या नआउने तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
उदयपुरको ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । समग्रमा पालिकाभरिका योजना एकीकृतरूपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिने उनको भनाइ छ । पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए । गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत १८ करोड, विशेष अनुदानतर्फ एक करोड नौ लाख र समपूरक अनुदान पूँजीगततर्फ २६ करोड बजेट विनियोजन गरिँदै छ । चालु आवको तुलनामा आगामी आवका लागि दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् । रासस
स्कुल जाने बाटो पहिरोले छेकेपछि विद्यार्थीले पढ्न पाएनन्
फुङ्लिङ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराेका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराेले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको । जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए । सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिराेका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ । सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए । बाढीपहिराेका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराेले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन् । एक जनाको सोही दिन शव फेला परेको थियो । सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो । एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । रासस
धुलिखेल नगरपालिकाको बजेट एक अर्ब १५ करोड
काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरले बुधवार तेह्रौँ नगर सभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ६७ करोड ६५ लाख ३२ हजार रुपैयाँ रहेको छ भने पुँजीगत खर्चतर्फ ४६ करोड ७९ लाख ६८ हजार रुपैयाँ उल्लखे छ । वित्तीय व्यवस्थातर्फ ७० लाख रुपैयाँ विनियोजन भएको छ । चालू आव २०७९/८० मा एक अर्ब ३५ करोड रुपैयाँ अनुमान गरिएकोमा आर्थिकमन्दीका कारण लक्ष्यअनुरुप राजस्व सङ्कलन हुन नसकेकाले कूल बजेट एक अर्ब २२ करोड २५ लाख रुपैयाँ कायम गरिएको जनाइयो । चालु आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताइयो । नगरप्रमुख ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्तअल्पता मुक्त नगर, दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने घोषणासमेत गरेका छन् । कार्यक्रममा नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइ घरमै औषधि पु¥याउने योजना बनाइएको छ । साथै ‘काभ्रे हाइपरटेन्सिभ क्यास्केड केयर’ कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइने ब्याञ्जुले बताए । यस्तै नगरसभाले धुलिखेल नगर अस्पताल सञ्चालन, स्वास्थ्य पर्यटन गन्तव्य, रोगविरुद्धको चेतना व्यक्ति व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहु–क्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बिमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य–हाम्रो सरोकार, स्वास्थ्य सहर, धुलिखेल नगर, धुलिखेल नगर, धुवाँमुक्त सहर, विपद्मा नगरको साथ, अत्यावश्यकीय औषधि तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालनको घोषणा गरेको छ । यसैगरी शिक्षामा स्वउत्प्रेरित शिक्षकले मात्र सिकाउने कार्यक्रमलाई प्राथमिकता, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था, सकारात्मक प्रतिस्पर्धाको वातावरण, शिक्षकको व्यवस्थापन कार्य र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गरी समग्र शैक्षिक उपलब्धिको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिइने ब्याञ्जुले बताए । ‘धुलिखेलका खेलाडी सधैँ अगाडि’ भन्ने नारालाई युवा तथा खेलकुद कार्यक्रम प्रभावकारी बनाइने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशितालगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ, महिला पुरुष कोही पनि हिंसामा नपरौँ भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा गरिएको छ । यस्तै कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धमा देशकै नमूना सिकाइ तथा व्यवस्थापकीय केन्द्रको रुपमा विकास गर्ने, अपाङ्गतामैत्री नगर घोषणाका लागि पदमार्ग निर्माण तथा संरचनालाई अपाङ्गमैत्री बनाउन जोड दिइने उल्लेख गरिएको छ । बाल अधिकारको संरक्षण तथा आपत्कालीन अवस्थामा उद्धार तथा संरक्षणको लागि वडा नगर बाल संरक्षण कोष सञ्चालनलाई निरन्तरता, जन्मदर्तालाई नै पहिलो आधार मान्ने कार्यलाई प्रभावकारी बनाइने, ‘धुलिखेलको आवाज–छुवाछुतमुक्त समाज’, आर्थिक विकासको आधार उद्यमशीलता र रोजगार, मेयर गरिबी निवारण कार्यक्रम, उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा भन्ने कार्यक्रम घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा ‘एक घर–एक धारा, नगर क्षेत्रभित्रका सबै खानेपानी आयोजनाको संरक्षण, सञ्चालन र मर्मतसम्भार तथा महसुल व्यवस्थामा एकरुपता कायम गर्ने समेटिएको छ । सडक पूर्वाधारअन्र्तगत नियमित मर्मतसम्भार दिगो सडकको आधार भन्ने अभियान पूरा गर्ने, अन्य पूर्वाधार, भवन आवास तथा सहरी विकासअन्तर्गतका कार्यक्रम, प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कम्तीमा एक वडा एक आयोजना, पर्यटन विकास, कृषि विकास, पशुपन्छी विकास, गरिबी न्यूनीकरण, श्रम, रोजगारी तथा उद्यम विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा विभिन्न योजनासहितको बजेट विनियोजन भएको छ । रासस
हिमालयन बैंकका ६ जना संस्थापकले एकैचोटि पौने २२ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ६ जना सेयरधनीहरुले पौने २२ लाख कित्ता सेयर बेच्न लागेका हुन् । विभिन्न संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक गिरेन्द्रमान सिंह श्रेठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको १५ लाख ९० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, राम प्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता, निता गुरुङको ९ हजार ३५९ कित्ता र प्रकाश तयालको ३ लाख ३३ हजार ३४८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ ।
सञ्चालकको भत्ता वृद्धि गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत जेठ ३२ गते बसेको चौंथो वार्षिक साधारणसभा असार २९ गते बसेको काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापकमध्येबाट ५ जना, सर्वसाधारणबाट १ जना र स्वतन्त्रबाट १ जना गरी ७ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीका सञ्चालकहरुको कार्यकाल ४ वर्ष रहने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
अभियान लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितिको असार ६ गते बसेको बैठकले असार २८ गते पनौती काभ्रेमा बिहान ११ बजेसाधारसभा बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताप पनि पारित गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि असार १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
भद्रकालीका पसलहरु असार १० गतेदेखि बन्द
काठमाडौं । भद्रकाली क्षेत्रमा सञ्चालनमा रहेका पसलहरु बन्द गरिने भएको छ । खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरले पानी लगायतको व्यवस्थापन नगरेसाँ पसलहरु बन्द गर्ने निर्णय गरेको हो । बिहीबार एक सूचना प्रकाशन गरी खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरका पसलहरू असार १० गतेदेखि बन्द गर्ने प्रोप्राइटर श्याम कुँवरले जानकारी दिए । पानी, बत्ति तथा ढल व्यवस्थापनको लागि अर्काे सूचना प्रकाशित नहुँदासम्म पसल कवलहरू बन्द रहने उनले बताए । उनका अनुसार संचालित पसलहरूले सोही अनुसारको व्यवस्थापन गर्न समेत उनले अनुरोध गरेका छन् ।