ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
जानकी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ । प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आए पनि अस्पतालको विकासका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान जान सकेको छैन । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिनकुमार श्रेष्ठका अनुसार प्रदेशभरिका प्रहरी कर्मचारी बिरामी हुँदा सिधै काठमाडौँ गएर उपचार गराउन नपाउने व्यवस्था छ । गम्भीर प्रकृतिका बिरामीको उपचार उक्त अस्पतालमा सम्भव नभएको अवस्थामा मात्र काठमाडौँ रेफर गर्ने गरिएको उनले बताए । डा श्रेष्ठका अनुसार उक्त अस्पतालमा लामो समयदेखि विशेषज्ञसहितको टोलीले बिरामीको उपचार गर्दै आएको छ । ‘कर्णाली प्रदेशमा प्रहरी अस्पताल स्थापना नभएकाले सो प्रदेशका सबै बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्’, उनले भने । लुम्बिनी प्रदेशलाई लक्षित गरी १५ शय्याको उक्त अस्प्तालले अहिले कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनीहरुको परिवारका सदस्यको उपचार गर्दै आएको छ । ‘तीन प्रदेशका बिरामीको उपचार गर्नुपर्दा १५ शय्या अपुग भयो, यो पर्याप्त होइन्’, निर्देशक डा.श्रेष्ठले भने– ‘बिरामीको चापलाई हेर्दा तत्काल अस्पताललाई ५० शय्याको बनाउनुपर्ने आवश्यकता छ ।’ बिरामीको चापलाई मध्यनजर गर्दै उक्त अस्पताललाई ५० शय्याको बनाउनका लागि नेपाल प्रहरी अस्पताल केन्द्रीय कार्यालय महारजगञ्ज र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको डा श्रेष्ठले बताए । अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना छ । अस्पताल भित्रका प्रहरी विभागका प्रहरी चिकित्सकले नै सेवा दिँदै आएका छन् । छालाको रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको डा श्रेष्ठले बताए । उनका अनुसार छालाको उपचार आइतबार, स्त्रीसँग सम्बन्धित रोगको उपचार बुधबार, सर्जरी बिहीबार हुन्छ भने मानसिक रोगको उपचार शुक्रबार हुने गर्दछ । चौबीस घण्टा आपत्कालीन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्सरे र फिजियो थेरापी सेवा प्रदान गर्दै आएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले रु नौ करोडको भवन निर्माण गरिरहेको छ । अस्पतालमा बिरामी कुरुवा घर र पार्किङको व्यवस्था नहुँदा समस्या भएको छ । ‘यसै अस्पतालबाट सर्वसाधारण पनि स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ’, डा श्रेष्ठले भने । रासस
वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत
वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ । महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित नगर सभालाई सम्बोधन गर्दै महानगर उपप्रमुख आलमले चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिए । उनका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ । सभामा उनले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिए । प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ रु १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा रु १२ करोड विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख रुपैयाँ, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड रुपैयाँ, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख रुपैयाँ, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याइएको उपप्रमुख आलमले जानकारी दिए । कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए । आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट चालु आवको तुलनामा करिब चार प्रतिशत कम रहेको छ । महानगरपालिकाको १२औँ नगर अधिवेशनबाट तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । रासस
४ प्रतिशतमा झर्यो अन्तर बैंकदर, बैंकमा थुप्रिन थाल्यो पैसा
काठमाडौं । बैंकहरुले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर ४ प्रतिशतको हाराहारीमा कायम भएको छ । यसअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल ४.०१ प्रतिशत कायम भएको हो । यस्तै, बिहीबारसम्म निक्षेप ५५ खर्ब ६७ अर्ब कायम भएको छ भने कर्जा ४८ खर्ब ५६ अर्ब रुपैयाँ भएको छ । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरु सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो समय बैंकको सीडी रेसियो ८३.९९ प्रतिशत कायम भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । असारमा बैंकहरुले सस्तोमै कर्जा लगानी गर्न थालेका छन् । बैंकबाट कर्जाको माग पनि विस्तारै बढ्न थालेको छ ।
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा एसइई २०७९ को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन चाहेको सेवाको विवरण कार्यालयबाट तोकिएको शर्तको अधीनमा रही यही असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ । एसएमएसबाट सूचना दिनका लागि ४० हजार रुपैयाँ, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार रुपैयाँ, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार रुपैयाँ, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजस्व बुझाउनुपर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने जनाइएको छ । यसैगरी नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औँ दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाइएको छ ।
सन् २१०० सम्म ७५ प्रतिशत हिमालयन क्षेत्र पग्लिन सक्ने, नेपालको पर्यटन क्षेत्र जोखिममा
काठमाडौं । हिमालयन क्षेत्रको हिउँ तिव्र गतिमा पग्लिरहेको छ । वैज्ञानिकहरुले सन् २१०० सम्ममा हिमालयन क्षेत्रको ७५ प्रतिशत हिउँ पग्लिनसक्ने आशंका व्यक्त गरेका छन् । यसो हुँदा हिमालयन क्षेत्रसँग जोडिएको भूगोलमा रहने झण्डै २० करोड मानिसहरुलाई पानीको अभाव हुने र बाढीको जोखिम हुनसक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ । जसमध्येको गम्भीर असर दक्षीण एशियामा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, म्यानमार र बंगालादेशमा पर्नेछ । काठमाडौंको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्ट डेभलपमेन्ट (आइसिआइएमओडी)का अनुसार आगामी दिनमा हिम पहिरोका घट्नाहरु तिव्र गतिमा घट्नेछन् । अलजजिराका अनुसार जलवायु परिवर्तनको असर खेप्न नपरेकाहरुले हिउँ पग्लिएपछिको असर खेप्नुपर्नेछ । रिपोर्टअनुसार सन् २०१० पछिको समयमा हिमालयन क्षेत्र तिव्र गतिमा पग्लिरहेको छ । यदि यदि पृथ्वीमा १.५ डिग्री देखि २ डिग्री सेल्सियस तापक्रम बढेमा सन् २१०० सम्म हिमालयन क्षेत्रको हिउँ ३० देखि ५० प्रतिशत सम्म छिटो पग्लिनेछन् । तर, अहिलेसम्मको अनुमान अनुसार पृथ्वीमा ३ डिग्रीसम्म तापक्रम बढ्नसक्ने अनुमान गरिएको छ । जसले ७५ प्रतिशतले हिमालयन क्षेत्रको हिउँ पगाल्नेछ । रिपोर्टअनुसार हिमालयन क्षेत्रबाट बग्ने १२ नदीमा खतराको तहसम्म आउन सक्छन् । रिपोर्टअनुसार जलवायु परिवर्तनको कारणले दुई हजार वर्षमा पग्लिने अनुमान गरिएको हिउँ ३० वर्षमा नै पग्लिएको छ । पर्यावरणको क्षेत्रमा काम गरिरहेका वैज्ञानिक फिलिप वेस्टरले आगामी एकसय वर्षमा हिमालय क्षेत्रको हिमनदी अन्त्य हुने बताएका छन् । ३५ सय किलोमिटर क्षेत्रमा फैलिएको हिमालयले ८ वटा देशलाई समेटेको छ । हिमालय क्षेत्रको वरिपरि भएका करिब दुई सयवटा हिमताल उच्च जोखिममा रहेको प्रतिवेदनले बताएको छ । वातावरणविद् पान पियर्सनका अनुसार एकपटक हिमालयन क्षेत्रको बरफ पग्लियो भने त्यो पुनः सोही अवस्थामा फर्किन नसक्ने बताएका छन् । त्यसैले विश्वको तापक्रम बढ्न दिन नहुने उनको भनाइ छ । नेपालको पर्यटनको मुख्य आधारका रुपमा रहको हिमालयन क्षेत्रमा हिउँ नरहने स्थिति रहेमा त्यसले पर्यटन व्यवसायको क्षेत्रमा ठूलो असर गर्नेछ । एजेन्सीको सहयोगमा ।
दीर्घकालीन खालका योजना ल्याउने तयारीमा नरैनापुर
बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ । गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए । नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ । बुधबार बसेको गाँउकार्यपालिकाको बैठकले बस्तीस्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरु व्यस्त रहेको बताए । ‘हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौँ, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो’, उनले भने, ‘यसपटक फेरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।’ बुधबार बसेको बैठकले उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह र वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिए । उनले भने, ‘कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाँउसभबाट पारीत गरिने छ ।’ यस्तै वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई सम्शोधन गर्ने र निति, कार्यक्रम र बजेट का विषयमा आजको बैठकमा छलफल भएको बताउदै असार १० गते हुने गाँउ सभा विवाद रहित तरिकोले सम्पन्न हुने बताए । वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन’, उनले भने, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।’ बैठकमा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इसाक जोहल, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखा पाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
नेशनल र समीट लघुवित्तको स्वाप रेसियो १०० बराबर ७३ कित्ता, १०८ कराेड पुँजीसहित ७४ जिल्लामा पहुँच
काठमाडौं । नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि. बीच असार ६ गते मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बरावर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तय भएको छ । मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने र केन्द्रीय कार्यालय बनेपा रहने भएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव रहने र अध्यक्षमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को अध्यक्ष केशवप्रसाद आचार्य नै रहने गरि सम्झौता भएको छ । मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ भई शाखा सञ्जाल २०५ हुने र देशको ७४ जिल्लामा संस्थाको पहुँच पुग्ने छ । ग्राहक सदस्य संख्या करिब २ लाख १० हजार भन्दा माथी भई कर्मचारी संख्या करिब ९०० जना पुग्ने, कर्जा करिव १७ अर्ब रुपैयाँ र बचत करिब ५ अर्ब रुपैयाँ पुग्ने मर्जर सम्झाैतापछि जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।
नमस्ते पेले ल्यायो ल्यापटप र स्कुटर जित्ने मौका
काठमाडौं । नमस्ते पेले ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ। यो अभियान असार ४ गतेदेखि सुरु भएको हो । यस अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने मौका पाउनेछन् । अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ । साप्ताहिक अफरहरु जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ । त्यसैगरी दैनिक अफरहरु जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, १जीबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेषगरी नमस्ते पे का नयाँ प्रयोगकर्ताका लागि हुन् । यस अफरका लागि योग्य हुन प्रयोगकर्ताले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्नेछ ।