विकासन्युज

सन् २१०० सम्म ७५ प्रतिशत हिमालयन क्षेत्र पग्लिन सक्ने, नेपालको पर्यटन क्षेत्र जोखिममा

काठमाडौं । हिमालयन क्षेत्रको हिउँ तिव्र गतिमा पग्लिरहेको छ । वैज्ञानिकहरुले सन् २१०० सम्ममा हिमालयन क्षेत्रको ७५ प्रतिशत हिउँ पग्लिनसक्ने आशंका व्यक्त गरेका छन् । यसो हुँदा हिमालयन क्षेत्रसँग जोडिएको भूगोलमा रहने झण्डै २० करोड मानिसहरुलाई पानीको अभाव हुने र बाढीको जोखिम हुनसक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ । जसमध्येको गम्भीर असर दक्षीण एशियामा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, म्यानमार र बंगालादेशमा पर्नेछ । काठमाडौंको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्ट डेभलपमेन्ट (आइसिआइएमओडी)का अनुसार आगामी दिनमा हिम पहिरोका घट्नाहरु तिव्र गतिमा घट्नेछन् । अलजजिराका अनुसार जलवायु परिवर्तनको असर खेप्न नपरेकाहरुले हिउँ पग्लिएपछिको असर खेप्नुपर्नेछ । रिपोर्टअनुसार सन् २०१० पछिको समयमा हिमालयन क्षेत्र तिव्र गतिमा पग्लिरहेको छ । यदि यदि पृथ्वीमा १.५ डिग्री देखि २ डिग्री सेल्सियस तापक्रम बढेमा सन् २१०० सम्म हिमालयन क्षेत्रको हिउँ ३० देखि ५० प्रतिशत सम्म छिटो पग्लिनेछन् । तर, अहिलेसम्मको अनुमान अनुसार पृथ्वीमा ३ डिग्रीसम्म तापक्रम बढ्नसक्ने अनुमान गरिएको छ । जसले ७५ प्रतिशतले हिमालयन क्षेत्रको हिउँ पगाल्नेछ । रिपोर्टअनुसार हिमालयन क्षेत्रबाट बग्ने १२ नदीमा खतराको तहसम्म आउन सक्छन् । रिपोर्टअनुसार जलवायु परिवर्तनको कारणले दुई हजार वर्षमा पग्लिने अनुमान गरिएको हिउँ ३० वर्षमा नै पग्लिएको छ । पर्यावरणको क्षेत्रमा काम गरिरहेका वैज्ञानिक फिलिप वेस्टरले आगामी एकसय वर्षमा हिमालय क्षेत्रको हिमनदी अन्त्य हुने बताएका छन् । ३५ सय किलोमिटर क्षेत्रमा फैलिएको हिमालयले ८ वटा देशलाई समेटेको छ । हिमालय क्षेत्रको वरिपरि भएका करिब दुई सयवटा हिमताल उच्च जोखिममा रहेको प्रतिवेदनले बताएको छ । वातावरणविद् पान पियर्सनका अनुसार एकपटक हिमालयन क्षेत्रको बरफ पग्लियो भने त्यो पुनः सोही अवस्थामा फर्किन नसक्ने बताएका छन् । त्यसैले विश्वको तापक्रम बढ्न दिन नहुने उनको भनाइ छ । नेपालको पर्यटनको मुख्य आधारका रुपमा रहको हिमालयन क्षेत्रमा हिउँ नरहने स्थिति रहेमा त्यसले पर्यटन व्यवसायको क्षेत्रमा ठूलो असर गर्नेछ । एजेन्सीको सहयोगमा ।

दीर्घकालीन खालका योजना ल्याउने तयारीमा नरैनापुर

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ । गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए । नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ । बुधबार बसेको गाँउकार्यपालिकाको बैठकले बस्तीस्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरु व्यस्त रहेको बताए । ‘हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौँ, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो’, उनले भने, ‘यसपटक फेरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।’ बुधबार बसेको बैठकले उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह र वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिए । उनले भने, ‘कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाँउसभबाट पारीत गरिने छ ।’ यस्तै वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई सम्शोधन गर्ने र निति, कार्यक्रम र बजेट का विषयमा आजको बैठकमा छलफल भएको बताउदै असार १० गते हुने गाँउ सभा विवाद रहित तरिकोले सम्पन्न हुने बताए । वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन’, उनले भने, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।’ बैठकमा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इसाक जोहल, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखा पाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

नेशनल र समीट लघुवित्तको स्वाप रेसियो १०० बराबर ७३ कित्ता, १०८ कराेड पुँजीसहित ७४ जिल्लामा पहुँच

काठमाडौं । नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि. बीच असार ६ गते मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बरावर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तय भएको छ । मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने र केन्द्रीय कार्यालय बनेपा रहने भएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव रहने र अध्यक्षमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को अध्यक्ष केशवप्रसाद आचार्य नै रहने गरि सम्झौता भएको छ । मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ भई शाखा सञ्जाल २०५ हुने र देशको ७४ जिल्लामा संस्थाको पहुँच पुग्ने छ । ग्राहक सदस्य संख्या करिब २ लाख १० हजार भन्दा माथी भई कर्मचारी संख्या करिब ९०० जना पुग्ने, कर्जा करिव १७ अर्ब रुपैयाँ र बचत करिब ५ अर्ब रुपैयाँ पुग्ने मर्जर सम्झाैतापछि जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।

नमस्ते पेले ल्यायो ल्यापटप र स्कुटर जित्ने मौका

काठमाडौं । नमस्ते पेले ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ। यो अभियान असार ४ गतेदेखि सुरु भएको हो । यस अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने मौका पाउनेछन् । अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ । साप्ताहिक अफरहरु जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत  क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ । त्यसैगरी दैनिक अफरहरु जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, १जीबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेषगरी नमस्ते पे का नयाँ प्रयोगकर्ताका लागि हुन् । यस अफरका लागि योग्य हुन प्रयोगकर्ताले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्नेछ ।  

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै

बाँके । बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् । जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगञ्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य बन्द हुने जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डले जानकारी दिए । सरकारले प्रश्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णयसँगै जिल्लाका अतिरिक्त र इलाका हुलाक कार्यालय बन्द हुन लागेका हुन् । जिल्लाको नरैनापुर, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिकालगायतका सबै स्थानीय तहमा अतिरिक्त हुलाक कार्यालय र इलाका हुलाक कार्यालय रहेका थिए । ती कार्यालयबाट हुलाकमार्फत आउने चिट्ठीपत्र गाउँघरमा लैजाने काम भएको थियो । तर पछिल्लो समय प्रविधिमा भएको विकासले ती काम वीरलै हुँदै आएका छन् । ‘सरकारले औचित्य नदेखेर नै ती कार्यालय बन्द हुन लागेका हुन्’, प्रमुख पाण्डले भने । उनले एक स्थानीय तहमा एक इलाका हुलाक रहने प्रबन्ध भएकोसमेत जानकारी दिए । विसं ३०३४ देखि अतिरिक्त हुलाक कार्यालयको सुरुआत भएको थियो । जिल्लामा करिब एक सय कर्मचारी रहेका थिए । साउनदेखि उनीहरुलाई सेवा, सुविधा दिएर घर पठाउने सरकारको योजना छ । त्यसैगरी हुलाक सेवा विभागले द्रुत हवाई डाँक सेवा सुरु गरेको सेवाग्राहीलाई जानकारी गराएको छ । निजी क्षेत्रका अन्य प्रतिस्पर्धी सेवाको तुलनामा उक्त सेवा सस्तो र भरपर्दो रहेकाले त्यसको प्रयोग गर्न हुलाक कार्यालयले आग्रह गरेको छ । ‘हुलाक सेवा अब नयाँ र सुधारिएको अवस्थामा प्रस्तुत हुने छ’, पाण्डले भने । हुलाक सेवा विभागले नेपालगञ्जमा बैंक तथा प्रशासन शाखामा कार्यरत कर्मचारीलाई डाँक सेवाका बारेमा जानकारी दिएको थियो । अन्य निजी क्षेत्रबाट डुकुमेन्ट पठाउदा १०० देखि १५० रुपैयाँ खर्च लाग्छ भने हुलाकबाट पठाउँदा ७० रुपैयाँ खर्च लाग्छ । रासस

आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ ।

हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं ।  नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो । ‘नेपालमा हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर ज्यादै महँगो रहेकाले यही अवस्थामा भ्याटसमेत थप्दा भाडादर महँगो भई पर्यटक आवागमन नै घट्ने, नेपालमा भाडादर महँगो तथा सीमा नजिक हुँदा बागडोगरा, गोरखपुरलगायतका हवाईमैदान रोज्ने सम्भावना रहेको छ’, अध्यक्ष थापाले भने । सरकारले १० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा उक्त निर्णयले गम्भीर असर पर्ने उनको भनाइ छ । नेपालमा मात्र भ्याट लगाउँदा नेपालका ट्राभल एजेन्सीले जारी गर्ने टिकट महँगो हुने र अनलाइन तथा विदेशबाट टिकट लिँदा सस्तो पर्ने भएकाले धेरै टिकट विदेशबाट लिने र विदेशी मुद्रा आर्जन गुम्नुका साथै ट्राभल एजेन्सीले दिएको रोजगारी र व्यवसायीसँग सरकारले पाइरहेको कर गुम्ने खतरा बढेको नाट्टाले जनाएको छ । नेपाली नागरिक विदेश घुम्न जाँदा यात्रुले पाएको विदेशी मुद्राको सहुलियतबाटै प्याकेज टुर खरिद गर्नुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने नाट्टाको माग छ । भेटमा अर्थमन्त्री डा महतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीलाई समस्या नआउने तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

उदयपुरको ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । समग्रमा पालिकाभरिका योजना एकीकृतरूपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिने उनको भनाइ छ ।  पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए । गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत १८ करोड, विशेष अनुदानतर्फ एक करोड नौ लाख र समपूरक अनुदान पूँजीगततर्फ २६ करोड बजेट विनियोजन गरिँदै छ ।  चालु आवको तुलनामा आगामी आवका लागि दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् । रासस