विकासन्युज

अब बैंकिङ जस्तै राजनीतिमा पनि देखाउँछु : पूर्ब बैंकर शाह

काठमाडौं । पूर्ब बैंकर अनिल केशरी शाहले अब राजनीतिक रुपमा आफु अगाडि बढ्ने बताएका छन् । उनले आफु बैंकिङमा सफल भएजस्तै सोही किसिमले राजनीतिमा पनि जम्ने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको वार्षिकोत्सब कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले अब आफु राजनीतिमार्फत् देशको सेवा गर्ने बताएका हुन् । उनले अब सबैले रास्वपामा सहभागी भएर देशको सेवा गर्नु पर्ने पनि बताए । ‘रास्वपा नयाँ सोच बोकेर आएको पार्टी हो, हाम्रो इतिहास हेर्नुस्, पहिले राणा शासन गयो, पञ्चायत शासन गयो, धेरैले गण्तन्त्र आउँछ र भनेर कल्पना पनि गरेका थिएनन्, तर सम्भव भयो, अहिले रास्वपा आएपछि धेरैले खिसिट्युरी गरेका छन्, यो नेपाली सबैकाे पार्टी हो, कपाल सेतो छकि छैन, भन्ने होइन, युवा होकि होइन भन्दा पनि हामी यो अभियानमा सबै जोडिऔं,’ उनले भने । उनले आफ्नो विशेषता नेतृत्व विकासका लागि भएको बताउँदै पार्टीमा सीपको विकासको लागि भूमिका खेल्ने बताए । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाउँदै स्वागत गरेका हुन् ।

बालेनलाई पार्टीमा ल्याउन भूमिका खेल्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टीमा स्वागत गर्न भुमिका खेल्ने बताएका छन् । बिहीबार पार्टीको पहिलो वार्षिकोत्सब कार्यक्रम बोल्दै उनले बोलनलाई पार्टीमा ल्याउने आफ्नो चाहना भएको बताएका हुन् । ‘बालेनप्रति हामी शतप्रतिशत सकारात्मक छौं, उहाँको कामको प्रशंसा पनि गरिरहेको छु, राम्रो कामको सघाउ गरिरहेको छु, उहाँ पार्टीमा आउनु भयो भने हामी खुसी हुन्छौं’, उनले भने ।

पर्यटकको प्रतीक्षामा भोजपुरको साल्पापोखरी

भोजपुर । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुङ बनाउँछ । पूर्वको एक रमणीय पर्यटकीयस्थल भेडेटारबाट पहाडका घुम्ती सडक हुँदै तमोर नदीतर्फ झरेर नदी किनारैकिनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले । पाख्रिबास डाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो अनुभूति हुने गर्दछ । तुम्लिङ्टार हुँदै जाँदा तलतिर कलकल बगिररहेको अरुण देख्दा धेरैलाई जीवनको फरक अनुभव लाग्न सक्छ । नदीमा पुल नहुँदा त्यहाँ आइपुगेका यातायातका साधनहरू फेरीबाट वारपार गर्ने गरिन्छ । अरुण वारि र पारि भोजपुर जिल्ला नै पर्दछ ।  खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै पनि तीन दिनको पैदलयात्रा गर्दै साल्पापोखरी पुग्न सकिने पदमार्ग रहेको छ । पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेका थिए । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरीनजिक शिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन् । शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिकलगायत हिमशृङ्खला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजङ्गल देख्दा जो कोहीको पनि मन प्रफुल्ल हुन्छ । अरुणमा रहेको झोलुङ्गे पुल तरेर भोजपुरको षडानन्द नगरपालिका, कात्तिके हुँदै कच्ची सडकमा जिपको यात्राको अनुभव पनि बिर्सन सकिंदैन । भोजपुर जिल्लाका गाउँका धेरै खेतबारी र पाखामा रुद्राक्षका बोट प्रसस्त देख्न सकिन्छ । केही वर्षयता रुद्राक्ष यहाँका धेरैको आम्दानीको स्रोत बनेको छ । यो शिवको आँसु मानिन्छ जसको जप गरिन्छ,  माला  लगाइन्छ र  देवीदेवतालाई पनि चढाइन्छ ।  आबाल ब्रह्मचारी षडानन्द गुरुले नै सुरुमा ती बोट लगाएका थिए भनिन्छ । ‘जी फाउन्डेसन’ नामक संस्थाले यस क्षेत्रमा सामुदायिक पूर्वाधार विकासका लागि जीविकोपार्जन कार्यक्रममार्फत पर्यापर्यटनको विकास र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गरेको छ । कार्यक्रममार्फत कृषि, करेसाबारी, उद्यमशीलताका कार्यक्रमहरु सञ्चालन गरिएको र यसबाट स्थानीयवासीको जीवनस्तरमा सुधार आएको कार्यक्रमका सीताराम थापा मगरले जानकारी दिए । केन्द्रीय प्रशारणको लाइन विस्तार नभएकाले गाउँपालिकाकाका प्रत्येक घरका धुरीमा सोलार प्यानल राखी सौर्य उज्यालो प्राप्त गरिएको छ । फेदी गाउँका कतिपय महिला उद्यमीहरूले लोक्ताको कपडा, राडी बुनेर आयआर्जन गरेका छन् । उनीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरणमा समस्या रहेको उपाध्यक्ष अस्मिता राईले बताए । साल्पापोखरी पुग्न फेदी गाउँबाट ठाडो उकालो हिंड्नुपर्छ । ढुङ्गाको सिँढी ठाउँठाउँमा रहेका थुम्काहरूमा पुग्दा फूलहरू मनै हलुका भएजस्तो लाग्दछ । तीन हजार ४३४ मिटर उचाइमा पुग्नु थियो । फेदी गाउँबाट हिँडेको साढे दुई घन्टापछि जौबारीबाट वरिपरिका गाउँबस्तीको रमणीय दृश्य देख्न सकिन्छ । जौबारीमा जौ र आलु राम्रो खेती हुने गर्दछ । झन्झन् जति माथि गयो, थकाइलाई वरपरको रोमाञ्चक दृश्यले फुर्तिलो बनाउँछ । वनमा फुलेका लालीगुराँसले मनलाई आनन्दित गराइरहेका थिए, थकाइको अनुभूति नै हुँदैन । उकालो जाँदै गर्दा बाटोमा भेटिने चौँरीखर्क र लालीगुराँसको दृश्यलाई कैद गर्न क्यामरा र मोवाइल फोनलाई फुर्सदै हुँदैन । भोजपुरका प्रमुखको रमाइलो गीत, रमोरम दृश्यको स्वाद लिँदै हिँडिरहँदा माबु भेटिन्छ, जहाँ ‘मुन्दुम पदमार्ग’ जोडिन आइपुग्छ । गाउँपालिकाले जि–फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे ९घरवास० लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ । स्विस सरकार, कोशी प्रदेश सरकार तथा स्थानीय तहमध्ये भोजपुरको टेम्केमैयुङ र  साल्पासिलिच्छो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाले लागत साझेदारी गरेको  सो पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइ’ आकारमा निर्माण भइरहेको  छ ।  भोजपुर  र खोटाङको सिमाना तावा भञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैँसीपङखाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ । कूल ८८ किमिमध्ये हाल ६२ किमी पूरा भइसकेको नेपालको घुम्नैपर्ने सो पदमार्गले खोटाङका केपिलासगढी र साकेला गाउँपालिका छुन्छ जुन किराती सभ्यता झल्काउने एक भौतिक संरचना रहेको रासस भोजपुर भोजपुर नगरपालिका प्रमुख कैलाश आलेले जानकारी दिए । बिहान उठेर माथितिर हेर्दा झुल्के घामसँगै सिलिचुङ चुचुरामा परेको हिउँ देख्दा निकै रमाइलो लाग्दछ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ । यस स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको साल्पासिल्च्छो गाउँपालिका अध्यक्ष दौलत कुलुङले जानकारी दिए । साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोले यसको बृहत्तर रूपमा विकास गर्ने उनको योजना रहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीय स्थल प्रचार प्रसारको अभावले ओझेलमा परेको छ । समुद्री सतहबाट ४ हजार १५३ मिटर उचाईमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथा हिमाल पनि आँखै अगाडि देख्न सकिन्छ भने मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल सामुन्ने देख्दा आफैँले आफूलाई बिर्सेको आभास हुन्छ । सिलिचुङ चुचुरो भोजपुर र सङ्खुवासभा जिल्लाको सिमाना अवस्थित छ । यो क्षेत्रमा रेडपाण्डालगायतका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी पाइने बताइन्छ । चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन् । साल्पापोखरीसँग आफूले मागेको कुरा दिने अद्भूत शक्ति रहेको जनविश्वास रहेको छ । साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ । बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिनेलगायत मनकामना पूरा गरिदिने साल्पापोखरी मन्दिरमा स्थानीय लामा, झाँक्रीहरूको गुरु पनि छन् । यहाँ वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा यहाँ विशेष मेला लाग्छ । तीर्थालुहरू आफ्नो मनोकामना पुरा गर्न आउने गर्छन् । पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन्, यहाँ भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत ठाउँबाट भक्तजनहरू पुग्ने गरेका छन् । साल्पापोखरीमा आफ्नो भाकल पूरा गर्न विशेषगरी परेवा उडाउने चलन छ । पोखरी पुग्दा मन रमायो, अघिल्लो दिन हिँडेको थकाइ पनि हराउँछ ।  साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर,  त्यो भन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्वपूर्ण छ । यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ । साल्पापोखरीलाई किरात, हिन्दू, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ । रासस

‘साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज

काठमाडौं । अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई पनि होलो हुने बताएको छ । उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को मुद्दा जिल्लामा जाने भएपछि धेरै होलो हुने जनाएको छ । उच्च अदालत पाटनका उपरजिस्टार एवं प्रवक्ता मन्दिरा शाही उच्च अदालतमा चेक बाउन्सका मुद्दा करिब ८५ प्रतिशत नै आउने गरेको बताए । अब यो मुद्दा जिल्लामा जाने भएपछि उच्च अदालतलाई धेरै होलो हुने उहाँले जानकारी दिए। यही असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद, ९ मा उल्लेख भए बमोजिमका कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसुरको सुरु, कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने गरी यही ५ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । उक्त निर्णयसँगै अब काठमाडौँ जिल्ला अदालतमा मात्रै हेरिँदै आइएको साइबर अपराधको मुद्दा हरेक जिल्ला अदालतले हेर्न पाउनेछ । यस्तै उच्च अदालतले मात्रै हेर्दै आएको चेक बाउन्सको मुद्दा पनि जिल्ला अदालतको क्षेत्राधिकारभित्र परेको छ । अब उक्त मुद्दा दर्ता गर्न उच्च अदालत र काठमाडौँ जिल्ला अदालतमा मात्रै धाइरहनुपर्ने बाध्यता हटेको छ । यसले उच्च अदालत र काठमाडौँ जिल्ला अदालतलाई मुद्दाको चाप कम पर्नेछ भने पीडित तथा प्रहरीलाई सीमित क्षेत्रमा धाइरहनुपर्ने समस्या कम भएको छ । यसअघि कुनै जिल्लामा साइबर अपराधको मुद्दा दर्ता गर्न काठमाडौँ जिल्ला अदालत नै आउनुपर्ने बाध्यता थियो । यसका लागि प्रहरीको साइबर ब्युरोमार्फत मुद्दाको अनुसन्धान हुने गर्दथ्यो । अब मन्त्रिपरिषद्को उक्त निर्णयपछि सर्वसाधारण साइबर अपराधका मुद्दामा काठमाडौँ नै आउनुपर्ने सास्तीबाट मुक्त भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका हुन् । बैंकिङ कसुर ऐनको दफा ३ ९ग० मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटिदिने’ भन्ने बाक्य रहेको छ । त्यो भनेको चेक बाउन्सको मुद्दा हो । उक्त मुद्दा उच्च अदालतमा मात्रै हेरिँदै आएको थियो । मन्त्रिपरिषद्को उक्त दफा तोकेरै निर्णय गरेसँगै अब चेक बाउन्सको मुद्दा जिल्ला अदालतबाटै सुरु, कारबाही र किनारा हुनेछ । यसअघि साइबर अपराधका मुद्दा काठमाडौँ जिल्ला अदालतबाटै चल्ने गर्दथ्यो । यसले साइबर ब्युरोलाई पनि बढी दबाब थियो भने नागरिक मुद्दा चलाउन ठूलो सास्ती बेहोरेर काठमाडौँ आउनुपर्ने बाध्यता थियो । जिल्ला अदालतबाट सुरु, कारबाही र किनाराको व्यवस्था भएपछि त्यो ब्युरोलाई पनि होलो हुने र जिल्लाबाट मुद्दा चल्ने हुँदा नागरिकले पनि सास्ती खेप्नु नपर्ने साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । एकै ठाउँमा मुद्दा चल्दा बढी पाँच हुने र अनुसन्धानमा समेत समस्या हुँदै आएको ब्युरोले जनाएको छ । यता चेक बाउन्सको विषय उच्च अदालतमा मात्रै चल्ने गरेकामा अब मन्त्रिपरिषद्को निर्णयले जिल्लामै मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि उच्च अदालत धाउनुपर्ने समस्या टरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, ‘एउटा प्रदेशमा एउटा उच्च अदालत हुन्छ, टाढाको जिल्लाको मान्छे प्रदेशमा जान गाह्रो हुन्छ, प्रहरीलाई पनि अनुसन्धान गर्नुभन्दा जान र आउन मात्रै समय जान्थ्यो, अब सबै जिल्लाबाट चल्ने भएपछि त्यो समस्या हटेको छ ।’ उनका अनुसार पछिल्लो समयमा चेक बाउन्सका मुद्दा धेरै दर्ता हुने गरेको छ । यसले प्रहरी कार्यालयलाई पनि मुद्दाको अनुसन्धानमा चाप हुँदै आएको छ । जिल्ला अदालतले मुद्दा नहेर्दा उच्च अदालतमा जानुपर्ने अवस्था थियो । सो कारण उच्च अदालतमा समेत मुद्दाको चाप बढी हुने गरेको थियो । रासस

होटल संघबाट बंगलादेशमा पर्यटन प्रवर्धन गर्दै समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । होटल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा बुधबार ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवद्र्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरुको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरुले बीटुबी कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशकले , विभिन्न पर्यटनसँग सम्बन्धित छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा) बीच पर्यटन प्रवद्र्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न बुधबार जुन २१ का दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।दुवै संस्थाका तर्फबाट हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन् । बंगलादेशी पर्यटकमाझ नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवद्र्धन गर्न होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली सोमबार बंगलादेश आएको हो ।

पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, पाए प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका थिए । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे । भिडियो पनि

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

जानकी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ । प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आए पनि अस्पतालको विकासका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान जान सकेको छैन । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिनकुमार श्रेष्ठका अनुसार प्रदेशभरिका प्रहरी कर्मचारी बिरामी हुँदा सिधै काठमाडौँ गएर उपचार गराउन नपाउने व्यवस्था छ । गम्भीर प्रकृतिका बिरामीको उपचार उक्त अस्पतालमा सम्भव नभएको अवस्थामा मात्र काठमाडौँ रेफर गर्ने गरिएको उनले बताए । डा श्रेष्ठका अनुसार उक्त अस्पतालमा लामो समयदेखि विशेषज्ञसहितको टोलीले बिरामीको उपचार गर्दै आएको छ । ‘कर्णाली प्रदेशमा प्रहरी अस्पताल स्थापना नभएकाले सो प्रदेशका सबै बिरामी यहाँ उपचारका लागि आउने गरेका  छन्’, उनले  भने । लुम्बिनी प्रदेशलाई लक्षित गरी १५ शय्याको उक्त अस्प्तालले अहिले कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनीहरुको परिवारका सदस्यको उपचार गर्दै आएको छ । ‘तीन प्रदेशका बिरामीको उपचार गर्नुपर्दा १५ शय्या अपुग भयो, यो पर्याप्त होइन्’, निर्देशक डा.श्रेष्ठले भने– ‘बिरामीको चापलाई हेर्दा तत्काल अस्पताललाई ५० शय्याको बनाउनुपर्ने आवश्यकता छ ।’ बिरामीको चापलाई मध्यनजर गर्दै उक्त अस्पताललाई ५० शय्याको बनाउनका लागि नेपाल प्रहरी अस्पताल केन्द्रीय कार्यालय महारजगञ्ज र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको डा श्रेष्ठले बताए । अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना छ । अस्पताल भित्रका प्रहरी विभागका प्रहरी चिकित्सकले  नै सेवा दिँदै आएका छन् । छालाको रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको डा श्रेष्ठले बताए । उनका अनुसार छालाको उपचार आइतबार, स्त्रीसँग सम्बन्धित रोगको उपचार बुधबार, सर्जरी बिहीबार हुन्छ भने मानसिक रोगको उपचार शुक्रबार हुने गर्दछ । चौबीस घण्टा आपत्कालीन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्सरे र फिजियो थेरापी सेवा प्रदान गर्दै आएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले रु नौ करोडको भवन निर्माण गरिरहेको छ । अस्पतालमा बिरामी कुरुवा घर र पार्किङको व्यवस्था नहुँदा समस्या भएको छ । ‘यसै अस्पतालबाट सर्वसाधारण पनि स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ’, डा श्रेष्ठले भने । रासस

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत

वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ । महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित नगर सभालाई सम्बोधन गर्दै महानगर उपप्रमुख आलमले चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिए । उनका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ । सभामा उनले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय  हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिए । प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ रु १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा रु १२ करोड विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख रुपैयाँ, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड रुपैयाँ, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख रुपैयाँ, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याइएको उपप्रमुख आलमले जानकारी दिए । कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए । आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट चालु आवको तुलनामा करिब चार प्रतिशत कम रहेको छ । महानगरपालिकाको १२औँ नगर अधिवेशनबाट तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । रासस