विकासन्युज

सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलमा छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघरमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । सानिमा बैंकका ग्राहकहरुले औषधी र अपरेशन सम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेका छन् ।

नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको २० प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । जीवन विकास लघुवित्तले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारी माग गरेको हो । बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी क्षेत्रमा ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ । संस्थाका अनुसार आवेदन दिनको लागि सम्बन्धित विषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

लाओसमा नेपालीलाई बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ तथा सेयर कारोबारमा संलग्न गराएपछि…

काठमाडौं । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पर्याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा सेयर कारोबारमा संलग्न गराएको पाइएको छ । उनीहरले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौँबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओस्को बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पु¥याइ बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्रयापमा पारी जबरर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुस्न्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरोका अनुसार पीडत दुई व्यक्ति लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि अघि गत वैशाखमा छुटेर आएपछि दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौँको नागर्जुन बस्ने वर्ष २५ का पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ । पदम नेपाली भने लाओस, कम्बोडिया, म्यानारलगायतका देशमा चाइनिज भाषाको ट्रान्सलेटरको रुपमा काम गर्दै आएका र सोही क्रममा चाइनिजसँग मिलेर उक्त अवैध कारोबारमा संलग्न रहेको पाइएको छ । उनले युवाहरुलाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस पु¥याएका खुल्न आएको छ । त्यहाँ पु¥याएपछि त्यो गिरोहले फेसकुब, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ । नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवाहरुलाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए । पीडितलाई उनीहरुले नेपालबाट लाओस् प¥याउनका लागि लागेको रु आठ लाख फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलगनता रहेको ब्यूरोले जनाएको छ । रासस

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि ठेक्का रद्द गर्न माग

गलकोट । सम्झौता मिति सकिँदासम्म सकड कालोपत्र नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थानीयवासीले माग गरेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका– ७ रेश जाने एक्लेखेतदेखि काफलबोट जाने सडक निर्माणको जिम्मा पाएको निर्माण केम्पनी पटक–पटक सडक अलपत्र छोडेर सम्पर्कविहीन भएको छ । स्थानीयवासीले ठेक्का रद्दको मागसहित काठेखोला – ७ वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयवासीले काठेखोला गाउँपालिकामा ज्ञापन पत्रसमेत बुझाइसकेका छन् । रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै गाउँपालिका समक्ष ठेक्का रद्दको माग गरेका हुन् । विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनैपनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए । उनले निर्माण व्यवसायी तुरुन्तै सम्पर्कमा नआए चरणबद्ध आन्दोलनको तयारी गर्ने बताए । ‘गाउँपालिकालाई ठेक्का रद्द गर्न माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, यस्तो बेतिथि गर्ने ठेकेदारको सम्झौता रद्द गरेर नयाँ सम्झौता गर्न आवश्यक छ’ उनले भने, ‘म्याद सकिएर पुनःथप भएको म्याद सकिँदासम्म सडक कालोपत्र नगर्ने ठेकेदारलाई गाउँपालिकाले कारबाही नगरे स्थानीयवासीले आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ यसअघि निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर रेशका स्थानीयवासीले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले म्याद थप गर्नुअघि काममा फर्केपनि एक सय मिटर सडक ढलान गरेर सम्पर्कविहीन भएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘गाउँपालिकाले निर्माण व्यवसायीलाई म्याद थप्दासमेत काम भएको छैन, थपिएको म्यादसमेत असार मसान्त मात्रै हो, निर्माण व्यवसायीको चरम लापरर्बाहीका कारण रेशका जनताले सास्ती खेप्नु परेको छ” वडाध्यक्ष प्रेम लामिछानेले भने,“म सहित स्थानीयवासीले गाउँपालिकामा ठेक्का रद्दको माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, काठेखोला गाउँपालिकाको मुख्य योजनाको रुपमा रहेको उक्त सडक कालोपत्र भएमा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने पहिलो कालापत्र सडक हुनेछ ।’ उक्त सडकमा निर्माण व्यवसायीले काम नगर्दा यात्रुलाई सास्ती भएको मात्रै छैन ढलान गर्न ढुङ्गामा विच्छइएको रडले दुर्घटनाको जोखिम समेत निम्ताएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु ६ करोड ७१ लाखमा सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी पटक–पटक सम्पर्क बिहिन भएको हो । निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष राजु थापाले असार मसान्तसम्म सम्झौता रहेको र सम्झौता अगावै ठेक्का रद्द गर्न नसक्ने बताए । उनले निर्माण व्यवसायीले तत्कालै काम गर्छु भनेको बताउदै म्याद सकिदासम्म काम नभए ठेक्का रद्दको प्रक्रियामा जाने बताए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ । काम नगर्ने निर्माण व्यवसायीलाई गाउँपालिकाले म्याद थपेको भन्दै गाउँपालिका निर्माण कम्पनीको पक्षमा उभिएको स्थानीयवासीको आरोप छ । रासस

‘आदिपुरुष’ चल्न नदिनेमा बालेन अडिग, भन्छन्ः अदालत र सरकार भारतको गुलाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन) ले नेपालमा भारतीय फिल्म ‘आदिपुरुष’ कुनै पनि हालतमा चल्न नदिने बताएका छन् । उनले फिल्म चलाउन अदालतको आदेश भएपनि आफूले कुनै हालतमा उक्त आदेश नमान्ने बताएका हुन् । ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । साथै, अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा रहेको र अदालत र नेपाल सरकार भारतको गुलाम भएको उनको बुझाइ छ । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन, फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ, यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन,’ उनले भनेका छन् ।

उपत्यकाका विस्तारका सडक सम्पन्न हुँदै

काठमाडौं । झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौं उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन् । विस्तारको सडक निर्माण कतैकतै थोरै मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार कुनैमा ओभरले बाँकी, कुनैमा रङ्ग लगाउन त कुनैमा पैदल यात्रु मार्ग बनाउन गरी थोरैथोरै मात्रै बाँकी रहेको छ । उनले भने, ’ती काम पनि सकाएर ठेक्का टुङ्ग्याउन लागिएको छ ।’ हाल सम्पन्न हुन लागेकामा काठमाडौँ उपत्यकाका तीन जिल्लाका सडक छन् । काठमाडौँमा त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक, चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल सडक ललितपुरमा ढोलाहिटि–लेले सडक, नख्खु–भैँसेपाटी सडक, कर्मनाशा खोला–गोदावरी सडक, इमाडोल–लामाटार सडक छन् । भक्तपुरमा पेप्सीकोलाबाट सानोठिमी हुँदै सूर्यविनायकसम्मको सडक रहेको छ । विगतमा अलि बढी समस्या चाबहिल–साँखु सडकमा रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । पहिले समस्या रहेको तिवारी टोल र सल्यानटारमा काम भइसकेको छ । पहिले समस्या भएको चाबहिलदेखि सुन्दरीजल सडक, त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गा सडक सबै सम्पन्न भइसकेका छन् । उनले भने, ’कलङ्की–नागढुङ्गामा खानेपानी, बिजुलीले खनेको ठाउँमा मात्रै थोरै काम बाँकी छ ।’ काम बाँकी रहेका सडकमा थली, भैँसेपाटी, ढोलाहिटी–सुनाकोठी रहेका छन् । यिनमा पनि बाँकी काम छिटै सम्पन्न गर्ने आयोजनाको तयारी रहेको छ । सबैले चासोका साथ हेरेको नख्खुबाट भैँसेपाटीसम्मको सडकमा मुख्य काम सकिएर थोरै छेउछाउका काम मात्रै बाँकी छन् । निर्माणको काम भइसकेका सडक पनि धेरै हस्तान्तरण हुन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए । विगत वर्षमा सम्पन्न भइसकेका सडक पनि हस्तान्तरण भइसकेका छैनन् । निर्माणाधीन सडकमा मर्मतसम्बन्धी कुनै काम गर्नुपर्दा सम्बन्धित योजना कार्यालयले र हस्तान्तरण भएपछि डिभिजन सडक कार्यालयले गर्ने गर्छ । उनले भने, ’अहिले कुनैकुनै सडकमा डिभिजनले हस्तान्तरण नभए पनि मर्मत गरिरहेकाले समस्या आएको छैन ।’ निर्माण कम्पनीले सम्पन्न गरेपछि एक वर्षसम्म त्यो सडक वा पुल मर्मत गर्नुपर्ने हुन्छ । त्यो एक वर्ष सकिएपछि नै ठेक्का सम्पन्न हुन्छ र योजना कार्यालयले सडक हस्तान्तरण गर्छ । अहिले सम्पन्न हुने क्रममा रहेका अधिकांश सडकको विसं २०७१ र विसं २०७२ मा ठेक्का सम्झौता भएको थियो । सुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरे पनि स्थानीयको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन । लामो समय निर्माण अवरूद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्री सजिलै उपलब्ध नहुँदा निर्माण चालू हुन नसकेको आयोजनाले बताउँदै आएको छ । विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुका कारण एउटै रहेको थियो । नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार सेवा प्रदायक संस्था लगायतले संरचना त्यहाँबाट सार्न लामो समय लगाएका थिए । सरकारले आव २०६३/६४ मा सोल्टीमोड–नागढुङ्गा सडक विस्तार गर्न आयोजनाको सुरु गरेको थियो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा घन्टौँसम्म जाम हुने समस्या समाधनका लागि यो सडक विस्तार भएको थियो । त्यसपछि काठमाडौँका अरु सडक ललितपुरका चक्रपथसँग जोडिने सडक, भक्तपुरमा पुरानो बाटोको सडक विस्तार अघि बढाएइको थियो । यी सडक सम्पन्न हुने लामो समय लागेकाले सरकारले उपत्यकामा थप सडक विस्तारको योजना बनाएको छैन । रासस

४० करोड १४ लाख बराबरका मेलम्ची खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले मेलम्ची खानेपानी उप-आयोजना-२ अन्तर्गतको ७१.७२ किमी पाइलाइन उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच खानेपानी वितरण सञ्जाल सुधार कार्यको चारवटा प्याकेज अन्तर्गत पाइपलाइनको स्वामित्व हस्तान्तरण गरिएको हो । यो आयोजनाअन्तर्गत १०१० किमी पाइपलाइन विच्छ्याइएको छ । जसमध्ये करिब ४० करोड १४ लाख रुपैयाँ बराबरको पाइलाइन हस्तान्तरण गरिएको हो । महाकांल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज-१ अन्तर्गत गौशाला क्षेत्रमा बिच्छ्याइएको २१.५७ किमी तथा प्याकेज-२ अन्तर्गत तिलगंगा र सिनामंगलमा बिच्छ्याइएको १७.०४ कि.मि. खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ । खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज -३ अन्तर्गत नरेफाँट र जडिबुटीमा बिच्छ्याइएको २२.६६ किमी र प्याकेज-४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिच्छ्याइएको १०.४५ किमी खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ । खानेपानी वितरण प्रणालीको निर्देशिका,नक्सा र परीक्षण प्रमाणपत्र समेत बोर्डलाई हस्तान्तरण गरिएको छ । खानेपानी मन्त्रालयका सचिव रामआधार साहको उपस्थितिमा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता गरेका छन् । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव रामआधार साहले काठमाडौंमा दशकौं पुराना खानेपानी वितरण प्रणालीलाई क्रमिकरूपमा विस्थापित गर्दै आधुनिक नयाँ प्रणालीबाट स्वच्छ खानेपानी वितरण शुरु भएको बताए । खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीले खानेपानी वितरणमा कुनै कमी कमजोरी हुन नदिई नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बढी जिम्मेवारीपूर्ण ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए । चारवटै प्याकेजमा पर्ने क्षेत्रका करिब ८५ हजार घरहरूमध्ये २० हजार ४०० भन्दा बढी घरहरूमा पानीको प्रवाह, चुहावट मापन र परीक्षण लगायतका कार्य सम्पन्न गरी नयाँ वितरण प्रणालीबाट नियमितरूपमा खानेपानी वितरण सुरु भएको छ ।