‘एक वडा, एक नमुना उद्यम’ लाई महानगरको एक करोड बजेट, जब लिङ्क एप प्रयोगमा ल्याइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भइएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालनको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजनाले महानगरवासीको सुख दुःखमा साथ दिने उद्देश्य लिएको छ । उक्त उद्देश्य पुरा गर्नको लागि महानगरपालिकाले आगामी बजेट मार्फत २ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, महानगरले रोजगारी वृद्धिको लागि बेरोजगार र रोजगारदाता बिच जब लिङ्क एप पनि प्रयोगमा ल्याउने भएको छ । जसको लागि महानगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरेको पनि महानगरले जानकारी दिएको छ ।
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड
चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ । अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ। महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ। भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ। ‘मध्य नेपालको सुन्दर शहर : समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारा दिएको भरतपुरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी महानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पुर्याउन कटिबद्ध रहेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरले कुन शीर्षकमा कति छुट्यायो बजेट ? (पूर्णपाठ)
फाइल फोटो काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि कूल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट छुट्याएको हो । जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत रहेको महानगरले बताएको छ । यस्तो छ महानगरको बजेट (पूर्णपाठ) [pdf id=420418]
राष्ट्रियसभा बैठक सुरु
काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८÷७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुहुने कार्यसूची छ । आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभासमक्ष पेस गर्ने छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले मनसुन सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिराका घटना बढेको विषय उठाउनुहुँदै विपद् व्यवस्थापनका काममा सरकार गम्भीर हुनुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा दुई देशको सीमा विवाद, इपिजी प्रतिवेदनलगायतका महत्वपूर्ण विषय नउठाइएमा उनले प्रश्न उठाए । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजना लामो समयदेखि भारतीय कम्पनीले ओगटिरहेका विषयमा भारत भ्रमणका क्रममा कुनै विषय नउठेको तर फुकोट कर्णाली जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा भारतलाई दिनेगरी सहमति भएको उनको भनाइ छ । सांसद युवराज शर्माले नेपालमा भारतीय चलचित्र रोक लगाइएको, बजेटमा रोजगारी सिर्जना गर्ने विषय सम्बोधन हुन नसकेको, विभिन्न नदीमा लगाइएको बाँधका कारण तराईका कितिपय स्थान डुबानमा पर्ने गरेकालगायत विषय उठाए । सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिम क्षेत्रलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको बताए । सुदूरपश्चिम क्षेत्रका नागरिकले आफ्ना साना माग पूरा गर्नका लागि पनि शक्ति प्रदर्शन गर्नुपर्ने र काठमाडौं धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । अहिले कैलालीको गेटामा आन्दोलन चलिरहेकामा सरकारले त्यसलाई बेवास्ता गरेकोबारे उजले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए । ’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने भनिएकामा आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उल्लेख गरिएकोप्रति कैलालीको गेटामा आन्दोलन चलिरहेको छ । तर सरकारले त्यसलाई सुनेको छैन । यो विषयमा सरकारको ध्यानाकर्षण होस्’, उनले भने ।
हाईमास्ट लाइट जडान गर्न महानगरले छुट्यायो ३० करोड बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाईमास्ट लाइट जडान गर्नको लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले १३ औं नगरसभामार्फत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न स्थानमा हाईमास्ट लाइट जडान गर्नको लागि उक्त रकम छुट्याएको हो । ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक सो लाइट जडान गर्ने महानगरपालिकाले बताएको छ । यस्तै, महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिनेछ । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रकम छुट्याएको छ । सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगर २५ करोड रकम विनियोजन गरेको छ । यसै गरी महानगर क्षेत्रभित्रका प्रमुख सडकहरूमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो उपयोगी डक्ट निर्माण गरी साझा पूर्वाधारको अवधारणा अनुरूप कार्य अगाडी बढाउन १० करोड बजेट विनियोजन काठमाडौं महानगरले छुट्याएको छ । महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रूपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड रकम विनियोजन गरेको पनि उपप्रमुख सुनिता डंगोलले बताइन् । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजना सहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।
कोठाभाडा बढी लिएर कम लिएको भन्ने घरधनीलाई महानगरले कारवाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडा कम लिएको भनेर छुट लिएका घरधनीलाई १० प्रतिशत जरिवाना गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने भएको जनाएको हो । व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने महानगरले जनाएको छ । वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५ प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ ।
नेपाल रेमिट र एनएमबी बैंकबीच सम्झौता, नेपालमा रेमिट्यान्स् रकम पाउन सहज हुने
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र एनएमबी बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।
काठमाडौं महानगरले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने, मेट्रो मार्टलाई एक करोड बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने बताएकी हुन् । ‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’ उनले भनिन् । उक्त पेय प्रदार्थको ब्राण्डिङ सहकारी मार्फत गर्ने भएको छ । त्यस्तै, संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गर्न सहकारी विभाग अन्तर्गत आवश्यक रकमको प्रबन्ध मिलाएको छ । महानगरले उत्पादन र उपभोगलाई जोड्न अनलाईन ई कमर्श पोर्टल मार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रुपैयाँ विनियोजन गरेको छ ।