काठमाडौं महानगरले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने, मेट्रो मार्टलाई एक करोड बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने बताएकी हुन् । ‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’ उनले भनिन् । उक्त पेय प्रदार्थको ब्राण्डिङ सहकारी मार्फत गर्ने भएको छ । त्यस्तै, संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गर्न सहकारी विभाग अन्तर्गत आवश्यक रकमको प्रबन्ध मिलाएको छ । महानगरले उत्पादन र उपभोगलाई जोड्न अनलाईन ई कमर्श पोर्टल मार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
विद्यालयका प्राचार्यको भत्ता बढ्यो, अब प्रत्येक सामुदायिक विद्यालयमा एउटा नर्स
काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि गरेको छ । महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भत्ता बढाएको जनाएको छ । महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत बिभिन्न कार्यक्रम संचालन गर्न रु ५० करोड विनियोजन गरेको छ । यस्तै, सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको छ भने सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाएको छ । यस्तै, महानगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मात्र खाजा खर्च उपलब्ध गराउंदै आइरहेकोमा आर्थिक वर्ष २०८०÷८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाएको छ । महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न रु. ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छ भने आर्थिक वर्ष २०८०÷८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट रु. १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।
काठमाडौं महानगरले सस्तोमा औषधि बिक्री गर्न फार्मेसी खोल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई सस्तोमा औषधी उपलबध गराउन फार्मेसी सञ्चालन गर्ने भएको छ । महानगरले आइतबार आगामी आथिक वर्षको बजेट सार्वजनिक गर्दै महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी”को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरुका लागि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन रु ३५ करोड रकम विनियोजन गरेको छ । महानगरले ध्यान, योग, व्यायाम एवं बैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्दतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन रु. १० करोड बजेट विनियोजन गरेको भने नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन रु.७ करोड रकम विनियोजन गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न रु. १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ भने महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न “स्वच्छ भान्छा” कार्यक्रमका लागि रु. ३ करोड ५० लाख रकम विनियोजन गरेको छ । महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
महानगरले टेलिभिजन स्थापना गर्न ५ करोड बजेट विनियोजन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत यस्तो घोषणा गरेकी हुन् । टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।
महानगरले ३०० कुचीकार र १५१ नगर प्रहरी थप गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ३०० जना कुचीकार थप गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले ३०० जना कुचीकार, २६९ जना स्वास्थ्यकर्मी, १५१ जना नगर प्रहरी जवान, ५१ जना कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिइन् । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी ५०० जना पुर्याउने भएको छ ।
विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड बजेट छुट्यायो
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरेको छ । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेट चालू आबको भन्दा झन्डै ७६ करोड कम हो । उक्त बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड रुपैयाँ, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार रुपैयाँ मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख रुपैयाँ र शिक्षा तर्फ ६७ करोड ९४ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख रुपैयाँ र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महानगरले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ, नगर स्तरीय आयोजनाका लागि २० करोड रुपैयाँ, बहु वर्षीय तथा गौरवका आयोजना एवं कर्मागत योजनाको भुक्तानीका लागि ६५ करोड रुपैयाँ, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भार १० करोड रुपैयाँ, सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार रुपैयाँ, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख रुपैयाँ र समपूरक कोषका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन खर्चको लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार रुपैयाँ, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार रुपैयाँ आम्दानी हुने महानगरको अनुमान छ। महानगरले आन्तरिक आय तर्फ ९९ करोड ५० लाख रुपैयाँ, जनसहभागिता तर्फ १० करोड रुपैयाँ, आन्तरिक ऋण तर्फ १० करोड रुपैयाँ, अन्य सङ्घसंस्था तर्फ ३ करोड रुपैयाँ र नगद मौज्दात बापत २ करोड रुपैयाँ आय हुने अनुमान गरेको छ । नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट विराटनगर महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य नतिजा हासिल हुने उपप्रमुख निरालाको विश्वास छ ।
पशुपतिमा गङ्गामाई जात्राको तयारी पूरा
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन गर्ने तयारी पूरा भएको कोषका सूचना अधिकारी एवं संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । पूजा एवं हवन सकिएपछि आजै दिउँसो वाग्मती किनारस्थित गङ्गामाईको मन्दिरबाट पञ्चदेवल–वनकाली–गौशाला–जयवागेश्वरी–ताम्रेश्वर पश्चिम मूलढोका हुँदै बज्रघरसम्म रथयात्रा गरिने उनले बताए। आज साँझ हनुमानढोका राजदरबारबाट जाने शार्दुल गङ्गा गणका सिपाहीले गङ्गाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा गर्ने परम्परा रहेको छ । जात्रा हेर्न उपत्यकासहित देशभरका मानिसको पशुपति क्षेत्रमा भीड लाग्ने गर्दछ । पशुपति क्षेत्रका प्राचीन जात्रामध्ये यो एक मानिन्छ । रासस
काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट, धुलोरहित महानगर बनाउन १ अर्ब छुट्याइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् । बजेट सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेकी छन् ।