विकासन्युज

अख्तियारले खाली गरायो पशुपति मन्दिर, सुनको जलहरी प्रकरणमा अनुसन्धान हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको मुल मन्दिरमा राखिएको जलहरीको अनुसन्धानका लागि पशुपति जाने भएपछि मन्दिर खाली गराएकाे छ । आइतबार दिउँसो अख्तियारको टोली पशुपति मन्दिर परिसरमा सुनको जलहरीको विषयमा अनुसन्धानका लागि पुगेको हो । अख्तियारका अनुसार जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै परेको उजुरीको आधारमा टोली अनुसन्धानका लागि गएको हो । टोलीले मन्दिरमा राखिएको सुनको जलहरीको तौल लिने र कम भए नभएको भन्दै चेक गर्ने बताइएको छ । जेठ १२ गते संसदमा नै जलहरी राख्दा भ्रष्टाचार भएको भन्ने विषय चर्चामा आएको थियो, जसले संसदमा हंगामा नै सिर्जना गरेको थियो । संसदमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएर भ्रष्टाचार भएको भन्ने आरोप लगाएका थिए । यसअघि महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनले पनि गत वर्ष जलहरी राख्दा भ्रष्टाचार भएको हुनसक्ने शंका गरेको थियो । महालेखाको ५९ औं वार्षिक प्रतिवेदनले जलहरी राख्दा भ्रष्टाचार भएको हुन सक्ने भन्दै प्रश्न उठाएको थियो । तत्कालीन प्रधानमन्त्री ओलिले २०७७ मा पशुपति दर्शनमा जाँदा मन्दिरभित्र सुनको जलहरी राख्ने घोषणा गरेबमोजिम पशुपतिमा १०३ केजि ७७३ ग्राम सुनको जलहरी निर्माण गरिएको भनिएको छ, जसको लागत ८० करोड ११ हजार रुपैयाँ तिरेर नेपाल राष्ट्र बैंकबाट किनिएको भनिएको छ । अख्तियारमा यो विषयमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि आइतबार अख्तियारको टोली पशुपति पुगेको हो ।

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो, मनग्य आम्दानी

बलेवा । बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको आलु नियमित वर्षाले बारीमै कुहिने भएकाले किसानलाई भित्र्याउन भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्र्यउन थालेको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताइन् । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । ‘अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको छ, एक दिनमा एउटा मात्रै बारीको पाटो खनेर सकिन्छ,’ उनले भनिन्, ‘यस वर्ष आलु राम्रो फलेको छ ।’ आलुको फसल लिँदै गरेका किसान खुसी छन् । यहाँ उत्पादन भएको आलु देशका अधिकांश सहरमा पुगे पनि किसानको हातमा भने मूल्य कम आउने गरेको पुनको गुनासो छ । ताराखोलाको आलुको अहिले गण्डकी प्रदेश मात्रै होइन्, देशको ठूलो सहर काठमाडौँमासमेत चर्चित छ । किसानको मुख्य आम्दानीको रूपमा रहेको आलुको माग बढेसँगै आलुखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । यस गाउँपालिकामा गत वर्ष मात्र सात लाख १२ हजार पाँच सय ६८ रुपैयाँ किलो आलु उत्पादन भएको कृषि शाखाको तथ्याङ्क छ । यो वर्ष उत्पादन अझै बढ्ने अपेक्षा छ । आलुका लागि बजार सजिलै पाइने भएकोले किसानले हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–५ वडाध्यक्ष मनबहादुर रोकाले बताए । यहाँका किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । पछिल्लो समय किसानले आलुको बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । खाद्यान्नबाली कम फल्ने भएकाले यहाँका किसानले आलुको बिक्रीबाट आएको पैसाले खाद्यान्न खरिद गरेर गर्जो टार्नाका साथै बँचेको पैसाले घरखर्च पनि चलाउँछन् । आलुबाट चिप्स बनाउने उद्योग पनि ताराखोलामा केही वर्ष अघिदेखि सञ्चालनमा छ । उक्त उद्योगलाई व्यवस्थित गरेर लैजान र किसानलाई व्यावसायिक बनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । ढोरपाटन नगरपालिकाको ढोर, काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनीको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रिवन पनि आलुका लागि प्रख्यात ठाउँ हुन् । ताराखोलाको आलु प्रतिकिलो ४० रुपैयाँ र एक पाथीको दुई सय रुपैयाँमा बिक्री हुँदै आएको स्थानीय किसान शर्मिला रोका मगरले बताइन् । रासस

भरतपुर महानगरले सीसी क्यामेरा जडान गर्न छुट्यायो २ करोड ९० लाख बजेट

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्न २ करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । भरतपुरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सीसी क्यामेरा जडानको लागि २ करोड ९० लाख छुट्याएको बताएका हुन् । ‘महानगरपालिकावासिलाई सुरक्षाको प्रत्याभूति दिलाउनको लागि महानगरपालिकाको महत्वपुण स्थानमा सीसी क्यामेरा जडान कार्य प्रभावकारी बनाइने छ, यसका लागि २ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ,’ उनले भने ।

भरतपुरलाई हरियाली सहर बनाइने

चितवन । भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आइतबार भएको १३औँ नगरसभामा नगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताएकी हुन् । नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रूपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रूपमा विकास गरिने कार्यक्रममा उल्लेख छ । गोन्द्राङ–पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवद्र्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गरिने जनाइएको छ । ‘एक घर दुई रुख’को नीति कडाइका साथ कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ । घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ । ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ  । ‘वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक सङ्घ संस्थासँग समन्वय र सहकार्य गरिने कार्यक्रममा उल्लेख छ । वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ । महानगरको समृद्धि र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन कृषि, वातावरण तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, सीमान्तकृत, लोपोन्मुखलगायतका क्षेत्रको सन्तुलित र दिगो विकासको अवधारणालाई आत्मसात् गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । फोहोर मैला व्यवस्थापन निजी क्षेत्रको सहकार्यमा गर्न अन्तिम चरणमा पुगेको कार्यक्रममा उल्लेख छ । महानगरलाई सुन्दर र व्यवस्थित बसोबासयुक्त बनाउन मापदण्ड विपरीत निर्मित संरचना हटाउने कार्य अगाडि बढाइएको महानगर प्रमुख दाहालले बताइन् । कृषिमा यन्त्रीकीकरण, दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान र छात्रासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ । सन् २०२४ मा दुई लाख पर्यटक भित्र्याउने गरी भरतपुर भ्रमण वर्ष मनाउने योजनाअनुरूप सूचना प्रविधिसँग जोड्न महानगरपालिकाभित्रका ३० वटै पर्यटकीय गन्तव्यको सम्पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली भाषामा दिइने गरी मोबाइल एपको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’को अवधारणाबमोजिम महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगरका रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ । सहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ । ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ । ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीतिअनुरूप विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । केरूङ्गा घोल, पुङ्गी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने जनाइएको छ । यससँगै अतिक्रमित संरचना हटाइने उल्लेख छ । नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बीच मोडेल’सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजनाबमोजिम सङ्घ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइने उनले बताइन् । महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्धरुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थीसँग मेयर कार्यक्रम सञ्चालन गरिने भएको छ । शिक्षालाई व्यावहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन ‘मौलिक र व्यावहारिक शुक्रबार’ अभियान कार्यान्वयनमा ल्याइने भएको छ । उक्त दिन पाठ्यपुस्तकरहित सिकाइका क्रियाकलाप गरिनेछ । समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरुआत गरी लक्षित वर्ग, असहाय, अतिविपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिका लागि आवश्यकताअनुसार समुदायका घर तथा टोलमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । असहाय र विपन्न परिवारको पहिचान गरी महानगरपालिकाले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  छोरीसँग मेयर कार्यक्रमअन्तर्गत महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीका लागि छोरी बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी सहकारी मोडलमा नमुना होमस्टे सञ्चालनमार्फत पर्यटन प्रवद्र्धन गरिनेछ । महानगरले अनलाइन सेवा प्रदान गरिरहेका राजस्व प्रणाली, भुक्तानी प्रणाली, नक्सा प्रणाली, गुनासो व्यवस्थापन, पञ्जीकरण, खरिद प्रणाली एवं डिजिटल योजना प्रणालीलगायत सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रणालीलाई सेवाग्राही मैत्री तथा प्रविधिमैत्री बनाउने नीति अङ्गीकार गर्दै थप स्तरोन्नति गरिने भएको छ । रोजगारी सिर्जना गर्न उद्योगलाई प्रवद्र्धन गर्ने महानगरको नीति तथा कार्यक्रममा जनाइएको छ ।

सानिमा बैंकको खातावाली अधिकारीले पाइन् तीन लाख रुपैयाँ

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकले देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा ल्याएको छ ।

करको दायरामा आए होस्टेल, मेकअप स्टुडियो, ट्याटु हाउस र फन पार्क, ३० हजारसम्म तिर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरले विभिन्न नयाँ चार क्षेत्रलाई करको दायरामा ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत् चार नयाँ क्षेत्रलाई करको दायरामा ल्याएको हो । महानगरले पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत  होष्टेल, मेकअप स्टुडियो, ट्याटु हाउस र फनपार्कलाई करको दायरमा ल्याएको हो । यसअघि पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत २९ वटा क्षेत्र तोकिएको भएपनि अब बढाएर ३७ सम्म क्षेत्र कायम गरिएको हो । अब नयाँ व्यवस्था अनुसार ५० जना सम्मको होस्टेलले तीन हजार, ५० जनाभन्दा बढी भएको पाँच हजार, मेकअप स्टुडियोका लागि तीन हजार र ट्याटु हाउसका लागि पाँच हजार रुपैयाँ राजश्व तोकेको छ । यस्तै, फनपार्कलाई पनि करको दायरामा ल्याइएको छ । पाँच रोपनी सम्म क्षेत्रफल भएको फनपार्कका लागि १० हजार, दश रोपनी सम्म क्षेत्रफलमा फैलिएकोका लागि २० हजार र दश रोपनी भन्दा बढी क्षोत्रफलमा फैलिएको फनपार्कका लागि ३० हजार रुपैयाँ राजश्व निर्धारण गरिएको छ । यस्तै, काठमाडौं महानगरले जग्गाको मूल्य र सम्पत्तिको करको दर भने स्थीर भएको छ । महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर १ हजार रुपैयाँ तोकेको छ । २ करोडसम्मको सम्पत्ति भएमा २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ भने ३ करोडसम्मको सम्पत्ति भएमा ४५ सय रुपैयाँ तोकेको छ । यस्तै, ४ करोडसम्मको सम्पत्ति भएा ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकामा १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकामा २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ । ८ करोडसम्मको सम्पत्तिमा ८४ हजार ५ सय रुपैयाँ, १० करोड रुपैयाँसम्मको सम्पत्तिमा १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन २०७८/७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवेदन पेस गरेका हुन् । कानुनमन्त्री गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्नुभएको हो । त्यस्तै, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८/७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८/७९ पेस गरेका छन् । कानुनमन्त्री गुरुङले आजै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पनि राष्ट्रियसभा समक्ष पेस गरेका छन् ।

चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५०० कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । असार ६ गते भएको उक्त सम्झौतापत्रमा चिलिमे ईन्जिनियरिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।