राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
काठमाडौं । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको छ । उनले भने, ‘हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न चार आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’ पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन् । ती आयोजनामध्ये यस करिडोकै सबैभन्दा ठूलो आयोजना सुपर दोर्दी ‘ख’ आयोजनाले गत महिनाबाट मात्र व्यावसायिक रुपमा बिजुली उत्पादन गरेको छ । आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार विसं २०७१ मा विद्युत् खरिद सम्झौता –पिपिए) गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो । विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ । सुरुआतमा आठ अर्ब ८० करोड रुपैयाँ लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोड रुपैयाँसम्म खर्च भएको बताइएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । कूल ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धनको लगानी रहेको छ । आयोजनामा प्रभावित स्थानीयवासीले २७ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दै आएको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो । आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजना निर्माणमा रु चार अर्ब ८३ करोड लगानी भएको छ । त्यस्तै, दोर्दी–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो । तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो । आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो । आयोजना निर्माणमा रु चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ । विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा रु दुई अर्ब भन्दाबढी लगानी भएको छ । त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ । यी आयोजना बाहेक जिल्लाकै ठूलो तथा पहिलो आयोजना बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी आयोजना, मस्र्याङ्दी गाउँपालिका–६ र ७ मा रहेको ५० मेवागाट क्षेमताको माथिल्लो मस्र्याङ्र्दी ए’ जलविद्यूत आयोजना लगायतका आयोजनाबाट समेत विद्युत् उत्पादन हुँदै आएको छ । मध्यमस्र्याङ्दी आयोजना सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माणकार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । कूल २७ अर्ब २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सन् २०१३ जनवरीबाट निर्माण थालनी गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्दै आएको छ । करिब १६ अर्ब रुपैयाँमा निर्माणकार्य सम्पन्न गर्दै विद्युत् उत्पादन थालेको यस आयोजना चिनियाँ बहुर्राष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाल चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको थियो । रासस
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गर्यो वृक्षारोपण
काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । दोलखा जिल्लाको मैनापोखरी बजारमा स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान भन्ने नारालाई सार्थकता दिँदै बिहीबार सहकारी संस्थाले वृक्षारोपण गरेको हो । उक्त वृक्षारोपणमा डिभिजन वन कार्यालयका कर्मचारी, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी, इलाका प्रहरी कार्यालय मैनापोखरीका कर्मचारी, संस्थाका पदाधिकारी तथा कर्मचारीहरु, सहकारीकर्मी, शिक्षक, व्यापारीहरुको उपस्थितिमा भएको थियो । उक्त संस्थाको सहयोगमा कपुरको विरुवा १५० वटा, कल्की १५० वटा, धुपी १५० वटा र जकाराण्डको विरुवा ५० वटा गरी ५०० वटा विरुवा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
ब्रिटिश कलेजमा भर्चुअल रियालिटी ल्याब सञ्चालन
काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाई छ । साथै, कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उनले जानकारी दिए । ‘कलेजले अत्याधुनिक भिआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुशी छु । यस प्रकारका अत्याधुनिक ल्यावमार्फत विद्यार्थीहरुले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन् । साथै, गुणस्तरिय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ,’ सीईओ कँडेलले भने । कार्यक्रममा बोल्दै फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए, उनी भन्छन्, ‘ब्रिटिश कलेजको आफ्नो पाठ्यक्रममा भिआर समावेशले उत्साहित बनाएको छ । कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ। मलाई लाग्छ कि यो विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर हुनेछ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकासका लागि सहयोग गर्नेछ।’ भिआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेशन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन् । कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रष्ट गर्छ । भिआर ल्याव एउटा उदाहरणमात्र हो । कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीहरूले यसको अनुभव लिन सक्नेछन् ।’
मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध
फाइल फाेटाे काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेसँगै उक्त सडकखण्ड अवरुद्ध भएको हो । अवरुद्ध भएको सडकमा पहिरो पन्छ्याउने काम भइरहेको छ । उक्त सडकखण्डमा बुधबारसाँझदेखि नै पहिरो खसिरहेको श्रोतले जनाएको छ ।
निजी स्कूलका सञ्चालक भन्छन् : बालेनले भने अनुसार तलब दिन सक्दैनौं
काठमाडौं । काठमाडौंका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आज बिहान सामाजिक सञ्जालमा स्टाटस राख्दै निजी तथा संस्थागत विद्यालयहरुले पनि सामुदायिक विद्यालय सरह शिक्षकहरुलाई तलब दिनुपर्ने बताएपछि उनकाे चाैतर्फी रुपमा प्रशंसा भइरहेकाे छ । निजी तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन तथा एन प्याब्सनका नेतृत्व द्वय डिके ढुंगाना र पाण्डब हमालले बालेनले भने अनुसार निजी विद्यालयहरुले शिक्षकहरुलाई तलब दिन नसकिने प्रतिक्रिया दिएका छन् । मेयर बालेनले आफ्नो स्टाटसमा निजी विद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरुको तलब सामुदायिक विद्यालयको भन्दा न्यून हुने गरेको गुनासो महानगरमा आउने गरेको बताएका छन् । उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई दिनुपर्ने व्यवस्था भएको र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको भन्दै निजी विद्यालयहरुका शिक्षकहरुलाई पनि सोही अनुसार तलब दिन भनेका छन् । साथै उनले निजी विद्यालयमा कार्यरत शिक्षकहरुले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु सरह तलब सुविधा नपाएमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न भनेका छन् । मेयर बालेनले स्टाटससँगै सामुदायिक विद्यालयमा काम गर्ने प्राथमिक, निम्न माध्यमिक र प्राथमिक तहमा काम गर्ने शिक्षकहरुको तलब पनि चार्ट नै बनाएर प्रस्तुत गरेका छन् । तर, बालेनले भनेको सो विषयलाई भने सबै निजी विद्यालयमा कार्यान्वयन गर्न नसकिने प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताएका छन् । विकासन्युजसँग कुरा गर्दै ढुंगानाले कतिपय विद्यालयले सामुदायिक विद्यालयले भन्दा धेरै तलब सुविधा दिएको तर, सबै निजी विद्यालयले भने सो अनुसार तलब सुविधा कार्यान्वयन गर्न नसक्ने बताए । ‘सक्दैनन् र विद्यालयहरुको सञ्चालन प्रकृयालाई पनि हामीले हेर्नुपर्छ’, उनले भने, ‘संघीय शिक्षा ऐन, शिक्षा नियमावली, कम्पनी, गुठी र सहकारीअनुसार पनि सञ्चालन भएको हुनाले हामीले त्यसको पनि हामीले परिपालना गर्छौं र सँगसँगै महानगरले बनाएको शिक्षा ऐनलाई पनि हामीले कार्यान्वयन गर्छौं ।’ उनले थपे, ‘शिक्षा ऐन छ, श्रम ऐन छ र कम्पनी ऐन छ, त्यो अन्तर्गत कति सुविधा दिने, के सुविधा दिने भन्ने कुरा शुल्क र सुविधासँग जोडिने भएको हुनाले त्यसको आधारमा हेर्दा त्यो भन्दा बढी दिने पनि छन्’, अध्यक्ष ढुंगानाले भने । क वर्गको विद्यालयले १५ प्रतिशत र विशिष्ट श्रेणीकोले ३० प्रतिशत बढी दिएको र ग वर्गको विद्यालयले न्यूनतम तलब दिएको उनले बताए । विगतमा शुल्क निर्धारण गर्दा ३३ जना विद्यार्थी बराबर एउटा कक्षाको परिकल्पना गरेर निर्धाण गरिएको तर, पछिल्लो पाँच वर्षसम्म शुल्क समायोजन नभएको उनले बताए । विद्यार्थीबाट आर्जन गरिने शुल्कबाट ६० प्रतिशत शिक्षक कर्मचारीमा खर्च गर्नुपर्ने र ४० प्रतिशत मात्रै विद्यालयको अरु खर्च र नाफामा राख्न पाइने व्यवस्था भएको उनले बताए । आर्थिक रुपले सम्पन्न र ठूला विद्यालयहरुमा समस्या नहुने अलिकति कम आर्थिक अवस्था भएका विद्यालयहरुले पनि श्रम ऐनलाई कार्यान्वयन गरेको उनले अध्यक्ष ढुंगानाले बताए । निजी विद्यालयहरु कुनै न कुनै कानूनमा आकर्षित भएर सञ्चालन हुनुपर्ने र सो अनुसार भएको उनको भनाइ छ । त्यस्तै, एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले पनि कतिपय विद्यालयले सामुदायिक विद्यालयले भन्दा धेरै तलब सुविधा दिएको तर सबै विद्यालयले भने सो विषयलाई कार्यान्वयन गर्न नसक्ने बताए । ‘कतिपय विद्यालयमा त्यो भन्दा पनि बढी नै दिएको छ, औसतको हिसाबले दिएको छैन, तर, हामीले श्रम ऐन अनुसार सबैलाई दिएका छौं’, उनले भने, ‘तर हामी संस्थागत विद्यालयलाई सबै ठाउँमा सम्भव हुँदैन ।’ सक्नेले सामुदायिक विद्यालयले भन्दा पनि धेरै सेवा सुविधा दिएको र नसक्नले शिक्षा ऐन अनुसार ६०/४० मा टेकेर काम गरेको अध्यक्ष हमालको तर्क छ । उनले ऐनले व्यवस्था गरेको कुरालाई लागू गरेर जानुपर्ने तर, एउटा महानगरले भनेको कुरालाई सबैले त्यही लागू गर्नुपर्छ भन्ने अवस्था भने नहुने उनले बताए । ‘ऐनले दिएको कुरालाई लागू गरेर त जानपर्छ, तर, महानगर एउटा पालिकाले भनेको सबैले त्यही नै गर्नुपर्छ भनेर लागू गर्ने अवस्था चाहिँ हुँदैन’, उनले भने, ‘हाम्रो विद्यालय अनुमति लिएर शिक्षा ऐन नियमावली अनुसार सञ्चालन भएको छ, समग्र हिसाबले हेर्दाखेरी सबै विद्यालयले (बालेनको निर्देशन) त्यसलाई लागू गर्न सम्भव छैन ।’
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्यका क्षेत्रमा सरकारले अघि सारेका अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । ’संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ’, मन्त्री बस्नेतले भने, ’कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख गरिएको छ ।’ मन्त्री बस्नेतलाई अस्पतालका सञ्चालक समितिका महासचिव हीरामणि शर्माले अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराएका थिए । निरीक्षणका क्रममा मन्त्री बस्नेतले बिरामीसँग अस्पतालका सेवाको अवस्था बारेमा छलफल गरेका थिए । सन् २००७ मा स्थापित रेयुकाई एईको मासुनागा आँखा अस्पताल सामुदायिक अस्पताल हो । सो क्षेत्रका दैनिक करिब तीन सय सर्वसाधारणले सेवा लिने उक्त अस्पतालमा आँखाको सम्पूर्ण उपचारका तथा शल्यक्रिया गरिने महासचिव शर्माले जानकारी दिए ।
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
छेन्दु । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।’ नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हाम्रो कर स्ल्याबहरू सबभन्दा कम छन्, व्यापारका लागि पनि उपयुक्त वातावरण छ । त्यसैले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानीका अवसरहरू छन् ।’ उनले नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजानका लागि पूर्णरूपमा अनुमति दिएको पनि स्पष्ट पारे । वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न पनि सक्नेछन्, स्वेदेशी र विदेशी लगानीलाई कुनै भेदभाव गरेको छैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन ।’ पछिल्लो समय सुधार भएका कानुनले व्यावसाय प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास दिलाउँदै उनले श्रम कानुनलाई सुधारेर कम खर्चिलो जनशक्ति उपलब्ध गराउने नीति लिइएको जानकारी दिए । प्रत्यक्ष वैदेशिक लगानी एफडिआइको सञ्चालनका लागि प्रक्रियामा सरलता कायम गर्नका लागि आफूहरू गम्भीर भएर लागिपरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘एफडिआइको स्वचालित स्वीकृतिका लागि आवश्यक नियमहरू विकास गर्दैछौँ ।’ उनले चीनका साथै सम्मेलनमा सहभागी हुन छेन्दु आएका विदेशी उद्योगी व्यवसायीलाई नेपालमा रहेको लगानीको अवसरबाट फाइदा लिन पनि आह्वान गरे । पछिल्लो समय नेपालमा विकास भएका लोकतान्त्रिक पद्धतिको स्थायित्व र संस्थागत विकासका लागि पनि नेपालमा वैदेशिक लगानी आवश्यक भएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक शान्ति प्रक्रिया, लोकतान्त्रिक राजनीतिक परिवर्तन, गणतन्त्र र समाजवादोन्मुख समावेशी लोकतन्त्र स्थापनार्थ जारी संविधानको संस्थागत गर्न आर्थिक समृद्धि र विकास जरुरी छ, त्यसका लागि नेपाललाई एफडिआइसहित अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।’ सम्मेलनमा सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिक विविधता र नेपालको साहसिक पर्यटनको अनुभव गर्न यहाँहरूलाई आग्रह गर्दछु ।’ उनले नेपालको वास्तविक प्रकृतिमा रमाउन आग्रह गर्दै भने, ‘तपाईँहरू नेपालको भव्य हिमालयको अद्भूत दृश्यहरू देखेर जीवनभरको अनुभव गर्नुहुनेछ ।’ नेपाल–चीनबीचमा सताब्दीऔँदेखि उत्कृष्ट सम्बन्ध र मित्रता रहँदै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘दुई देश पहाड र नदीले जोडिएका छन्, हामी भौगोलिक निकटता र सांस्कृतिक आत्मियताले गाँसिएका छौँ, हाम्रो असल मित्रता विश्वसनीय छन् ।’ नेपाल–चीन एकअर्काको सार्वभौमसत्ता, भौलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहँदै आएको उल्लेख गर्दै उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, आफ्नो भूमि चीन र अन्य छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा सधैँ प्रतिबद्ध छ ।’ नेपाल–चीनबीच रहिआएको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ तुल्याउनका लागि यसलाई विकास र समृद्धिको लागि प्रयोग गर्ने रणनीति अपनाइएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कमार्फत सम्पर्क सञ्जाललाई विस्तार गर्न हामी लागि परेका छौँ ।’ नेपालको विकासमा चीनले महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको स्मरण गर्दै उनले भने, ‘हाम्रो खुसीका लागि चीनले उच्च गुणस्तरीय पूर्वाधार निर्माण, समृद्धिको लागि पहल, मानवता र प्रकृतिबीचको सद्भाव प्रवर्द्धन गर्ने र मानव उन्नति र विकासका नयाँ स्वरुप सिर्जनामा महत्व दिएको छ ।’ उप्रधानमन्त्री श्रेष्ठले नेपालजस्ता विकासोन्मुख देशहरूको क्षमता विकास र समृद्धिसहित आधुनिकीकरणमा चीनले पुर्याएको सहयोगको प्रशंसा गरे । सिचुवान प्रान्तसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र सिचुआनबीच भूगोल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्बन्धका धेरै समानता रहेको बताए । नेपाल र चीनका जनताले बुद्धका शिक्षा र दर्शनलाई उच्च सम्मान गर्ने यथार्थ बताउँदै उनले त्यसले पनि द्विपक्षीय सम्बन्धलाई प्रगाढ तुल्याएको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय छेन्दु चीनको प्रवेशद्वार बनेको उल्लेख गर्दै चीनसँगको नेपालको कुल व्यापारको एकतिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको बताए । नेपालका लागि अन्तर्राष्टिय मेला निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले मेलाले नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले यस्ता मेलाले जनस्तरको सम्बन्धलाई पनि प्रवर्द्धन गर्ने उल्लेख गरे । नेपालले सन् २०१३ देखि यस मेलामा भाग लिँदै आएको छ । चीनले आफ्नो समग्र सामाजिक र आर्थिक विकासका साथै प्राविधिक विकासमा फड्को मारेको उल्लेख गर्दै उनले राष्ट्रपति सी चीनफिङको परिकल्पनाअनुसार सन् २०४९ सम्ममा चीन पूर्ण विकसित, बलियो र संस्कृतिकरूपमा उन्नत समाजवादी राष्ट्र बन्ने विश्वास व्यक्त गरे ।
आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’
स्याङ्जा । स्याङ्जाको वालिङ–८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भवन अन्यन्त्र स्थानान्तरण गरेपछि विद्यालय भएको स्थानमा पार्क निर्माण गरिएको हो । स्थानीय नवप्रभात युवा क्लब र श्रवणकुमार पार्क व्यवस्थापन समितिको सहकार्यमा विद्यालय परिसरलाई पार्कको स्वरुप दिइएको क्लबका अध्यक्ष जीवलाल काफ्लेले बताए । उनका अनुसार पार्कमा पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपणलगायत कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था र विद्यालय प्रशासन सहयोग गर्दै आएका छन् । ‘विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मतसम्भार तथा रङगरोगन गरेका छौँ’ अध्यक्ष काफ्लेले भने, ‘पार्कलाई घेराबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा, बगैँचा, वृक्षरोपण, चौपारी निर्माण, शौचालय तथा बाल उद्यानका लागि पूर्वाधार निर्माण र व्यवस्थापन गरेका छौँ ।’ उनले बढ्दो बजारीकरणका कारण हुने बजारको कोलाहलबाट केही समय छुट्ट्याएर पार्कमा आनन्दित हुन सकिने बताए । अध्यक्ष काफ्लेका अनुसार पार्कमा बजार क्षेत्रबाट बिहान र साँझको समयमा पैदल हिँडेर आउने आन्तरिक पर्यटकको सङ्ख्या बढी छ । ‘दिउँसो र बिदाका दिनमा भने घुम्नका लागि मानिस आउनुहुन्छ । बिहान/साँझ भने हिँडेर व्यायाम गर्नेहरु बढी आउनुहुन्छ’, उनले भने। साथीभाइ तथा पारिवारिक समूह गर्मी छल्न पनि यहाँ आउने गरेका उनले बताए । ‘स्मार्ट सिटी’को अवधारणा अनुसार अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरका विभिन्न वडामा पार्क निर्माणमा जोड दिँदै आएको छ । नगरपालिकाले केही वर्षदेखि पार्कमा पूर्वाधार निर्माण, तारबारका लागि बजेट विनियोजन गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले पूर्वाधार निर्माण गर्न रू दश लाख उपलब्ध गराएको नगर उपप्रमुख कविता तिवारी गैर्हेले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विभिन्न ठाउँमा पार्क निर्माण गर्ने र भएकालाई थप स्तरोन्नति गर्दै लैजाने गरी बजेट विनियोजन गरिएको उनले बताए । ‘आगामी आर्थिक वर्ष २०८०–८१ का लागि गण्डकी प्रदेशबाट रू दश लाख विनियोजन भएको छ’, उपप्रमुख तिवारी गैर्हेले भने, ‘पूर्वाधार निर्माण तथा पार्कको व्यवस्थापन गर्न प्राप्त भएको उक्त रकमलाई आवश्यक पूर्वाधार निर्माणमा लगाउने तयारी भइरहेको छ ।’ बजार तथा गाउँभन्दा माथिल्लो स्थानमा रहेकाले यहाँबाट बजार तथा टाढासम्मका दृश्यावलोकन गर्न सकिने स्थानीय बताउँछन् । रासस