विकासन्युज

१० हजार कित्ता किन्न मिल्ने आईएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज असार १५ गतेसम्म आवेदन सक्ने छन् । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्ने छ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ

काठमाडौं । प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ । उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ । आज सार्वजनकि बिदा भएकाले भोलिमात्रै म्याद थप हुने कार्कीले बताए । रासस

ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रहेका छन् । उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ । अर्का गोपाल कार्कीसहित उनीहरुलाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो । यही १३ गते अदालतमा पेस गरिएकामा काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । सर्वोच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ । रासस

राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्याे निजी क्षेत्रबाट सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ का मौद्रिक नीतिका लागि सुझाव संकलन गरेको हो । राष्ट्र बैंकले आयोजना गरेको सो कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्धय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र लगायत कार्यकारी निर्देशक र सम्बन्धीत विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायतको उपस्थिती थियो । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जा दुरुपयोग बढ्दै गएकोले रोक्नका लागि चालू पुँजी कर्जा मार्गदर्शन ल्याइएको बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले सो मार्गदर्शन खारेज वा संशोधन हुनु पर्ने आवाज उठाए पनि गभर्नर अधिकारीले आफू पछि नहट्ने बताए । चालू पुँजी कर्जा मार्गदर्शनले ठूलो सुधार गरेको उनको भनाइ छ । उनले बैंकिङ प्रणालीमा रहेको विकृति हटाइरहेको बताए ।

एसईई पास गरेका विद्यार्थीलाई माईपेले छात्रवृत्ति दिने, कसरी हुने सहभागी ?

काठमाडौं । माईपे डिजिटल वालेटले ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । यो वालेटले मासिक ५ हजार रुपैयाँसम्मको उक्त योजना एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई दिने भएको हो । एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए । ‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ यस छात्रवृत्ति कार्यक्रममा जम्मा एक सय विद्यार्थीहरु लाभान्वित हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक ५०० रुपैयाँका दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५ हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माईपे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नु पर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधि साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।

स्वदेशमै उत्पादन भएपछि २० प्रतिशत घट्यो टायलको मूल्य

काठमाडौं । घर तथा आवासमा प्रयोग गरिने टायल स्वदेशमै उत्पादन हुन थालेपछि मूल्यमा गिरावट आएको छ । प्राइम सेरामिक्स टायल उद्योगले स्वदेशमै टायल उत्पादन गरी बजारमा बिक्री वितरण गर्न थालेपछि एकै दिदनमा २० प्रतिशत मूल्य घटेको प्राइम सेरामिक्स् पालिका अध्यक्ष आशिष गर्गले बताए । साथै उनले आगामी दिनामा यो मूल्य अझै घट्ने बताए । अनुसन्धान भइरहेको हुँदा पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोगमा आएपछि लागत कम हुने भएकाले आगामी दिनमा मूल्य अझै घट्न सक्ने उनको भनाइ छ । उनले भविष्यमा नेपाललाई टायलमा आत्मनिर्भर बनाउने र विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको बताए । ‘प्राइम सेरामिक्सले नेपाली माटोबाट स्वदेशमै उत्पादन गरी बजारमा बिक्री विरतण गर्न थालेपछि टायलको मूल्य १५ देखि २० प्रतिशत घटेको छ, यसअघि २ सय रुपैयाँ पर्ने टायल अब १७० रुपैयाँमा पाउन सकिन्छ, पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोगपश्चात् टायलको मूल्य शतप्रतिशत घट्छ,’ उनले भने, ‘नेपालमा निकै खनिज छन्, बाहिर ल्याउन नसकेको मात्रै हो, जसरी २० वर्ष अघि सिमेन्टलाई उत्पादन गरेर आत्मनिर्भर हुन सकिन्छ र भन्ने प्रश्न गर्थे, त्यसैगरी नेपाली टायल पनि विदेशमा निर्यात गर्ने उद्देश्य छ ।’ प्राइम सेरामिक्स् प्रा.लीले नेपालमै उत्पादन गरेर बिहिबारदेखि प्राइम–टाइल्स् विथ स्टाइल बजारमा बिक्री वितरण थालेको हो । २ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको टायल उद्योगले स्वदेशमै उत्पादन गरिएको अन्तराष्ट्रियस्तरको रहेको अध्यक्ष गर्गको भनाइ छ । रौतहटको बृन्दावन नगरपालीका ६ स्थित १० बिघा क्षेत्रफलमा इटालीयन प्रविधी जडान गरी उद्योग सञ्चालनमा आएको उनले बताए । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको रकम टायल आयात हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत टायल भारतबाटै आयात हुने गरेको छ । साथै, चाइना, मलेसीया, इटालि, स्पेनलगायतका देशबाट पनि टायल आयात हुने गरेको छ । तर, पछिल्लो समय टायलमा भारत ठूलो प्रतिस्पर्धी मुलुक बनेको अध्यक्ष गर्गले बताए । २५ सय किलोमिटर टाढा भारतको गुजरातबाट टायल आयात हुँदा मूल्य पनि दोब्बर तिर्नु परेको उनले बताए । गर्गका अनुसार गुजरातमा उत्पादन भएको टायल ९९ प्रतिशत जनताले प्रयोग गर्छन् । १८ सय उद्योग एउटै ठाउँमा सञ्चालन गरेर भारतले टायलमा ठूलो प्रगति गरेको उनले बताए । साथै, ४० हजार करोड भारतीय रुपैयाँ बराबरको टायल उद्योग गरी ३० वटा देशमा निर्यात पनि गरिरहेको उनको भनाइ छ । अब नेपालमा टायल उत्पादन हुन थालेपछि सस्तो मूल्यमा उपभोक्ताले प्रयोग गर्न पाउने गर्गले बताए । ‘भन्सारमा ४० प्रतिशत अन्तशुल्क तिर्नु पर्छ र, यो विलासीताको प्रडक्ट भएकाले सरकारले धेरै राजश्व उठाउँछ, भारतमा १ सय रुपैयाँमा पाउने टायल नेपालीको घरमा पुग्दा २ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘अब स्वदेशमै आयात हुन थालेपछि २ सय रुपैयाँ पर्ने टायल १७० रुपैयाँमा पाइनेछ, उपभोक्तालाई सपनाको घर बनाउने चाहना प्राइम सेरामिक्सले पुरा गर्छ ।’ लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाल लगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । अब ब्यापारी मात्रै नभई उद्योगी बनेर टायलमा देशलाई आत्मनिर्भर बनाउने अध्यक्ष गर्ग बताउँछन् । बहुर्राष्ट्रिय इटालियन कम्पनी जडान गरी हाल २ फिट चौडा र ४ फिट लम्बाई भएका टायल उत्पादन गरिरहेको उनको भनाइ छ । उनका अनुसार घरमा टायल प्रयोग गर्दा आफ्नो तस्विर भएको टायल लगाउन चाहना छ भनेपनि त्यो डिजाइन उपलब्ध रहेको छ । २५० डिजाइनका टायल उत्पादन भइरहेको उनले बताए । ‘हामीले इटालियन प्रविधि जडान गरेर भारत, इटाली, स्पेनमा उत्पादन हुने टायल जस्तै बलियो र गुणस्तर टायल उत्पादन गरिरहेका छौं, सानोदेखि ठूलोसम्म सबै प्रकारका टायल छन्, पहिलो चरणमा २ देखि ४ फिटसम्मका टायल बजारमा पठाएका छौं,’ उनले भने, ‘अहिलेसम्म भारतको चाहना अनुसारका डिजाइन भएका टायल बजारमा छन्, नेपाली डिजाइनको उत्पादन भएपछि आज अर्डर गरेर भोलि सोही डिजाइन अनुसार पाइनेछ, आफ्नो फोटो पनि टायलमा छाप्न मन छ भने त्यो सेवा पनि उपलब्ध गराउँछौं ।’ २ दशकदेखि टायल आयात गरिरहेका गर्ग जलविद्युत व्यवसायी पनि हुन् । व्यवसायबाट उद्योगी बनेका गर्ग सीएमएस ग्रुप (कन्स्ट्रक्सन मेट्रियल सोलुसन)का अध्यक्ष हुन् । आजदेखि बजारमा टायल आएपछि आयात घट्दै जाने उनको तर्क छ । उनको उद्योगमा ३ सय जनाले रोजगारी पाएका छन् । नेपाली इन्जिनियरलाई सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने र वातावरणमैत्री उद्योग बनाउने उनको योजना छ ।

बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र नवीकरण गर्नुपर्ने भएको हो । ‘२०८० साल असार मसान्तसम्म मात्र आफ्नो इजाजत पत्र नवीकरण गराउन सकिने कानुनी व्यवस्था रहेको’ प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले बताए । यदि तोकिएको समयभित्रमा लाइसेन्स नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वतः रद्द हुने प्राधिकरणले जानकारी गराएको छ ।

काठमाडौं वर्ल्ड स्कुलमा एसइईका विद्यार्थीका लागि ओपन हाउस हुने

काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ । स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम असार १६ गते (जुलाई १) शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर हुने जनाए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुने छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट झण्डै एक किलोमिटर दक्षिणमा पर्दछ । स्कुलसम्म पुग्न कालोपत्रेसहितका फराकिलो सडक रहेको छ । कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुने छ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् । कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी विशेष रहने छ । यसको साथमा विभिन्न कलाकारहरुबाट मनोरञ्जन दिलाइने छ । साथै विभिन्न खेलहरु पनि हुने जनाइएको छ । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन ९ डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग हुने जनाइएको छ । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ । यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ । भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधाआधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ ।