विकासन्युज

स्याङ्जाको आलमदेवी मन्दिर महिलाका लागि खुला

स्याङ्जा । शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाेआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ । मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो । तर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए । उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो । आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिला–पहिला एक जना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताए। ‘हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ’, उनले भने, ‘ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन् ।’ अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन् । यहाँ दशैँको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ । ‘आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ’, उनले भने । कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताए । ‘पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ’, उनले भने, ‘गुठी संस्थानको रु ८४ हजार बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ ।’ आलमदेवी मन्दिरमा तीन सय ६५ दिन नै पूजा हुने गरेको छ । यहाँ एकादशी, औँसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ । रासस

पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । यता, हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ । चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि  सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । रासस

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, ७ घन्टा लाग्ने

फाइल फाेटाे काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६÷७ घन्टा लाग्ने बताए । ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ । सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् । काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

देशभर वर्षा हुने, कुन ठाउँमा कति ?

काठमाडौं । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जन÷चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज धान दिवस मनाइँदै

काठमाडौं । आज धान दिवस मनाइँदै छ । वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

भगवती हाईड्रोले असार २४ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्ने, एक कित्ताको कति ?

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गर्नेछ । कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

गोरखामा भेटियो अचम्मको ढुंगा, लाइट बाल्दा वारपार हुने

काठमाडौं । गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । ‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको उनले बताए । ‘ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ,’ उनले भने । ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उनले बताए । ‘एकातिरबाट ‘लाइट’ बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ, अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ,’ श्रष्ेठले भने । उनले बरामद गरिएको ढुङ्गाका बारेमा भू–गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू–गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिए । बरामद गरिएको ढल्कने ढुङ्गा चोरी गरिएको नभई पुख्र्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएकोे प्रनाउ श्रेष्ठको भनाइ छ । ‘बरामद गरिएको वस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुन्छ, पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन,’ उनले भने । श्रेष्ठले आफूले पनि पहिलोपटक यस्तो प्रकारको ढुङ्गा देखेको बताए । झट्ट हेर्दा ठूलो ‘आइस’ जस्तो देखिने उनले बताए । उक्त ढुङ्गा बिक्री वितरण हुँदैछ भन्ने सूचना प्राप्त भएपछि त्यसको आधिकारिताबारे अनुसन्धान गरिरहेको उनले बताए ।

बैंक साहु होइनन्, ३ प्रतिशतमै ऋण दिनु पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएक छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताएका हुन् । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ, त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ,’ उनले भने, ‘उद्यमी बिग्रँदा ऊ मात्रै बिग्रीदैँन, बैंक पनि बिग्रन्छ, त्यसैले अनुगमनको दायित्व बैंकको हुनुपर्छ ।’ आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि ३ प्रतिशतमा १५ लाख रुपैयाँसम्म ऋण दिन सुरु गरिएको र त्यसलाई नै निरन्तरता दिनु पर्ने उनको भनाइ छ । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए । ‘अव्यावहारिक नीति सरकारले हटाउनुपर्छ, कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ,’ उनले भने । उत्पादन वृद्धि १० प्रतिशतमाथि पुर्याउन सकिने भन्दै उनले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताए । नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उनको भनाइ छ । ‘अहिले नेपालमा एक वर्षमा रोजगारको खोजी गर्नेजति सबै रोजगार छैनन् त्यसकारण अबको बाटो भनेको उद्यमशीलता हो रोजगार होइन,’ उनले भने । नेपालमा बजारीकरणको कुनै समस्या नरहेको भन्दै उनले ठूलो मात्रामा गुणस्तरीय सामान उत्पादन गरेर राम्रो प्याकेजिङ गर्न सुझाव दिए । पुरानो तरिकाले नभएर सहकारी र समूहमा मिलेर धेरै उत्पादन गर्न उनको सुझाव थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको भन्दै त्यसको उचित प्रयोग गर्न नसकिएको उनले बताए । पछिल्लो समय मजदुर आन्दोलन नभएको हुँदा ती समस्याबाट उद्यमीलाई राहत पुगेको उनले बताए ।