विकासन्युज

नेपालमा तीन दिन बसेर ज्याक मा पाकिस्तानतर्फ प्रस्थान

काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा पाकिस्तान तर्फ प्रस्थान भएका छन् । उनी नेपालमा तीन दिन बसेर आज बिहान ११ बजेको जहाजमा पाकिस्तानतर्फ प्रस्थान भएका हुन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका थिए । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार काठमाडौं आएका थिए । उनी नेपाल आउनु कारण भने खुलेको छेन ।

वैदेशिक रोजगारी छाडेर पशुपालन गरेका कृषक उत्कृष्ट

बेनी । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन् । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गरेको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो । वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय ढुङ्गानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर पाँच लाख रुपैयाँको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गरेका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुङ्गाना यही साता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए । फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिए । उनका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ । फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म एक करोड रुपैयाँ लगानी गरिसकेको ढुङ्गानाको भनाइ थियो । फर्ममा तीन जनाले रोजगारीसमेत पाएको उनले बताए । गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुने खबरले पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताए । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका पाँच जनालाई पुरस्कृत गर्दैछ । रासस

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ । रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको जनाएको छ । यसैगरी शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी काङसकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ । ‘नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । रासस

घरको मठमा कीटाणुनाशक तुलसी रोपियो

 काठमाडौं । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आएका प्रा. डा. चन्द्रराज सापकोटाले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताए। आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला विसं २०५५ मा औषधीय गुणले युक्त तुलसीबाट चिया समेत उत्पादन गरेको उनको भनाइ छ । ‘तुलसीको चियाले मानव शरीरका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारीको सङ्क्रमणदर तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउनेहरु बढेका थिए । कीटनाशक भएकाले पनि वैदिककालदेखि तुलसीको महत्व बढेको हो’, प्रा. डा. सापकोटाले भने । हामीकहाँ उपलब्ध वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित भएको भन्दै अमृता समेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उनको भनाइ छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रुपमा पनि लिइन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईको भनाइ छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् भने अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सबै एकादशीका दिन सक्नेले फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने चलन छ । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्निस्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गरिन्छ । रासस

बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली, वार्षिक १४ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन् । कुँडो पाक्दै गर्दा उनी बङ्गुरको गोबर सफा गर्न थाल्छन् । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन् । सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउँछन् । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्काउनु उनको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उनी कार्यालयतिर हानिन्छन् । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्छन् । सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आएका छन् । वार्षिक १४ लाख ४० हजार रुपैयाँ बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्’, सिंजालीले भने, ‘बङ्गुरको पाठापाठी छ हजार रुपैयाँमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।’ उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनले बताए । ‘व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ’, सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।’ गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ । सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन् । ‘उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ’, उनले भनिन् । गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताइन् । नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ । रासस

बिदाको दिन पनि सेयर बजार खुला !

काठमाडौं । सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुला भएको छ । सरकारले आज असार १४ गते (बिहीबार)का दिन सार्वजनिक बिदा दिएको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बजार खुला रहेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि नेप्सेको वेवसाइटमा भने बजार खुला भनेर देखाइएको छ । बजार खुला भनेर देखिएपनि कारोबार भने भएको छैन । यस विषयमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसँग बुझ्दा नेप्से कारोबार बन्द नै रहेको बताए । उनले आफूले कसरी बजार खुला देखियो भनेर बुझिरहेको बताए । ‘बजार खुला छैन, म पनि प्रयास गर्दै छु, साथीहरुसँग सम्पर्क भएको छैन, प्राविधिक साथीहरु आज बिदा भएकाले फोन पनि उठाइरहनु भएको छैन,’ उनले भने, ‘आज बिदा हो, कार्यालयमा कोही पनि छैनन्, वेवसाइटमा देखिएको होला, कसरी डिस्प्ले भयो भनेर बुझ्दै छु ।’

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

काठमाडौं । इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ओटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। त्यस्तै, पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ। यस सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिला देखि नै धेरै नेपालीहरुको वसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ’। अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन् ,जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन्।

काठमाडौंका सडकमा गुड्दैछन् १०३ विद्युतीय ट्याक्सी, लागत कम देखिएपछि आकर्षण बढ्दै

काठमाडौं । निजी विद्युतीय गाडीहरु मात्रै गुड्दै आएको काठमाडौं उपत्यकाभित्र फाट्टफुट्ट रुपमा ट्याक्सी देखिन थालेका छन् । बागमती प्रदेश सरकारले सट्टा दर्तामा विद्युतीय ट्याक्सी दर्तागर्न दिने निर्णय गरे सँगै सडकमा विद्युतीय ट्याक्सीहरुको उपस्थिति बढ्न थालेको हो । सरकारको उक्त निर्णय पश्चात् सट्टा दर्तामा विद्युतीय ट्याक्सीहरु बढ्दो क्रममा रहेको साना ठूला सवारीको कार्यालय एकान्तकुनाले जनाएको छ । हालसम्म १ सय ३ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेको कार्यालयका प्रमुख हरिहर पोखरेलले बताए । ‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ, अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ’, उनले भने । बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड ल्याएपछि सट्टा दर्ता बढ्दो क्रममा रहेको उनको भनाइ छ । बागमती प्रदेश अन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालयले ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८’ जारी गरेपछि नयाँ ट्याक्सी थपिन थालेको हो । पेट्रोलियम पदार्थको ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीमा लागत कम भएकोले पनि धेरैको रोजाइमा विद्युतीय ट्याक्सी परेको छ । के छ मापदण्डमा ? मन्त्रालयले जारी गरेकाे मापदण्डमा विद्युतीय ट्याक्सीलाई साधारण र विशेष ट्याक्सी गरी २ भागमा विभाजन गरेको छ । काठमाडौं उपत्यकामा पेट्रोलबाट चल्ने र उत्पादन मितिले २० वर्ष नाघेका सार्वजनिक यात्रुवाहक ट्याक्सीको लागत कट्टा गरी सट्टा ट्याक्सी दर्ता गर्दा विद्युतीय दर्ता गर्नुपर्ने, २० वर्ष अगावै स्वेच्छाले ट्याक्सीको लागतकट्टा गरी सट्टादर्ता गर्न चाहेमा ट्याक्सीको अवधि उत्पादन मितिले १५ वर्ष पुगेको हुनुपर्ने र दुर्घटना वा अन्य कारणले सञ्चालन हुन योग्य नभएमा तोकिएको समयावधि अगावै सट्टा दर्ता सुविधा दिन बाध्य नहुने उल्लेख छ । यस्तै, काठमाडौं उपत्यकामा ग्याँसबाट सञ्चालित सार्वजनिक यात्रुबाहक सवारीलाई ऐनको दफा १९ को उपदफा (४) बमोजिम सवारीधनीको स्वेच्छाले लागतकट्टा गरी पत्रु गरेमा एक पटकका लागि विद्युतीय ट्याक्सी सट्टा दर्ता सुविधा दिइने मापदण्डमा उल्लेख छ । उक्त मापदण्ड अनुसार विद्युतीय ट्याकसीको छतमा अनिवार्य रुपमा डिजिटल डिस्प्ले बोर्ड जडान गर्नु पर्ने, तोकिए बमोजिम मिटर जडान गरी भाडा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, तर विद्युतीय माध्यमबाट नगद रहित भाडा भुक्तानी प्रणाली लागू भए पश्चात सोही बमोजिमको भाडा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । यस्तै, सो मापदण्डमा आयातकर्ता कम्पनी तथा निजी क्षेत्रले विद्युतीय ट्याक्सीका लागि पूर्वाधार चार्जिङ स्टेशन स्थापना र सञ्चालन गर्न मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र सम्बन्धित स्थानीय तहको स्वीकृति लिई गर्नुपर्ने, विद्युतीय सवारी प्रोत्साहन गर्न प्रदेश सरकारले संघीय सरकारको सहयोग तथा स्थानीय तहको समन्वयमा जग्गा प्राप्त गरी सरकारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन गर्न सक्ने उल्लेख छ । मन्त्रालयले ‘ट्रान्समिसन’लाई अटोमेटिक हुनुपर्ने, बुट स्पेस (डिकी) साधाराण ट्याक्सीको लागि २०० लिटर र विशेषका लागि २५० लिटरमाथि हुनुपर्ने, साधारण ट्याक्सीको मोटर क्षमता ३० किलोवाट र विशेष ट्याक्सीको ५० किलोवाटभन्दा माथि हुनुपर्ने व्यवस्था उल्लेख छ । साधारण ट्याक्सीका लागि २० किलोवाट आवर र विशेषका लागि ४० किलोवाट आवरभन्दा माथिको लिथिम आयोन ब्याट्री हुनुपर्ने, ग्राउन्ड क्लेयरेन्स साधारणका लागि १७० एमएम र विशेषका लागि १७५ एमएम हुनुपर्नेछ । साधारणमा ड्राइभर एयरब्याग र विशेषमा डुअल एयरब्याग, साधारणमा जीपीएस सिस्टम आवश्यक र विशेषका लागि अनिवार्य गरिएको छ ।साधारण ट्याक्सी एक पटकको चार्जमा २१० किलोमिटर गुड्न सक्ने हुनुपर्ने छ भने विशेषका लागि २७५ किलोमिटरको रेन्ज हुनुपर्ने उल्लेख छ ।