भारतीय सीमामा लुकीछिपी, जाँच बिनै भित्रिन्छ भारतीय तरकारी
काठमाडौं । सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन् । वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमा नाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ताजा तरकारी भित्रिने गरेको छ । यहाँ दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकले ताजा तरकारी र फलफूल वीरगन्ज ल्याउने गर्छन् । पर्सा र बारासँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरको नगवा, इनरुवालगायत खुला नाकाको फाइदा उठाउँदै साइकल चालकले दैनिक तरकारी तथा फलफूल भित्र्याउने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला सीमा नाकाबाट क्वारेन्टिन जाँच बिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्ने भएकाले पनि नियन्त्रणमा लिनुपर्ने बताए । ‘खुला सीमा नाकाको फाइदा उठाउँदै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट साइकलमार्फत दैनिक ठूलो मात्रामा तरकारी भित्र्याउने गरेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासन र सशस्त्र प्रहरीले त्यसमा ध्यान दिन जरुरी छ ।’ वीरगन्जमा दैनिक साइकल चालकले बिहान सबेरैदेखि प्रति साइकलमा क्वारेन्टिन जाँच बिनै भारतीय तरकारी भित्र्याउने गरेका छन् । स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैनन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरेर क्वारेन्टिन जाँचमा योग्य भएका भएका तरकारी तथा फलफूलमात्र भित्र्याउन पाइने बताए । ‘क्वारेन्टिन जाँच बिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन । कोही कसैले ल्याएका रैछन् भने आवश्यक अनुगमन गरेर नियन्त्रणमा लिइनेछ,’ उनले भने । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्साको सीमा क्षेत्रबाट भन्दा पनि बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँच बिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको बताए ।
देशका विभिन्न स्थानमा पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै लुम्बिनी प्रदेशको तराई भागका एक/दुई स्थानमा पनि वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ । ती भेगका सर्वसाधारणलाई महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर
रमेश लम्साल/रासस सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । वितरण प्रणालीको क्षमता र गुणस्तर कमजोर हुनु, औद्योगिक क्षेत्रमा गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिको अभाव हुनुलाई चुनौतीका रूपमा लिएको छ । यस्तै, सरकारले घरायसी तथा व्यावसायिक क्षेत्रमा बढी विद्युत् खपत गर्ने उपकरणको प्रयोगमा वृद्धि गर्नु, कृषि, सिँचाइ तथा औद्योगिक क्षेत्रमा विद्युत् प्रयोग वृद्धि गर्नु र विद्युतीय सवारी चार्जिङ पूर्वाधारको अभाव हुनु पनि चुनौतीका रूपमा रहेको छ । त्यसैगरी, डाटा सेन्टर, हरित हाइड्रोजन, मल उत्पादन गर्ने उद्योग, आधुनिक इँटाभट्टाजस्ता विद्युत् खपत गर्ने सघन उद्योगको न्यून विकास हुनु, आन्तरिक विद्युत्को माग पूर्ति भएपश्चात् बचत भएको विद्युत्लाई निर्यातयोग्य वस्तुका रूपमा द्विपक्षीय, उपक्षेत्रीय तथा क्षेत्रीय बजारमा पुर्याउनु रहेको छ । यसका लागि आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन तथा सम्बद्ध संरचनाहरूको पर्याप्त विकास गर्नु पनि चुनौतीका रूपमा रहेको सरकारी निष्कर्ष छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मा विद्युत्को आन्तरिक माग पूर्ति तथा क्षेत्रीय बजारको आवश्यकताअनुसार निर्यात गर्न उपयुक्त ठूला जलाशयुक्त जलविद्युत् आयोजनाको विकास गर्नु जरुरी छ । छिमेकी मुलुकको नीति तथा नियम र नेपालको विद्युत् उत्पादन र आयात निर्यातसम्बन्धी नीति तथा प्रक्रियाबीच सामन्जस्यता कायम गर्नु, विद्युत् व्यापारमा निजी क्षेत्रको समेत सहभागिता गराउन कानुनी व्यवस्थाको अभाव हुनु पनि चुनौतीका रूपमा रहेको निष्कर्ष निकालिएको छ । नेपालमा उत्पादित विद्युत्को उच्च लागतका कारणले छिमेकी मुलुकको विद्युत् बजारमा प्रतिस्पर्धी हुनु, नेपालको राष्ट्रिय ग्रिड प्रणालीलाई छिमेकी मुलुकको ग्रिड प्रणालीस्तरमा विकास गर्नु, नेपालमा प्रतिस्पर्धी विद्युत् बजारको विकास गरी छिमेकी देशको विद्युत् बजारसँग सम्बन्धित प्रणाली निर्माण गर्नु पनि चुनौती रहेको मन्त्रालयको निष्कर्ष छ । जलविद्युत्लाई निर्यातयोग्य वस्तुका रूपमा विकास गरी वार्षिक व्यापार घाटा न्यूनीकरण गर्ने उच्च सम्भावना हुनुलाई सरकारले अवसरका रूपमा लिएको छ । यातायात, घरायसी तथा औद्योगिक क्षेत्रमा विद्युत् विस्तार गरी आन्तरिक खपत उल्लेख्य रूपमा वृद्धि गर्ने सम्भावना हुनु, देशमै उत्पादित स्वच्छ विद्युत् ऊर्जाको प्रयोगमार्फत दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्ने आधार हुनुलाई अवसरका रूपमा लिइएको छ । आन्तरिक खपतपश्चात बचत हुने विद्युत्लाई द्विपक्षीय, उपक्षेत्रीय तथा क्षेत्रीय बजारमा निर्यात गर्ने पर्याप्त सम्भावना हुनु, नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने स्पष्ट आधार तयार हुनु पनि अवसरका रूपमा रहेको छ । नेपालमा विद्युत् उत्पादन उच्च हुने याममा छिमेकी राष्ट्र भारत तथा बङ्गलादेशमा ऊर्जा माग उच्च रहनु र सो याममा उच्च विद्युत्दर प्राप्त गर्नसक्ने सम्भावना छ । कार्बन शून्यको लक्ष्य राखेका छिमेकी मुलुकका लागि नेपालको जलविद्युत् हरित ऊर्जाको रूपमा आकर्षक विकल्प हुनु, खनिज इन्धनको प्रतिस्थापन गरी विदेशी मुद्रा बचत तथा शोधनान्तर स्थिति बलियो बनाउने विषयलाई मन्त्रालयले अवसरका रूपमा चित्रण गरेको छ । जलवायु वित्त तथा कार्बन बजारमा पहुँच वृद्धि गर्ने अवसर हुनु, ऊर्जा सघन उद्योगजस्तै डेटा सेन्टर, हरित हाइड्रोजन, रासायनिक मल कारखाना आदिको विकासमार्फत ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न सक्ने सम्भावना हुनु पनि अवसरका रूपमा रहेको छ । सरकारले सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत एक हजार ५०० युनिट पुर्याउने र कुलजडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको छ । त्यसमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ । सरकारले तय गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विद्युत् ऊर्जा निर्यातमा अपेक्षित रूपमा वृद्धि हुनेछ । व्यापार घाटामा उल्लेख्य कमी तथा राष्ट्रिय अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदानमा उल्लेख्य रूपमा वृद्धि हुनुलाई अपेक्षित उपलब्धिका रूपमा लिइएको छ । रणनीति कार्यान्वयनमा आएपछि प्रतिव्यक्ति विद्युत् खपत करिब एक हजार ५०० युनिट पुग्नुका साथै शतप्रतिशत जनसङ्ख्यामा भरपर्दो विद्युत् पहुँच सुनिश्चित हुनेछ । विद्युत् निर्यात बढ्दै औसत निर्यातदर र राजस्वमा वृद्धि हुनेछ । आन्तरिक खपत भई बचत हुने विद्युतको प्रभावकारी बजार व्यवस्थापन सुनिश्चित हुनेछ । यस्तै, वातावरणीय प्रदूषणमा कमी आउने तथा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुग्नेछ । –––
सम्पर्कमा आएका १४४ परिवार होटलमा, सामान सुन्दरीघाटमा
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने कार्यलाई तीव्रता दिएको छ । यसै सिलसिलामा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको सुकुम्बासी बस्ती आज बिहान १२:३० बजे पूर्ण रूपमा खाली गरिएको छ । विगतका झडप र विवादका तुलनामा यस पटकको स्थानान्तरण कार्य निकै शान्तिपूर्ण र सौहार्दपूर्ण देखिएको छ । बस्ती खाली गराउन पुगेका नेपाल प्रहरी र महानगर प्रहरी बललाई स्थानीयले अवरोध गर्नुको सट्टा सहयोग गरेका थिए । सुरक्षाकर्मीहरूले समेत स्थानीयको घरायसी सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग पुर्याएका थिए । हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा बसोबास गरिरहेका कुल १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । ती बस्तीहरूमा कोही व्यक्ति वा परिवार छुटेका छन् कि भनी अहिले पनि खोजी तथा उद्धार कार्य जारी राखिएको प्रशासनले जनाएको छ । सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याई विवरण सङ्कलन गरिएको छ। उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ । स्थानान्तरण गरिएका परिवारका घरायसी सामानहरू दशरथ रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यासमा सुरक्षित रूपमा भण्डारण गरिएको छ। महानगरले वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा बस्ती खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ। यद्यपि, कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार बुद्धचोक र मनोहरा टोलमा रहेका बस्तीहरू आजै खाली गर्ने तयारी भए पनि विशेष कारणवश आजका लागि उक्त प्रक्रिया रोकिएको जानकारी प्राप्त भएको छ । सरकारले अब होटलमा राखिएका परिवारहरूको विवरण छानबिन गरी वास्तविक सुकुम्बासीहरूको पहिचान गर्ने र उनीहरूलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने योजना बनाएको छ ।
सुकुम्बासी पहिचान गरी सरकारी आवासमा राखिने, थापाथलीमा खाली भयो बस्ती
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका बस्तीहरू खाली गराउने सरकारको अभियानले तीव्रता पाएको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको सुकुम्बासी बस्ती पूर्ण रूपमा खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र ३१ को शान्तिनगरमा हटाउने कार्य जारी छ । साथै, कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार र मनोहरा टोलका अनधिकृत बस्तीहरू पनि खाली गर्ने तयारी भइरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार यी ५ क्षेत्रमा गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । विगतका झडप र विवादका तुलनामा यसपटक थापाथलीमा स्थानीयको सहयोगका कारण शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ । नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरिरहेका छन् । हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्याएर विवरण सङ्कलन गरी तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी गरिएको छ । उनीहरूका घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यासमा सुरक्षित रूपमा छुट्टाछुट्टै राखिएको छ । होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिदेखि नै सुरु गरिनेछ । छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको प्रक्रिया अघि बढाइने सरकारको योजना छ ।
कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन् । कांग्रेस तनहुँको शनिबार (आज) आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए । वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको औंल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे । ‘पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउनसके मात्रै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन सकिन्छ’, उनले भने । महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे ।
जडीबुटीमा सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव: डाेजरमाथि ढुंगा प्रहार, सुरक्षाकर्मी घाइते
काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने प्रयास गर्दा तनाव उत्पन्न भएको छ । सुकुम्बासी बस्तीका नाममा ओगटिएको जग्गाबाट संरचना हटाउन पुगेको टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । भक्तपुरतर्फ पर्ने सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउन सुरक्षाकर्मी र प्राविधिक टोली पुगेका थिए । सो क्रममा सुकुम्बासी बस्तीका केही स्थानीयले विरोध जनाउँदै एक्कासि ढुंगा प्रहार सुरु गरेका थिए । स्थानीयको ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही कर्मचारी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार भइरहेको छ । अतिक्रमित संरचना हटाउने क्रममा केही उच्छृङ्खल समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । सुरक्षाकर्मीलाई लक्षित गरी प्रहार भएपछि केही टोली घाइते भएका प्रहरीले जनाएको छ । तनाव बढेपछि र स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएपछि प्रशासनले आजका लागि हटाउने कार्य स्थगित गरेको छ । प्राविधिक र सुरक्षा टोली अहिले घटनास्थलबाट फर्किएको छ । जग्गा खाली गराउने विषयमा स्थानीय र प्रशासनबीचको विवादले त्यस क्षेत्रमा केही समय सवारी आवागमन समेत प्रभावित भएको थियो ।
सुक्खा पहिरोका कारण सडक अवरुद्ध
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज (शनिबार) बिहान सडक माथिबाट अचानक सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो । पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन् । सडकमा सुक्खा पहिरो खसेको जानकारी प्राप्त हुनेबित्तिकै अस्थायी प्रहरी पोष्ट तुम्च, हुम्लाबाट प्रहरी सहायक निरीक्षक टेकराज पाण्डेयको कमाण्डमा चार जनाको प्रहरी टोली उक्त सडकखण्डमा खटिएको छ । सडक खुलाउनका लागि जेसिबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसिबी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए । उक्त सडकमा सुक्खा पहिरो खस्दा दुवैतर्फका एक दर्जनभन्दा बढी सवारीसाधन रोकिएको स्थानीय तथा सम्बन्धित ठाउँमा पसल व्यवसाय गरिरहेका डिलबहादुर कार्कीले बताए । सडकमा सुक्खा पहिरो खस्दा करिब एक घण्टा बढीसम्म पैदल हिँडेर गाडी भएको ठाउँमा पुग्नुपरेको र उक्त सडक खण्डमा पटकपटक सुक्खा पहिरो खस्दा यात्रुलाई आवतजावतमा समस्या बनाएको कार्कीले बताए ।