१२ दिनमै २३ जनाको ज्यान लिने विपद्
काठमाडौं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ । ती घटनाबाट ७३ जना घाइते भएका र ५२७ परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सात जनाको आगलागीमा परे ज्यान गएको छ । चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ । घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले विपद्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित ‘फोकल पर्सन’ वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
सामाजिक सुरक्षा भत्ता अब घरदैलोमै
काठमाडौं । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो । उपाध्यक्ष गोलेले भने, ‘हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तता भएका नागरिकले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । त्यसैले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य अघि बढाएका छौं ।’ उनका अनुसार महाङ्काल गाउँपालिका-६ ठूलादुर्लाङबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । घरदैलोमै भत्ता पाउँदा ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्ति तथा एकल महिलाले खुसी व्यक्त गरेका छन् । पालिकाले आगामी दिनमा यो सेवा सबै वडामा विस्तार गर्ने तयारी गरेको जनाएको छ । त्यसैगरी, उपाध्यक्ष गोलेले घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्तालगायत सेवा वडास्तरमै उपलब्ध गराइने जानकारी दिए । ‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियानलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।
यूएईविरुद्ध नेपाल ३७ रनले विजयी
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्यो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । त्यसैगरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललीत राजवंशीले समान एक विकेट लिए । ब्याटिङतर्फ यूएईका हरप्रित सिंहले ३९ रन बनाए । ५२ बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यसैगरी, मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् । नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए ।
उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य जारी
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यसक्रममा शनिबार (आज) काठमाडौं महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ-सिनामङ्गल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा अवैध रुपमा निर्माण गरिएका बस्ती खाली गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्वासी घरधुरी रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैधरुपमा निर्माण गरिएको संरचना हटाएर ती क्षेत्र खाली गरेको हो । सुरक्षाकर्मीको टोलीले नै ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरेका थिए । थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउनेक्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रङ्गशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलाइएको छ । हाललाई घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षितरुपमा राखिएको छ । अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुनेछ । प्रमाणीकरणका क्रममा सुकुम्वासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं १ स्थित ‘अपार्टमेन्ट’मा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुनेछ ।
विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने
काठमाडौं । मौसम बदलीसँगै आज (शनिबार) देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४।६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ । यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए । आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ । यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
काठमाडौं । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडक खण्ड दिउँसो ३:३० बजेदेखि बन्द गराएको हो । वर्षाका कारण रोसी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ । वर्षाका कारण रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गत सालको बाढी पहिरोले राजमार्गको रोसी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । यसैबीच राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गत साल असोजको बाढी पहिरोले चौकीडाँडा-नेपालथोक सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
१ हजार सुकुम्वासीलाई आश्रय दिने काठमाडौंका होटलहरूको घोषणा
काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका सुकुम्बासी नागरिकहरूको सुरक्षित व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए । उनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका महासंघमा आबद्ध होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब एक हजार जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन महासंघ सक्षम छ। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने प्रतिबद्धता महासंघले जनाएको छ । यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन तथा सहकार्य गर्न महासंघ तत्पर रहेको अध्यक्ष भण्डारीले बताए ।