विकासन्युज

आर्थिक मुद्दालाई प्राथमकितामा राख्न देउवासँग सीएनआईको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्रका विषयमा देउवासँग छलफल गरेका हुन् । उक्त छलफलमा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदै राजनीतिक दलहरुले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिए । सो अवसरमा कांग्रेस सभापति देउवाले पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।

सहकारीका ठूला माछा प्रहरीको बल्छीमा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न सहकारीका ३४ जना सञ्चालक लगायत व्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समय सहकारीका बचतकर्ताको ठूलो रकम हिनामिना गरेका आरोपमा उनीहरु पक्राउ परिरहेका छन् । सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्थाका १२ जना, भरोसा सहकारीका तीन जना, प्रज्ञान सहकारीका ८ जना, सशवशिखर बहुउद्धेश्यिय सहकारीका चार जना र एकताबुद्ध बचत तथा ऋण सहकारीका ७ जनालाई पक्राउ गरिसकेको छ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै १ हजार ५०३ जनाले २०७ जाहेरी दिएका दिए । सो सहकारीको अनुसन्धान गरेपछि सीआईबीले ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो माग गरेको थियो । अहिले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य लगायत अन्य सञ्चालकहरु हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले २०७८ पुस १४ गतेको आदेशले २ जना पुर्पक्षका लागि थुनामा गएको र बाँकीको हकमा धरौटीमा छोडेको छ । बचतकर्ताको पैसा हिनामिना गरेको आरोपमा भरोसा सहकारीका तीन जना पक्राउ परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देशीय सहकारी संस्था ठगी प्रकरणमा सलंग्न भएको आरोपमा उक्त संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिवनाथ पाण्डे पक्राउ परेका थिए । ५२ बचतकर्ताको १० वटा जाहेरीको आधारमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुबाट १२ करोड ५६ लाख २४ हजार रुपैयाँको बिगो माग गरिएको छ । जिल्ला अदालत काठमाडौंको २०७८ चैत ६ गतेको आदेशले तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् । यस्तै, काठमाडौंको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्टकुमार महर्जन र लेखा परीक्षकद्वय हिमालयराज जोशी र दीपक रानामगर छन् । एक जनाले ८ जाहेरी गरेपछि सीआईबीले उनीहरुलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि उनीहरुबाट सीआईबीले १५ करोड २१ लाख ३३ हजार रुपैयाँको बिगो माग गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २४ गतेको आदेशले ८ जनामध्ये तीन जना पुर्पक्षको लागि थुनामा गएको बुझिएको छ । यस्तै, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिबशिखर बहुउद्देशीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरु थुनामा छन् । शिबशखिर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड रुपैयाँ हिनामिना गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् । शर्मा दम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । सीआईबीका अनुसार उनीहरुले ४३ वटा कम्पनीमा सहकारीको लगानी गरेको बुझिएको छ । यस्तै, सीआईबीले एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका सात जनालाई पक्राउ गरेको छ । बचतकर्ता ठग्ने एकता बुद्ध ऋण तथा सहकारी संस्थाका कार्यकारी अध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यूरोका अनुसार सहकारीका कार्यकारी अध्यक्ष भानु शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ , सदस्य (ऋण संयोजक) विर बहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की पक्राउ परेका छन् । बूढानीलकण्ठ-९ एकता बस्तीमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत हिनामिना गरेको भन्दै २१३ जनाले उजुरी दिएका थिए । यस सहकारीको विषयमा अहिले अनुसन्धान भइरहेको छ । सीआईबीले ११ करोड रुपैयाँ बढीको बिगो माग दाबी गरेको छ । यी पाँच सहकारीका कुल २ हजार ९८१ जनाको जाहेरीले ३४ जना पक्राउ परेका हुन् । उनीहरुबाट कुल ६ अर्ब ७२ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ । यस्तै, अहिले देउराली बहुउद्देशीय सहकारीको विषयमा अनुसन्धान गर्न भन्दै सहकारी विभागले सीआईबीलाई पत्र पठाइसकेको छ । सीआईबी स्रोतका अनुसार सीआईबीले सो सहकारीका सञ्चालकहरुलाई खोज्दैछ । देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंसहित सञ्चालकहरु सीआईबीको निगरानीमा छन् । २०७९ साल असारबाट समस्यामा परेको सहकारी संस्थाका सञ्चालक लगायत अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । सातदोबाटो ललितपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाले बचतकर्ताको रकम घरजग्गामा लगानी गरेको बुझिएको छ ।

सनराइज क्यापिटलका ग्राहकलाई समाज डेण्टलमा छुट

काठमाडौं । सनराइज क्यापिटल, काठमाडौं तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर, काठमाडौं बिच सहकार्य गर्ने सम्बन्ध सम्झौता भएको छ । शुक्रबार एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजनाहरु सहित सनइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकलार्ई  निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा, आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था लगायतका सुविधा प्रदान गरिने जनाएको छ । त्यस्तै, समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श, दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट दिने जनाएको छ ।

गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले दोषी ठहर गरेको हो । खड्का माथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाखको गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो । दोषी ठहर भएसँगै विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो ।

बाह्रै महिना सिँचाइको व्यवस्था गर्छौं : रेनु दाहाल

रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने गरी काम भइरहेको बताएकी छिन् । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उनले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी हुन् । ‘भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ’, उनले भने, ‘धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पुर्याउन हामीले काम गरिरहेका छौँ ।’ अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पुर्याइरहेको बताइन् । ‘अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ’, उनले भने, ‘निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।’ आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालले बताइन् । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुग्नुभएको छ । महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनले बताइन्। पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पुर्याएको भन्दै उनले सिँचाइका लागि मात्रै चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुर महानगरपालिले त्रिपुरेश्वर कृषि सहकारीसँगैको सहकार्यमा आज राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले कृषिको विकास गर्न निरन्तर काम गर्दै आइरहेको बताइन्। ‘भरतपुर कृषिको आकर्षणको केन्द्र बन्दै गइरहेको छ’, उनले भने, ‘यहाँको कृषि र पशु विकासको काम देखेर अहिले केन्द्रीय नेताको समेत आकर्षण भएको छ ।’ महानगरपालिकाले आन्तरिक बजेटबाट १५ करोड कृषि र पशुपन्छीका लागि विनियोजन गरेको अधिकारीले बताइन् ।

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए । पहिले दुई पाङ्ग्रे सवारीसाधनमा स–साना गल्तीका कारण फेलको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो । दुई पाङ्ग्रे सवारीसाधनमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चार पाङ्ग्रे सवारीसाधनको परीक्षामा भने पहिलेभन्दा उल्लेखनीय रुपमा बढ्न नसकेको उनले बताए। गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने प्रमुख कपालीले बताए। चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उनले बताए। अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए । धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताए। उनले भने, ‘अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।’ यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भीड व्यवस्थापनको समस्या रहेकामा अहिले उक्त समस्या समाधान भइरहेको उनले बताए। ‘नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ’, प्रमुख कपालीले भने, ‘लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।’ प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि बागमती प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शत प्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेका यातायात व्यवस्था विभागले जनाएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भए पनि तीन पटकसम्म दिन पाउने व्यवस्था छ ।

किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भयो : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् । ‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो, एक÷दई अर्ब रुपैयाँ बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने । बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए । ‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने । किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् । ‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

एउटै गाउँमा ५ करोडको लिची उत्पादन

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले हिजोआज परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् । बारीका डिल र छेउछाउका बगैँचामा बोटैभरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन् । बोटमा पाकेका राता दानाले सिङ्गो गाउँ नै यतिबेला राताम्य देखिएको छ । कृषकलाई बोटमा भर्‍याङ ठड्याएर पाकेका लिचीका दाना टिप्न भ्याइनभ्याइ छ । हिजोआज थोर्गा गाउँमा पुग्ने व्यक्ति बगैँचा वरिपरि घुम्ने, तस्बिर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन् । लिची खेती गर्न थालेपछि आम्दानी मनग्य हुन थालेको र जीविकोपार्जनमा सहज भएको यहाँका किसान बताउँछन् । गाउँमा एक घरमा न्यूनतम दशदेखि एक सयसम्म लिचीका बोट रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवालीले बताए । उनका अनुसार यहाँका कृषकलाई जीविकोपार्जनका लागि लिची मुख्य आम्दानीको स्रोत बनेको छ । ‘व्यापारी लिची लिन कृषकको बारीमै पुग्छन् । यहाँको लिची गुलियो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्युरेकको लिची भनेपछि उपभोक्ताले पनि खोजी खोजी किन्ने गरेका छन्,’ उनले भने । ज्ञवालीका अनुसार यहाँ उत्पादन गरिएका लिची गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म पुग्ने गर्छ । यस क्षेत्रका एक सयभन्दा बढी कृषक व्यावसायिक लिची उत्पादनमा लागेका उनले जानकारी दिए । स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण विक, युवराज ज्ञवाली लिचीका व्यावसायिक कृषक हुन् । कृषक कृष्ण विकले लिचीबाट सबैभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । चार वर्षको तुलनामा यसपटक धेरै लिची फलेको परमानन्द ज्ञवालीले बताए । ‘अहिले भने लिचीमा समस्या देखिएको छ । बोटमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने, पाक्ने बेला दाना फुट्नेजस्ता समस्या देखिएको छ,’ उनले भने । बाँदर र अरिङ्गालबाट लिची जोगाउन पनि उस्तै समस्या भइरहेको राधिका ज्ञवालीले बताइन् । लिची बेचेर किसानले लाखौं रुपैयाँ आम्दानि गरिरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । व्यावसायिक रुपमा लिची उत्पादनलाई थप व्यवस्थित र आकर्षित गराउन केन्द्रले बगैंचाको व्यवस्थापनमा जोड दिएको उनले बताए । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले बताए । सन् १९९१ मा समाजसेवी स्व पण्डित डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट बोकेर ल्याएको लिचीको बोट लगाएर च्युरेकमा उनले लिची खेतीको सुरुवात गरेका थिए । उनकै प्रेरणाले सुरुमा खानका लागि बोट रोप्दै जाने क्रममा अहिले च्युरेक क्षेत्र सिङ्गो लिची गाउँमा परिणत भएको छ । बगैँचाबाट प्रतिकिलो ७० रुपैयाँमा लिची बिक्री हुँदै आएको छ । बोटमा लिची हरिया छँदै व्यापारी घरघरमा पुगेर थोक मूल्यमा किनेर राख्ने गरेका किसान बताउँछन् । तत्कालीन अवस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्युरेकमा लिची गाउँ घोषणा गरी लिची महोत्सवसमेत गरेको थियो । कार्यालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत नरहरि शर्मा घिमिरेले पहिलोपटक गाउँमा लटरम्म फलेका लिचीका राता बोट देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गरेका थिए । कार्यालयले लिची गाउँ घोषणा गरेर व्यावसायिक लिची खेती गर्न सहयोग गरेपछि यहाँका कृषक लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन् । हाल जिल्लामा १७० हेक्टर क्षेत्रफलमा लिची उत्पादन गरिँदै आएकोमा यो वर्ष ७२० मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । प्रतिकिलो ७० रुपैयाँका दरले पनि ७२० मेट्रिक टन लिचीलाई ५ करोड ४ लाख रुपैयाँ पर्छ । रासस