साइमेक्स इंकले ल्यायो फरेस्ट ग्रिन रंगमा बिवाइडी अट्टो थ्री
काठमाडौं । बिवाइडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले फरेस्ट ग्रिन रंगमा बिवाइडी अट्टो थ्री ल्याएको छ । यो संस्करण एक सय संख्यामा मात्रै उपलब्ध हुने र यसको मूल्य ६६ लाख ८८ हजार पर्ने कम्पनीले जनाएको छ । अट्टो थ्रीको फरेस्ट ग्रिन संस्करणमा एक सय किलोवाट मोटर र बलियो ६०.४८ किलोवाट ब्याट्री प्याक सहित सुपीरियर ट्रिममा उपलब्ध रहेको र एकपटकको चार्जपछि ४२० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । ग्रिन फरेस्ट रंगमा बिवाइडी अट्टो थ्री लिन चाहने ग्राहकले कम्पनीको आधिकारिक डिलरबाट बुक गर्नसक्ने कम्पनीले जनाएको छ ।
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
फाइल तस्बिर काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताए । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पुँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको सुरुआत गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो । आइटीलाई प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पूँजीको कुनै सिमाना नरहेको उनले उल्लेख गरे। पुँजीगत खर्च गर्ने सीमाका कारण भनेजस्तो हरेक ठाउँमा चाहेजस्तो बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गरे । खर्च प्रक्रियालाई सहज बनाउने र अनुशासन कायम गर्नतर्फ सरकार लागेको जिकिर गर्दै उनले बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषयको अन्त्य गर्नका लागि मुख्य सचिवसहित मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिएको उल्लेख गरे। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका मन्त्री महतले कांग्रेस जहिले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नेतर्फ लागेको बताए । आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई बनाउने र वितरण वाहक एवम् जिम्मेवारी राज्यले लिनेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै उनले उत्पादन वृद्धि गराउँदै उक्त वृद्धिको हिस्सा पछि परेका वर्ग एवम् समूहमा सम्प्रेषित गर्ने नीति लिइएको बताए । आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरुप नै बजेट प्रस्ताव भएको मन्त्री महतले स्पष्ट पार्नुभयो । सरकारले कृषिमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएको उनले बताए । वर्तमान सत्ता गठबन्धन हेरफेरको कुरा अफवाह भएको उल्लेख गर्दै मन्त्री महतले त्यसका पछि नलाग्न आग्रह गरे । निश्चित लक्ष्यका साथ सुशासन गर्ने, आर्थिक वृद्धि हासिल गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने कुरालाई केन्द्रमा राखेर वर्तमान गठबन्धन अघि बढ्ने उनले बताए ।
राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा सुरु
काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पोखरामा सुरु भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको सङ्घीय संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ । विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन । संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्ने अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो । तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा आइसकेको र सोही ऐनबमोजिम पहिलो बैठक बस्न लागेको शुक्रबार पोखरामा आयोजित मुख्यमन्त्रीको बैठकमा प्रधानमन्त्रीले बताएका थिए । तीन तहका सरकारबीचका अस्पष्टता र साझा अधिकारमा कानुन, नीतिलगायतमा देखिएका समस्याको समाधान हुने विश्वास लिइएको छ ।
बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन
बागलुङ । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन । पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ । पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ । पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ । विभिन्न पर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले खोजेर सूचना प्राप्त गरेर यहाँ आउने गरेका छैनन् । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत विदेशी पर्यटक पुग्दा जिल्लामा पर्यटक आगमनको आभास नै हुँदैन । त्यस्तै अरु कुनै प्याकेज कार्यक्रममा आए भने पनि बाटो मात्र हिँड्छन्, यहाँ बास बस्दैनन् । बागलुङमा विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार, आतिथ्यता कार्यक्रम, सूचना प्रणालीलगायतको अभाव छ । यी क्षेत्रमा आवश्यक मात्रामा सुधार गर्न सकिएमा पर्यटक यहाँ ल्याउन सकिने यहाँका स्थनीय पर्यटन व्यवसायी तथा जानकार बताउँछन् । पोखरा आएका पर्यटक किन आउदैनन् बागलुङ ? बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्यान हालसम्म संस्थागत पहल नथालिएका कारण विदशी पर्यटक नआएको पर्यटन व्यवसायीको भनाइ छ । बागलुङमा पहिलोपटक विदेशी पर्यटक भित्र्याउन पहल गर्नुभएका पर्यटन व्यवसायी महादेव शर्माले पोखरा भित्रिने पर्यटक अधिकांश पोखरा आसपासका क्षेत्रमा आउन नसक्नु भनेको अन्य जिल्लाले नै विदेशी पर्यटक भित्र्याउन पहल नगरेको हो भन्न सकिन्छ भन्छन्। ‘व्यक्तिगत पहलमा कति पर्यटक आउलान्, मैले भेगन समूहका विदशी पर्यटक बागलुङ ल्याउन थालेको छु, तर यहाँका स्थानीय पालिकाले पहल थाल्न प¥यो, निजी क्षेत्रले साझेदारी गर्न प¥यो र बागलुङका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको नजर नपर्नु नै पहिलो कारण देख्छु’। शर्माले भने, ‘धार्मिक पर्यटक भित्र्याउन बागलुङमा सहज देख्छु पोखराबाट मुक्तिनाथ जाने वा त्यहाँ पुगेका भारतीय पर्यटक बढी बागलुङ आउने सम्भावना छ, त्यसका लागि आश्रम र सुविधा सम्पन्न शाकाहारी होटल स्थापना गर्न आवश्यक छ ।’ बागलुङमा पर्यटक भित्राउने निजी क्षेत्रको एउटा साझेदार संस्था नहुँनु, प्रचारप्रसारको कमी र बागलुङको महत्व विश्वसामु चिनाउन नसक्नुका कारण बागलुङमा विदेशी पर्यटक आकर्षित हुन नसकेको पाइएको छ । ‘पोखरा आएको विदेशी पर्यटक बागलुङमा किन र के का लागि जाने भन्ने त हुन प¥यो, यहाँको कला संस्कृति हेर्न हो अथवा ग्रामीण पर्यकीय क्षेत्रमा घुम्न, बागलुङमा तीन दिन हिँड्न सक्ने राम्रो पदमार्गको रुट अहिले सम्म रेखाङ्कन छैन’, उनले भने, ‘मैले बागलुङ बजा देखि भकुण्डै हुँदै सिगानाको बौडैचौरदेखि बौरसम्मको दुई दिने पर्यटकीय पदमार्गको रुट बनाएर विदेशी पर्यटक पु¥याएको छु, तर पालिकाले विदेशी पर्यटक ल्याउन कुनै चासो दिएको देखिँदैन ।’ यहाँ पर्यटनमा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानी कम देखिन्छ । पर्यटक आए पनि यहाँ बस्ने र घुम्ने ठाउँहरु पनि कमै छन् । उनीहरुको बसाई लम्ब्याउन सकिने खालका पूर्वाधार नहुँदा पर्यटकको आकर्षण बढ्न नसकेकाले पर्यटक बागलुङ आउन नसकेको स्थानीय राम शर्माले बताए । बागलुङको पुरानो संस्कृतिको रुपमा रहेको हनुमान नाच, लाखे नाच, घाटु नाच र शालैजोलाई समय समयमा प्रदर्शन गर्न सकेमा यसबाट स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई ल्याउन सकिने शर्माको भनाइ छ । सूचना केन्द्र नहुँदा अलमलमा पर्यटक बागलुङमा भित्रिने विदेशी पर्यटक मात्रै होइन स्वदेशी पर्यटकसमेत अलमलमा पर्ने गरेका छन् । बागलुङ जिल्लाको प्रवेशद्वारमा डिजिटल सूचना केन्द्र राख्न नसक्दा बागलुङ आएका पर्यटक अलमलमा पर्ने गरेको पाइन्छ । बागलुङ जिल्लाको कालिका मन्दिर कहाँ छ, पर्यटकीय गन्तव्य पञ्चकोट कहाँ छ, भन्ने विवरणको सूचना केन्द्र स्थापना गरेर राख्न सकिने भए पनि हालसम्म पर्यटक सूचना केन्द्र नहुँदा पर्यटक अलमलमा पर्ने गरेको बागलुङ जिल्लाको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारी बताउँछन् । ‘अहिले डिजिटल जमाना आइसक्यो, यहाँका होटल पुरानै अवस्थाका छन्, गुगल तथा डिजिटल म्यापमा यहाँका होटल देखिँदैनन्, विदेशी पर्यटकले इन्टरनेट खोजेर गन्तव्य पहिल्याउने भइसके, जिल्ला सदरमुकामस्थित एक दर्जन होटल मात्रै विदेशी पर्यटक राख्न सक्ने अवस्थाका अध्यक्ष निलेश राजभण्डारी भने, ‘होटल स्तरोन्नति हुन आवश्यक छ, बागलुङ प्रवेशद्वारमा पर्यटकीय सूचना केन्द्र राख्न बागलुङ नगरपालिकालाई सुझाव दिएका छौँ ।’ अब होटलहरु अनलाइनबाटै बुकिङ गर्न सकिने र प्रविधि मैत्री हुनसकेमा मात्रै विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने बताउँदै राजभण्डारीले विदेशी पर्यटकहरु जिल्लामा ल्याउन भौतिक पूर्वाधार, आतिथ्यतामा लगानी र प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । जिल्ला सदरमुकाम बागलुङ बजारमा चार सय विदेशी पर्यटक एक रातमा बस्न सक्ने क्षमता रहेको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । बागलुङ जिल्लामा दुई हजार पाहुना राख्ने क्षमता भएपनि पर्यटकका लागि चार सय मात्रै क्षमता रहेको हो । मुस्ताङ जाने विदेशी पर्यटकको छायाँमा बागलुङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाख २९ गते मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनपश्चात् अहिले मुक्तिनाथमा भारतीय पर्यटकको लर्को छ तर मुक्तिनाथ पुगेका भारतीय पर्यटकको १५ प्रतिशत पर्यटक मात्रै बागलुङ कालिका मन्दिरलगायत अन्य धार्मिक क्षेत्रको भ्रमणमा आउने गरेको पाइएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार पछिल्लो समय मुस्ताङ पुग्ने भारातीय पर्यटक बागलुङ आउन थालेपनि तेस्रो मुलुकका पर्यटकहरु मुस्ताङबाट सोझै फर्कने गरेको बताए । भारतीय पर्यटक मुक्तिनाथ भ्रमणपश्चात् बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय दर्शनका लागि समेत पुग्ने गरेको पाइएको छ तर मुस्ताङ पुगेर बागलुङ आएका पर्यटक एक रातसमेत बागलुङमा नबसी सिधै पोखरा पुग्ने गरेको बागलुङका होटल व्यवसायीहरु भनाई छ । उता भारातीय पर्यटक अधिकांशले शाकाहारी खाना मन पराउने भएकाले बागलुङमा शाकाहारी खानाका होटल नहुँदा पनि समस्या उत्पन्न भएको हुनसक्छ । मुस्ताङ पुग्ने विदेशी पर्यटकलाई बागलुङमा ल्याउनका लागि प्रवद्र्धनात्मक काम थाल्नुपर्ने पर्यटन व्यवसायी महादेव शर्माको भनाइ छ । जस्तो कि मुस्ताङ पुग्ने भारतीय पर्यटकले आफ्नो खानपिन र धार्मिक पर्यटनका रुपमा बागलुङलाई छान्नका लागि उनीहरु बस्ने र घुम्ने स्थान तथा होटलको प्रचार गुगलमै उपलब्ध भए सजिलो हुन्छ । तर त्यस्तो अवस्था यहाँ देखिँदैन । त्यसैले पोखराबाट सडकमार्ग भएर मुस्ताङ पुगेका पर्यटक यता नछिरी उतैबाट पोखरा फर्किने गरेका हुनसक्छन् । आन्तरिक पर्यटकको भरमा बागलुङ बागलुङमा विदेशी पर्यटकहरु नगन्य मात्रमा आएपनि आन्तरिक पर्यटकको भने जिल्लाका अधिकांश पर्यटकीयस्थलमा चहल–पहल देखिन्छ । जिल्लाका सुविधा सम्पन्न होटलहरु प्रायजसो आन्तरिक पर्यटकहरुले भरिने गरेको होटल व्यवसायी संघ बागलुङको तथ्याङ्कमा छ । जिल्लाको पिस प्यालेस, होटल समिट धौलागिरि, रेड एप्पल, दिराजन, होटल सुगन, आरती, होटल हिलभ्यू लगायतका होटलहरु प्रायः आन्तरिक पर्यटकले नै भरिने गरेको होटल व्यवसायीको भनाइ छ । होटलसँगै जिल्लाको पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, हाँडीकोट, बेलढुङ्गा, सोलेडाँडा, भैरवस्थान, घकुण्डेमा आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ । कोरोनापछि जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वातै बढेको होटल व्यवसायी ललिता थापाले बताए। अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोरखा, काठमाडौं लगायतका जिल्लाबाट बागलुङ आउने क्रम क्रमश बढ्दै आएको थापाको अनुभव छ । अहिले कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालय परिसरमा अवलोकन भ्रमणमा व्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरु बढेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक घरबासमा पुग्ने, हाइकिङ गर्ने तथा वनभोज जानेलगायतका कारण आन्तरिक पर्यटकीयस्थल चलयमान भएका हुन् । आन्तरिक पर्यटक थपिदै गएपनि बागलुङ नगरपालिकाले विदेशी पर्यटकहरु ल्याउन संस्थागत रुपमा पहल गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । थपिँदै पर्यटकीय गन्तव्य बागलुङमा नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम जारी छ । कोरोनाकहरपछि बागलुङमा लामो झोलुङ्गे पुल, शालग्राम संग्रहालय, पञ्चकोट, बुद्ध हिल, हाँडीकोट, सहस्रधारा झरना र गाईघाट झरनालगायतका क्षेत्र पछिल्लो समयमा चर्चा कमाएका पर्यटकीय गन्तव्य हुन् । कुश्मा र बागलुङलाई जोडेर निर्माण गरिएको विश्वकै अग्लो बन्जी पुलमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको पाइन्छ । नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधारपछि चर्चामा आउन थालेको पर्यटन विकास समिति बागलुङका सचिव अर्जुन चोखालले जानकारी दिए । चोखालका अनुसार प्रविधिको प्रयोगका कारण पर्यटकीय गन्तव्यको प्रचार हुँदा आन्तरिक पर्यटकहरु आउन थालेको बताउँछन् । ‘टिकटकमा देखिएका दृश्यका कारण धेरै मानिस लामो झोलुङ्गे पुल आएको पाइयो, पछिल्लो समय सामाजिक सञ्जालका कारण एकाएक पर्यटकीयस्थल भाइरहल हुने जमाना आइसक्यो’, चोखालले भने, ‘स्थानीय सरकारको रुपमा रहेका पालिकाले एक पालिका एक पर्यटकीयस्थलको रुपमा विकास तथा पूर्वाधार निर्माण थालेपछि पर्यटकीय गन्तव्य थपिदै गएको हामीले पाएका छौँ ।’ चोखालले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको बताउदै बागलुङ जिल्लाको पर्यटन गुरु योजना नहुँदा समस्या भएको जानकारी दिए । खड्किँदै तारे होटल बागलुङमा सुविधा सम्पन्न तारे होटल नहुँदा विदेशी तथा भिआइपी पाहुना आउने आँट गर्दैनन् । जिल्लामा विदेशी पर्यटक तथा भिआईपी पाहुना आइहाले पनि साँझ बस्न पोखरा नै पुग्नुपर्ने अवस्था छ । बागलुङ जिल्लामा हालसम्म कम्तीमा पनि एक सयजना अट्नसक्ने क्षमताको ठूलो होटल स्थापना हुन नसक्दासमेत पर्यटकहरु आकर्षित हुन नसकेको स्थानीय राम शर्माको भनाई छ । पर्यटन बोर्डले बागलुङलाई पर्यटकीय गन्तव्यको रुपमा राख्न नसक्दा विदेशी पर्यटक आउन नसक्नु मुख्य समस्या रहेको शर्माको भनाई छ । राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम गर्न, धेरै पाहुना राख्न र सेमिनार तथा गोष्ठी गर्नका लागिसमेत बागलुङमा उपयुक्त होटल तथा रिसोर्ट नभएको शर्माको भनाइ छ । बागलुङमा एउटा तारे होटल र एउटा सुविधासम्पन्न रिसोर्टको तत्कालै आवश्यकता देखिन्छ । पर्यटनमैत्री घरवासको खाँचो जिल्लामा रहेका २८ वटा सामुदायिक घरबासमध्ये कतिपय घरबास नाम मात्रका छन् । यीमध्ये आधा दर्जन घरवास मात्रै पर्यटनमैत्री रहेका छन् । जिल्लाको पहिलो घरबासका रुपमा रहेको भकुण्डेको अतिथि घरवासमा मात्रै विदेशी पाहुना पुग्न थालेका छन् भने अन्य केही जिल्लाका आधा दर्जन घरवासमा मात्रै आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । केही घरवासमा मात्रै स्थानीय तथा अर्गानिक खानाका परिकारको स्वाद तथा विभिन्न कला संस्कृति देखाउने गरकेका छन् भने केही घरवास नाम मात्रैका घरवासजस्ता छन् । घरवासहरु पूर्वाधार युक्त र पर्यटनमैत्री हुन आवश्यक रहेको पर्यटन व्यवसायीहरु बताउनछन् । पर्यटकको छैन तथ्याङ्क बागलुङमा हालसम्म भित्रने आन्तरिक तथा बाह्य पर्यटकको कुनै तथ्याङ्क छैन । पर्यटनसम्बन्धी खोज तथा अनुसन्धान गर्नका लागि समेत कुनै सन्र्दभ सामाग्री पाइदैन । जिल्लाका पालिका, पर्यटन विकास समिति तथा अन्य कुनै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले हालसम्म जिल्लामा भित्रने पर्यटकको तथ्याङ्क नभएको पाइएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको मात्रै जिल्लामा तथ्याङ्क छ । यस वर्ष ढोरपाटन शिकार आरक्ष क्षेत्र घुम्नका लागि नौ हजार स्वदेशी तथा विदेशी पर्यटक पुगेको ढोरपाटन शिकार आरक्षको कार्यालयले जनाएको छ ।
बैंकले एकतर्फी रुपमा ब्याजदर बढाउनु मिटरब्याजी हो : अध्यक्ष ओली
फाइल तस्बिर काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैंकले एकतर्फी रूपमा ब्याजदर बढाउनु पनि मिटरब्याजी भएको ओलीले टिप्पणी गरेका छन् । चितवनका उद्योगी व्यवसायीले शुक्रबार साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले सो बताएका हुन् । ‘गाउँको लेनदेन मिटरब्याज भयो तर बैंकको किन हुँदैन ?’ अध्यक्ष ओलीले प्रश्न गरे । बैंकहरूका कारण अहिले उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका भन्दै उनले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए। अध्यक्ष ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने भन्दै उनले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताएका हुन्। ‘बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पु¥याएका गुनासो सुनेको छु’, ओलीले भने, ‘यसरी बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो होइन ।’ बैंकले लगानी गरेको ऋणबारे अनुगमन गर्नुपर्ने भन्दै उनले ऋणी र बचतकर्ताप्रति बैंक उत्तरदायी हुनुपर्नेमा जोड दिए। ‘ऋण लगानी ग¥यो, ब्याज आउँछ भनेर बैंक तथा वित्तीय संस्था बस्ने गरेका छन्’, उनले भने, ‘ब्याज प्राप्त नभए राम्रो सम्पत्ति लिलाम गर्न पाइन्छ भन्ने उनीहरूको मानसिकता छ, त्यो ठीक होइन ।’ छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले सरकारको नीति र बैंकको ब्याजदरका कारण चितवनमा अहिले ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको बताए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यले ल्याएको नीतिका कारण उद्योगी व्यावसायीलाई खराब ऋणीको रूपमा स्थापित गराउन खोजेको गुनासो गरे । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले राज्यले उद्योगी व्यावसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल फोटो काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।
थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने, कहाँ कहाँ ?
काठमाडौं । सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्न लागेको हो । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताइन् । त्यस्तै संयुक्त राष्ट्रसङ्घको आयोजनामा न्यूयोर्कमा आयोजना हुने दिगो विकासका लागि उच्चस्तरीय सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल गठन गरिएको छ । यस्तै, चीनको राजधानी बेइजिङमा आयोजना हुने विकास प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय अनुभव विषय सम्मेलनमा भाग लिनसमेत उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई नै स्वीकृत प्रदान गरिएको मन्त्री शर्माले बताइन् । आगामी साउन ८ देखि १० सम्म संयुक्त अरब इमिरेट्सको अबुधावीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को क्षेत्रीय समितिको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिइएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहेकीका मन्त्री शर्माका अनुसार सरकारले रुपन्देहीको साविक खुदाबागर गाविसमा अवस्थित सरकारी जग्गा खुदाबागर आदर्श कलेजलाई लिजमा दिन स्वीकृति दिने तथा सिरहाको साविक लवटोली गाविसको जग्गा कर्जन्हा नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् । ललितपुरको साबिक झरुवाराशीको सरकारी जग्गा तथा सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गुर्भाकोट नगरपालिका सुर्खेत, मङ्गला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका सङ्खुवासभा, गुजरा नगरपालिका रौतहट, मुसिकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ । त्यस्तै, बैठकले अजरबैजानको बाकुमा यही असार २० देखि २१ गतेसम्म आयोजना हुने असल राष्ट्रको मन्त्रिस्तरीय बैठक र असार १८ देखि १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । सरकारले यही असार २० देखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसानमा आयोजना हुने एक अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले उल्लेख गरिन् । रासस
नबिल बैंकले जिडब्लुएमका गाडी किन्न लोन दिने, ७ वर्षसम्म पाइने
काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा भिजी इम्पेक्स-जि.डब्लु. एम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको हो । त्यस्तै, कम्पनीले सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले १२.९० प्रतिशत ब्याजदरमा आईसीई मोडललाई ५० प्रतिशतसम्म र ईभीको लागि ८० प्रतिशत अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।