नबिल बैंकले जिडब्लुएमका गाडी किन्न लोन दिने, ७ वर्षसम्म पाइने
काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा भिजी इम्पेक्स-जि.डब्लु. एम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको हो । त्यस्तै, कम्पनीले सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले १२.९० प्रतिशत ब्याजदरमा आईसीई मोडललाई ५० प्रतिशतसम्म र ईभीको लागि ८० प्रतिशत अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
ट्राफिक प्रहरीको मापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा, प्रहरी वृत्तमा राखेर अनुसन्धान हुँदै
फाइल फोटो भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१-००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जिवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३-०१-०२३ च १४ १२ नम्बरको पिक अप चालक काठमाडौ महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् । नियन्त्रणमा लिएका चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले आज २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए । लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।
नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी ‘नबिल ग्रीन विक’ अभियानको उद्घाटन गरेका हुन् । बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट-पानीपोखरी-महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरि रहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए । अध्यक्ष पौड्यालले बैंक रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । ‘हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ’ पौड्यालले भने । नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए । यो ग्रीन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाई छ । सीईओ ढुंगानाले नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो विकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए । नबिल सस्टेनेबल बैंकिङ भर्टिकलले दिगो अभ्यासलाई प्रवर्द्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पुर्याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ । विपन्न र सीमान्तकृत समुदायमा वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण बैंकिङ सेवा विस्तार रहेको छ । त्यसका साथै बैंकले समाजका विभिन्न क्षेत्रहरूमा वित्तीय ज्ञान र सीपहरू अभिवृद्धि गर्न वित्तीय साक्षरतामा समेत जोड दिदैँ आएको छ । नबिल सस्टेनेबल बैंकिङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ । जसले किसान र उद्यमीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने गरेको बैंकले जानएको छ। ग्राहकहरूलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानहरूमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पुर्याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको जानकारी गराइएको छ । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चबाट के, कसो भएको हो ? आधार, कारण र प्रमाणसहित पेश गर्ने गरी कारण देखाउ आदेश भएको जानकारी दिए । प्रहरीको सीआईबीले पक्राउ गरेपछि यही असार १३ गते पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो । उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले भनेको छ- ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक २४ घण्टाभित्र कागज प्रमाणसहित महान्यायाधिक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नू ।’ अर्का गोपाल कार्कीसहित चार जनालाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो । १३ गते अदालतमा पेश गरिएकामा काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । त्यही दिन नै उनीहरु बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालत पुगेका थिए । सर्वोच्चबाट ‘स्टेअडर’ ल्याएको पाइएपछि पक्राउ परेका अन्य कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि सोही प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिले पनि विचाराधीन रहेको छ । रासस
५ मिनेटमै धितो र कागज बिना ऋण, बैंकमा गएर कर्जा लिने दिनको अन्त्य
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् । ‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो ।’ एक अर्ब रुपैयाँ भन्दा बढी बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने । बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए । ‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने । किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् । ‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले किसानलाई सस्तोमा खेती कर्जा दिने बताए । आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर कृषि कर्जा प्रदान गर्ने उनको भनाइ छ । नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक सबैभन्दा कम लागतमा सहुलियतपूर्ण कर्जाबिना व्यवसायीक रुपमा कर्जा प्रवाह गरेको उनले बताए । ‘नेपालमा पहिलो पटक किसान, कृषिसँग सम्बन्धीत व्यवसायी, प्राविधिकलाई सँगै लिएर एनएमबि खेती कर्जा प्रडक्ट ल्याएका छौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम लिने व्यवस्था भएपनि यस प्रडक्टमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराउँछौं, सहुलियतपूर्ण कर्जा नभइकन व्यवसायीक रुपमा कम दरमा कर्जा प्रवाह गरेको नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक हो,’ उनले भने, ‘धितो बिना कर्जा पाउन सकिँदैन भन्ने भाष्य स्थापित हुन थालेको छ, त्यसलाई चिर्नका लागि यो प्रडक्ट ल्याएका हौं, किसानसँगको सीप, पूँजी र बजारलाई एउटै ठाउँमा ल्याएका छौं ।’ उनका अनुसार बैंकहरु कृषिमा लगानी गर्न तयार रहेको भएपनि आयोजनाको अभाव रहेको छ । बैंकहरुले कृषि कर्जा लिन सक्ने ग्राहकको खोजी गर्दै हिँड्नु परेको उनको भनाइ छ । कृषि, उर्जा, पर्यटन र साना व्यवसायलाई प्राथमिकतामा राखेर बैंक्हरुले कर्जा प्रवाह गरिरहेको उनको भनाइ । ‘अहिले बैंकहरुले ६ सय अर्ब रुपैयाँ कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्, थप २/३ सय अर्ब कृषि क्षेत्रमा कर्जा लगानी गर्नु पर्नेछ, बैंकले कृषिमा लगानी गर्नका लागि प्रोजेक्ट खोज्नु परेको छ तर, त्यो पाउन सकिरहेको छैन,’ उनले भने, ‘हामीलाई कर्जा लिन सक्ने क्षमता भएको ग्राहक चाहिएको छ । १ रुपैयाँ निर्यात गर्दा १० रुपैयाँ आयात गर्नु परेको उनको भनाइ छ । दीगो व्यवसायको लागि बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । गत वर्ष ५ सय अर्बभन्दा बढीको कृषिजन्य सामाग्रीको आयात गरेको तथ्याङ्क रहेको उनको भनाइ छ । ‘१० महिनाको तथ्याङ्क हेर्दा १३० अर्बको निर्यात गर्दा १२/१३ अर्ब आयात गर्नु परेको छ, १२० अर्बको ब्यापार घाटा छ, त्यो ब्यापार घाटा रेमिट्यान्सले धानिरहेको छ, यदि भोलिका दिनमा रेमिट्यान्स पनि ठप्प भयो भने हामीले कृषि क्षेत्रलाई नै जोड दिनु पर्छ,’ उनले भने, ‘५ सय अर्बको आयात हुँदा नेपालमा कृषिको बजार ठूलो रहेको बुझिन्छ, अब कृषिमा लगानी गर्न सबै तत्पर हुनु पर्छ ।’ एनएनबि बैंकले नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित भएर बिना धितो एनएमबि खेती कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिएर सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने बैंकका म्यानेजर सुजन ढुंगानाले बताए । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको उनको भनाइ छ । ‘किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ता बन्दिमा बिना धितो प्राप्त गर्न सक्नु हुन्छ, कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झण्झट ब्यहोर्नु पर्दैन,’ उनले भने, ‘किसानहरुले खेतीसँग पहिला गरेको कारोवारको मूल्याङ्कन गरेर स्विकृति गरिनेछ, ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।’ बैंकले किसानलाई १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने उनले बताए ।
प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैंठकले उनलाई शुक्रबारदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठलाई ४ वर्षको लागि नियुक्त गरेको हो । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिने अनिल श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिम समेत लिएका छन् । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उँचाई हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट नै हामी हाम्रो उद्देश्यमा अवश्य सफल हुनेछौं भन्ने विश्वास व्यक्त गरे । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।
सुख्खा पहिरोले रोकिएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु
फाइल फोटो काठमाडौं । पहिरोको कारणले अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु भएको छ । बिहीबार दिउँसो साढे १२ बजेदेखि बन्द भएको उक्त सडक खण्ड शुक्रबार साँझदेखि खुलेको हो । इच्छाकामना गाउँपालिका(६ मुग्लिन(नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै माथिबाट सुख्खा पहिरो खसेसँगै उक्त सडकखण्ड दुबै तर्फबाट अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाई शुक्रबार अपरान्ह करिब साढे ५ बजेबाट दुईतर्फी बाटो सुचारु गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो । पर्सा क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका रौनियारविरुद्ध बाँकेको जिल्ला प्रहरी कार्यालयमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।