काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् ।
‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो,
एक÷दई अर्ब रुपैयाँ बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ ।
‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने ।
बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए ।
‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने ।
किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् ।
‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।