५ मिनेटमै धितो र कागज बिना ऋण, बैंकमा गएर कर्जा लिने दिनको अन्त्य

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् । ‘किसानहरुले पछिल्लो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् ।

‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो ।’

एक अर्ब रुपैयाँ भन्दा बढी बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ ।

‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने ।

बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए ।

‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने ।

किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् ।

‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले किसानलाई सस्तोमा खेती कर्जा दिने बताए । आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर कृषि कर्जा प्रदान गर्ने उनको भनाइ छ । नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक सबैभन्दा कम लागतमा सहुलियतपूर्ण कर्जाबिना व्यवसायीक रुपमा कर्जा प्रवाह गरेको उनले बताए ।

‘नेपालमा पहिलो पटक किसान, कृषिसँग सम्बन्धीत व्यवसायी, प्राविधिकलाई सँगै लिएर एनएमबि खेती कर्जा प्रडक्ट ल्याएका छौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम लिने व्यवस्था भएपनि यस प्रडक्टमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराउँछौं, सहुलियतपूर्ण कर्जा नभइकन व्यवसायीक रुपमा कम दरमा कर्जा प्रवाह गरेको नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक हो,’ उनले भने, ‘धितो बिना कर्जा पाउन सकिँदैन भन्ने भाष्य स्थापित हुन थालेको छ, त्यसलाई चिर्नका लागि यो प्रडक्ट ल्याएका हौं, किसानसँगको सीप, पूँजी र बजारलाई एउटै ठाउँमा ल्याएका छौं ।’

उनका अनुसार बैंकहरु कृषिमा लगानी गर्न तयार रहेको भएपनि आयोजनाको अभाव रहेको छ । बैंकहरुले कृषि कर्जा लिन सक्ने ग्राहकको खोजी गर्दै हिँड्नु परेको उनको भनाइ छ । कृषि, उर्जा, पर्यटन र साना व्यवसायलाई प्राथमिकतामा राखेर बैंक्हरुले कर्जा प्रवाह गरिरहेको उनको भनाइ ।

‘अहिले बैंकहरुले ६ सय अर्ब रुपैयाँ कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्, थप २/३ सय अर्ब कृषि क्षेत्रमा कर्जा लगानी गर्नु पर्नेछ, बैंकले कृषिमा लगानी गर्नका लागि प्रोजेक्ट खोज्नु परेको छ तर, त्यो पाउन सकिरहेको छैन,’ उनले भने, ‘हामीलाई कर्जा लिन सक्ने क्षमता भएको ग्राहक चाहिएको छ ।

१ रुपैयाँ निर्यात गर्दा १० रुपैयाँ आयात गर्नु परेको उनको भनाइ छ । दीगो व्यवसायको लागि बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । गत वर्ष ५ सय अर्बभन्दा बढीको कृषिजन्य सामाग्रीको आयात गरेको तथ्याङ्क रहेको उनको भनाइ छ ।

‘१० महिनाको तथ्याङ्क हेर्दा १३० अर्बको निर्यात गर्दा १२/१३ अर्ब आयात गर्नु परेको छ, १२० अर्बको ब्यापार घाटा छ, त्यो ब्यापार घाटा रेमिट्यान्सले धानिरहेको छ, यदि भोलिका दिनमा रेमिट्यान्स पनि ठप्प भयो भने हामीले कृषि क्षेत्रलाई नै जोड दिनु पर्छ,’ उनले भने, ‘५ सय अर्बको आयात हुँदा नेपालमा कृषिको बजार ठूलो रहेको बुझिन्छ, अब कृषिमा लगानी गर्न सबै तत्पर हुनु पर्छ ।’

एनएनबि बैंकले नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित भएर बिना धितो एनएमबि खेती कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिएर सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने बैंकका म्यानेजर सुजन ढुंगानाले बताए । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको उनको भनाइ छ ।

‘किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ता बन्दिमा बिना धितो प्राप्त गर्न सक्नु हुन्छ, कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झण्झट ब्यहोर्नु पर्दैन,’ उनले भने, ‘किसानहरुले खेतीसँग पहिला गरेको कारोवारको मूल्याङ्कन गरेर स्विकृति गरिनेछ, ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।’ बैंकले किसानलाई १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने उनले बताए ।

Share News