विकासन्युज

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा असार १४ गते भएको एक विशेष समारोहमा ३६७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको समबन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ । सत्रौं वार्षिक साधारणसभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ । प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सो बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बैंकले जनाएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ । यस वैंकको हालसम्म कर्जा लगानी करिब १० अर्व ८० करोड र निक्षेप संकलन १३ अर्व २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष श्री महेन्द्र कुमार गोयलले उदघाट्न गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र गणेश प्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

मेलम्चीमा मध्यकालीन सुधारको काम गरिने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ । विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो । तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ । दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । ‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उनले बताए । त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम, बाढी आएपछि च्यानलाइजेसन गरिने आयोजनाको योजना छ । आयोजनामा आगामी वर्ष मर्मत सञ्चालनको काम गरिने आयोजनाले जनाएको छ । हेडवर्ककको बायाँतर्फ रहेको पहिरोको रोकथामका लागि काम गरिने उनले बताए । सानासाना काम मात्रै गर्न सकिने उनले बताए । ‘नयाँ हेडवर्क तत्काल बनि सक्दैन, त्यही संरचनाको मर्मत गरेर पानी चलाउन लागिनेछ’, उनले भने । आयोजनालाई स्थायीरुपमा सम्पन्न गर्न दीर्घकालीन कार्ययोजनाअनुसार गर्नुपर्ने काम पनि आगामी आवमा अघि बढ्ने प्रवक्ता पन्तले बताए। डिजाइन स्वीकृत भएपछि खरिद प्रक्रियामा गएपछि नै काम सुरु गरिने उनले बताए । हेडवर्क कहाँ बनाउने भन्ने यही वर्ष तय गरिने आयोजनाले जनाएको छ । हेडवर्क बनिसक्न समय लाग्ने भएकाले निर्माण भइरहँदा पनि अहिले भइरहेको संरचना नै चलाउनुपर्ने प्रवक्ता पन्तले बर्ताए । नयाँ ‘हेडवर्क’ निर्माणमा एशियाली किास बैंकले पनि चासो देखाएको उनले बताए । ‘यस वर्षमा निर्णय भएमा अर्को वर्ष निर्माण सुरु हुनसक्छ’, उनले भने । आयोजनाले सो बैंकसँगको ऋण सहयोगमा आयोजना निर्माण गरेको थियो । यस अघिको ऋण सकिएकाले नयाँ सम्झौता गरेर काम गर्नुपर्ने उनले बताए । नयाँ ‘हेडवर्क’ निर्माणका लागि विज्ञहरुले दुई÷तीन ठाउँ हेरिसकेको उनले बताए । कुन ठाउँ उपयुक्त हुन्छ भनी र कस्तो बनाउने भनी निर्णय हुन बाँकी रहेको उनले बताए। अन्तिम भएपछि प्रतिवेदन दिने र त्यहीअनुसार रकमको व्यवस्था गरिनेछ । ’त्यसपछि नयाँ ठेक्का प्रक्रियामा जान सकिनेछ’, उनले भने । दीर्घकालीन योजनाअनुसार नयाँ हेडवर्क सम्पन्न गरेर स्थायीरुपमा चल्न समय लाग्ने भएकाले मध्यकालीन योजनाअनुसार भइरहेका संरचना सुधारका काम गर्न लागिएको हो । यस वर्ष निर्माणको काम सुरु गर्नसके अर्को दुई वर्षभित्रमा सम्पन्न गर्न सकिने उनले बताए। उनले भने, ‘त्यतिबेलासम्म मध्यकालीन कार्ययोजनाअनुसार यही हेडवर्कबाट पानी चलाउनुपर्छ ।’ आगामी वर्ष आयोजनाका लागि सरकारले बजेट कम छुट्याएकाले धेरै काम नहुने उनले बताए । आगामी वर्षको बजेटमा आयोजनाको अस्थायी हेडवर्कको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति व्यवस्था मिलाइने उल्लेख छ । मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावअनुसार आयोजनाको सञ्चालन गरिनेछ । आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण गर्ने बजेटमा उल्लेख छ ।

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन् : माधवकुमार नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ६५औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे । जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए । उनले भने, ‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढनुपर्ने हुन्छ । अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनु पर्नेछ । जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस अर्थमा सांसदहरुको भूमिका कतिको प्रभावकारी हुन सकेको छ ? सांसदहरुको दवावले कति काम गर्न सकिएको छ ? यो आफ्नो ठाउँमा छ । सांसदहरुको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्वपूर्ण भूमिका हुन्छ । सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखि दिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबै बीचको सम्बन्ध अनुन्याश्रित छ ।’ अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा पनि जोड दिए । उनले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरुको अनुभवले ठूलो काम गर्ने स्मरण गराए ।

काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग्न तयार छु : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागिपरेको बताउँदै सो बताएका हुन् । दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो । कांग्रेस बदलियो भने कांग्रेसले देश बदल्ने महामन्त्री थापाले बताए । ‘आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन, सक्किएको छैन, कसैले सक्काएर सकिदैन । राजाले सकेन, माओवादीले सकेन । बन्दुकले सकेन, कसले सक्छ ? सकिन्छ यो ? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौं । हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं, नेपाली काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन । अहंकार पालेर पनि हुँदैन’, उनले भने, ‘काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो, आफ्नो बारेमा समिक्षा गर्नु प¥यो, काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस्, यो देश बदल्नै पर्छ, बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ, तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ, म बदलिन तयार छु, म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ, त्यो बदलिन म तयार हो, सबै तयार हुनुपर्छ ।’ एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको बताए । महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे । महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस्, कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन, नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो, कुनै व्यक्तिको दोष होइन’, उनले भने । महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए ।

अन्तरिक्षमा सौर्य उर्जा उत्पादन, सन् २०५० सम्म पृथ्वीलाई चाहिने उर्जा ल्याउन सकिने

काठमाडौं । अन्तरिक्षमा सोलार पावर स्टेशन बनाउने भन्ने अवधारणा निकै पुरानो हो । सन् १९४० को दशकमा साइन्स फिक्सन राइटर आइज्याक असिमोवले आफ्नो छोटो कथा ‘रिजन’ यसको विषयमा दाबी गरेका थिए । अब वैज्ञानिकहरुले यो विषयलाई कार्यान्वयनको लागि पहल गर्न शुरु गरेका छन् । पृथ्वीमा २४ सै घण्टा सौर्य उर्जा प्राप्त गर्नको लागि वैज्ञानिकहरुले सो पहल गर्न लागेका हुन् । वैज्ञानिकहरुलाई यो विषयमा सफलता पनि प्राप्त भइरहेको छ । पहिलो पटक अन्तरिक्षबाट पठाइएको सौर्य उर्जा पृथ्वीमा प्राप्त भएको छ । वैज्ञानिकले सन् २०२३ को जनवरीमा ‘माप्ले’ (एमएपिएलइ) नामको अन्तरिक्षयान पृथ्वीको कक्षमा छोडेका थिए । जसमा वैज्ञानिकहरुले स्पेसमा प्राप्त हुने तापक्रम सोलार रेडिएसन क्षमता भएको भएको सोलार प्यानलको जडान गरेका थिए । वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा लगाइएको सो सोलार प्यानले पृथ्वीको तुलनामा आठ गुणा बढी उर्जा प्रदान गर्न सक्छ, अर्थात् सामान्यतया अन्तरिक्षमा पृथ्वीको तुलनामा आठ गुणा बढी सोलार बिजुली पैदा हुन सक्छ । पृथ्वीमा १८औं शताब्दिमा नै सोलार प्यानलको सहायताले सौर्य उर्जालाई प्रयोगमा ल्याउन शुरु गरिएको थियो । सोलार प्यानल सोलार सेल्सबाट बन्ने गर्छ, जो यस्तो उपकरण हो की यसले सौर्य उर्जालाई बिजुलीमा परिणत गर्नसक्छ । आजको दिनमा विश्वमा प्रयोग भइरहेको कुल उर्जाको चार प्रतिशत उर्जा सोलार प्यानलबाट प्राप्त हुने गरेको छ । वैज्ञानिकहरुले इन्धनबाट मानिसहरुले प्रयोग गरिरहको उर्जा सौर्य उर्जाबाट प्रयोग गरुन भन्ने चाहन्छन् । तर, पृथ्वीमा हरेक समय घाम लाग्दैन । कतिपय देशमा अधिक समय बादल लाग्ने गर्छ । सोही विषयलाई लिएर वैज्ञानिकहरुले अन्तरिक्षबाट पृथ्वीमा सौर्य उर्जा पठाउने विषयमा तयारी गरेका हुन् । अन्तरिक्षमा कुनैपनि समय बादल लाग्दैन । त्यो मात्रै नभएर त्यहाँ दिन र रात हुँदैन । जसले गर्दा अन्तरिक्षमा कुनै पनि वस्तुको अवरोध बिना सौर्य उर्जा संकलन गर्न सकिन्छ । वैज्ञानिकहरुले सौर्य उर्जाको लागि अन्तरिक्षमा जडान गरेको म्यापलमा माइक्रोवेव पावर ट्रान्समिटर जडान गरिएको छ । जसमा सिलिकन बाट बनाइएको इलेक्ट्रिक चिपले काम गर्ने गर्छ । यो ट्रान्समिटले सोलार इनर्जीलाई माइक्रोवेवमा बदल्ने काम गर्छ । जसले गर्दा नै सो उर्जा पृथ्वीसम्म सजिलै आइपुग्छ । सो ट्रान्समिटरले आफूले चाहेको क्षेत्रमा सौर्य उर्जालाई पठाउन सक्छ । पृथ्वीमा निर्माण गरिने सौर्य उर्जा प्राप्त गर्ने स्टेशनले अन्तरिक्षबाट पठाएको उर्जालाई प्राप्त गरेर नेशनल ग्रिडमा जोड्ने काम गर्छ । वैज्ञानिकहरुका अनुसार माप्लेबाट पठाइएको उर्जा क्यालिफोर्नियाको पासाडेनामा रहेको क्याल्टेकको क्याम्पसमा प्राप्त गरिएको थियो र सो उर्जा अपेक्षित समय र आवृत्तिमा नै प्राप्त भएको थियो । वैज्ञानिकले बताएका छन की यो अन्तरिक्षमा पहिलोपटक जडान देखिएको ट्रान्सफर हो । बिबिसीको रिपोर्टअनुसार अब वैज्ञानिकहरुले पृथ्वीको कक्षमा ठूला एवं शक्तिशाली स्याटेलाईट पठाउनेछन् र त्यसबाट उत्पादन हुने उर्जालाई पृथ्वीमा पठाउने काम गरिन्छ । ब्रिटेनको स्पेस इनर्जी इनिसियटिभका चेयरमेन मार्सियन सोल्ताउले यो प्रोजेक्टको क्षमता असिमित भएको बताएका छन् । सैद्धान्तिक रुपमा भनिएअनुसार सन् २०५० सम्ममा पृथ्वीलाई चाहिने सम्पूर्ण उर्जा अन्तरिक्षबाट आउन सक्नेछ । अहिले विश्वमा पानीबाट निकालिने बिजुली, आणविक भट्टीबाट निकालिने बिजुली, सोलार प्यानलबाट उत्पादन हुने बिजुली र अन्य इन्धनबाट उत्पादन हुने बिजुली उत्पादन गरेर प्रयोग गर्ने गरिएको छ । अन्तरिक्षमा सोलारमार्फत उत्पादन गरिने बिजुलीको दिगोपना र उत्पादन लागतको विषयमा भने वैज्ञानिकहरुले केही भनिसकेका छैनन् । अन्तरिक्षबाट उत्पादन हुने बिजुली सस्तो हुन गएमा नेपाल जस्ता पानीबाट बिजुली उत्पादन गरेर बेच्ने सपना बोकेका मुलुकलाई ठूलो धक्का पुग्न सक्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा ।

गेटवे कलेज अफ प्रोफेसनल स्टडिजद्वारा व्याच २०१९ को कोर्ष समापन कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको बसुन्धारामा रहेको गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले ब्याच २०१९ को कोर्ष सम्पन्न गरेको छ । नेपाल भित्र तथा बाहिर विभीन्न उत्कृष्ट तारे होटल, रेष्टुरेन्ट, कर्पोरेट कार्यालय एवं विभिन्न कार्यालयमा जागिर को सत प्रतिशत सुनिश्चितता गर्दैआएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकाय अन्तर्गत होटल मेनेजमेन्ट तर्फ विगत १५ वर्ष देखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ। गेटवे कलेज गत वर्ष नेपालकै होटल मेनेजमेन्ट कलेज मध्य उत्कृष्ट पाँचौ स्थानमा रहन सफल भएको थियो। शुक्रबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ एवं अन्य अतिथिका रूपमा सोही कलेजमा प्राध्यापन गरिरहेका पर्यटन तथा अतिथि सत्कार विज्ञ प्रा.डा.रमेशराज कुँवर एवं बिद्यार्थी, अन्तर्राष्ट्रिय तालिम विज्ञ, अविभावक, कलेज का प्राध्यापक, कर्मचारी तथा अन्य विभिन्न शिक्षा क्षेत्रमा विगत लामो समयदेखि जोडिएका महानुभावहरुको उपस्थिति रहेको थियो। संस्थापना कालदेखि कलेजले उत्कृष्ट नतिजा ल्याउनुमा शिक्षकको मेहेनत, बिद्यार्थीको लगनशीलता एवं अविभावकको मेहनत रहेको जानकारी कलेजकी संस्थापक प्राचार्य डाली खनालले दिइन् । प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई निखार्ने एवं वर्तमान परिस्थितिमा समायोजनमा सहयोग पुग्ने जानकारी दिइन् । कार्यक्रमका सभापति एवं कलेजका संस्थापक अध्यक्ष सुरेश केसी वेभ हस्पिटालिटी अन्तर्गत, रेष्टुरेन्ट, बैंक्वेट, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल लगायतको संस्था कलेजको पूर्ण व्यवस्थापनमा संचालनमा लिएर आउने जानकारी गराउँदै कलेजलाई यो स्थानमा लिएर आउने सरोकारवालाहरुलाई धन्यबाद दिँदै विद्यार्थीहरुलाई आगामी दिनमा कलेजले फरक ढंगले पढाइका अतिरिक्त अन्य विभिन्न समयअनुकूल विभिन्न शैक्षिक गतिविधि हरुलाई अगाडि बढाउदै जाने जानकारी दिए ।

केबलकार सञ्चालनमा आएपछि मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपुर । यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगेका थिइन्। जिल्लाको मध्यविन्दु–३ बाट आउनुभएकी उनले हामीसँगको कुराकानीमा १७ वर्षपछि आज मन्दिर पुगेको बताइन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो । ‘सत्र वर्षअघिसम्म त वर्षमा दुई तीन पटक मौलाकालिका मन्दिर आउने गरेकी थिएँ’, उनले भनिन्, ‘विस्तारै बुढेसकाल लागेपछि हिँडेर मन्दिर पुग्नसक्ने अवस्था नभएकाले टाढैबाट मन्दिरको दर्शन गरेर घर फर्किने गरेकी थिएँ ।’ यस पटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको उनले बताइन् । ‘पहाडको फेदीबाटै केबलकार चल्दा सहज भएको छ । केबलकारमा पाँच मिनेको यात्रापछि मन्दिर नजिकै ओर्लिन पाइने रहेछ, यात्रा पनि रमाइलो लाग्यो’, उनले भनिन्, ‘जिन्दगीमै पहिलोपटक केबलकार चढ्ने मौका मिल्यो, केबलकारबाट झरेको पाँच मिनेटमै माताको दर्शन गर्न मन्दिर पुगिँदो रहेछ ।’ केबलकार सञ्चालनपछि हिँड्न नसक्ने व्यक्तिका लागि मन्दिर पुग्न सहज भएको उनले बताइन् । यसअघि आफू नारायणगढ र गैँडाकोट आइराख्ने भए पनि टाढैबाट माताको दर्शन गरेर फर्किने गरेको उपाध्यायले सुनाइन्। अहिले मौलाकालिकामा पूजाआजा गर्न जाने त भए नै धार्मिक पर्यटन प्रर्वद्र्धनका लागि विभिन्न समूह बनाएर जाने व्यक्तिहरु पनि पुग्ने गरेका छन् । पहिले तल देवघाट दर्शनमा आएका व्यक्तिहरु त्यहाँबाटै फर्किने गरेका भए पनि अहिले केबलकारको सुविधाका कारण मौलाकालिका मन्दिर पनि पुग्ने गरेका सोमबार धनगढीबाट मन्दिर दर्शनका लागि आएका कैलाश आचार्यले जानकारी दिए। ‘पहिले पनि दर्शन गर्न पुगेको थिएँ, यहाँ हिँड्न नसक्नेलाई गाडीमा जान सकिने सुविधा पनि थियो र अहिले पनि रहेछ । तर गाडी भरपर्दो नहुने । पानी पर्दा हिलो हुने र उकालोमा गाडी नचल्ने भएकाले एकपटक हामी बीचबाटै फर्र्किएका थियौँ तर यसपालि निकै सजिलोगरी देवीको दर्शन गर्न पाइयो । सपरिवार आएका थियौँ अब आज नै घर फर्किन्छौँ’, उनले भने । गैँडाकोट–१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ । समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको बताए । ‘अघिल्ला वर्षमा सय समयमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउने गरेका थिए’, उनलेभ भने, ‘अहिले दैनिक एक हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन् । सार्वजनिक बिदाको दिन र चाडपर्वमा त निकै भिडभाड हुने गरेको छ ।’ उनले भने, ‘वैशाखमा केबलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजन बढेका हुन् । मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका छन् ।’ मन्दिरमा माता कालीको दर्शनसँगै जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका उनको भनाइ छ । मन्दिरमा कुनै पनि कार्य गर्नका लागि समितिले पैसा तोकेर नलिने भन्दै उनले भने, ‘हामीले परेवा उडाउन चाहने व्यक्तिका लागि दुई सय ५० मूल्य तोकेका छौँ, अन्य कार्यका लागि भक्तजनले स्वेच्छाले दिनुभएको दान हामीले सहर्ष स्वीकार गरेका छौँ ।’ मन्दिर पुग्ने भक्तजनहरुले माताको पाउमा, दान पेटिकामा रकम दिने गरेको भन्दै उनले केही व्यक्तिहरुले भने रसिद काटेर भेटी दिने गरेको बताए । मन्दिर दर्शनका लागि आउने भक्तजन बढेसँगै मन्दिरको भेटीसमेत बढेको उनको भनाइ छ । ‘अहिले मन्दिरले दैनिक रु ५० हजारभन्दा बढी भेटी रकम सङ्कलन गर्दै आएको छ’, उनले भने, ‘मन्दिरमा सङ्कलन भएको भेटीबाट धर्मशाला, गुरुकुलम्, अतिथि गृहलगायत सञ्चालन भइरहेको छ ।’ भेटीबाट उठ्ने रकमले मन्दिरको खर्च धान्न धौधौ हुने गरेको भन्दै उनले सरकारकोतर्फबाट हालसम्म मन्दिरलाई आर्थिक सहयोग नभएको बताए । जेठ महिनामा मात्रै मौलाकाली केबलकारमार्फत २६ हजारभन्दा बढी व्यक्तिले यात्रा गरेका मौलाकाली केबलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले बताए। माथि पुगेका अधिकांश व्यक्ति मन्दिरको दर्शनका लागि पुग्ने गर्दछन् । दैनिक आठ सय जनासम्म यात्रुले केबलकार चढेर चढेर मौलाकालिका पुग्ने गरेका पौडेलको भनाइ छ । नयाँ वर्षका अवसरमा वैशाख १ गतेदेखि सुरु गरिएको केबलकारमा दैनिक जस्तो दर्शनार्थीको सङ्ख्या बढेको उनी बताउँछन् । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस केबलकारबाट प्रतिघन्टा छ सय जनाले यात्रा गर्न सक्छन् । यसो लम्बाई एक हजार दुई सय मिटर छ । रासस ।