विकासन्युज

उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजिकरण गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र, औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल गरेका हुन् । परिसंघका अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए । उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उनले जोड दिए । ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाई गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानून ल्याउनुपर्ने बताए । उनले औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि आग्रह गरे । मेक इन नेपाल स्वदेशी अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरिनुपर्नेमा जोड दिए । भेटमा मन्त्री रिजालले निजी क्षेत्रले नै उद्योग व्यवसाय गर्नुपर्ने उल्लेख गर्दै सरकारले त्यसका लागि सहजीकरण गर्ने बताए ।

नर्भिक आइभिएफको विशेष प्याकेज : ओपिडी निःशुल्क, फलोअप पनि सित्तैमा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो । उक्त सर्जरी प्याकेजमा नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवम् उपचार गर्नेछ । सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेशन, पाठेघरको ट्युमर, शिष्ट लगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरु समेटिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कुनै पनि महिलाको बच्चा नहुने अप्रेशन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी बरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले बताइन् । नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई बिस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आइभिएफबाट भारी छुटसहितको एक महिने बिशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रीम रुपमा नाम दर्ता गराउनुपर्ने अस्पताले जनाएको छ । नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्वर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिनेछ । सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरुलाई ओपिडी शुल्क निशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन । विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा. शर्मासँग निशुल्क परामर्श गराई आफ्नो सुविधाअनुसार दुरबिन प्रविधिबाट शल्यक्रिया गराउन सक्नेछन् । दुरबिन प्रविधिबाट गरिने अप्रेशन बिरामीका लागि निकै सुविधायुक्त र फाइदाजनक मान्ने गरिन्छ । अस्पतालको बसाई कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुने लगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आर्कषण पछिल्लो समय बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा कैदी फेला

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आचार्यले बताए ।

एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । उनले भने, ‘एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ ।’ बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । वि.सं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । वि.सं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए । यसरी हेर्न सकिन्छ नतिजा एसइईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए । एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np नेपाल टेलिकमको www.svv.gov.np, www.khatli.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com , www.see.edusanjal.com, www.admissionnepal.com, www. seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.neducationportal.com , www.ayoresult.com, www.results.com, www.matereducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

महानिर्देशक अधिकारीलाई पुनः सोधियो तीनदिने स्पष्टिकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पर्यटनमन्त्री सुदन किरातीले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टिकरण सोधेका हुन् । ‘मन्त्रीज्यूले बुुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको हो, बिहीबार बिहान १० बजे नै पत्र पठाउने भन्ने तयारी थियो’, मन्त्रालय स्रोतले भन्यो, ‘यसअघि पठाईएको पत्रको जवाफ नदिनुको कारण सहित स्पष्टिकरणको जवाफ पठाउन दोस्रो पत्र पठाईएको हो ।’ बुधबार दिउसो र साँझ मन्त्री किराती र महानिर्देशक अधिकारीको मन्त्रालयमा भेटवार्ता समेत भएको थियो । उनीहरु दुई जना गोप्य भेट गरेको भन्दै भेटमा के कुरा भयो त्यसको जानकारी कसैलाई नभएको स्रोतले दाबी गर्याे । ‘उहाँहरुको कुरा हुँदा यसअघिको विवाद समाधान हुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर पुनः स्पष्टीकरण सोध्ने निर्णय भएसँगै समाधान नभएको हाम्रो बुझाइ हो’, स्रोतले भन्यो । महानिर्देशक अधिकारीले तीन दिनको समयमा पुनः स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नपठाए थप निर्णय हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मूलपानी र धर्मस्थलीसँगै उपत्यकामा थपिए पाँच ट्राफिक पोष्ट

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौंको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ । पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौं उपत्यकाभित्र एक हजार आठ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार एक सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताए । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार एक सय ८१ सवारीसाधन दर्ता छन् ।

काम र चर्चा दुवैमा एक कदम अगाडि बालेन

काठमाडौं । देशभरका ७५३ वटा स्थानीय तहमध्ये एक वर्ष यता काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सबैभन्दा धेरै चर्चामा छन् । काठमाडौं महानगरकाे प्रमुखमा निर्वाचित भएपछि सञ्चार माध्यमसँग टाढा रहेका बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले भने सञ्चार माध्यममा प्राथमिकताकासाथ स्थान पाउने गर्छ । त्यस्तै, सामाजिक सञ्जालमा व्यक्त बालेनकाे अभिव्यक्तिले सामाजिक सञ्जालमा सेलिब्रेटी र राजनीतिक नेतृत्वको विचारले भन्दा धेरै प्रतिक्रिया पाउने गरेकाे छ । यसको मुख्य कारण भनेको उनले अगाडि बढाएको कार्यक्रम र क्रियाकलाप नै हो । महानगर प्रमुखमा निर्वाचित भएपछि बालेनले महानगरमा कार्यरत कुनै पनि कर्मचारी परिवर्तन गरेका छैनन् । उनीसँग काम गर्ने उप–प्रमुखदेखि कार्यपालिकाका सबै  सदस्य राजनीतिक दलमा आबद्ध व्यक्तिहरु नै छन् । तर, पुरानै कर्मचारी र ठूला राजनीतिक दलसँग आवद्ध वडा अध्यक्षहरुसँगकाे सहकार्यमै बालेन चर्चाको शिखरमा छन् । बालेनले पहलकदमी लिएका कतिपय कामको विषयलाई लिएर अदालतमा मुद्दा पर्ने गरेको छ । कतिपय कामकाे विरोध पनि हुने गरेकाे छ । तर, बालेले मुलतः विद्यमान कानूनलाई नै उच्चतम प्रयोग गर्ने कोसिस गरिरहेको देखिन्छ । पूर्व सचिव रामेश्वर खनालले पनि बालेनले मुलतः कानूनलाई परिपालना गराउने र अनुशासन कायम गर्ने प्रयास गरिरहेकाे  टिप्पणी गरेका छन् । आफैँ अनुशासनमा रहेको मान्छेले मात्रै अरुलाई पनि अनुशासित राख्न सक्ने र काठमाडौंका अहिलेसम्मका मेयरहरुमध्ये बालेन मात्रै घुस नखाने मेयर भएको भनेर कर्मचारीहरुले समेत प्रतिक्रिया दिएको आफुले सुनेकाे खनालले बताए । ‘काठमाडाै‌ महानगरभित्र कानून, नियम पालना गराउन खोजेको देख्छु । जो आफू नै अनुशासित छ उसले मात्रै यस्ताे काम गराउन सक्छ’, खनालले भने, ‘आफू अनुशासित भएन भने त कर्मचारीले नै टेर्दैन नि ।’ बालेनले गरिरहेका कामहरु लोकप्रिय भन्दा पनि शुसासनमा आधारित रहेको पूर्व सचिव रामेश्वर खनालको भनाइ छ । ‘उनले गरेका कामहरु चर्चामा आउनका लागि गरिरहेका छन् जस्तो मलाइ लाग्दैन, चर्चामा आउनको लागि पैसा वितरण गर्ने, चटके कामहरु गर्ने, कसैलाई साडी वितरण गर्ने, बालबालिकाहरलाई चकलेट वितरण गर्ने जस्ता कामहरु भएको देखिँदैन’, उनले भने, ‘अहिलेसम्म जे जति काम भएका छन् ती कामहरुले अव्यवस्थित व्यवस्था, नियम पालना नगर्ने प्रवृत्ति र काठमाडौंको सांस्कृतिक पूर्वाधारहरुमा क्षति पुर्याउने कामलाई रोक्ने जस्ता काम भएका छन् । याे सस्तो लोकप्रियताका लागि गरिएका काम हाे जस्ताे मलाई लाग्दैन ।’ शिक्षा क्षेत्रमा बालेनका नवीन पहलकदमी काठमाडौं महानगरले शिक्षा क्षेत्रमा विद्यमान कानूनलाई कार्यान्वयन गराउने र सुधार गर्ने अभियानलाई अगाडि बढाएको छ । सामुदायिक विद्यालयहरुलाई सुधार गर्ने र निजी विद्यालयहरुलाई नियमन गर्ने विषयलाई काठमाडौं महानगरले श्रृंखलाबद्ध रुपमा अगाडि सारेको छ । सामुदायिक विद्यालयहरुमा बुक फ्रि फ्राइडे र विद्यार्थी संगठन निर्माण गर्न नपाइने विषय महानगरले नवीन कार्यक्रमको रुपमा अगाडि बढाएको छ । त्यस्तै, निजी शिक्षण संस्थाले दिनुपर्ने १० प्रतिशत विद्यार्थीको विवरण सार्वजनिक गर्नुपर्ने, कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थीको सिफारिस महानगरले गर्नुपर्ने, कक्षा ११/१२ को शुल्कको विवरण पनि महानगरलाई बुझाउनुपर्ने र निजी विद्यालयमा कार्यरत शिक्षकहरुले पनि सरकारी सरह तलब सुविधा पाउनुपर्ने सूचना जारी गरेकाे छ । महानगरले शिक्षा क्षेत्रको सुधारका निम्ति अगाडि बढाएका कामहरुमध्ये पछिल्लो पटक प्रमुख बालेनले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुले सरकारी सरह तलब सुविधा पाउनुपर्ने विषय विवादित बनेको छ । काठमाडौं महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले निजी स्कुलमा कार्यरत शिक्षकहरुले विद्यमान संघीय शिक्षा ऐनअनुसार नै तलब पाउनुपर्ने बताएका छन् । उनले केही समयमा सो विषयलाई लिएर महानगरले आधिकारिक विज्ञप्ति जारी गर्ने समेत बताएका छन् । मुलुकभरीका ७५३ वटा स्थानीय तहमध्ये काठमाडौं महानगरका प्रमुख बालेनले शिक्षा क्षेत्रमा सुधारको नवीन काम शुरुवात गरेका हुन् । शिक्षा क्षेत्रलाई कमै मात्र स्थानीय तहले विशेष प्राथमिकतामा राखेका छन् । शिक्षा क्षेत्रमा बालेनले गरेको कामको विषयलाई लिएर राजनीतिक नेतृत्वदेखि धेरै विज्ञहरुले समेत प्रशंसा गरेका छन् । पूर्व सचिव रामेश्वर खनालले बालेनले शिक्षा क्षेत्रमा गरेको सुधारको काम उनले केही मान्छेहरु रुष्ट हुने भएपनि साहस गरेर पहल गरेको बताउँछन् । ‘शिक्षकहरुलाई जिविकोपार्जन गर्न पुग्नेगरी तलब दिनुपर्छ, श्रमको शोषण हुनुहुँदैन भन्दाखेरी एउटा शक्तिशाली पुँजीपती वर्ग रुष्ट हुन्छ’, खनाल भन्छन्, ‘जसले लगानीबाट प्रतिफल लिइरहेको छ, श्रमको शोषण गरिरहेको छ त्यो त रुष्ट हुन्छ, विद्यालयमा तालाबन्दी गर्न पाईंदैन कक्षा सूचारु हुनुपर्छ, भन्दा कर्मचारी र विद्यार्थी संगठन आन्दोलित होलान् ।’ बालेनले शिक्षा क्षेत्रमा गरेको सुधारको शुरुवातले आगामी केही वर्षमा नै सकारात्मक नतिजा दिने धेरैले अपेक्षा गरेका छन् । स्वास्थ्य क्षेत्रमा गरिबलाई सुविधा  काठमाडौं महानगरले अन्य महानगर र स्थानीय तहहरुको तुलनामा स्वास्थ्य क्षेत्रमा पनि नवीनतम पहलकदमीलाई अगाडि बढाएको छ । सोही अन्तर्गत महानगरले छेत्रपाटी निःशुल्क चिकित्सालय सञ्चालनको शुरुवात गरेको छ । जहाँ वृद्धभत्ता प्राप्त गर्ने सबै जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ । त्यस्तै, महानगर प्रमुख बालेनले अग्रसरता लिएर संघीय सरकारले नै कार्यान्वयन गर्नुपर्ने स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गराउन दबाब दिएर काठमाडौं महानगरभित्र कार्यान्वयन गराउन सफल भएका छन् । जसको कार्यान्वयनपश्चात काठमाडौं महानगरभित्रका सम्पूर्ण सरकारी अस्पतालमा १० प्रतिशत बेड गरिबहरुका निम्ति निःशुल्क भएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान सार्वजनिक सम्पत्तिको संरक्षणमा बालेनले लिएको पहलकदमी काठमाडौं महानगरको चर्चाको अर्को महत्वपूर्ण विषय हो । महानगरमा निर्वाचित भएको केही समयपछि नै उनले सडकपेटीमा अनधिकृत ढंगले व्यवसाय गर्ने, नाप-नक्सा विपरित भवन बनाउने तथा प्रयोग गर्ने र सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्नेहरुका विरुद्धमा अभियान नै सञ्चालन गरेका थिए । विभिन्न तथ्यांकहरुलाई हेर्दा सार्वजनिक सम्पत्ति सम्बन्धी समस्या देशैभरी नै छ । तर, बालेनले आफूलाई डोजर मेयरको पहिचान नै बनाएर नाप-नक्सा विपरित भवन निर्माण गर्ने र अव्यवस्थित बसोबासीहरुलाई कानूनको दायरामा ल्याउने काम गरे । विश्व पुरातत्विक सम्पदाको सूचिमा रहेको बसन्तुपर हनुमानढोका क्षेत्रलाई मेयर बालेनले सवारी साधन निषेधित क्षेत्रकोरुपमा घोषणा गरेका छन् । सफा काठमाडाै‌ंकाे पहल काठमाडौं महानगरमा लामो समयदेखिको महत्वपूर्ण मध्येको एउटा मुद्दा हो सरसफाइ । सामान्यतया सबै ठूला सहरहरुमा यो विषय महत्वपूर्ण हुने गर्छ । काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भइसकेपछि बालेनले फोहोर व्यवस्थापनको निमित्त निकै पहलकदमी गरेका थिए । तर, फोहोरको प्राविधिक रुपमा दीर्घकालिन समस्या समाधान नभएपनि एकवर्ष अगाडिको तुलनामा अहिलेको अवस्थामा काठमाडौंं महानगर तुलनात्मकरुपमा सफा भएको छ । त्यस्तै, महानगर भित्रको विभिन्न क्षेत्रमा वृक्षारोपण र गमलामा फुल राखेर सजावट गरिएको छ । गल्लीहर खाली भएकाले काठमाडौं महानगर यात्रुहरुका लागि समेत सहज बनेका छन् । संघीयताको अभ्यासमा पहल अहिलेको अवस्थामा संघीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय सरकारको अधिकार क्षेत्र मिचेर काम गरिरहेको विषयलाई विभिन्न पार्टीका नेता, सांसद, वित्त आयोग र स्थानीय सरकारहरुले विरोध गरिरहेका छन् । कतिपय विषयहरुलाई लिएर स्थानीय सरकारले अदालतमा मुद्दा दायर समेत गरेको अवस्था छ । तर, काठमाडौं महानगरका प्रमुख बालेनले भने आफ्नो अधिकार क्षेत्रको विषयलाई लिएर सिधै कार्यान्वयनमा उत्रिने गरेका छन् । उनका कतिपय कामको विषयमा आलोचना हुने गरेपनि स्थानीय सरकारको वास्तविक अभ्यास गर्न खोजेको र त्यसले अरुको लागि समेत प्रेरणा मिलेकाे धेरैको बुझाइ छ । बालेनको सार्वजनिक सम्पत्तिको संरक्षणको पहलकदमीलाई पूर्व सचिव खनालले लोकप्रिय नभएर कानूनको कार्यान्वयन भनेर टिप्पणी गरेका छन् । बालेनले सबै क्षेत्रमा गर्न खोजेको कामहरु सुधारको काम भएको खनालको टिप्पणी छ । तर, कतिपय काम गर्ने तौरतरिकामा राम्रोसँग पूर्व तयारी गरेर, मर्का पर्ने वर्गलाई जानकारी गराएर, खासगरी ठेलागाढा हटाउने वा अव्यवस्थित वस्ती हटाउने सन्दर्भमा निजी सम्पत्ति अनाहकमा क्षति नहुनेगरी गरिदिएको भए राम्रो हुन्थ्यो भन्नेसम्म आफ्नो टिप्पणी रहेको उनको भनाइ छ ।

नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य

काठमाडौं । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत  कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको  जानकारी दिए । नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताए । उनले नेपालमा विद्यमान लगानीका अवसरबाट लाभ लिन उपस्थित उद्योग व्यवसायीलाई आग्रह गरेको त्यहाँस्थित दूतावासले जनाएको छ । अरब वुमन्स इन्भेस्टर्स युनियनकी अध्यक्ष डा होडा यास्साले नेपाल इजिप्टका लगानीकर्ताका लागि नयाँ तर प्रशस्त सम्भावनायुक्त गन्तव्य भएकाले आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । इजिप्टको वर्तमान व्यावसायिक वातावरण तथा वैदेशिक लगानीको नीतिबारे प्रकाश पार्दै उनले पौने तीन अर्ब जनसङ्ख्याको बजारको निकट र विशालतम अर्थतन्त्रको साँधमा अवस्थित नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हुने जानकारी गराए । ट्राभल इजिप्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद सादिकले नेपाल इजिप्टका लागि भविष्यमा महत्वपूर्ण गन्तव्यकारुपमा विकास हुने सम्भावना रहेको धारणा व्यक्त गर्दै कायरो र काठमाडौँबीच सीधा हवाई उडानको आवश्यकता औँल्याए । कार्यक्रममा दूतावासका तर्फबाट नेपालको समग्र आर्थिक तथा लगानी नीतिबारे जानकारीसहित वैदेशिक लगानीका परियोजना तर्जुमा तथा सहजीकरण एवं लगानी स्वीकृतिलगायत विविध पक्षबारे प्रस्तुति गरिएको थियो । सो अवसरमा उद्योगी, व्यवसायी र सहभागी प्रतिनिधिले नेपालमा लगानीको सम्भावना भएका विभिन्न क्षेत्रबारे व्यक्तिगत र सामूहिकरुपमा उत्साहका साथ जिज्ञासा राखेका थिए । निजी तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत लगानीको विधि र प्रक्रिया, हालसम्म नेपालमा भएका ठूला लगानी परियोजना एवं लगानीयोग्य परियोजनाको सूचीबारे जानकारी गराइएको उक्त कार्यक्रममा उद्योगी व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित करिब ७० जना सहभागी रहेको दूतावासले जनाएको छ ।