विकासन्युज

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताए । उनले भने, ‘प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ । त्यस्तो प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो ।’ संसद् बैठक अवरोध गर्ने दलहरुले यो कुरालाई स्वीकार गरेर संसद् सञ्चालन गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे। प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए  । लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने बताउँदै उनले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए । फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए । उनले भने, ‘अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयक हिजो संसद्बाट पारित गरिनुपथ्र्यो । त्यो पारित नभएको कारणले हिजोकै दिनबाट अध्यादेश निष्क्रिय भएको छ तर मिटरब्याजी पीडितलाई न्याय दिने काम रोकिँदैन ।’ सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उनको भनाइ थियो । अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने भन्दै उनले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने बताए । उनले भने, ‘पीडितलाई न्याय दिने अभियान रोकिँदैन ।’ भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको भन्दै उनले प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको बताए । अनुसन्धान र प्रमाणले भेटे जति सबैलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो । व्यक्ति हेरेर फाईल नखोलिने भन्दै उनले भने ‘प्रहरीलाई दिएको निर्देशन के हो भने अपराध नियन्त्रण गर्न, ठगि नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र अपराधी एवं भ्रष्टाचारीलाई कारबाही गर्न प्रहरी सङ्गठनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाइन्छ ।’ दोषी फेला परे त्यसलाई कानुनको दायरामा ल्याउन सरकारपछि नहट्ने उनको भनाइ छ ।

गोरु पाल्ने किसानलाई प्रोत्साहन भक्ता, खेतबारी जोतेर राम्रै कमाउन सकिने

पाल्पा । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार रुपैयाँ भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको हो । ‘घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने आदत बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ’, वडाध्यक्ष पोखरेलले भने । कृषिलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेल बताउछन् । गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ । घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ । गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो । अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक दुई हजार पाँच सयसम्म ज्याला रहेको छ । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन् अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिनेछ । रासस

आज १० वर्षयताकै लामो दिन

काठमाडौं । आज १० वर्षयताकै सबैभन्दा लामो दिन रहेको छ । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने दिन रहेको बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले बताए । उनका अनुसार पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुन्छ । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर रहेको छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । डा. शर्माले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने बताए । पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने उनको भनाइ छ । पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुने गरेको उनले बताए । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जाने र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुने उनले बताए । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

प्रभु बैंकले एकैपटक ३० वटा एटीएम मेसिन खरिद गर्दै

काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको छ । बैंकले एटीएम मेसिन आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बैंककाअनुसार, बोलपत्रको ढाँचा खरिदका लागि कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

काठमाडौं । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् । डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ ९ फिट ८ इञ्च रहेको छ । घाँटीमा २ ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा ५ लाखदेखि १० लाख रुपैयाँसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए । चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ ।

माण्डु हाईड्रोले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता कति ?

काठमाडौं । माण्डु हाईड्रोपावरले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७७ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गर्नेछ । कम्पनीले जारी पूँजीको मध्ये २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र ललितपुरको बागमति गाउँपालिका १ र २, मकवानपुरको भिमफेदी गाउँपालिका ५, ६, ७ र ८ र इन्द्रासरोवर गाउँपालिकाको ३ स्थानीय बासिन्दाहरुलाई बिक्री गर्नेछ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्राइम बैंकको भीमफेदी, हेटौडा शाखा, कुमारी बैंकको बागमती शाखा, प्रभु बैंकको हेटौडा शाखा र आवश्यकता अनुसार अन्य संकलन केन्द्र पनि थप गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।

श्रीमतीको २ नामबाट २ नागरिकता बनाएपछि..

काठमाडौं । दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् । किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बैतडीबाट लिएको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, ना.प्र.न.७३३०१३/४३४, जारी मिति २०६३/१०/८ बैतडी, जन्ममिति २०४६/५/२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ । यसैगरी कञ्चपुरबाट लिएको दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्म मिति २०३९/११/१०, ना.प्र.न. ७५१००१/१३१२६, जारी मिति २०६७/४/२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ । दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएको खुल्न आएको छ । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमतीका रूपमा किस्मतीलाई भित्र्याएको र पहिलाकै श्रीमती कलावतीको नामबाटै किस्मतीको कञ्चनपुरबाट नयाँ नागरिकता बनाएका हुन् । ती कलावतीलाई दैनिक कुटपिट गर्ने गरेको र ४ छोरा आफैँसँग राखेर घर निकाला गरेका हुन् । अहिले दोहोरो नागरिकता लिने र लिन बाध्य पार्ने दुवै जनामाथि अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । ‘दुवैजनालाई पक्राउ गर्न भनेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खबर आएको र त्यसपछि हामीले उनीहरूको खोजतलास गरेका थियौँ । अहिले उनीहरू कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन्,’ उनले भने । बैतडीको भन्दा कञ्चनपुरको नागरिकतामा ७ वर्ष उमेर बढाएर बनाएको पाइएको र निजको नाम र श्रीमान्को नाम पनि फरक रहेकाले प्रहरीले मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

अप्पर लोहोरेको आईपीओ खरिद गर्ने आज अन्तिम दिन, स्थानीयले आवेदन दिने समय लम्बियो

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ७ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता अति प्रभावित क्षेत्र नौमुले गाँपालिका ३ र ५० प्रतिशत सेयर २ लाख ५४ हजार ९०२ कित्ता दैलेख जिल्ला बासीहरुलाई बिक्री गरेको हो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।