भारतको सहयोगमा निर्मित ३ विद्यालय र क्याम्पस उद्घाटन
काठमाडौं । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावास विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख रुपैयाँआर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणको अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माका साथै समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारीलगायतको उपस्थिति थियो । विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई शैक्षिक पूर्वाधारमार्फत गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्नेछ । सन् २००३ देखि भारतले नेपालमा पाँच सय ४४ भन्दाबढी उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । यसमध्ये चार सय ८० वटा परियोजना सम्पन्न भइसकेका छन् । उक्त परियोजनामध्ये कर्णाली प्रदेशमा १४ वटा परियोजना छन् । यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ । यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गरेको दूताबासको भनाइ छ । रासस
बजारमा नेपाली आँपकै एकछत्र राज, ३० करोडको आँप बिक्री
काठमाडौं । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ । गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो । आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेकोछ । जातअनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ । सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ । उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ । विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ । ’यसपालि बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो’, बाँनियाले भने, ’पछिल्लो दशक होइन २०÷२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो ।’ उनले मण्डीबाट ३० करोड रुपैयाँ बराबरको आँप बिक्री हुने अनुमान गरे । नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन् । कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ । विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए । उनका अनुसार उत्पादन क्रमश बढ्दो क्रममा रहेको देखिन्छ । आव २०७७÷७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो । त्यहाँबाट चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८÷७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्यांक छ । यो वर्ष झन् राम्रो उत्पादन भएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर १०।६७ बाट बढेर १२।६१ मेट्रिक टनले बढेको छ । नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको बताए । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार आँप कै कुरा गर्ने हो भने नेपाली आँप हेर्दा पनि राम्रो, र स्वादिलो भएकाले यो समयमा अरु कुनै फलफूलले स्थान नै पाउँदैन । माग पनि नेपाली आँपकै हुन्छ । नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाह्य आँप आउँछ । बेमौसममा पनि यसैगरी आँप निकाल्न सकियो भने र व्यावसायिक रुपमा अघि बढाउन सकियो भने नेपाली उत्पादनले बजार लिनेमा उनी ढुक्क छन् । तर बिडम्बना बाहिरबाट अन्य फुलफूल आइसक्दा पनि नेपालका जिल्लाहरुमा उत्पादन भएका फलुफूल काठमाडौँ आउनै सक्दैन । आएको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन । त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ । उनले भने, ’महाराष्ट्रको केरा पाँच दिनमा ल्याउँदा पनि यहाँ केही नहुने र हाम्रो कैलालीको केरा ल्याउँदा ग्यास भरिसक्ने किन त भनेको प्याकेजिङ र ग्रेडिङको समस्या हो ।’ आँपको मुख्यमा भने खास एक रुपता हुँदैन । बढी पाकेको आँप सस्तोमा बिक्री हुन्छ भने कम पाकेको आँप राम्रो देखिने महँगोमा बिक्री हुँदै आएको छ । व्यापारीहरुल ले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आँकलन गर्न पनि मुस्किहुने बताइएको छ । चैततिरै किसानको बगानमै पुगेर व्यापारीहरुले अग्रिम पैसा दिएर बगान नै किनेको हुन्छ । नाफा घाटा सबै व्यापारीको नै हुन्छ । किसानले उत्पादन गरेको मूल्य कति हो र यहाँ व्यापारिक मूल्य कति हो भनेर छुट्याउन गहे हुने व्यवसायीहरु बताउँछन् । किसानको बगानमा जति तिरे पनि बजारले मूल्य निर्धारण गर्ने भएकाले घाटा नाफा व्यापारीकै हुने गरेको छ । उनीहरुले कुनैबेला ठूलै नाफा पनि लिन सक्छन् । कुनै बेला घाटा पनि हुनसक्छ । यसपाली आँपको मूल्य सस्तो भएकाले नाफा कमाउन मुस्किल रहेको एक व्यापारीले बताए । कालीमाटीको अवस्था काठमाडौँ उपत्यकामा अधिकांश फलफूल कुलेश्वर मण्डीबाट बिक्री हुन्छ । कालीमाटीबाट नगन्य मात्रामा फलफूल बिक्री हुन्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार पनि काठमाडौंमा यहाँबाट १० प्रतिशत पनि फलफूल बिक्री हुन्न । उनका अनुसार वैशाखदेखि असार १७ गतेसम्म एक हजार ३८२ टन मात्रै फलफूल बिक्री भएको छ । त्यसमा ७९३ अर्थात ५० प्रतिशतभन्दा बढी सिरहाको आँप आएको छ । सप्तरीको ११९ टन, सर्लाहीको १३० टन आएको छ । कूल भित्रिएकोमध्ये १६३ टन अर्थात १२ प्रतिशतको हाराहारीमा भने भारतबाट भित्रिएको छ । सिजनको सुरुआती चरण र अन्तिम तथा बेमौसममा भारतीय आँप आउने गरे पनि मौसममा भने नेपालकै आँप प्रसस्त हुने उनले बताए । सुरुमा आँप अलि महँगो भएर आउँछ । आँपको सिजन जेठ र असार हो । यो समयमा नेपाली आँपले नै भरिन्छ । आएका आँपमध्ये ९० प्रतिशत आँप मालदह हुने गरेको पनि उनले बताए । उनको अनुसार यहाँबाट जेठको पहिलो साता प्रतिकिलो २२८ रुपैयाँले थोकमा आँप बिक्री भएको थियो । दोस्रो साता १९१, तेस्रो साता १११ चौथो साता ८६ ले बिक्री भएको थियो । असारको पहिलो साता ६२, दोस्रो साता ७३, तेस्रो साता ७५ हाराहारीमा बिक्री भइरहेको छ । यही १७ गते कालिमाटीमा ६० देखि ७० रुपैयाँ किलोमा थोकमा बिक्री भइरहेको छ । आजको मूल्य भने मालदह ७० देखि ८० प्रतिकिलोमा थोक बिक्री भइरहेको छ । कुलेश्वर फलफूल मण्डीमा भन्दा यहाँबाट अली महँगोमा फलफूल बिक्री भइरहेको छ । दुई चार दिन राख्न मिल्ने आँप अलि महँगोमा जान्छ, पाकिसकेको आँप सस्तोमा जान्छ त्यसैले आँप यति नै कारोबारमा हुन्छ भनेर भन्न नसकिने श्रेष्ठले भने । नेपालमा २४ जिल्लामा हुन्छ आँपको खेती नेपालमा कूल फलफूल उत्पादनको क्षेत्रमध्ये आँपले ३० देखि ३५ प्रतिशत ओगटेको छ । नेपालमा सबैभन्दा बढी मधेश प्रदेशमा आँप उत्पादन हुन्छ । व्यावसायिक रुपमा आँप खेती हुने २४ जिल्ला छन् । हाल झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी पश्चिम, कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुरलगायतका जिल्लामा व्यावसायिक रुपमा आँपको खेती भइरहेको छ । फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुंँदै पनि फलफूल खेतीको आशातीत विस्तार हुन सकेको छैन । बढ्दो जनसङ्ख्या, मानिसमा स्वास्थ्यप्रतिको सचेतना आदि कारण फलफूलको माग वर्षैपिच्छे बढ्दै गएको पाइन्छ । नेपाल सरकारले फलफूल उत्पादनका कार्यक्रम लागू गरे पनि पर्याप्त भएको छैन । फरकफरक समयमा फरकफरक जानका आँप उत्पादन हुन्छ । अगौटे जातहरुमा बम्बई ग्रिन, गोपाल भोग, सुकतारा, गुलाबखास आदि छन् । मध्येजातहरुमा दशहरी, मालदह, मल्लिका, आम्रपाली पर्छन् । पछौटे जातहरुमा चौसा, कलमतिया, सिपिया, अबेहायात आदि रहेका छन् । फलफूल व्यवसायको व्यापक विस्तार गरी १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवद्र्धन गर्ने उद्देश्यका लागि आव २०७३÷७४ देखि २०८२÷८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छन् । हावापानीको दृष्टिकोणले तराईदेखिमध्ये पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ तीनरचार वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुने गर्दछ । पहाडी भेगका गर्मी ठाउँहरुमा लगाइएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेतीभन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ । उष्णप्रदेशीय फलफूलहरुमध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ । पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । दशहरी, मालदह, लङ्ग्रा, जर्दा, अल्फान्सा, अम्रपाली, मल्लिका, रत्ना, चौसा, कलकत्तीया, निलम, फजलीलगायतका आँपका जात छन् । आँप उष्णप्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन । जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैंचा बनाउन उपयुक्त हुँदैन । एउटै बिरुवाले कयौं दशकसम्म ९३०–४० वर्ष० फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु जरुरी हुने फलफूल विज्ञको भनाइ छ । रासस
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंकको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहकाबीच शुभारम्भ गरिएको हो । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा समुद्घाटन गरे । शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने छ । उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पाँच महिनामै राजनीतिबाट बाहिरिइन् एलिजा गाैतम
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् । अभिनेत्री तथा मोडल समेत रहेकी एलिजाले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् । उन्मुक्ति पार्टीसँग जोडिएको करिब पाँच महिनामै राजनीति त्यागेको घोषणा उनले गरेकी हुन् । आगामी दिन समाजसेवामा विताउने गाैतमले बताएकी छिन् । उनी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भए पनि पार्टीले भने कुनै जिम्मेवारी दिएकाे थिएन । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षारोपण गरेको र १० वटा सावेल उपहारस्वरूप प्रदान गरेको पनि गाैतमले बताएकी छिन् । ‘म धरानका मेयर हर्कराज राईको कामबाट प्रभावित छु, उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ, देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् ।
भिभोको ‘मनसुन फेस्टिभल’ योजना : वाई सिरिजका स्मार्टफोनमा विशेष छुट
काठमाडौं । भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । जसअन्तर्गत वाई सिरिजका डिभाइसहरूमा भिभोले मूल्य घटाएको छ । यो रमाइलो र प्रचुर मौसमको सुरुवातलाई रोमाञ्चक तरिकाले मनाउन र वाई सिरिजका स्मार्टफोनहरूको ठूलो मागलाई ध्यानमा राख्दै, ब्रान्डले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा भारी मात्रामा केहि समयका लागि विशेष छुट दिने घोषणा गरेको छ । ग्राहकहरुले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपूर लाभ लिन सक्छन् । वाई२२एस भिभो वाई२२एस मा शक्तिशाली स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ जसले हरेक कार्यलाई सहज बनाउँछ । यो उपकरणमा १८ वाटको फास्ट चार्ज सहितको बलियो ५०००एमएएच ब्याट्री रहेको छ जसले तपाईका सम्पूर्ण कार्यहरू र मनोरञ्जनात्मक गतिविधिहरूको लागि निर्बाध रुपमा समर्थन गर्दछ । यस स्मार्टफोनको मुल्य २७,९९९ रुपैयाँबाट घटाइएको छ र यस अफर अवधि भरि वाई२२एस २५,४९९ रुपैयाँमा उपलब्ध हुनेछ । वाई१५सी वाई१५सी एचडी प्लस स्क्रिन र आई प्रोटेक्शन मोड सहित ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेमा आउँछ । यो स्मार्टफोन इमर्सिभ र उत्कृष्ट मनोरञ्जनात्मक अनुभवका लागि युवाहरूमाझ निकै लोकप्रिय भएको छ । स्मार्टफोनमा शक्तिशाली ५००० एमएमएच ब्याट्री, साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली १३एमपीको डुअल क्यामेरा पनि रहेको छ, यी सबै विशेषताहरुले गर्दा यस स्मार्टफोनलाई बजारमा अझ आकर्षक बनाएको छ । यस उपकरणको मूल्य १७,९९९ रुपैयाँबाट घटेर १४,९९९ रुपैयाँपुगेको छ । वाई१६ वाई१६ स्मार्टफोनमा सुलभ मूल्य फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्न स्लीक डिजाइन र शक्तिशाली प्रोसेसिंग क्षमताहरू रहेको छ । यस स्मार्टफोनमा ४जीवी र्याम + ६४जीवी रोम रहेको छ । साथै, यसमा ५००० एमएएच ब्याट्री र शिघ्र पहुँच र प्रयोगकर्ताहरूलाई सहज ह्यान्डलिङ अनुभव प्रदान गर्नका लागि साइड फिंगरप्रिन्ट स्क्यानर रहेको छ । यसबाहेक, प्रचुर फिचर रहेको यस डिभाइसमा ए आई डुअल क्यामेरा प्रणाली छ जसमा १३ एमपी प्रमुख क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ । यसबाट प्रयोगकर्ताहरूले आकर्षक तस्बिरहरू खिच्न सक्छन् । १८,९९९ रुपैयाँ मुल्य रहेको यस स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चात नयाँ मुल्य १७,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । वाई०२ वाई०२ एक नवीन र सुविधायुक्त स्मार्टफोन हो जुन ५०००एमएएच ब्याट्री र २जीवी र्याम + ३२जीवी स्टोरेजमा आउँछ । यसमा ६.५१ इन्चको एचडी+ इन्सेल डिस्प्लेको साथमा आइ प्रोटेक्शन मोड रहेको छ जसले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ । यो डिभाइस दुई प्रभावशाली रङहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । यसमा २.५डी स्लिम बडी डिजाइन रहेको छ जसले गर्दा यो स्मार्टफोनलाई हेर्दा पनि आकर्षक र समात्न पनि सहज बनाउँछ । प्रयोगकर्ताहरु माझँ निकै लोकप्रिय यो स्मार्टफोनको मूल्य १२,४९९ रुपैयाँबाट घटाएर अफर अवधिका लागि ११,९९९ रुपैयाँमा उपलब्ध गराइनेछ । वाई२२ वाई२२ ले यसको प्रभावकारी लुक्स, नवीनतम इमेजिङ प्रणाली र उत्कृष्ट कार्यसम्पादनका लागि देशभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको यस स्मार्टफोनमा १८ वाटको फास्ट चार्ज र ५०००एमएएच ब्याट्री रहेको छ । यसको क्यामेरा सुविधाहरूको कुरा गर्दा, फोनमा ५० एमपी रियर क्यामेरा छ जसको माध्यमबाट प्रयोगकर्ताहरूले भिडियो फेस ब्यूटी फिचर जस्ता नवीन विशेषताहरुको आनन्द लिन सक्छन् । साथै यसमा मल्टी स्टाइल पाट्र्रेट सुविधा र सुपर नाइट मोड जस्ता क्यामेरा विशेषताहरु रहेका छन् । यो आकर्षक स्मार्टफोनको बजार मुल्य २२,९९९ रुपैयाँभएतापनि ३१ जुलाईसम्म २१,४९९ रुपैयाँमा उपलब्ध हुनेछ । वाई०१ वाई०१ स्मार्टफोनमा ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्ले र विशाल ५०००एमएएच ब्याट्री रहेको छ, जसले धेरै कार्यहरुका लागि प्रयोग गर्न सकिने र गेम पनि खेल्न मन पराउनेहरूका लागि सुलभ र पहुँचयोग्य मुल्यमा सुविधायुक्त स्मार्टफोन प्रदान गर्ने लक्ष्य राखेको छ । यसबाहेक, वाई०१ मा स्टाइलिश थ्रीडी ब्याक कभर रहेको छ । यसको ८.२८ एमएम पातलो बडीले फोनलाई समकालीन रुपमा सुन्दर र आकर्षक बनाएको छ । १३,९९९ रुपैयाँबजार मुल्य रहेको यो स्मार्टफोन अफर अवधि अर्थात ३१ जुलाईसम्म १२,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस मनसुनलाई रमाइलो बनाउन भिभोले आफ्ना प्रिय प्रयोगकर्ताका लागि उनीहरुको लोकप्रिय स्मार्टफोन खरिदमा पैंसा बचतका लागी लाभदायक योजना ल्याएको छ । अब आजै गएर आफ्नो मनपर्ने भिभो स्मार्टफोन किन्ने होइन त?
मन्त्री-महानिर्देशक टसल : किराती हट्नेदेखि पैसा लेनदेनसम्मको चर्चा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीबीचको विवाद चुलिएको छ । सुरुमा दुई जनाबीच आन्तरिक विवाद अहिले बढेर छताछुल्ल भएको हो । परिणामस्वरुप मन्त्री किरातीले स्पष्टिकरणको बाँण फ्याँकिरहेका छन् भने महानिर्देशक अधिकारी त्यसप्रति मौन छन् । उनी मन्त्री किराती समक्ष स्पष्टिकरण दिन तयार छैनन् । मन्त्रालयले महानिर्देशक अधिकारीलाई यसअघि असार ११ गते ९ बुँदे स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणमा उनको कार्यकालमा नेपालमा बढी हवाई दुर्घटना भएकोदेखि क्यान विभाजनको विषयमा अधिकारीले दिएको अभिव्यक्तीको विषयमा उल्लेख थियो । मन्त्री किराँतीले सात दिनभित्र जवाफ दिन ताकेता गरेका थिए । तर, महानिर्देशक अधिकारीले त्यो पत्र ‘इग्नोर’ गरे । अधिकारी स्पष्टिकरण पत्रको अवज्ञा गरेको भन्दै मन्त्रालयले बुधबार पुनः तीन दिने स्पष्टिधकरण सोध्यो । पहिलाे स्पष्टिकरण अवज्ञा गरेपछि मन्त्रि किरातीले दाेस्राे स्पष्टिकरण सोधेका छन् । फेरि पनि अवज्ञा भए मन्त्रीस्तरीय निर्णय अनुसार कारवाही अगाडि बढ्ने चेतावनीपूर्ण भाषामा स्पष्टिकरण पत्रमा समावेश भएकाे छ । महानिर्देशक अधिकारीले आफुले मन्त्री किरातीलाई स्पष्टिकरण नदिने बताएका छन् । आफुलाई मन्त्रिपरिषदले नियुक्त गरेको र स्पष्टिकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषदको मात्रै भएकोले मन्त्रीले खोजेको स्पष्टिकरण आफुले नदिने अधिकारीले बताउँदै आएका छन् । उनी यो सामान्य विषय भएको तर्क गर्छन् । तर, विभागिय मन्त्री र महानिर्देशकबीचको विषय यसरी सार्वजनिक बहसका रुपमा आउँदा अन्तर्राष्ट्रिय रुपमै बेइज्जत भएको धारणा राख्छन् । बुधबारको भेटले गरेन काम मन्त्री किराती र महानिर्देशक अधिकारीबीच बुधबार मन्त्रालयमै ‘वान टु वान’ वार्ता भएको थियो । बुधबार साँझ आधा घण्टासम्म भएको भेटघाटमा उनीहरुबीच के कुराकानी भयो भन्ने विषय भने बाहिर आइसकेको छैन । तथापि, मन्त्रीले सोधेको स्पष्टिकरण र अधिकारीले नदिएको जवाफ सम्बन्धि नै छलफल भएको हो भन्ने अनुमान लगाउन गाह्रो छैन । स्रोतका अनुसार उनीहरुबीचको भेटमा तेस्रो व्यक्तीको प्रवेश निषेध थियो । ‘उहाँहरुको कुरा हुँदा यसअघिको विवाद समाधान हुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर पुनः स्पष्टीकरण सोध्ने निर्णय भएसँगै समाधान नभएको हाम्रो बुझाइ हो’ मन्त्री र महानिर्देशकको विवाद यसले पनि छर्लङ्ग भएको छ,’ स्रोतले भन्यो । महानिर्देशक अधिकारीले तीन दिनको स्पष्टिकरण पनि चित्तबुझ्दो नपठाएमा थप निर्णय हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । दुविधामा प्रधानमन्त्री प्रचण्ड मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवादले उग्र रुप लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने दोधारमा परेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आफ्नै पार्टीका नेता किराती र नजिकका आफन्त (सुख दुखमा साथ दिदैँ आएका) अधिकारीमध्ये कुनलाई बोक्ने र कुनलाई साइड लगाउने भन्ने विषयमा दुविधामा परेका छन् । पार्टीमा बलियो पकट रहेका किरातीलाई बोक्दा सुखदुखमा साथ दिएका अधिकारी रिसाउने, किरातीलाई बोक्दा पार्टीमा ठूलै विवाद आउनसक्ने हुँदा उनलाई दुईबीचको विवाद मिलाउन निकै अप्ठ्यारो परेको स्रोतको दाबी छ । क्यान सञ्चालक समितिका अध्यक्ष समेत रहेका मन्त्री किरातीले महानिर्देशकलाई स्पष्टिकरण सोध्दा त्यसको जवाफ नपाएपछि किरातीले मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । उनले प्रचण्डसँग अधिकारीलाई कारवाही गर्नु पर्ने माग राखेका थिए । मन्त्री किरातीले मंगलबार साँझ बालुबाटारमा प्रचण्डलाई भेट्दै महानिर्देशकले आफुलाई नटेरेको भन्दै कारवाहीको माग गरेका थिए । तर, प्रचण्डले उनलाई तत्काल कुनै निर्णय नलिन आग्रह गरेपछि मन्त्री किराती प्रचण्डसँग रुष्ट बनेका छन् । यसअघि प्रधानमन्त्री प्रचण्डको कार्यशैलीमा समेत विरोध जनाउँदै आएका किरातीलाई प्रचण्डले महानिर्देशक अधिकारीलाई थप कुनै कारवाहीको निर्णय नगर्न भनेपछि उनी बालुवाटारबाट रिसाएर फर्किएका थिए । आफूलाई नै नटेरेका मान्छेलाई कारवाहीको माग राख्दा तत्काल कुनै निर्णय नलिन जवाफ पाएपछि किरातीले बुधबार साँझ पुनः स्पष्टीकरण सोधेका हुन् । प्रधानमन्त्रीबाट आश्वासन पाए उनलाई कारवाहीका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउने आशामा उनी बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्ड अधिकारीको पक्षमा रहेको चाल पाएपछि किरातीले पुनः तीन दिनभित्र जवाफ पठाउन भन्दै बुधबार साँझ नै स्पष्टीकरण सोधेका हुन् । प्रचण्ड पुुत्री गंगा दाहालसँग निकट रहेका अधिकारी मन्त्रीले ९ बुँदे स्पष्टिकरण सोधे लगत्तै बालुवाटार पुगेका थिए । आफूले राम्रो काम गर्दै आएको र ५ वर्ष अघिको महानिर्देशकले गरेको कामलाई आधार बनाएर अहिले आफूलाई स्पष्टिकरण सोधेको भन्दै त्यसको जवाफ नदिने विषय उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका थिए । स्रोतका अनुसार अधिकारीले प्रधानमन्त्री प्रचण्डको पुत्री दाहाललाई बेला–बेला आर्थिक सहयोग गर्दै आएका छन् । त्यसको बलमा रहेर आफुमाथि कारवाही नहुनेमा अधिकारी ढुक्क छन् । मन्त्री नै फेरिने चर्चा विभागीय मन्त्री र महानिर्देशकबीच विवाद भएसँगै मन्त्री फेरबदलको चर्चा समेत सुरु भएको छ । क्यानका महानिर्देशक सँगको विवाद र यसअघि आफ्नै पार्टीका अध्यक्ष एवंम प्रधानमन्त्रीको समेत विरोध गर्दै आएका किरातीलाई हटाउन नेकपा एकीकृत समाजवादीका नेताहरु समेत लागि परेका छन् । समाजवादी नेता तथा पूर्व पर्यटनमन्त्री प्रेम बहादुर आलेले मन्त्री किरातीको कामको विरोध गर्दै आएका छन् । उनले प्रतिनिधि सभाको बैठकमै मन्त्री किरातीको कामका बारेमा प्रश्न उठाएका थिए । अधिकारीलाई महानिर्देशक बनाउने ठूलो हात तिनै आलेको छ । आलेले ९ तहका अधिकारीलाई १२औं तहको महानिर्देशकको ताज भिडाएका थिए । त्यतिबेला सिनियरलाई तह लगाएर जुनियरलाई महानिर्देशक बनाएको भन्दै व्यापक आलोचना समेत भएको थियो । त्यतिखेर पनि अधिकारीले आलेलाई पैसा बुझाएकै कारण महानिर्देशकको ताज पाएको चर्चा नभएको होइन । अहिले तिनै आले किरातीको कामको आलोचना गरिरहेका छन् । अहिले आलेले किरातीको आलोचना मात्रै होइन उनलाई मन्त्रीबाट नहटाए सरकारको समर्थन फिर्ता लिनेदेखि समाजवादी पार्टी पनि विभाजन हुनेसम्मको अभिव्यक्ती पार्टीभित्र र प्रचण्डसँग राखिरहेका छन् । आलेको अभिव्यक्तीको त्रासमा प्रचण्ड छन् । समाजवादीले सरकारबाट समर्थन फिर्ता लिएमा वर्तमान सरकार ढल्ने निश्चत भएकोले किरातीलाई हटाउने तयारीमा प्रचण्ड रहेको स्रोतको दाबी छ । आफ्नो भारत भ्रमणको विरोध गरेको र महानिर्देशक अधिकारीसँग पनि विनाकाममा विवाद गरेको भन्दै किरातीलाई मन्त्रीबाट हटाउन प्रचण्ड पनि तयार देखिएको बुझिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने दबाब दिँदै आएको डा. सिके राउतको जनमत पार्टीलाई मन्त्री बनाउनकै लागि मन्त्री किरातीलाई फिर्ता पठाउने तयारी भएको स्रोतको दाबी छ । अन्य दलबाट मन्त्री भएकाहरु फिर्ता हुन नमानेपछि नेकपा माओवादी केन्द्रले एक मन्त्रीलाई र्फिता पठाएर सिके राउतको पार्टीलाई सरकारमा समावेश गर्न लागेको बुझिएको छ । जसका लागि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले पाएको कृषि मन्त्रालय सिके राउतलाई दिदैँ पर्यटनमन्त्रालय समाजवादीलाई दिने तयारी गरेका हुन् । हाल कृषि मन्त्रालयको जिम्मेवारी पाएका डा. बेदुराम भुसाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सत्तारुढ दलले आन्तरिक सहमति गरिसकेको स्रोतको दाबी छ ।
मर्स्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मर्स्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिए । उनकाअनुसार हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल वृद्धि भएर पूर्ण क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यस आयोजनाबाट वर्षायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाव क्षमताका आधारमा बिजुली उत्पादन हुने गर्दछ । आयोजना प्रमुख फुयाँलले भने, ‘यतिबेला प्रशस्त पानी पर्ने समय हो, तर यस वर्ष खडेरी लामो समयसम्म भएकाले नदीमा पानीको बहाव कम भयो, अहिले मनसुन देशैभर फैलिसकेको छ, त्यसले गर्दा पूर्ण क्षमतामा उत्पादन हुन थालेको छ ।’ केही समय यस वर्ष धेरै समय खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादनमा ढिला भएको केन्द्र प्रमुख फूयाँलले जानकारी दिए । मर्स्याङ्दी नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएकाले ६९ मेगावाट उत्पादन हुनुपर्नेमा ६० मेगावाट मात्रै भएको थियो । आयोजना प्रमुख फुँयाल भन्छन्, ‘गर्मी बढ्ने र पानी पर्न थालेसँगै केन्द्रको बिजुली विस्तारै वृद्धि हुँदै गएको छ, अहिले पूर्ण क्षमताको विद्युत् उत्पादन भएको छ ।’ साँझ र बिहान बिजुलीको माग बढी विद्युत् खपत हुने गरेको उनले बताए । उनले साँझ र बिहानी धेरै विद्युत् खपत हुने भएकाले हिउँदमा नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरेर लैजाने साँझ बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको गरिन्छ । केन्द्रका अनुसार साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजेसम्म विद्युत्को माग बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिब पूर्ण क्षमतामै उत्पादन गरिएको थियो । अहिले पूर्ण मात्रामा नै विद्युत् उत्पादन भएकाले त्यस्तो गर्नुपर्ने अवस्था नभएको उनले बताए । हिउँदमा विद्युत्को माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ । नदीमा पानीको बहाव बढेपछि भने सहज भएको उनले बताए । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गर्दछ । यसैगरी गर्मी मौसम पानी धेरै पर्ने र तापक्रम वृद्धि हुँने हुँदा हिमाल हिउँ पग्लने भएकाले विद्युत् उत्पादन वृद्धि हुने गर्दछ । वर्षा धेरै भएमा क्षमताभन्दा पनि तीन युनिट बढीसम्म उत्पादन हुने आयोजना प्रमुख फुँयालले बताए । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको ‘स्टेसन’मार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । रासस
अनुदानले उद्यमी बन्दै किसान, कृषकलाई आर्थिक र प्राविधिक सहयोग
नारायणगढ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् । कूल लगानीको २० प्रतिशत सहकारी-समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन् । भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएस आइपीको उपआयोजनाअन्तर्गत नमूना दूध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ । यो संस्था २०५२ सालमा स्थापना भएर दूध सङ्कलन गरेर निजी दुग्ध उद्योगलाई बिक्री वितरण गर्दै आएको थियो । एक करोड ७७ लाखको लागत रहेको उक्त उद्योगले हाल दैनिक तीन हजार लिटर दूध सङ्कलन गर्दैआएको छ । संस्थाले दूध प्रशोधन गरेर बजारीकरण गर्दै आएको छ । जसबाट प्रत्यक्षरुपमा २०५ जना सेयर सदस्य लाभान्वित भएका छन् । संस्थाले उद्योगबाट दूध दही, पनिर र नौनी बनाएर बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीले दूधको उचित मूल्य दिएपछि किसान पशुपालन व्यवसायमा आकर्षित भएको संस्थाका व्यवस्थापक जनार्धन पौडेलले जानकारी दिए। एनएलएस आइपीको उपआयोजना लागू भएपछि विगतमा खासै व्यावसायिक नभएको देवनगर दुग्ध उत्पादक सहकारी संस्था हाल दुग्ध उद्योग स्थापना भएपछि कृषकलाई व्यावसायिक मार्गमा ल्याउन सफल भएको संस्थाका व्यवस्थापक पौडेले बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट नगरपालिका–११ मा रहेको मुकुन्दपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हाल आफ्ना किसानका लागि गाईभैँसीलाई चाहिने दाना आफैँ उत्पादन गर्दै आएको छ । विगतमा बाहिरबाट दाना किनेर बस्तुलाई खुवाउँदा उत्पादनमा कमी हुने तथा रोगले सताउने गरेको र हाल आफ्नै दाना उद्योग भएपछि उत्पादन बढेको यहाँका किसान बताउँछन् । एनएलएस आइपीको अनुदानका आफ्नै ठाउँमा दाना उद्योग खुलेपछि किसानलाई दानामा सहजता मिलेको हो । मुकुन्दपुरका किसान लक्ष्मण आचार्य सहकारी मार्फत गाउँमै दाना उद्योग खुलेपछि किसानलाई सहजता मिलेको बताए । पहिले गाईलाई खुवाउने बजारको दाना र हाल सहकारीले उत्पादन गरेको दानामा निकै फरक भएको भन्दै उनले अहिलेको दानामा पौष्टिकतत्व बढी र दूध उत्पादन धेरै भएको बताए । देशमै केही गरौँ भनेर गाईपालन गरेका आचार्य सहकारीमार्फत दाना उद्योग खुलेपछि व्यवसायमा थप हौसिएका छन् । हाल ४० गाईभैँसी पाल्दै आएका गैँडाकोट–१३ का नारायण पौडेलले सहकारीमार्फत दाना पाएपछि निकै सुविधा मिलेको बताए । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित मुकुन्दसेन दाना उद्योगका अध्यक्ष गोपाल श्रेष्ठ पशु आहार व्यवस्थापनका लागि एनएलएस आइपीको कार्यक्रमअनुसार अनुदान पाएपछि उद्योग खोल्न सफल भएको बताए। संस्थाको उद्देश्यअनुसार दाना उत्पादन गर्दै आएको बताउँदै उनले हाल प्लेट दाना र धुलो दाना उत्पादन भएको जानकारी दिए । दाना उद्योग परीक्षणकै क्रममा रहेको अवस्था भए पनि उत्पादनमा सफलता मिलेको अध्यक्ष श्रेष्ठको भनाइ छ । हाल मासिक ९० टन दाना उत्पादन हुने गरेको उद्योगको आफ्ना किसानलाई वितरण गरी थप दानाको बजारीकरण गर्दै लक्ष्य रहेको छ । दाना उत्पादनमा कच्चा पदार्थको अभाव भने हुने गरेको बताउँदै श्रेष्ठले नेपालमै भएका कच्चा पदार्थ उपयोग गर्न पाएका अझ प्रभावकारीे रुपमा दाना उत्पादन गर्न सकिने बताए ।रत्ननगर नगरपालिका–१२ मा भैँसी तथा गाईपालन गर्दै आएका दिनेश खतिवडा आफ्नै देशमा श्रम र पसिना बगाउँ भन्ने धारणका साथमा विगत आठ वर्षदेखि यो व्यवसाय गर्दै आएका छन् । विगतमा आफ्नै तरिकाले पशुपालन गर्दै आएका खतिवडाले एनएलएस आइपीको उपआयोजना लागू भएपछि हाल दैनिक ४०० लिटर दूध उत्पादन गरेका छन् । पशुपालन गर्दा ब्रिड पहिचान गरी बढी उत्पादन लिन सकिने उनको अनुभव छ । एनएलएस आइपी आयोजना काम गर्ने किसानका लागि मात्र भएको खतिवडाको बुझाइ छ । यो कुरा आफूले काम गर्दै गर्दा बुझेको उनले बताए । एनएलएस आइपीको अनुदान लिएपछि उनले भकारो सुधार, ब्रिड तथा नश्ल सुधार, साइलेज निर्माण तथा भण्डारणजस्ता काम गरेको छन् । विगतमा अन्य उद्योग सञ्चालन गरेर लगानी पनि नउठेको अवस्थामा हाल विकल्प खोज्दै जाँदा कृषि व्यवसायमा हात हालेको चितवन माडीका विणुप्रसाद पङ्गेनी बताए । हाल उन्नत जातका बाख्रापालन गर्दै आएका उनले मासु उत्पादनमा केही योगदान दिन्छु भन्ने उद्देश्यका साथमा बाख्रापालनमा लागेका छन् । सुरुका दिनमा सात-आठ बाख्राबाट सुरु गरेका उनले एनएलएस आइपीसँग जोडिन पुगेपछि दुई सयको हाराहारीमा बाख्रापालन गर्दै आएका छन् । उनको बाख्रापालनमा हाल २५ लाख लगानी पुगेको छ । पङ्गेनी भने, ‘एनएलएसआइपीका सरहरुले सिकाउँदा अहिले केही होलाजस्तो भएको छ यसरी गर्दा राम्रो हुने रहेछ पहिला आफ्नै ढङ्गबाट गरिन्थ्यो’, आयोजनासँग जोडिएपछि पहिला वार्षिक एक डेढ लाख आम्दानी गर्ने उनको आम्दानीको लक्ष्य वार्षिक १२ पन्ध्र लाख रहेको छ । विश्व बैंकको ऋण सहयोगमा आव २०७४/७५ देखि कार्यान्वयनमा आएकोे नेपाल लाइभ स्टक सेक्टर इनोभेसन (एनएलएसआइपी) आयोजना आव २०८०/८१ मा सम्पन्न हुँदैछ । आयोजना सम्पन्न भएपछि यसअन्तर्गतका उपआयोजना स्थानीय सरकारको जिम्मामा हुनेछ । यस आयोजनाले कृषकलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । रासस