मन्त्री-महानिर्देशक टसल : किराती हट्नेदेखि पैसा लेनदेनसम्मको चर्चा

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीबीचको विवाद चुलिएको छ । सुरुमा दुई जनाबीच आन्तरिक विवाद अहिले बढेर छताछुल्ल भएको हो । परिणामस्वरुप मन्त्री किरातीले स्पष्टिकरणको बाँण फ्याँकिरहेका छन् भने महानिर्देशक अधिकारी त्यसप्रति मौन छन् । उनी मन्त्री किराती समक्ष स्पष्टिकरण दिन तयार [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीबीचको विवाद चुलिएको छ । सुरुमा दुई जनाबीच आन्तरिक विवाद अहिले बढेर छताछुल्ल भएको हो । परिणामस्वरुप मन्त्री किरातीले स्पष्टिकरणको बाँण फ्याँकिरहेका छन् भने महानिर्देशक अधिकारी त्यसप्रति मौन छन् । उनी मन्त्री किराती समक्ष स्पष्टिकरण दिन तयार छैनन् ।

मन्त्रालयले महानिर्देशक अधिकारीलाई यसअघि असार ११ गते ९ बुँदे स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणमा उनको कार्यकालमा नेपालमा बढी हवाई दुर्घटना भएकोदेखि क्यान विभाजनको विषयमा अधिकारीले दिएको अभिव्यक्तीको विषयमा उल्लेख थियो । मन्त्री किराँतीले सात दिनभित्र जवाफ दिन ताकेता गरेका थिए । तर, महानिर्देशक अधिकारीले त्यो पत्र ‘इग्नोर’ गरे ।

अधिकारी स्पष्टिकरण पत्रको अवज्ञा गरेको भन्दै मन्त्रालयले बुधबार पुनः तीन दिने स्पष्टिधकरण सोध्यो । पहिलाे स्पष्टिकरण अवज्ञा गरेपछि मन्त्रि किरातीले दाेस्राे स्पष्टिकरण सोधेका छन् । फेरि पनि अवज्ञा भए मन्त्रीस्तरीय निर्णय अनुसार कारवाही अगाडि बढ्ने चेतावनीपूर्ण भाषामा स्पष्टिकरण पत्रमा समावेश भएकाे छ ।

महानिर्देशक अधिकारीले आफुले मन्त्री किरातीलाई स्पष्टिकरण नदिने बताएका छन् । आफुलाई मन्त्रिपरिषदले नियुक्त गरेको र स्पष्टिकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषदको मात्रै  भएकोले मन्त्रीले खोजेको स्पष्टिकरण आफुले नदिने अधिकारीले बताउँदै आएका छन् ।

उनी यो सामान्य विषय भएको तर्क गर्छन् । तर, विभागिय मन्त्री र महानिर्देशकबीचको विषय यसरी सार्वजनिक बहसका रुपमा आउँदा अन्तर्राष्ट्रिय रुपमै बेइज्जत भएको धारणा राख्छन् ।

बुधबारको भेटले गरेन काम

मन्त्री किराती र महानिर्देशक अधिकारीबीच बुधबार मन्त्रालयमै ‘वान टु वान’ वार्ता भएको थियो । बुधबार साँझ आधा घण्टासम्म भएको भेटघाटमा उनीहरुबीच के कुराकानी भयो भन्ने विषय भने बाहिर आइसकेको छैन । तथापि, मन्त्रीले सोधेको स्पष्टिकरण र अधिकारीले नदिएको जवाफ सम्बन्धि नै छलफल भएको हो भन्ने अनुमान लगाउन गाह्रो छैन ।

स्रोतका अनुसार उनीहरुबीचको भेटमा तेस्रो व्यक्तीको प्रवेश निषेध थियो । ‘उहाँहरुको कुरा हुँदा यसअघिको विवाद समाधान हुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर पुनः स्पष्टीकरण सोध्ने निर्णय भएसँगै समाधान नभएको हाम्रो बुझाइ हो’ मन्त्री र महानिर्देशकको विवाद यसले पनि छर्लङ्ग भएको छ,’ स्रोतले भन्यो ।

महानिर्देशक अधिकारीले तीन दिनको स्पष्टिकरण पनि चित्तबुझ्दो नपठाएमा थप निर्णय हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

दुविधामा प्रधानमन्त्री प्रचण्ड

मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवादले उग्र रुप लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने दोधारमा परेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आफ्नै पार्टीका नेता किराती र नजिकका आफन्त (सुख दुखमा साथ दिदैँ आएका) अधिकारीमध्ये कुनलाई बोक्ने र कुनलाई साइड लगाउने भन्ने विषयमा दुविधामा परेका छन् ।

पार्टीमा बलियो पकट रहेका किरातीलाई बोक्दा सुखदुखमा साथ दिएका अधिकारी रिसाउने, किरातीलाई बोक्दा पार्टीमा ठूलै विवाद आउनसक्ने हुँदा उनलाई दुईबीचको विवाद मिलाउन निकै अप्ठ्यारो परेको स्रोतको दाबी छ ।

क्यान सञ्चालक समितिका अध्यक्ष समेत रहेका मन्त्री किरातीले महानिर्देशकलाई स्पष्टिकरण सोध्दा त्यसको जवाफ नपाएपछि किरातीले मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । उनले प्रचण्डसँग अधिकारीलाई कारवाही गर्नु पर्ने माग राखेका थिए ।

मन्त्री किरातीले मंगलबार साँझ बालुबाटारमा प्रचण्डलाई भेट्दै महानिर्देशकले आफुलाई नटेरेको भन्दै कारवाहीको माग गरेका थिए । तर, प्रचण्डले उनलाई तत्काल कुनै निर्णय नलिन आग्रह गरेपछि मन्त्री किराती प्रचण्डसँग रुष्ट बनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डको कार्यशैलीमा समेत विरोध जनाउँदै आएका किरातीलाई प्रचण्डले महानिर्देशक अधिकारीलाई थप कुनै कारवाहीको निर्णय नगर्न भनेपछि उनी बालुवाटारबाट रिसाएर फर्किएका थिए । आफूलाई नै नटेरेका मान्छेलाई कारवाहीको माग राख्दा तत्काल कुनै निर्णय नलिन जवाफ पाएपछि किरातीले बुधबार साँझ पुनः स्पष्टीकरण सोधेका हुन् ।

प्रधानमन्त्रीबाट आश्वासन पाए उनलाई कारवाहीका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउने आशामा उनी बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्ड अधिकारीको पक्षमा रहेको चाल पाएपछि किरातीले पुनः तीन दिनभित्र जवाफ पठाउन भन्दै बुधबार साँझ नै स्पष्टीकरण सोधेका हुन् ।

प्रचण्ड पुुत्री गंगा दाहालसँग निकट रहेका अधिकारी मन्त्रीले ९ बुँदे स्पष्टिकरण सोधे लगत्तै बालुवाटार पुगेका थिए । आफूले राम्रो काम गर्दै आएको र ५ वर्ष अघिको महानिर्देशकले गरेको कामलाई आधार बनाएर अहिले आफूलाई स्पष्टिकरण सोधेको भन्दै त्यसको जवाफ नदिने विषय उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका थिए । स्रोतका अनुसार अधिकारीले प्रधानमन्त्री प्रचण्डको पुत्री दाहाललाई बेला–बेला आर्थिक सहयोग गर्दै आएका छन् । त्यसको बलमा रहेर आफुमाथि कारवाही नहुनेमा अधिकारी ढुक्क छन् ।

मन्त्री नै फेरिने चर्चा

विभागीय मन्त्री र महानिर्देशकबीच विवाद भएसँगै मन्त्री फेरबदलको चर्चा समेत सुरु भएको छ । क्यानका महानिर्देशक सँगको विवाद र यसअघि आफ्नै पार्टीका अध्यक्ष एवंम प्रधानमन्त्रीको समेत विरोध गर्दै आएका किरातीलाई हटाउन नेकपा एकीकृत समाजवादीका नेताहरु समेत लागि परेका छन् ।

समाजवादी नेता तथा पूर्व पर्यटनमन्त्री प्रेम बहादुर आलेले मन्त्री किरातीको कामको विरोध गर्दै आएका छन् । उनले प्रतिनिधि सभाको बैठकमै मन्त्री किरातीको कामका बारेमा प्रश्न उठाएका थिए । अधिकारीलाई महानिर्देशक बनाउने ठूलो हात तिनै आलेको छ । आलेले ९ तहका अधिकारीलाई १२औं तहको महानिर्देशकको ताज भिडाएका थिए । त्यतिबेला सिनियरलाई तह लगाएर जुनियरलाई महानिर्देशक बनाएको भन्दै व्यापक आलोचना समेत भएको थियो ।

त्यतिखेर पनि अधिकारीले आलेलाई पैसा बुझाएकै कारण महानिर्देशकको ताज पाएको चर्चा नभएको होइन । अहिले तिनै आले किरातीको कामको आलोचना गरिरहेका छन् ।

अहिले आलेले किरातीको आलोचना मात्रै होइन उनलाई मन्त्रीबाट नहटाए सरकारको समर्थन फिर्ता लिनेदेखि समाजवादी पार्टी पनि विभाजन हुनेसम्मको अभिव्यक्ती पार्टीभित्र र प्रचण्डसँग राखिरहेका छन् । आलेको अभिव्यक्तीको त्रासमा प्रचण्ड छन् । समाजवादीले सरकारबाट समर्थन फिर्ता लिएमा वर्तमान सरकार ढल्ने निश्चत भएकोले किरातीलाई हटाउने तयारीमा प्रचण्ड रहेको स्रोतको दाबी छ ।

आफ्नो भारत भ्रमणको विरोध गरेको र महानिर्देशक अधिकारीसँग पनि विनाकाममा विवाद गरेको भन्दै किरातीलाई मन्त्रीबाट हटाउन प्रचण्ड पनि तयार देखिएको बुझिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने दबाब दिँदै आएको डा. सिके राउतको जनमत पार्टीलाई मन्त्री बनाउनकै लागि मन्त्री किरातीलाई फिर्ता पठाउने तयारी भएको स्रोतको दाबी छ ।

अन्य दलबाट मन्त्री भएकाहरु फिर्ता हुन नमानेपछि नेकपा माओवादी केन्द्रले एक मन्त्रीलाई र्फिता पठाएर सिके राउतको पार्टीलाई सरकारमा समावेश गर्न लागेको बुझिएको छ । जसका लागि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले पाएको कृषि मन्त्रालय सिके राउतलाई दिदैँ पर्यटनमन्त्रालय समाजवादीलाई दिने तयारी गरेका हुन् ।

हाल कृषि मन्त्रालयको जिम्मेवारी पाएका डा. बेदुराम भुसाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सत्तारुढ दलले आन्तरिक सहमति गरिसकेको स्रोतको दाबी छ ।

Share News