नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, मर्कामा यात्रु
तस्वीर : सामाजिक सञ्जाल काठमाडौं । नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । काली खोला क्षेत्रमा पहिरो खसेपछि उक्त सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना-६ कालिखोला पुल नजिक सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ । अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए । उक्त सडक पटक-पटक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घटने कुराले ठूलो राहत हुने बताए । ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्याँदा छ, त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला, त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ,’ डा. महतले भने । अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे । उनले कृषिबस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गरे । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्याए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए । अर्थमन्त्री महतले भने, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने । चाँहे उद्योग व्यवसाय होस् । चाहे कृषिजन्य व्यवसाय होस् । त्यसलाई प्रोत्साहन दिने । हरेक चिज हामी आयातित वस्तुमा मात्रै निर्भर हुने जुन परिस्थिति छ । त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौं । एक तहको संरक्षण दिने नीति लिएका छौं । र, अनुदान पनि हामीले उत्पादनको आधारमा दिने व्यवस्था गरेको छौं । त्यसको दूरपयोग भयो भनेर उत्पादन जसले गरेर देखाउँछ, त्यसको आधारमा अनुदान दिने नीति पनि लिएका छौं ।’ अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दावी समेत गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन शनिबार चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) लगायत संस्थाकोसमेत सहभागिता हुनेछ । फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार बेइजिङस्थित फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटवार्ता हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, मङ्गलबार उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता हुनेछ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कनेछन् । रासस
देशको अहिलेको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए । महामन्त्री थापाले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताउँदै आफू संसदीय दलको नेता बदल्नेमा नथाकेको पनि जनाए । संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने उनको भनाई छ । ‘म नेपाली काँग्रेसको सांसद हुँ, संसदीय दलको नेता हुने कोशिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ, तर म थाकेको छैन, हारेको छैन, नेपाली काँग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नतो बदल्ने कुरामा म लाग्छु, सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु, त्यो बदलिनपर्छ, बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ,’ महामन्त्री थापाले भने । महामन्त्री थापाले काँग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले काँग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनको भनाई छ ।
एसइईको पुनर्योगका लागि आवेदन माग, छात्रवृत्तिका लागि साउन २० गते परीक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ । साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् । सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ । कामपाले छात्रवृत्ति परीक्षा लिँदै यसैबीच काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ । महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०र८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ । रासस
म अझै पनि तिम्रो…
म अझै पनि तिम्रो बारेमा सोच्छु तिम्रो बारेमा सोच्दै आफूलाई व्यस्त राख्छु मैले देख्ने सपनीमा पनि तिमिलाई देख्छु साँचो कुरा भन्नुपर्दा दिलबाट माया गर्छु मलाई प्रेम मनाउन दिवस चाहिँदैन सधैँ प्रेम गर्नेछु टाढा कहिले नसोच सधैँ साथमा रहनेछु कुनै पनि कुराले म टाढा रहन सक्दैन म तिमीलाई माया गर्न कहिल्यै छोड्ने छैन म तिमीलाई माया गर्छु र तिमीलाई सम्झन्छु म टाढा भए पनि मनमा माया राखेको छु तिमि बिनाको दिनको कुनै अर्थ छैन तिम्रो लागि मेरो माया कहिल्यै कम हुनेछैन मैले तिमिले भनेका कुरा सुन्नुपर्छ मैले तिम्रो कोमल स्पर्श महसुस गर्नुपर्छ तिम्रो छेउमा हुन पाउँदा म सम्मानित छु तिम्रो मनमा मैले मेरो घर पाउँछु तिम्रो आँखाले मेरो आत्मालाई नियन्त्रण गर्छ तिमी नै हो मेरो जसलाई मनले माया गर्छ
‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् । सो पार्टीको शनिबार आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताए । उनले भने- ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौं ।’ विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए । ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ,’ उनले भने, ‘अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे । ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ,’ पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने । केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिवद्धता व्यक्त गरे । पूर्वमन्त्री शिशिर खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे । रासस
कालीकोटमा फैलियो अज्ञात रोग, एउटै गाउँमा तीन सय जना बिरामी
फाइल फोटो कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ । ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौं,’ उनले भने । नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताए । अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए । ‘शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौं,’ उनले भने, ‘उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन् ।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यले बताए । रासस