विकासन्युज

विद्यार्थीलाई छात्रवृत्ति दिन काठमाडौं महानगरले शुरु गर्यो प्रकृया, असार २८ गतेदेखि आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए । उनका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो । कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिकासमेत महानगरले सूचनामार्फत सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुने जनाइएको छ । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले पछि सार्वजनिक गर्ने जनाएको छ । शिक्षा ऐन, २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । रासस

मलेसिया र काठमाडौंले राजकुमारलाई दिन नसकेको खुशी गाउँले चार वर्षमै दियो

सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएका हुन् । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् । लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउँछन् । ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?,’ उनले भने । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनी मलेसिया हुइँकिए । उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् । ‘मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु,’ उनले भने । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमौ फेरि स्वदेश नै फर्किए । घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा पाँच लाख रुपैयाँ लिएर फर्किएको बताए । ७५ लाख रुपैयाँको लगानी गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण मार्फत ७५ लाख रुपैयाँको लगानी रहेको बताउछन् । दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख रुपैयाँ ऋण लिएको बताउँछन् । ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख रुपैयाँ ऋण लिएको छु । ३५ लाख रुपैयाँको वस्तुमात्रै छन्”, उनले भने । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउ । “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो,’ उनले भने । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ । विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । गाईवस्तुको आहारबाहेक उहाँको मासिक रु डेढ लाख बच्छ । “महिनामा रु तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि, उनले भनिन् । उहाँ पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन् । आफ्नै उत्पादन आफ्नै व्यापार राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उनी पनिर लगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन् । जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौंका गल्ली-गल्लीमा सङ्घर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो । सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर कुखुरापालन समेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन् । उनी सफलता मानिसको पछि- पछि आउने गरेको बताउँछन् । ‘हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ,’ उनले भने ।  रासस

पढ्दा पढ्दै लाखौं कमाउन सकिने विषय आइटी, रुस्तमले कमाउँछन् महिनामै ९० हजार

काठमाडौं । विद्यालय शिक्षापछि विद्यार्थीहरुले विभिन्न आधारमा उच्च शिक्षाको लागि आफूले पढ्ने विषय छनोट गर्छन् । भविष्यमा आफ्नो करिअर कस्तो बनाउने भन्ने कुरा हरेक व्यक्तिको आ–आफ्नै प्रकारको हुन्छ । सामान्यतया धेरै विद्यार्थीहरुले माध्यमिक तहको विद्यालय पढ्ने क्रममा आफ्नो भोलिको करिअरको कल्पना गरिसकेका हुन्छन् । अर्थात् उच्च शिक्षामा के पढ्ने भन्ने विषय लगभग उनीहरुले तय गरिसकेका हुन्छन् । शिक्षकहरुका अनुसार विद्यार्थीहरुले विषयको छनोट गर्दा उनीहरुको रुची, साथीभाईको सल्लाह, अभिभावकको सल्लाह र काम वा पेसाको सम्भावनालाई आधार बनाउने गर्छन् । तर, पछिल्लो समय अधिकांश विद्यार्थीहरुले भोलिको करिअर वा आफ्नो रुचीको पेसालाई केन्द्रमा राखेर विषय छनोट गरेको पाइन्छ । हाम्रो मुलुकमा बेरोजगार ठूलो समस्याको रुपमा विकास भइरहेको छ । वर्षेनी पाँच लाख भन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्न योग्य भइरहेको अवस्थामा राज्य र निजी क्षेत्रले भने ती युवाहरुलाई रोजगारको कोणबाट सम्बोधन गर्नसक्ने कुनै कार्यक्रम ल्याउन सकिरहेका छैनन् । झण्डै डेढ दर्जनको संख्यामा पुग्न लागेका विश्वविद्यालयहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनेको आरोप लागिरहेको छ । स्नातक र स्नातकोत्तर तहको अध्ययन पुरा गरेर पनि धेरै विद्यार्थीहरुले रोजगार पाउन सकिरहेका छैनन् । अब्बल विद्यार्थीहरुको आकर्षण क्षेत्रको रुपमा लिइने डाक्टर तथा इन्जिनियरहरुले समेत मुलुकभित्र रोजगार पाउन छाडेका छन् । तर, तिनै विश्वविद्यालयको एउटा शैक्षिक कार्यक्रम मध्ये सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीहरुले भने अध्ययनकै क्रममा लाखौं रकम आर्जन गर्न पनि सफल भइरहेका छन् । रुस्तम निरौला त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययन हुने सिएसआइटी कार्यक्रमको छैटौं सेमेस्टरमा अध्ययन गर्दैछन् सोलुका रुस्तम निरौला । काठमाडौं, गौसाला मित्रपार्क स्थित टेक्सास कलेजमा पढ्दै गरिरहेका निरौलाले अहिले महिनामा नै ९० हजार रुपैयाँसम्म कमाउने गर्छन् । निरौलाले ‘ब्याक इन्ड’ प्रोग्रामिङमा दक्षता राख्छन् । सोही दक्षताको आधारमा उनले नेपाली कम्पनी वाफ्ट टेक्नोलोजीमा काम गर्दै आएका छन् । बिहान ६ बजेदेखि १० बजेसम्म कलेज पढेर आफ्नो व्यक्तिगत काम सकिएपछि निरौलाले दिउँसो १ बजेदेखि ६ बजेसम्म कम्पनीमा काम गर्ने गर्छन् । निरौलाका अनुसार प्लस टु मा साइन्स अन्तर्गत भौतिकशास्त्र पढेपनि उनलाई त्यहिबेला देखि नै कम्प्युटर प्रोग्रामिङमा रुची थियो । रुची भएका कारण उनले फेसबुक र युट्युबको माध्यमबाट सूचना प्रविधि सम्बन्धी विभिन्न प्रोग्रामिङ सिक्दै गए । सोही क्रममा नै उनले आइटी कम्पनीमा इन्टर्नसिप गरेर काम शुरु गर्ने मौका पाएका थिए । निरौलाले अहिले अरु साथीहरुलाई पनि काम गर्नको लागि मेन्टरको रुपमा सहयोग पुर्याउने गरेको बताउँछन् । आफ्नै रुचीअनुसार रोजेर पढेको आइटी विषयमा पछिल्ला दिनमा काम गर्ने क्षेत्र थप विस्तार हुँदै गएको आफूले पाएको उनको अनुभव छ । आइटी क्षेत्रमा कामको भन्दा पनि सर्टिफिकेटको महत्व भएको निरौला बताउँछन् । सविना बज्राचार्य काठमाडौंकी सबिना बज्राचार्यले अहिले सिएसआइटी अन्तर्गत आठौं सेमेस्टरमा अध्ययन गरिरहेकी छन् । बज्राचार्यले कम्प्युटर तथा मोबाइलका निमित्त निर्माण गरिने एप्लिकेसनको ‘फन्ट इन्ड’ मा दक्षता राख्ने गर्छिन् । सोही दक्षताको आधारमा उनले आफ्नो पढाइसँगै तेस्रो सेमेस्टरदेखि नै अमेरिकन कम्पनी क्लाउड फ्याक्ट्रीमा काम गर्दै आएकी छन् । अहिले उनले सो कम्पनीबाट मासिक ५० देखि ६० हजार रुपैयाँ कमाउँदै आएको बताएकी छन् । कम्पनीले आधारभूत तलब र प्रोजेक्टमा गरिएको कामको आधारमा थप बोनस समेत उपलब्ध गराउने गरेको बज्राचार्यको भनाइ छ । फ्याक्ट्री क्लाउडको कार्यालय ललितपुर पाटनमा छ, तर कोभिड महामारीसँगै कम्पनीले घरमै बसेर काम गर्ने सुविधा दिएको छ । बज्राचार्यलाई कम्पनीले विदेशी प्रोजेक्टहरुको काम उपलब्ध गराउने गर्छ । तीन वर्ष काम गर्दा उनलाई कम्पनीले अहिले कम्पनी लिडरको भूमिका पनि दिएको छ । बज्राचार्यलाई आइटी पढेपछि घरमै बसेर विश्वसँग जोडिएर काम गर्न सकिन्छ भन्ने कुरा भने पहिला थाहा थिएन । तर, पढ्दै जाँदा आइटीको क्षेत्रको विषयमा उनलाई थाहा उनी भएको बताउँछिन् । टेक्सास कलेजले प्रत्येक वर्ष आयोजना गर्ने जब फेयर मार्फत् उनी पार्ट टाइम काममा जोडिएकी हुन् । किशोर उपाध्याय काठमाडौंका किशोर उपाध्याय पनि अहिले सिएसआइटी विषयमा तेस्रो सेमेस्टर अध्ययन गर्दैछन् । विषयगत अध्ययनसँगै उनले फ्रन्ट वेबमा काम गर्ने रुची र क्षमता राख्छन् । त्यसैले, उनले बिहान ६ बजेदेखि १२ बजेसम्मको कलेज जीवनको अलावा फ्रिलान्सर रुपमा आइटी क्षेत्रमा पनि जोडिएर काम गर्दै आएका छन् । आइटी क्षेत्रमा फ्रिलान्सिङ हिसाबले जोडिएर काम गर्ने धेरै प्लेटफर्महरु रहेका छन् । त्यसमध्ये उपाध्यायले अपवर्कमा जोडिएर काम गर्दे आएका छन् । साथै उनले सिधै प्रोजेक्टको आवश्यकता परेकाहरुसँग पनि जोडिएर काम गर्ने गरेको बताउँछन् । उनी गएको जनवरी महिनादेखि अपवर्कमा आवद्ध भएको र त्यसयता सो प्लेटफर्मबाट चारहजार डलर भन्दा धेरै आम्दानी गरिसकेको बताए । आइटी सेक्टमा रुची भएर क्षमता भएपछि नेटवर्किङमा जोडिन सकेमा काम र आम्दानीको समस्या नहुने उनको भनाइ छ । तेस्रो र चौथो सेमेस्टरको पढाइमा अलिक बढी समय दिने मनसायले आफूले आंशिक समयका कामहरु नगरेको तर, आगामी वर्षबाट राम्रो कम्पनीमा जोडिएर काम गर्ने योजना रहेको उनले बताए । त्यस्तै, काठमाडौंकै कृसिंगा अधिकारीले बिसिए तेस्रो सेमेस्ट अध्ययन गरिरहेकी छन् । कक्षा ११/१२ मा कम्प्युटर साइन्स पढेकी उनले अहिले आफ्नो पढाइसँगै नेपाली आइटी कम्पनी किम्बु टेकमा जोडिएर विभिन्न प्रोजेक्टमा काम गर्दै आएकी छन् । किम्बु टेकले नेपाल देखि विश्वभरीका विभिन्न आइटी सम्बन्धीको प्रोजेक्टहरुमा काम गर्ने गरेको र आफूले पनि कलेजको समय बाहेक सोही कम्पनीले दिने प्रोजेक्टमा जोडिएर काम गर्ने गरेको अधिकारी बताउँछिन् । आफ्नो सम्पूर्ण खर्च बराबरको कमाइ अहिले गर्न नसकेपनि भविष्यमा उत्कृष्ट डिजाइन बन्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । टेक्सास कलेजका सिएसआइटी विभागका प्रमुख ओमकार बस्नेत टेक्सास कलेजका सिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि भनेको ग्लोबल ल्याङ्वेज भएकाले पछिल्लो समयमा यसको विश्वव्यापी माग बढेको बताउँछन् । उनले नेपालका विश्वविद्यालयहरुले पनि आफूलाई दिगो कायम राख्न कै लागि पनि आइटी कोर्षहरुलाई अगाडि बढाउने अवस्था सिर्जना भएको बताए । नेपाल देखि विश्वव्यापी रुपमा आइटीमा दक्ष व्यक्तिहरुको अभाव रहेको र थप सम्भावना पनि बढेकाले सो क्षेत्रको विषयमा अध्ययन गर्नेहरुलाई आंशिक वा पूर्णकालिन कामको समस्या नभएको बताउँछन् । सूचना प्रविधि क्षेत्रमा काम गर्न नेपालमा नै दक्ष कामदारहरुको अभाव भएको कारणले कम्पनीहरुसँग कलेजहरुले जब फेयर गरेर पनि जागिरमा जोड्न सकिरहेको उनले बताए । साथै आइटीमा विश्वव्यापी बजार रहेकाले विद्यार्थीहरुले विभिन्न नेटवर्किङ माध्यमबाट जोडिएर पनि पढ्दै गरेकै अवस्थामा पनि आफूलाई आवश्यक परेको पैसा कमाउन सक्ने अवस्था रहेको प्रमुख बस्नेतले बताए । अहिले नेपालका कलेजहरुमा नेपाली तथा विदेशी विश्वविद्यालयहरुले प्रदान गरेको सूचना प्रविधि अन्तर्गत पढाई हुने सिएसआइटी, बिआइटी, बिसिए, बिसिएस लगायत धेरै विषयहरु रहेका छन् । सामान्यतया अहिले सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा चारवर्षे अवधिमा आधारित रहेर सञ्चालन भइरहेका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क लाग्ने गर्छ । तर, इच्छाशक्ति भएको र मेहनत गर्न मन पराउने विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सकिरहेको धेरै उदाहरण सो क्षेत्रमा रहेको पाइएको छ ।

निर्माण सम्पन्न नगर्ने २३ कम्पनीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । सरकारले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने करिब दुई दर्जन निर्माण कम्पनीलाई स्पष्टिकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दे २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा किन नराख्ने भनेर ७ दिनको स्पष्टीकरण सोधेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले यसअघि नै सूचना जारी गर्दै उक्त २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई ३० दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । तर तोकिएको समयभित्र जवाफ नआएपछि कार्यालयले आइतबार पुनः सूचना जारी गरेको हो । ७ दिनभित्र सूचनाअनुसार लिखित स्पष्टीकरण पेश नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क अनुसार कारबाही हुने सूचनामा उल्लेख छ । समयका काम नगर्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न ठेक्का लगाउने निकायले सिफारिस गर्ने पर्छ । सोही सिफारिसका आधारमा कार्यालयले अन्तिम मौका स्वरुप स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएपछि कालोसूचीमा राख्ने गरेको छ ।

भगवती हाईड्रोको आईपीओ ११६ रुपैयाँमा बिक्री खुला, कति आवेदन दिने ?

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आज असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको हो । कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ ९साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७० का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

खस्कँदै एसइई नतिजा, बैतडीमा ३.६ माथि जीपीए ल्याउने शून्य

बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि चार सय २२ विद्यार्थीको मात्रै ३.६ भन्दामाथि जीपीए आएको जनाएको छ । यसमा बैतडीमा ३.६ भन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । उनले भने- ‘बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि तीन दशमव छभन्दा माथि जीपीए आएको छैन । गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन ।’ सुदूरपश्चिमका नौ जिल्लामामध्ये ३.६ भन्दा माथि जीपीए ल्याउन नसक्ने जिल्ला बैतडीमात्रै रहेको हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले ३.६ भन्दा माथि जीपीए ल्याएका छन् । यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले ३.६ भन्दा माथि जीपीए ल्याएका छन् । माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तररूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् । स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए । अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । उनले भने- ‘स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।’ रासस

९ घण्टापछि सञ्चालनमा आयो अवरुद्ध नारायणगढ-मुग्लिन सडक

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले  इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि  सवारीसाधनलाई एकतर्फि गरिएको पनि बताए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे । यस सडकखण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । रासस

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०÷२० जनाको कोटा तोकेर पठनपाठन सुरु गर्न लागिएको छ । इञ्जिनियरिङ काउन्सिलले उक्त विषय अध्ययन गराउन मान्यता दिइसकेको छ । नयाँ कार्यक्रमको पाठ्यक्रम निर्माण गर्न गठित विभिन्न समितिले पाठ्यक्रमका बारेमा छलफल गरी अन्तिम रुप दिएको छ । समितिले स्नातकोत्तर तहमा ‘अर्थक्वेक इञ्जिनियरिङ’को पाठ्यक्रमलाई परिमार्जन गरेको छ । समितिले विभिन्न विषयविज्ञसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिएको हो । समितिमा पाठ्यक्रमसम्बन्धी विज्ञ, टिप्पणीकर्ता, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डययन प्राधिकरण, नेपाल कन्स्ट्रक्सन एशोसियसन, नेपाल उद्योग परिसङ्घ लगायतको प्रतिनिधित्व रहेको थियो । पाठ्यक्रमलाई अन्तिमरुप दिन आयोजित कार्यक्रममा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले विश्वविद्यालय तथा औद्योगिक क्षेत्र जोड्न उपयोगी पाठ्यक्रम बनेकामा खुसी व्यक्त गरे । उनले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादनमा पाठ्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले स्नातक तहमा इञ्जिनियरिङ सङ्कायअन्तर्गत सिभिल, इलेक्ट्रिकल, बायो मेडिकल, इलेक्ट्रोनिक्स, कम्प्युटरलगायत विषय अध्ययन गराउँदै आएको छ । प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरी विश्वविद्यालयले स्वदेशको माग पूर्ति गर्दै आइरहेको छ । विश्वविद्यालयले स्नातक तहको सिभिल कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी आगामी १० वर्षमा चाहिने जनशक्तिको प्रक्षेपण गर्दै अनिवार्य ‘इन्टर्नसीप’को व्यवस्था गरेको छ । रासस