विकासन्युज

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई, कम्पनीलाई उचाइमा पुर्याउने विश्वास

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जर पछि बन्ने कम्पनीको सीईओमा भट्टराईलाई नियुक्त गर्न स्वीकृति दिएको हो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत थिए ।२०३८ सालमा नेपाल बैंक लि।को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । २०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत रहेका छन् । विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका भट्टराईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास दिलाएका छन् । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने भएको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

प्रचण्डले देउवा र ओलीलाई बोलाए बालुवाटार

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । अवरूद्ध संसद खुलाउने विषयमा छलफलका लागि प्रचण्डले देउवा र ओलीलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । शीष तीन नेताहरु अहिले बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले केही दिन अघि सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएपछि संसदको प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर दुवै सदन अवरुद्ध गरिरहेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडेलमा निर्माण गरिने, लागत पौने तीन अर्ब डलर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले शनिबार आयोजनाको निर्माण प्रक्रिया सुरु गर्न प्रस्तावित निर्माण स्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाई संयोजक जगत कुमार श्रेष्ठ सम्मिलित टोलीले बाँध तथा विद्युतगृह निर्माणस्थल र डुवान क्षेत्रको स्थलगत निरीक्षण भ्रमण गरेको हो । टोलीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिको सीमानामा पर्ने प्रस्ताव गरिएको बाँध निर्माण स्थल, सिद्धलेक गाउँपालिकाको सलाङमा विद्युतगृह निर्माण स्थल, जलाशयबाट डुवानमा पर्ने आरुघाट क्षेत्र, आर्खेतलगायतका ठाउँहरुको निरीक्षण गरेको थियो । टोलीले आयोजनाको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरणको हालसम्मको प्रगतिलगायतका विषयमासमेत जानकारी लिएको थियो । सरकारले आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको छ । आयोजना निर्माणका लागि बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरिएको छ । प्राधिकरणको नेतृत्व तथा अगुवाइमा आयोजना निर्माणका लागि कम्पनीको सेयर संरचना पुनर्संरचना गर्न छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् लोड सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकीको रणनीतिक महत्व छ, स्वदेशी पूँजीको एकीकृत उपयोग गर्ने गरी कम्पनीमा प्राधिकरणको बहुमत सेयर रहने, सर्वसाधारणलाई पनि सेयर निश्कासन गर्ने, सरकारले नपुग रकम लगानी गर्ने तथा सहुलीयतपूर्ण ऋण दिने र सोही आधारमा आयोजनाको वित्तीय व्यवस्थापन गर्न छलफल भइरहेको छ’, घिसिङले भने- ‘सरकारले पेट्रोलियम इन्धन आयातमा लगाउदै आएको पूर्वाधार करको आधा रकम सिधै आयोजनाको खातामा जम्मा गर्ने व्यवस्था पनि गर्न सकिएमा लगानीका लागि कुनै समस्या हुँदैन ।’ परामर्शदाताले सन् २०१५मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको छ । हालको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत २ अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलफूलको क्षतिपूर्ति बापत जग्धनीलाई करिब ४२ अर्ब रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिकरुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन् । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । जसबाट धादिङका साबिका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन् । आयोजनाको अधिकतम जलशतह ५४० मि.सम्म रहने छ । आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने छ ।

टोखा नगरपालिकाले जडान गर्यो चार सय ३४ सडकबत्ती र एक सय ३० सिसी क्यामरा

काठमाडौं । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । टोखाले आव २०७९/८० मा वडा नं २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माणसमेत सम्पन्न गरेको छ । सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनःनिर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२ दशमलव १५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ । यस्तै, ब्लक विच्छ्याउने काम तीन दशमलव २९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य पाँच दशमलव ११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत एक सय ३२ स्थानमा गरिएको सो नगरपालिकाले जनाएको छ । उपप्रमुख तामाङले टोखाले खेलकुद क्षेत्रको विकासका लागि अन्तर विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको बताए । दीर्घरोग विरुद्धको अभियानमा मेयर कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, ६० वर्ष माथिका दुई हजार एक सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको सो नगरपालिकाले जनाएको छ । टोखाले नगरवासी बिरामीलाई निःशुल्क रगतको व्यवस्था समेत गरेको छ । टोखाले नगरपालिका र वडामा नगद राजस्व क्यूआर कोर्डमार्फत भुक्तानी सुरुआत गरेको उपप्रमुख तामाङले बताए । टोखाले आव २०७९/८० को वार्षिक लक्ष्यको ९४ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन हुने लक्ष्य लिएको छ । रासस

एटीआरमय बन्दै आन्तरिक उडान, ठूला जहाज बेच्दै

काठमाडौं । अहिले आन्तरिक उडान गर्दै आएका बुद्ध र यती एयरलाइन्सले एटीआर जहाज मार्फत् उडान गर्दै आएका छन् । यसअघि अन्य कम्पनीका जहाजबाट समेत उडान गर्दै आएका दुई एयरलाइयन्सले अहिले एटीआर बाट मात्रै उडान गर्न थालेका छन् । अन्य जहाजको तुलनामा हवाई इन्धनदेखि सञ्चालन खर्च कम हुन थालेपछि उनीहरुले पुराना जहाज विस्थापित गर्दै एटीआरलाई प्राथमिकता दिएका हुन् । दुई वायु सेवा कम्पनीसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमदेखि अन्य निजी क्षेत्रका वायुसेवा कम्पनीको ध्यान एटीआरमा पर्न थालेको छ । निगमले एटीआर कम्पनीका ३ जहाज किन्ने हाल टिवनअटर जहाज मार्फत आन्तरिक उडान गर्दै आएको नेपाल एयरलाइन्सले एटीआर जहाज ल्याउने तयारी थालेको छ । जसका लागि निगमले अध्ययन समिति नै बनाएर जहाज ल्याउने तयारी थालेको निगमका उपनिर्देशक तथा प्रवक्ता रमेश पौडेलले जानकारी दिए । दुई वटा जहाजबाट मात्रै आन्तरिक उडान गर्न नसकिने भएपछि एटीआर मोडलका ३ वटा जहाज खरिद गरेर थप उडान गर्ने तयारी भएको उनको भनाई छ । निगमले ऋणमा नभएर आन्तरिक व्यवस्थापनमै निर्माता कम्पनीबाटै जहाज ल्याउने तयारी गरेको हो । सौर्यले पनि एटीआर जहाज ल्याउने  हाल सिआरजे २०० मोडलको जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयरले समेत एटीआर जहाज ल्याउने तयारी थालेको छ । जसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट अनुमति समेत पाइसकेको छ । वायुसेवा कम्पनी डेढ वर्षदेखि आर्थिक संकटमा छ । एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्य सिआरजे जहाजको सञ्चालन खर्च महँगो भएपछि एटीआर जहाज ल्याउने तयारी थालिएको बताउँछन् । ‘अहिले हामीलाई नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराएका छैनन्, नेपाली बैंकबाट ऋण नपाएपछि हामीले अन्तर्राष्ट्रिय कम्पनी मार्फत नै ऋणमा एटीआर जहाज ल्याउने तयारी थालिसकेका छौँ’, उनले भने, ‘जहाज ल्याउनका लागि छलफल भैरहेको छ, अब छिट्टै एटीआर जहाज ल्याउँछौँ ।’ उनले एटीआर जहाजको सञ्चालन खर्चभन्दा सिआरजे जहाजको सञ्चालन खर्च झन्डै दोब्बर हुँदा लामो समयदेखि कम्पनी नोक्सानीमा सञ्चालन भैरहेको बताए । ‘एटीआर जहाजभन्दा हाम्रो जहाजको सञ्चालन खर्च दोब्बर जस्तै छ, उनले भने, ‘काठमाडौं विराटनगर रुटमा उडान गर्दा एटीआर जहाजले १ हजार किलोलिटर इन्धन खपत गर्न भने हाम्रा जहाजले १८ सय किलोलिटर खर्च गर्छ, एटीआर ७२ सिटे हो भने हाम्रा जहाज ५० सिटे क्षमताको मात्रै हो ।’ एटीआरभन्दा छिटो उडान गर्ने भएपनि सञ्चालन खर्च नै बढी भएपछि अबको विकल्प नै एटीआर रहेको उनको भनाइ छ । कम्पनी लामो समयदेखि नोक्सानीमा चल्दै आएको भन्दै पछिल्लो समय कर्मचारी कटौती गर्न थालेको छ । गत जेठ महिनामा मात्रै कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको छ । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । ‘अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रा जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो’, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले भने, ‘एटीआर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी हटाएका हौँ ।’ उनले सौर्य एयरलाइन्स बन्द नभई एटीआर जहाज ल्याएर नयाँ ढाँचामा कम्पनी सञ्चालन हुने दाबी गरे । ५ एटीआरबाट उडान गर्दै यती एयरलाइन्स निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्सले हाल ५ वटा एटीआर जहाजबाट आन्तरिक उडान गर्दै आएको छ । सन् २०१७ को जुलाइ २१ देखि ७२ सिट क्षमताको एटीआर जहाजबाट उडान सुरु गरेको हो । कम्पनीले विभिन्न गन्तव्यमा ६ वटा एटीआर जहाजबाट उडान गर्दै आएकोमा गत माघ १ गते पोखरामा दुर्घटनाभएपछि ५ वटाबाट मात्रै उडान गर्दै आएको कम्पनीले जनाएको छ । यसअघि यती र तारा एयरको नामबाट एटीआर, टीवनअटर तथा जेट स्ट्रिम गरी १७ वटा जहाजबाट विभिन्न गन्तव्यमा आन्तरिक उडान गर्ने गरेको थियो । साना जहाज विस्थापित गर्दै सुगर रुटमा एटीआर जहाज थप गर्दै पुराना जहाज विस्थापन गरिएको यती एयरलाइन्सका जनसम्पर्क तथा सञ्चार निर्देशक सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाज संख्या कम भएपनि सिट संख्या धेरै छ । ‘हामीले साना जहाजबाट विभिन्न गन्तव्यमा आन्तरिक उडान गर्दै आएका थियौँ, साना जहाजबाट उडान गर्दा सञ्चालन खर्च बढी तथा पुराना जहाज बिग्रने क्रम बढेपछि हामीले आन्तरिक उडानमा एटीआर मात्रै सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘सुगम रुटमा उडान गर्दै आएको यतीले सबै उडान एटीआर बाट गर्ने गरेको छ भने दुर्गम रुटमा उडान गर्ने ताराले टिवनअटर जहाज सञ्चालन गर्दै आएको छ ।’ हाल यतीसँग ५ वटा एटीआर र तारासँग ३ वटा टिवनअटर गरी ८ वटा जहाजले आन्तरिक उडान गर्दै आएकोे छ । बिचक्राफ्ट जहाज बेचेर १५ वटा एटीआर बाट उडान गर्दै बुद्ध बुद्ध एयरले सुरुवाती चरणमा उडान सुरु गरेको (२५ वर्ष) २ थान बिचक्राफ्ट ‘बी १९०० डी’ जहाज बिक्री गरेको छ । १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाज २५ वर्ष सञ्चालन गरेर गत माघमा क्यानडाको कम्पनीलाई बिक्री गरेको हो । पुरानो जहाज बिक्री गरेर बुद्धले हाल एटीआर कम्पनीका ४२ र ७२ सिटे १५ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ । सन् २००८ मा ४२ सिट क्षमताको पहिलो एटीआर जहाज भित्र्याएको बुद्धले थप नयाँ एटीआर जहाज ल्याउने तयारी गरेको बुद्धका प्रवक्ता दिपेन्द्र कर्ण बताउँछन् । ‘हामीले लामो समयदेखि नै थप जहाज ल्याउने तयारी गरेका हौँ, तर विभिद कारणले आउन सकेको थिएन, जुलाईको अन्तिमसातासम्म ७२ सिटे थप एटीआर जहाज आइपुग्ने हाम्रो तयारी हो’, उनले भने । बुद्धसँग हाल ३ वटा ४२ सिटे र बाँकी १२ वटा ७२ सिट क्षमताको एटीआर जहाज रहेको छ । विस्थापित हुँदै जेट जहाज आन्तरि उडानका लागि जेट इन्जिन जडान भएका जहाज उडान गर्दै आएका श्री र सौर्य एयरलाइन्सले उक्त जहाज विस्थापित गर्ने तयारी गरेका छन् । सञ्चालन खर्च नै धान्न सक्ने अवस्था नभएपछि दुई वायुसेवा कम्पनीले सञ्चालन गर्दै आएका ४ वटा जहाज लामो समयदेखि जहाज नै ग्राउण्डेड गर्दै आएका छन् । जसमा सौर्यको १ र श्रीको ३ वटा जहाज रहेका छन् । ‘अन्य जहाजभन्दा सिआरजे जहाजको सञ्चालन खर्च एकदमै बढी छ, सञ्चालन खर्च धान्नै सक्ने अवस्था नभएपछि जहाज ग्राउण्डेड गरिएको हो’, श्री एयरका सूचना अधिकारी अनिल मानन्धरले भने, सिआरजे जहाजलाई विस्थापित गर्द हामीले हाल क्यू–४०० सिरिजका ४ वटा जहाजबाट उडान गर्दै आएका छौँ ।’ उनले एटीआर जहाजको सिट क्षमता ७२ हुदा क्यू ४०० सिरिजको जहाजको ८० सिट रहेको बताए । ‘एटीआर जस्तै सञ्चालन खर्च हो, तर सिट क्षमता बढी छ, हामीले सिआरजे मोडलका जहाज विस्थापित गर्दै क्यू–४०० सिरिज जहाज सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने ।

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं. ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फेकनमा निरौला नेतृत्वको प्यानल विजयी

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १२औं वार्षिक साधारणसभाबाट राजु निरौलाको प्यानल निर्वाचित भएको छ । शनिबार राजधानीमा सम्पन्न भएको सभाले निरौला नेतृत्वको प्यानललाई निर्वाचित गरेको हो । साधारणसभामा जम्मा एससय १९ मत खसेकोमा अध्यक्ष पदमा निरौलाले एकसय आठ मत प्राप्त गरेका थिए भने प्रज्वल बस्नेतले जम्मा ११ मत प्राप्त गरेका थिए । त्यस्तै, अन्य पदाधिकारी तथा सदस्यहरु बीचमा भएको प्रतिस्पर्धामा पनि निरौलाको प्यानलमा रहेका सबै उम्मेदवारहरुले बस्नेतको प्यानलमा उठेका उम्मेदवारहरुलाई पराजित गरेका छन् । फेकनले नेतृत्व चयनका लागि विधानअनुसार प्रत्येक दुई वर्षमा साधारणसभा मार्फत् नेतृत्व चयन गर्ने गर्छ । नवनिर्वाचित निरौला अध्यक्षताको नयाँ कार्यसमितिले आगामी दुईवर्षसम्म फेकनलाई हाँक्ने छ ।

प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने, ७ जनाले पाए ४० लाख रुपैयाँ

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थासँग सहकार्यमा किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा दिने भएको हो । नुवाकोटको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह-निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाख रुपैयाँको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरेका छन् । उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्वधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ । हेफर ले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिव परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संस्थाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तीय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ । उक्त सम्झौता अनुरुप बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।