
उनले भने- ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौं ।’ विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए । ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ,’ उनले भने, ‘अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे । ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ,’ पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।
केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिवद्धता व्यक्त गरे । पूर्वमन्त्री शिशिर खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे । रासस