विकासन्युज

सिंगटी हाईड्रो इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सिंगटी हाईड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साविकका शेयरधनीहरुलाई प्रति सेयर १०० रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरधनी निष्काशन गर्नको लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा सिंगटी हाईड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सिंगटी हाईड्रो इनर्जीको अधिकृत पुँजी २ अर्ब ९० करोड रूपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रूपैयाँ छ । हकप्रद सेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रूपैयाँ हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा छ । सिंगटी हाइड्रो इनर्जीले प्रचलित कानुन बमोजिम २०६७ साल जेठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भई २०७५ साल असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ । कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मेगावाट क्षमताको आयोजना २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीका अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।

शैक्षिक कर्जा तथा सेवालाई सहजिकरण गर्न नबिल बैंकले खोल्यो नयाँ शाखा

काठमाडौं । नबिल बैंकले शिक्षा हवका रूपमा नयाँ शाखा अर्थात २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरी शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए । सोे अवसरमा निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरुलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए । शैक्षिक कर्जा लगायत चाहिने अरु सम्पुर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सीईओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरिएकोे जनाए । विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे । नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरुलाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए । उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्शल ल्याग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति थियो । नबिल बैंकलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरुले विद्यार्थीहरूका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैंकिङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने आशा रहेको बताए । नियमित बैंकिङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हबका रुपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युशन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बीमाको भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ । बैंकको कुल निक्षेप ३ खर्ब ७८ अर्ब तथा कुल कर्जा ३ खर्ब ४० अर्ब रहेको छ । जसको शाखा सञ्जाल २५६ रहेको छ भने देशभरि २८३ एटिएम मेशिनहरुबाट बीस लाख भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

गण्डकी प्रदेशलाई उज्यालो बनाउन प्राधिकरणको सहयोग चाहिन्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्युत् प्राधिकरणको सहयोग आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्बीच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पुर्याउने विषयमा आज भएको भेटघाट एवं छलफलमा उनले सो बताएका हुन् । गण्डकी प्रदेशका ९९ दशमलव ५ प्रतिशत घरमा विद्युत् पुगिसकेकाले बाँकी घरमा विद्युतीकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले ग्रिड लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जाबाट पनि विद्युतिकरण भएको र सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्नेगरी अघि बढ्नुपर्ने बताए । पछिल्लो केही समय यता विद्युत् छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो आउने गरेको बताउँदै उनले त्यसबाट उद्योग, व्यापार, व्यवसायमा समस्या आउने भएकाले समाधानतर्फ ध्यान दिन अनुरोध गरे । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए । पृथ्वी राजमार्ग, मध्यपहाडी सडकलगायत सडक विस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै उनले त्यसतर्फ विद्युत् प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिए । छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुर्याउन दुर्गम ठाउँमा लघु जलविद्युत्, सौर्य ऊर्जा पनि प्रभावकारी हुने बताउँदै प्राधिकरणले ग्रिड लाइनबाट विद्युत् पुर्याउने गरी काम अघि बढाइरहेको जानकारी दिए । उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सबस्टेशन निर्माण, ग्रिड लाइन विस्तारको काम अघि बढिरहेको उनले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराए । बूढीगण्डकी आयोजना नेपालका लागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताउँदै उनले प्रक्रिया भने अघि बढीरहेको बताए । प्राधिकरणको प्रादेशिक कार्यालयमार्फत सडक विस्तार भएका ठाउँका जोखिम पोल तत्काल स्थानान्तरण गरिने बताउँदै उनले सडकले स्थानान्तरण गर्ने उपयुक्त ठाउँ नदिँदा समस्या हुने गरेको, जङ्गल क्षेत्रमा रुख काट्ने अनुमति ढिला हुँदा लाइन विस्तारमा देशभर जटिल समस्या देखिएको बताए । भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदीशचन्द्र जोशीलगायत सहभागी थिए । रासस

गार्डियन माइक्रो लाइफले शुरु गर्यो कारोबार, लघुबीमा कम्पनीमध्ये पहिलो बन्न सफल

काठमाडौं । लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उद्घाटन भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले असार २२ गते गरेका हुन् । इन्स्योरेन्स उद्घाटनसँगै कम्पनीले आफ्नो व्यवसाय समेत शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले डिजिटल प्रणालीबाट पोलिसी स्वीकृत गर्दै कम्पनीको व्यवसाय शुभारम्भ गरेका हुन् । यससँगै गार्डियन माइक्रो लाइफ लघुबीमा कम्पनीमध्ये कै पहिलो कम्पनी बन्न सफल भएको छ । गार्डियनसहित अन्य ७ वटा लघुबीमा कम्पनीले व्यवसाय सञ्चालन गर्नको लागि प्राधिकरणबाट इजाजत पाएका  छन् । कम्पनीले आफ्नो मूख्य कार्यालय कोशी प्रदेश अर्थात मोरङको विराटनगरबाट आफ्नो व्यवसायिक कारोबार शुरु गरेको हो । कम्पनीले अनलाइन प्रणालीबाटै बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ । प्राधिकरणले कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ, सीईओमा चिरायु भण्डारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् । कम्पनीमा ठूला घरानका विभिन्न व्यक्तिसहित कूल ४४ जनाको लगानी छ । शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायी तथा व्यक्तिहरुले यो कम्पनीमा लगानी गरेका छन् । जसमध्ये हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक करोड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । गार्डियन माइक्रो लाइफमा सबैभन्दा बढी लगानी एसजी फिन्कोर्पका शंकरलाल अग्रवालले गरेका छन् । यो कम्पनीमा उनको ११ करोड २५ लाख रुपैयाँ बराबरको लगानी छ । त्यस्तै, एक करोडदेखि १० करोडसम्म लगानी गर्नेमा शेखर गोल्छा, भवानी राणासहित १० जना रहेका छन् । त्यसैगरी, व्यवसायी पशुपति मुरारकासहित ७ जनाले कम्पनीमा ५० लाख रुपैयाँ लगानी गरेका छन् । र, ५० लाखभन्दा कम अर्थात १० लाखभन्दा बढी लगानी गर्नेमा अन्य २६ जना लगानीकर्ताहरु रहेका छन् ।

महासंघको पूँजी बजार फोरम समिति विस्तार, को-को बने सदस्य ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शैलेन्द्र गुरागाईंको सभापतित्वमा गठन भएको पूँजी बजार फोरम शुक्रबार विस्तार भएको हो । महासंघले फोरममा २ जना उपसभापति, ५ जना सदस्य, ७ जना आमन्त्रित सदस्य र २ जना सल्लाहाकार सदस्यसहित १७ जनाको समिति विस्तार भएको हो । फोरमको सभापतिमा गुरागाईं छन् भने उपसभापतिमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सागर ढकाल, रमेश कुवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल, घनश्याम पौडेल, सन्तोष पौडेल चयन भएका हुन् । यस्तै, आमन्त्रित सदस्यहरुमा भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुषाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी, सरीता विष्ट चयन भएका हुन् । यस्तै, सल्लाहकारमा डा. आत्मराम घिमिरे र भरत रानाभाट चयन भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका थिए ।

फेकन वार्षिक साधारणसभाको अन्तिम तयारीमा, बस्नेत र निरौला समूह प्रतिस्पर्धाको मैदानमा

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) आफ्नो १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो । साधारणसभाबाट नयाँ निर्वाचित हुने पदाधिकारीका लागि हाल उपाध्यक्ष रहेका प्रज्वल बस्नेत र महासचिव राजु निरौलाले प्यानल बनाएर मैदानमा उत्रिएका छन् । केही व्यवसायीहरुले एउटै प्यानल बनाएर अगाडि बढ्नको लागि पहल गरेको भएपनि अब सो सम्भावना करिब टरेकोले दुवै पक्षका उम्मेदवारहरु मतदाता आ–आफूतर्फ आकर्षित गर्नको लागि मैदानमा खटिएका छन् । फेकनको आगामी नेतृत्वका लागि प्रज्वल बस्नेतको नेतृत्वको प्यानलबाट उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्टले उम्मेदवारी दिएका छन् । महासचिवमा कोषाध्यक्ष अनिल शर्मा, सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दीपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेतको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतको प्यानलबाट कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, राजु निरौलाको प्यानलबाट उपाध्यक्षमा दीपक सिलवाल, उमेश कुशुवार र अमितबाबु ढुंगानाले उम्मेदवारी दिएका छन् । निरौलाकै प्यानलबाट महसचिवमा छबिन्द्र ओझा, सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, कोषाध्यक्षमा दिपेन्द्र पोखरेल, ,सह–कोषाध्यक्षमा गौतम पुडासैनी र सदस्यहरुमा सन्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, रोशन खरेल, मन्जु लामिछाने, एलिजा उप्रेती, महेश हमाल र राजु ढकालले पनि निरौलाको प्यानलबाट उम्मेदवारी दिएका छन् । दुबै समूहका उम्मेदवारहरु फेकनमा आबद्ध भएका व्यवासायीहरुबीचमा परिचित भएकाले प्रतिस्पर्धा उत्कर्षमा हुने देखिएको छ । यद्यपी, कतिपय पदाधिकारी तथा सदस्यहरुले भने व्यक्तिगत लोकप्रियताको आधारमा बढी मत ल्याउन सक्ने अनुमान पनि गरिएको छ । फेकन शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने व्यवसायीहरुको संस्था हो । साधारणसभामा एकसय ६१ जना मतदाता सहभागी हुने निश्चित भएको छ । तर, विगतमा सदस्य भएका र अन्तिम समयमा नवीकरणबाट छुटेका सदस्यहरुको हकमा सहमती भएमा अझैपनि नवीकरण हुनसक्ने जनाइएको छ । चुनावी मैदानमा उत्रिएका दुवै पक्षका उम्मेदवारहरुले शैक्षिक परामर्श व्यवसायीहरुकै हितमा अधिकतम् काम गर्ने जनाइरहेका छन् । दुवै प्यानलबाट उम्मेदवार भएका अधिकांश व्यक्तिहरु फेकनको स्थापनाकालदेखि नै संस्थामा आबद्ध भएर व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । त्यसैले, सामान्यतया उम्मेदवार देखि सदस्यहरुले मैत्रीपूर्ण ढंगले निर्वाचनको वातावरण बनाएको देखिन्छ । साधारणसभा शनिबार काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा हुने भएको छ ।

स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई ५ हजार भत्ता

तनहुँ । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १०  पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ  । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराएकाले सो सुविधा पाउने जनाइएको छ ।  भत्ता पाउनका लागि गर्भवती आठ महिना भने पूरा भएको हुनुपर्ने प्रावधान रहेको नगरपालिकाले  जनाएको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीति अवलम्बन गरिएकाले सोही अनुसार गर्भवतीलाई पोषण भत्ता प्रदान गरिएको नगरपालिकाको महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाप्रमुख राधा आचार्यले बताए । हालसम्म व्यासभित्रका एक सय ३० महिलालाई पोषण भत्ताबापत रु ६ लाख ८५ हजार प्रदान गरिसकिएको उपशाखाले जनाएको छ । भत्ता पाउनेहरुमा आदिवासी जनजाति ५७, दलित ३४ र २९ जना ब्राह्मण–क्षेत्री छन् । ‘यस कार्यक्रमले आर्थिक अवस्था न्यून भएका गर्भवतीलाई प्रत्यक्ष लाभ पु¥याएको हामीले ठानेका छौँ’, उपशाखाप्रमुख आचार्यले भने, ‘हामीले भत्ता दिने बेलामा समेत स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउन सल्लाह र स्वास्थ्य समस्या भए परामर्शसमेत दिने गर्छौं ।’ आफूहरुले गर्भवतीलाई प्रदान गरिएको भत्ता रकम पोषणका लागि प्रयोग गर्न अनुरोधसमेत गर्ने गरिएको उपशाखाप्रमुख आचार्यले जानकारी दिए । यसरी भत्ता दिने गर्दा स्वयं गर्भवतीबाट सकारात्मक प्रतिक्रिया पाउने गरेको उनको भनाइ छ । व्यास –५ रानीटारीकी ३० वर्षीया चिजा विकले भत्ता पाएकामा खुशी व्यक्त गरे । ‘गर्भवतीलाई भत्ता दिने गरिएको कुरा पत्याएर लागेको थिएन’,उनले भने, ‘हातमा नगदै परेपछि चाहिँ निकै अचम्ममा परेको छु । यो रकम फलफूल र पौष्टिक आहारमै खर्च गर्नेछु ।’ ‘खोप र नियमित परीक्षण मात्रा पूरा गरेपछि भत्ता पाइने रहेछ’, व्यास–५ की २३ वर्षीया सपना भुजेलले भने, ‘यस्तो कार्यक्रमले आत्मसम्मानसमेत मिलेको महसुस हुँदो रहेछ ।’ मातृ मृत्युदर घटाएर गर्भवतीलाई नियमित परीक्षण गर्ने बानीको विकास गर्न पोषण भत्ताको कार्यक्रम लागू गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । यस कार्यक्रमले सकारात्मक चर्चा पाएकोसमेत उनले जानकारी दिए । ‘यो कार्यक्रमको सकारात्मक चर्चाले हामीलाई हौसला मिलेको छ’, उनले भने, ‘नगरवासीलाई कसरी प्रत्यक्ष प्रभावकारी कार्यक्रम लागू गर्न सकिन्छ भन्नेमा नै हामी जहिल्यै केन्द्रित छौँ ।’ रासस

पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता सुवेदी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता श्रृजना सुवेदी चयन भएकी छिन् । लामो समयदेखि पूँजी बजारको अनुभव संगालेकी लगानीकर्ता सुवेदीलाई महासंघको पूँजी बजार फोरमको सदस्यमा चयन भएकी हुन् । नेपालको पूँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेकी सुवेदीलाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पूँजी बजारलाई नजिकसँग बुझेका सुवेदीको नियुक्तिले आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ ।