बैंकिङ विज्ञ बीएन घर्तीको पुस्तक : म्यानेजरसँग बसेर चिया पिउँंला भन्दै ग्राहक बोलाउथ्यौं
काठमाडौं । बैंकिङ विज्ञ बीएन घर्तीले बैंकिङ क्षेत्रको आफ्नो अनुभवलाई समेटेर पुस्तक प्रकाशन गरेका छन् । ‘बैंकिङ अनुशासन, दिगो बिकासका लागि’ शीर्षकको पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ भन्ने विषय विभिन्न समयमा सन्दर्भसहित उल्लेख गरिएको छ । घर्तीको पुस्तकबारे पूर्व बैंकर सशिन जोशीले भनेका छन्, ‘बीएन घर्तीद्वारा लेखिएको ‘बैंकिङ अनुशासन’ शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो ।’ जोशीले एनआइसी एसिया र नबिल बैंकमा समेत गरेर १६ वर्ष बैंकको सीईओ भएर काम गरेका छन् । आफूले १६ वर्षमा देखे भोगेको कतिपय सन्दर्भसमेत पुस्तकमा पढ्न पाइएको जोशीले बताए । जोशीले भने, ‘विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।’ घर्तीको पुस्तक अंश– ‘बैंकको टलक्क टल्किने अफिस देखेपछि ग्राहक जुत्ता खोलेर मात्रै भित्र पस्थे’ २०५४ सालमा एनबी बैंकले जनकपुरमा शाखा खोल्यो । जनकपुरमा प्राइभेट बैंकहरुमध्येको यो पहिलो शाखा थियो । चिटिक्क परेको र टलक्क टल्किने अफिस थियो । कर्मचारी टाइसुटमा सजिएर कार्यालयमा आउथे । कारोवारका लागि कम्प्युटराइज्ड प्रणालीको व्यवस्था थियो । कर्मचारीले छिटो र छरितो सेवा प्रदान गर्दथे । म पनि ती कर्मचारी मध्येको एक थिँए । आक्कल झुक्कल मात्र ग्राहक आउथे । आए पनि कार्यालय भित्र पस्न गाह्रो मान्थे । जुत्ता चप्पल खोलेर मात्र कार्यालय भित्र पस्दथे । चप्पल खोल्न पर्दैैन भनेर सम्झाउँदा पनि कतिपयले मान्दैनथे । अर्कोतिर, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक हस्तलिखित लेखा प्रणालीका साथ संचालित थिए । त्यसैले, सेवा सम्पादन गर्नका लागि घण्टौं लाग्दथ्यो । नगद काउन्टर र विप्रेषण शाखामा त भिडभाडले गर्दा पाइला राख्न पनि मुस्किल हुन्थ्यो । एउटा डिमाण्ड ड्राफ्ट बनाउन करिब ३ घण्टा कुर्नु पर्दथ्यो । त्यसैले, ग्राहकहरु बिहान १०/११ बजेतिर रकम जम्मा गरी निवेदन दिन्थे । दिउसो २ बजेपछि गएर ड्राफ्ट लिएर फर्कन्थे । एनबी बैंकले बढीमा १५ मिनेटमा सबै काम सकेर ड्राफ्ट दिन सक्दथ्यो । नेपालमा आधुनिक बैकिङ्गको सुरुवात भएको १२ वर्ष भइसकेको थियो । तर, जनकपुरबासीले २०५४ सालमा मात्र पहिलो पटक प्रविधियुक्त बैकिङ सेवाको स्वाद चाख्न पाएका थिए । आधुनिक बैकिङ सेवा सञ्चालन गरेर मात्र पुगेन । मानिसहरुलाई उक्त सेवा लिन प्रेरित गर्नु थियो । हामी ग्राहकको घरघरमा जान थाल्यौं । धेरै मानिसहरु हामीलाई अविश्वास प्रकट गर्दथे । ‘कारोवार गर्नु पर्दैन, मात्र बैंक हेर्न आउनुस, शाखा प्रबन्धकसँग बसेर चिया पिउँंला’ भन्थ्यौं । त्यसपछि भने बिस्तारै केहि व्यक्तिहरु आउन थाले । किनकि, त्यति बेला बैंकको शाखा प्रबन्धकसँग सम्बन्ध हुनुलाई गौरवकोरूपमा लिइन्थ्यो । उनीहरु आइसकेपछि हामीले कारोबार छिटो छरितो रुपमा सम्पन्न भएको देखाउथ्यौं । त्यस्ले उनीहरुमा केही प्रभाव पार्दथ्यो । त्यसपछि, कारोवार गर्न सुरू गर्थे । बिस्तारै—बिस्तारै हामीले मार्केटिङ्ग क्रियाकलाप पनि बढाउदै लग्यौं । ग्राहकको भिड्भाड् पनि बढ्दै जान थाल्यो । नभन्दै, १ बर्ष मै निक्षेप मात्रै करिव रु ३० करोड पुग्यो । ०५४/५५ साल तिर त्यति निक्षेपलाई पनि उल्लेख्य मानिन्थ्यो । २०५४ साल आषाढमा कृषि बिकास बैंकको समेत गरी बाणिज्य बैंकहरुको निक्षेप जम्मा ८१ अर्व रुपैंयाँ थियो । कर्जा जम्मा ५८ अर्व रुपैंयाँ थियो ।
वित्तीय क्षेत्रका कर्मचारी सुरक्षा माग्न पुगे जिल्ला प्रशासन, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । नेपाल वित्तीय क्षेत्र कर्मचारी संघले सुरक्षाको माग राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन्स । उनीहरुले प्रशासनललाई ध्यानआकर्षण पत्र बुझाएका छन् । काठमाडौंमा संघका वरिष्ठ उपाध्यक्ष परशुराम खनालको नेतृत्वमा गएको टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ध्यानआकर्षण पत्र बुझाएको हो । संघले आफु नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत प्रत्यक्ष २० हजार भन्दा बढी कर्मचारीहरुलाई संगठित गर्दै अप्रत्यक्ष रुपमा यस क्षेत्रका करिब ३ लाख भन्दा बढी कर्मचारीहरुको हित संरक्षणको लागि क्रियाशिल रहेको बताउँदै ती सबै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग राखेको हो । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि आक्रमण गर्ने र ति संस्थाको सम्पतिमा क्षति पु¥याउने व्यक्तिीहरु सक्रिय भएको बताउँदै ती व्यक्तीलाई कानुनी दायरामा ल्याउन संघले माग राखेको छ । राज्यले अत्यावश्यक सेवा अन्तरगत वर्गिकरण गरेको बैंक तथा वित्तीय संस्थाहरु तथा त्यहाँ कार्यरत कर्मचारीहरु माथि निरन्तर भइरहेको आक्रमणको कारण वर्तमान समयमा कर्मचारीहरुले त्रासपूर्ण वातावरणमा कार्य गरिरहनु परेको उल्लेख गर्दै संघले कानून विपरीतको अराजक घटनाहरु हुन नदिन र कर्मचारीहरुको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न सरकार समक्ष माग राखेको हो । आफ्नो मागलाई वेवास्ता गरी पुनः यस प्रकारका घटनाहरु दोहोरिएमा सम्पूर्ण बैंक, बीमा तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु कार्यालयको काम छाडेर दबाबमूलक विरोधका कार्यक्रमहरुका साथ सडकमा आउन बाध्य हुने समेत ध्यानआकर्षण पत्रमा उल्लेख छ ।
तनहुँका किसान पशुपालनमा आकर्षित : मासु, अण्डा र दूधमा आत्मनिर्भर
तनहुँ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उनको भनाइ थियो । उनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८.५४ लिटर उपलब्धता छ त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा. श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् ।सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ । ‘दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ’, सिक्देलले भने, ‘दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।’ दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन्। दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार फार्ममा ३० वटा गाई छन् । ‘फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्’, पौडलले भने, ‘फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।’ दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस
पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
बैतडी । वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् । पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आइईएमआइएस सफ्टवेयर नलिने १५ विद्यालय कारबाहीमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो । महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना प्रकाशित गरी आइईएमआइएस नलिएका र लिएर पनि अद्यावधिक नगर्ने पशुपति शिक्षा मन्दिर, पपुलर इङ्लिस बोर्डिङ स्कुल, पिसजोन एकेडेमी, शान्ति निकेतन इङ्लिस प्राइमेरी स्कुल, ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कुल, बाबा इङ्लिस बोर्डिङ स्कुल, स्माइल एकेडेमी, श्री नरसिंह पब्लिक इङ्लिस बोर्डिङ स्कुल, वीरगञ्ज पब्लिक सेकेन्ड्ररी स्कुल, नारायणी एकेडेमी, कुमुदिनी एकेडेमी, हंसराज इङ्लिस बोर्डिङ्ग स्कुल, दिव्यप्रकाश एकेडेमी, सुफाह आइडिएल एकेडेमी र सावित्री नेशनल स्कुललाई कारबाहीस्वरुप जरिवाना गरिएको जनाएको छ । आइईएमआइएस लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई पाँच हजार र नलिएका विद्यालयलाई १० हजारका दरले जरिवाना गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । पहिलो चरणमा जरिवाना मात्र गरिएको र आइईएमआइएस लिन र अद्यावधिक गर्न अटेर गरे थप कारबाही गरिने उनले बताए । यस्तै आइईएमआइएस अद्यावधिक गर्दा गलत तथ्याङ्क प्रविष्ट गर्ने विद्यालयलाई १५ हजार जरिवाना गर्ने तयारी गरिएको प्रमुख कर्णको भनाइ छ । कारबाही गरिएका विद्यालयले यही असार ३१ गतेभित्र नियम बमोजिम जरिवाना बुझाएको रसिद र अद्यावधिक गरेको आइईएमआइएसको रसिदसहित शैक्षिक प्रशासन महाशाखामा उपस्थित हुन निर्देशन दिएको उनले बताए । रासस
हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस
असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित
काठमाडौं । असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सरकारी, राजनीतिक, कूटनीतिक छलफल र बैठक असार ३० गतेसम्मका लागि स्थगित गरेका छन् । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङइञ्जिन
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता अन्य विभिन्न सेवा पनि ल्याएको छ । साथै यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक इन पनि गर्न सक्नेछन् । एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सेवा सुरुआतका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताए । उनले भने, ’हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटका लागि सरल, छिटोछरितो र अधिक सुविधाको आनन्द प्रयोगकर्तालाई हुनेगरीे इन्टरनेट बुकिङइञ्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।’ नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहजरुपमा टिकट बुकिङ अनुभव प्रदान गर्नेछ ।