विकासन्युज

ग्लोबल आइएमई बैंकको नयाँ शाखा स्वयम्भू र बालकुमारीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

सङ्खुवासभामा ४१ मेगावाटको जलविद्युत आयोजना बनाउँदै एसजी ग्रुप, ८ अर्ब लगानी

काठमाडौं । एसजी ग्रुपअन्तर्गतको गुराँस हाइड्रो प्रालिले ४१.०६ मेगावाटको जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । सङ्खुवासभा जिल्लाको सङ्खुवा खोलामा संरचना रहनेगरी जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणको लागि गुराँस हाइड्रो प्रालिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए)को प्रक्रिया अघि बढाएको छ । पीपीए सम्झौता लगत्तै आयोजना निर्माणको काम थाल्ने तयारीमा रहेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । कम्पनीले ७ अर्ब ९७ करोड ५८ लाखको लगानीमा आयोजना निर्माण गर्न लागेको उनले बताए । आयोजनाका अधिकांश संरचना सिलीचोङ गाउँपालिकाभित्र हुने छन् । यसअघि नेपाल सरकार आफैले यस आयोजनाको काम अगाडि बढाउने भनेर अध्ययन गरेको थियो । सरकारले आयोजना निर्माणको काम अघि नबढाएपछि सरकारको बास्केटबाट एसजी ग्रुपले आयोजना किनेको हो । विद्युत आयोजना निर्माणको लागि जग्गा खरिद र केही स्थानीयलाई मुआब्जा वितरण लगायतको गृहकार्य भइरहेको घिमिरेले बताए । कम्पनीले काम सुरू गरेको साढे तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । उक्त आयोजनाको डिजाइनमा सुरुङ पनि समेटिएको छ । करीब चार हजार दुई सय मिटरको सुरूङ निर्माण गर्नुपर्ने देखिएको घिमिरेले बताए । आयोजनाको हेड बक्स भने संखुवासभाको बुधबारेभन्दा केही तल हुनेछ । हेड बक्सबाट आएको पानी अरुण नदिमा झर्ने छ । पीपीए नहुँदा आयोजनाको फाइनान्सियल क्लोजर रोकिएको घिमिरेले बताए । एसजी ग्रुपको ठूलो आयोजना सङ्खुवा जलविद्युत क्षेत्रमा एसजी ग्रुपको सङ्खुवा नै सबैभन्दा ठूलो आयोजनाको हो । एसजी ग्रुपले यसअघि बझाङमा जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । यस ग्रुप अन्तर्गत तीनवटा जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालित छन् । रन अफ द रिभर (आरओआर) डिजाइनका ती तीनवटै आयोजनाबाट ६४.४९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । एसजी ग्रुपले निर्माण गरेको बुङ्गल हाइड्रोबाट १०.७० मेगावाट, कलंगा हाइड्रोबाट १५.३३ मेगावाट र सानिगड हाइड्रोबाट ३८.४६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

बालविवाह र रोजगारीका लागि बीचमै स्कूल छोड्छन् बालबालिका

डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको भागेश्वर गाउँपालिकाले जनाएको छ । पढाइको बीचमा विद्यालय छोड्नेमा छात्रको सङ्ख्याभन्दा छात्रा बढी छन् । छात्र रोजगारका लागि जान्छन् भने छात्राको घरपरिवारले गरिबीका कारण चाँडै विवाह गरिदिन्छन् । यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि विद्यालय छाड्नेको अनुपात धेरै रहेको हुनसक्ने शिक्षा वकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ । पछिल्लो डाटा भने कार्यालयमा आउन समय लाग्ने भए पनि १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी रहेको हुनसक्ने कार्यालयले जनाएको छ । स्थानीय तहले शिक्षाको गुणस्तर सुधारका लागि केही प्रयास गरिरहेका भए पनि स्वरोजगार हुने प्राविधिक शिक्षा भने लागू गर्न सकिरहेका छैनन् । परम्परागत शिक्षाका कारण अभिभावक तथा विद्यार्थीमा शिक्षा प्रणलीप्रति वितृष्णा जागिरहेको । गरिबीका कारण यस क्षेत्रका अभिभावकले छोराछोेरीलाई उच्च शिक्षामा लगानी गर्न सकिरहेका छैनन् । कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञान र ओभरसियरको पढाइ सुरु गरिएको भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ । जुन खेती किसानी गरी परिवार धानी रहेका बालबालिका अभिभावकका लागि असम्भव छ, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बीचमा नै पढाइ छाड्ने गरेको जनाएका छन् । बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ वटा माध्यमिक विद्यालय छन् भने २४ वटा आधारभूत विद्यालय छन् । जसमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने बालबालिकामध्ये ५.५ प्रतिशतले बीचमा नै पढाइ छोड्ने गरेको खुल्न आएको छ । चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । कक्षा १ देखि १० सम्म अध्ययनरत रहनुपर्ने करिब ५.५ (साढे पाँच) प्रतिशत बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर छन् । उनीहरुमध्ये छात्राको सङ्ख्या अझ धेरै रहेको गाउँपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । बालविवाह र आर्थिक अवस्था कमजोरी नै मुख्य कारण रहेको उहाँको भनाइ छ । यस गाउँपालिकामा बर्सेनि करिब साढे पाँच प्रतिशत छात्रछात्रा विद्यालय छोड्ने गरेको शिक्षा शाखाले जनाएको छ । भने ११ र १२ मा अध्ययन गर्नेमध्ये कति बालबालिका विद्यालय छाड्छन् भन्ने सङ्ख्या यकिन नभएको भागेश्वर गाउँपालिका शिक्षा अधिकृत गणेशबहादुर पौडेलले बताउनुभयो । कक्षा १ देखि १० सम्मका जम्मा भर्ना सङ्ख्यामध्ये करिब दुई सयले हरेक वर्ष विद्यालय छोड्ने गरेको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले विद्यालयबीचमा नै छोड्ने गर्दछन् । उनीहरु सानैमा रोजगारका लागि जाने र पढाइभन्दा ज्याला मजदुरी अर्थउपार्जनमा पढी केन्द्रित हुने भएकाले बीचमा नै पढाइ छाड्नुपर्ने बाध्यता रहन्छ । त्यसमा पनि छात्राको सङ्ख्या धेरै छ प्रमुख प्ररशासकीय अधिकृत भारतीले बताए । दूरदराजका दुर्गमगाउँ, लक्षित समुदाय तथा परिवारका छोराछोरीको सानै उमेरमा हुने विवाह विद्यालय छोड्नुपर्ने मुख्य कारण हो । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि तेतातिर भागेर पनि गइदिने हुँदा बीचमा नै पढाइ छोड्नेको सङ्ख्या धेरै भएको सरोकारवाला बताउँछन् । प्राथमिक तहमा बसाइँसराइ र माध्यमिकमा रोजगारी र बालविवाह नै विद्यालय छोड्ने काण रहेकोे सरोकारवालाको दाबी छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने मनोभावनाका कारण पनि सानै उमेरमा रोजगारका लागि बालबालिकालाई अन्यन्त्र पठाउने गरेको र घरपरिवारका अविभावक पनि रोजगारकै सिलसिलामा भारतमा हुनुले पनि बच्चा पढाइ छोडेर आमाबुबासँगै जाने गरेको स्थानीय अभिभावक रमेश लुुहारले बताए । विद्यालयमा पनि गुणस्तरीय पढाइ हुुँदैन, ठूलो भएर पनि रोजगारका लागि विदेशिनुपर्ने बाध्यता छ त्योभन्दा सानैदेखि काममा पठाए सीप पनि सिक्ने र तलब पनि राम्रो पाउने भएकाले बच्चालाई आफन्तसँग बाहिर पठाउने गरेको अभिभावक स्वीकार्छन् । छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीलाई सानैमा विवाह गरिदिने प्रचलन अहिले पनि छ । छोरीहरु विवाह भइसकेपछि विद्यालय आउन लजाउने, पढाइमा ध्यान नदिने र घरपरिवारको जिम्मेवारी समाल्नुपर्ने कारणले बीचमा नै पढाइ छोडेर जाने शिक्षक बताउँछन् भने अन्य विद्यार्थीको पनि पढाइप्रतिको मनोबल घट्दै जाने र मनोसामाजिक बिचलनले गर्दा कक्षा छोड्नेको सङ्ख्या बढ्दै जाने गरेका शिक्षकको दाबी छ । कति विद्यार्थी परिवारिक समस्याका कारण विद्यालय छोड्छन् यकिन डाटा छैन तर धेरैजसो पढाइ छाडेर जाने बच्चा रोजगारीकै लागि विद्यालय छोड्ने गरेको स्थानीय शिक्षक चक्र महरले बताउनुभयो । कानुनबमोजिम २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने र अन्यथा बालविवाह ठहर गरी भएको बिहे पनि बदर हुने प्रावधान भए पनि दुर्गम गाउँमा भने १६ देखि १८ वर्षकै उमेरमा विवाह गर्ने चलन धेरै छ । उनीहरु ढिलो गरी विवाह दर्ता गर्न आउने भएकाले सङ्ख्या भने यकिन हुने गरेको छैन । शिक्षामा सुधार आउन नसके यो सङ्ख्या बढ्न सक्ने भन्दै गाउँपालिका चिन्तित रहेको छ । विद्यालय छोड्नको सङ्ख्या घटाउनका लागि यो शैक्षिक सत्रमा विद्यालय सुधार कार्यक्रमअन्तर्गत अभिभावकलाई शिक्षा कार्यक्रम अघि सारिएको छ भने मनोसामाजिक विचलन आउन नदिन विद्यार्थीलाई मनोसामाजिक विमर्श तालिम, ह्याप्पीनेश कक्षा सञ्चालन र प्राविधिक शिक्षामा जोड दिई विद्यार्थीको पढाइ गुणस्तरमा सुधार ल्याउन योेजना रहेको गाउँपालिका शिक्षा शाखा अधिकृत पौडेलले बताए । बीचमै विद्यालय छोेड्नेको सङ्ख्याका कारण शैक्षिक क्षतिसमेत बेहोर्नुपरेको हुँदा यसलाई रोक्न निरन्तर विद्यालय अनुगमन गर्नुका साथै बालविवाह निरुत्साहित पार्न छोरी शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखी छात्राहरुका लागि विशेष छात्रवृत्ति व्यवस्थासमेत गरिने योजना स्थानीय तहका रहेको जनाइएको छ । यसबारेमा समयमा सबैले लाग्नुपर्ने सरोकारवाला बताउँछन् । रासस

बरुण हाइड्रोले डाक्यो विशेष साधारण सभा, १ सय प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १४ गते काठमाडौंमा दिउँसो १ बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ४ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा

काठमाडौं । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ । यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुनेहुँदा सडकको मर्मतसम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए । सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । नियमअनुसार ८ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौँ योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब रुपैयाँ छुट्याएको छ ।

वर्षायामसँगै सुनसान बन्दै अन्नपूर्ण पदमार्ग

काठमाडौं । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ । ३ साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बनेको पर्यटन व्यवसायी दुर्गादेवी भण्डारीले बताए । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात फस्टाउन थालेको पर्यटन क्षेत्र पुनःवर्षायाम सँगै समस्यामा परेको हो । विदेशी पर्यटक यतिबेला फाट्टफुट्ट आउने गरेको भण्डारीले बताए । व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनःपर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश भएको उनको भनाइ छ । अब ‘अफसिजन’ सुरु भयो भण्डारीले भने, ‘भदौ अन्तिम सातादेखि पुनःचहलपहल सुरु हुन्छ ।’ यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँ पुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घारेपानी–मुस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख युक्त गुरुङले जानकारी दिए । पर्यटक नआउँदा पर्यटन व्यवसायीमात्र नभई आफू पनि फुर्सदिलो बन्न पुगेको पर्यटक प्रहरी शन्तलाल कोहारले बताए । बर्खा लागेसँगै पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । एक जना पर्यटकले कम्तीमा पाँच दिनदेखि बढीमा १४ दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक पाँच सय डलरभन्दा बढी खर्च गर्ने गरेको पर्यटक गाइड पासाङ दावा शेर्पाले बताए । बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा कोरोना सङ्क्रमणपछि यस वर्ष बढी पर्यटकको चहलपहल बढेको थियो । भर्खरै मात्र पर्यटक आउन सुरु गरे पनि पुनःवर्ष सुरु भएपछि भने सुनसान बनेको र व्यापार व्यवसाय पनि ह्वात्तै घटेकोे व्यवसायी कमला गुरुङ बताउँछन् । राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक कास्कीको घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा जाने गरेका छन् । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटक आउने गर्दछन् ।रासस

६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १५ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १० बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १० सेयर बराबर ६.६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड १२ लाख ७५ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार रुपैयाँ पुर्याइनेछ । विशेष साधारण सभा प्रयोजनको लागि साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

जोगबनी बजारले घटायो विराटनगरको व्यापार, व्यवसाय बन्द गर्दै

काठमाडौं । अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सीमान्त जोगबनी बजारमा किनमेल गर्न लालायित हुने गरेका छन् । नेपाली उपभोक्ताका कारण नै सो बजार गुलजार बनेको हो । स्थानीय उपभोक्ताको जोगबनी मोहका कारण स्थानीय कारोबारमाथि असर पुगेको महसुस हुन थालेको छ । विराटनगर र आसपासका कतिपय पसलमा बिक्रीका लागि भगवान्को पुकारा गर्नुपर्ने अवस्था छ । पसल खोलेर घण्टौँ पर्खंदासमेत ग्राहक नआउने स्थिति छ । पसलको बिक्रीबट्टा घट्दा कतिपय व्यवसायीलाई पसलको भाडा, कर्मचारीको तलब तिर्न गाह्रो छ । बेला–बेलामा स्थानीय व्यवसायीले सीमा नाकामा कडाइ गरी स्थानीय व्यापारलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्ने भनी आवाज उठाउँदा पनि समस्याको हल हुन सकेको छैन । गिर्दो व्यापारका कारण विराटनगरमा कैयौँ सटर पसल भाडामा खाली छन् । विराटनगर र आसपासका बजार चलायमान बन्न नसकेपछि कतिपय व्यवसायीले नचाहेर पनि वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता आइपरेको छ । सगरमाथा फेन्सी पसलका सञ्चालक अम्बर कटुवालले जोगबनी बजारका कारण स्थानीय व्यापार धरासायी बन्दै गएको बताए । ‘आम उपभोक्तामा जोगबनी मोह छ । त्यहाँ सामान सस्तो पाइन्छ भन्ने धारणा छ, त्यो सही होइन । जोगबनीका सामानको गुणवत्ता र तौलमा तलमाथि हुने गरेको छ र पसल सञ्चालकको व्यवहार पनि रुखो हुने गरेको छ,’ उनले भने । क्वालिटी किराना पसलका सञ्चालक कमलकुमार अग्रवालले विराटनगरका कतिपय पसलमा बिक्री नहुँदा कर्मचारी कटौती गर्नुपरेको गुनासो गरे । उनले पसलको भाडा तिर्न व्यवसायीलाई अप्ठ्यारो स्थिति आइपरेको गुनासो गरे । ‘विराटनगर बजार सुनसानझैँ लाग्छ । उपभोक्ताको खासै चहलपहल छैन । तत्कालका लागि चाहिने सामानमात्र उपभोक्ताले स्थानीय बजारबाट खरिद गरिहाले पनि नुनदेखि सुनसम्मको खरिदका लागि सीमान्त जोगबनी बजार जाने चलनले जरा गाडेको छ,’ अग्रवालले भने । अग्रवालले स्थानीय बजारलाई डुब्नबाट बचाउन तीनै तहका सरकारले उपभोक्तालाई सहुलियत हुने नीति ल्याउन आवश्यक रहेको बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले अत्यावश्यक उपभोग्य वस्तुको आयात भन्सार दरलाई परिमार्जित गरी सहुलियत दिइएको खण्डमा त्यस्ता वस्तु सस्तो पर्ने र सीमान्त क्षेत्रका नेपालतर्फको बजारको प्रवद्र्धन हुने बताए । ‘जोगबनीमा दैनिक १० करोडभन्दा बढीको कारोबार हुने गरेको छ । जोगबनी बजार नेपाली उपभोक्तामा निर्भर छ । जोगबनी बजारबाट ल्याइएका सामानको गुणवत्ता र तौलमा शङ्का गर्ने ठाउँ रहन्छ,’ उनले भने । ९० प्रतिशत जोगबनी र १० प्रतिशत विराटनगर र आसपासका बजारमा कारोबार हुने गरेको उनको भनाइ छ । सीमान्त जोगबनी वा भारतका अन्य स्थानबाट नेपाल ल्याइने १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार कर अनिवार्य लाग्ने व्यवस्थाको कडाइका साथ लागू गरिए आम उपभोक्ताले स्थानीय बजारबाटै किनमेल गर्ने अध्यक्ष रिजालले बताए । उद्योग सङ्गठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीमा नाकामा कडाइ नगरुञ्जेल स्थानीय उद्योग र व्यापार नफस्टाउने बताए । ‘उपभोक्ता चिनी किन्न भनेर सीमान्त भारतको जोगबनी जाने अनि खुकुलो सीमा नाकाको फाइदा उठाउँदै त्यतैबाट चिनीसँगै तेल घ्यू, लत्ताकपडा लिएर आउने हुनाले स्थानीय उत्पादन र व्यवसायमा सङ्कट आउन थालेको छ,’ उनले भने ।सीमान्त क्षेत्रमा हुने तस्करी र जोगबनी गई किनमेल गर्ने उपभोक्ताको बानीलाई नियन्त्रण गर्नसके विराटनगर र आसपासका बजार चलायमान हुने राठीको भनाइ छ । यसैबीच स्थानीय बजारको प्रवद्र्धनका लागि आगामी साउन १ गतेदेखि विराटनगर भन्सार नाका कडा पारिने निर्णय गरिएको छ । अब जुनसुकै प्रायोजनका लागि जोगबनी बजारबाट पैठारी गरिने मालवस्तुमा भन्सार कर लगाइने छ । विराटनगर महानगरपालिकामा मङ्गलबार सरोकारवालाबीचको छलफलमा राजस्व परिचालन र स्थानीय बजारलाई चलायमान बनाउन विराटनगर भन्सार नाकालाई कडा पारिने निर्णय लिइएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक तीर्थबहादुर थापा, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा.डिबी क्षेत्री र विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले स्थानीय बजारको खरिददारीले अर्थतन्त्रलाई टेवा पुग्ने बताए । उनीहरूले भन्सार नाकामा कडिकडाउ गर्दै उपभोक्तालाई स्थानीय बजारमा किन्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।रासस