काठमाडौं । २२ वर्षको लक्ष्मी बैंक र १६ वर्षको सनराइज बैंकबीच शुक्रबार मर्जर भएर एकीकृत कारोबार सुरु भयो । १ः१ स्वाप रेसियोमा मर्जर भएका यी दुई बैंकबीचको संयुक्त कारोबारकाे सुरूवात कुनै तामझाम विनै सञ्चालकहरु मात्रै बसेर गरियो । अन्य बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जर भएर एकीकृत कारोबार गर्दा प्रधानमन्त्री, अर्थमन्त्री तथा सरकारका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका अधिकारीहरूकाे उपस्थितमा हुने अभ्यास भएपनि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबारमा भने काेही विशिष्ट पाहुना थिएनन् ।
शुक्रबार भएको दुई बैंकबीचको एकीकृत कारोबार कार्यक्रमा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको समेत उपस्थिति रहन सकेन । लक्ष्मी बैंकबाट कर्जा लिएकै कारण उनी नयाँ बनेको लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्नबाट रोकिए । आफु सञ्चालक रहेको संस्थाबाट कर्जा लिन नपाउने राष्ट्र बैंकको नीति अनुरुप उनी सञ्चालक बन्न अयोग्य बने । तर, आफैले ठूलो संघर्ष गरेर स्थापना गरेको बैंकको वर्षौंसम्म अध्यक्ष बनेका मोतिलाल दुगडका लागि भने आजको दिन पक्कै पनि नरमाइलाे बनेकाे हुनुपर्छ ।
त्यो उदय र यो विलय
हुन त लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको हो । यी दुई संस्थाबीच एक्वीजिसन होइन, मर्जर हो । दुइटै संस्थाको नाम नयाँ नाममा अटाएको छ । तर, सञ्चालकको हैसियतले बैंकको हैसियत देखाएको छ । लक्ष्मी बैंकबाट चार जना र सनराइजबाट दुई जना मत्रै सञ्चालक बने । एक जना सञ्चालककाे लागि सिट खाली छ । दुगडलाई सञ्चालक बन्ने बाटो खुला भएको थियो भने उनी लक्ष्मी सनराएज बैंकको सञ्चालक बन्थे । तर, उनको बाटो रोकियो । सनराइजका सीईओलाई डेपुटी सीईओ दिने भनेपछि सुमन शर्माले बैंक छोड्दैछन् । यसले पनि लक्ष्मीले सनराइजको हैसियत प्रष्ट्याएको छ । यी दुई बैंकबीच मर्जर भएपनि लक्ष्मीले यसलाई प्राप्तिको रुपमा बुझेको छ ।
नेपाल राष्ट्र बैंकबाट वि.सं. २०६४ साल असोज २० गते इजाजत पाएको सनराइज बैंकको औपचारिक स्थापना भने २०६४ कात्तिक २१ गते भएको थियो । जसको उद्घाटन गरेका थिए तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले । सनराइज बैंकका अध्यक्ष दुगडले आफ्नो आत्मकथा ‘कृषि उद्यमदेखि जलविद्युत’मा लेखेका छन्- ‘सामान्यतया नेपालमा बैंकहरूको उद्घाटन अर्थमन्त्रीहरूबाट हुने गरेको पाइन्छ, प्रधानमन्त्रीले गर्नु अपवादजस्तो मात्र देखिन्छ, हाम्रो बैंकको उद्घाटन प्रधानमन्त्रीले गर्नुभयो ।’ प्रधानमन्त्रीले उद्घाटन गरेको बैंकको एकीकृत कारोबार भने कोही कसैको उपस्थिति विनै सम्पन्न भयो ।
एउटा अर्को अचम्मको संयोग मान्नु पर्छ, सनराइज बैंकको उद्घाटन र लक्ष्मीसँग मर्जरको कार्यक्रममा स्थापनाकालदेखि लागेका मोतिलालको उपस्थिति हुन सकेन । एउटा बैंक अर्कोसँग मर्जरमा जाँदै गर्दा त्यो संस्थाको अध्यक्ष सहभागी हुनु अपरिहार्य नै हुन्छ । तर, त्यो अवसर मोतिलालले पाएनन्र । यस मानेमा उनी अभागी देखिए ।
उनले आफ्नो आत्मकथामा भनेका छन्, ‘बैंक स्थापनामा धेरै संघर्ष गरे पनि उद्घाटन समारोहमा भने म उपस्थित भइनँ, उद्घाटन हुने निश्चित भएपछि नै दाइ तोलाराम दुगडलाई मैले भनें, ‘उद्घाटनको कार्य तपाईं गराउनुहोस्, मलाई किन-किन उद्घाटनका दिन धर्मगुरूकहाँ पुग्ने ईच्छा जागृत भएको छ । ठूल्दाइले मेरो निर्णयप्रति आपत्ति व्यक्त गर्नुभयो र भन्नुभयो, ‘तिमीले नेतृत्व लिएर बैंकलाई स्थापनाको चरणसम्म पुर्याएका छौ, यति धेरै मिहिनेत गरेका छौ, उद्घाटनका दिन तिमी आचार्यश्रीकहाँ नजाऊ । तर, मैले विनम्रतापूर्वक आफ्नो कुरा राखेपछि दाईले स्वीकृति दिनुभयो, यसरी दाईको अनुमति लिएर म राजस्थानको उदयपुरमा त्यसबेलाका धर्मगुरू आचार्यश्री महाप्रज्ञको दर्शन गर्न गएँ, आचार्यश्रीको दर्शनपछि उहाँलाई मैले मेरो त्यस्तो अनौठो ईच्छा जागृत भएको जाहेर गरेपछि उहाँले पनि अचम्म मान्नुभयो । त्यसपछि मैले सनराइज बैंकको स्थापना भई आज उद्घाटन हुने जानकारी दिँदै आशीर्वाद दिन आग्रह गरेकोमा उहाँ मुस्कुराउनु भयो र प्रसन्न मुद्रामा मङ्गल पाठ सुनाई आशीर्वाद दिनुभयो । आचार्यश्रीको आशीर्वाद प्राप्त हुँदा मेरो हृदय खुसीले गदगद् भयो र आफ्नो निर्णयप्रति अझै बढी सन्तुष्टि महसुस गरेँ ।’
आज पनि लक्ष्मीसँग एकीकृत कारोबारका दिन उनी सहभागी भएनन् । उनी निकटका स्रोतसँग बुझ्दा उनी सञ्चालक बन्न नपाएको कारणले कार्यक्रममा सहभागी हुन सकेनन् ।

स्थापनाकालदेखि अध्यक्ष, अन्ततः नेतृत्वविहिन
१६ वर्ष पुगेको सनराइज बैंकमा दुगड ग्रुपको बहुमत सेयर छ । त्यसैले पनि सनराइजको नेतृत्वमा दुगड परिवारले नै अवसर पायो । वि.सं. २०६८ सालसम्म मोतिलालका दाजु तोलाराम दुगड अध्यक्ष बने । तर, २०६८ जेठ १५ गते उनको निधन भएपछि सञ्चालक समितिको अध्यक्ष बन्ने अवसर मोतिलालले पाए ।
‘बैंक स्थापनाको सपना देख्नेदेखि संस्थापक सञ्चालक समितिको सदस्यकाे रूपमा समेत काम गरिसकेको हुनाले साथीहरूले यो जिम्मेवारी मलाई सुम्पेको हुनुपर्छ, मैले अध्यक्ष पद सम्हालेपछि रिक्त रहेको सदस्य पदमा भने दाई तोलाराम दुगडको छोरा मालचन्द दुगड नियुक्त भए, सञ्चालक साथीहरूले जिम्मेवारी दिएपछि म लगभग १० वर्षदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष छु,’ उनले आत्मकथामा उल्लेख गरेका छन् ।
उनी ११ वर्षसम्म सनराइज बैंकको अध्यक्ष बने । तर, लक्ष्मीसँग मर्जर हुँदा उनी सञ्चालक समितिको सदस्य पनि बन्न सकेनन् । आफ्नो नेतृत्वमा सनराइज बैंकले धेरै प्रगति गरेको उनको दाबी छ । अन्ततः उनी नेतृत्वविहिन अवस्थामा पुगेका छन् । स्रोतकाअनुसार उनले आफ्नो नाममा रहेको कर्जा अर्कै बैंकमा सिफ्ट गर्न खोजिरहेका छन् । त्यसपछि सञ्चालक बन्ने प्रयासमा उनी छन् ।
सनराइज स्थापनाको त्यो संघर्ष
सनराइज बैंक स्थापनामा मोतिलाल दुगड र उनका दाई स्वर्गीय तोलाराम दुगडले ठूलो संघर्ष गरेका थिए । त्यतिखेर उनको व्यवसाय टीएम ग्रुप अन्तर्गत थियो । व्यापार व्यवसायमा मात्रै सीमित उनको परिवारले अब बैंक तथा बीमा क्षेत्रमा पनि प्रवेश गर्नु पर्छ भन्ने योजना बनाएपछि बैंक खोल्ने चरणमा पुगेको हो ।
‘बैंक र बीमा कम्पनी दुवै एकैपटक स्थापना गर्न सजिलो थिएन, त्यसका लागि एकातिर ठूलो लगानीको आवश्यकता पर्थ्याे भने अर्कोतिर एउटै परिवारले निश्चित प्रतिशतभन्दा बढी शेयर लिन नपाउने कानूनी प्रावधान थियो, त्यसैले हामीले सबैभन्दा पहिले सम्भावित अन्य लगानीकर्ताहरू खोज्ने काम थाल्यौ, अन्य व्यावसायिक समूहहरू बैंक स्थापनाका लागि हामीसँग जोडिए र बैंक स्थापना गर्न तम्सियौं,’ दुगडले आत्मकथामा लेखेका छन् ।
त्यतिबेला राष्ट्र बैंकले बैंकका लागि लाइसेन्स नदिने भन्ने हल्ला पनि चलिरहेको थियो । त्यो हल्लाकाबीच उनकोे परिवार पनि छिटोछिटो बैंक दर्ता गर्नु पर्छ भनेर लाग्यो । मोतिलालकै दाई तोलाराम दुगडको सल्लाह र स्वीकृतिमा बैंकको नाम सनराइज राखेको उनको आत्मकथामा उल्लेख छ ।
सनराइज बैंक स्थापना गर्दा धेरै संघर्ष गर्नु परेको विषय पनि उनले उल्लेख गरेका छन् । सनराइज बैंक स्थापना गर्दा बैंकको नियमन विभागको प्रमुख सुरेन्द्रमान प्रधान थिए । तिनै प्रधान राष्ट्र बैंकबाट अवकाश भएपछि त्यही सनराइज बैंकको सीईओ बन्न आएका थिए ।
‘नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुनासाथ अघि बढ्न सजिलो होस् भनेर हामीहरू निवेदन दर्तापछि पनि अन्य आवश्यक कामहरूमा निरन्तर जुटिरह्याैं, नेपाल राष्ट्र बैंकमा गएर निवेदनमाथि के भइरहेको छ भनेर बेलाबेला बुझ्ने काम गरिरह्यौं, निरन्तरको प्रयत्नपछि निवेदन दिएको करीब ६ महिनाभित्र हामीले नेपाल राष्ट्र बैंकबाट सनराइज बैक लि. स्थापनाका लागि लेटर अफ इन्टेन्ट (एलओआई) प्राप्त गर्यौं,’ दुगडले भनेका छन् ।
सम्बन्धित सामग्री :