
काठमाडौं । विकासन्युज डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य रामकृष्ण पौडेललाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण जनाएको छ । शाखाका सचिव रामहरी कार्कीले आज एक विज्ञप्ति जारी गर्दैै व्यवसायी प्रसाईंले प्रधानसम्पादक पौडेलललाई दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले मिति २०८० असार २९ गते बेलुका ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट प्रधानसम्पादक पौडेललाई फोन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’, प्रसाईंको धम्कीपूर्ण भाषालाई उदृत गरिएको छ ।
महासंघले प्रसाईंलाई आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्न र पत्रकारलाई धम्क्याउने कार्य र र गतिविधि नगर्न सुझाव दिएको छ । साथै प्रसाईंले प्रयोग गरेको शब्द दादागिरी शैलीमा भएको महासंघले जनाएको छ । साथै उनको धम्कीले महासंघ नडराउने र विचलित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन प्रसाईं सकृय भएको हामीले महसुस गरेका छौँ । तानाशाही व्यवस्थासँग लडेर गणतन्त्र ल्याउन हाम्रो भूमिका महत्वपूर्ण थियो । हामी सधैं जनताको चाहनाको पक्षमा बलियो गरि उभिन्छौ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहित जनताको पक्षमा अनवरत उभिएको पत्रकारको छाता संस्था यस्ता खालका कुनै पनि धम्कीबाट डराउने छैन, बिचलित हुने छैन’, विज्ञप्तिमा भनिएको छ । साथै महासंघले नेपाल सरकार, प्रहरी लगायतका निकायलाइई विषयवस्तुको संवेदनशीलता बुझिदिन समेत अपिल गरेको छ ।