
भक्तपुर । भक्तपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलहरुको सूचि तयार गरी सार्वजिनक गरिएको छ । भक्तपुरलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवद्र्धन गर्नका लागि एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्यस्थलहरुको सूचि समावेश गरिएको ब्रेथ टेकिङ भक्तपुर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल होटल संघ (हान) का अध्यक्ष विनायका शाहले कोराना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताएका थिए । उनले नेपालमा आउने पर्यटकहरुको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकहरुलाई धेरै भन्दा धेरै नेपालमा बस्ने वतावरण बनाउन जरुरी रहेको बताए ।
उनले भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए । उनले डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडा लगायतका स्थानमा पर्यटकहरु रमाउन सक्ने बताए । उनले लगानीअनुसारको पर्यटन प्रवद्र्धन गर्दै पर्यटन प्याकेज बनाइ अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै अन्य पर्यटन व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुने र अझै नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न जरुरी रहेको बताए । ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थलहरु धेरै रहेको भन्दै ति ठाउँको उजागर गर्नुपर्नेमा जोड दिए ।