
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले विकासन्यूज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोमा पत्रकार महासंघले भर्त्सना गरेको छ ।
महासंघले आइतबार प्रेस विज्ञप्ति प्रकाशन गरेर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित र आतङ्कित पार्ने कार्यको कडा शब्दमा आलोचना गरेको हो ।
‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । महासंघ पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको भर्त्सना गर्दछ’, महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य नदोहोर्याउन पनि महासंघले व्यवसायी प्रसाईंको ध्यानकर्षण गराएको छ ।
त्यसैगरी, पत्रकारलाई निर्धक्क र स्वतन्त्ररुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न महासंघले सरकारसँग माग गरेको छ ।
विवादास्पद व्यवसायी प्रसाईंले गत शुक्रबार साँझ ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका थिए । ‘मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, म हार खाने मान्छे हाेइन’ उनले धम्याउँदै भनेका थिए ।
शनिबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन), नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र समाजवादी प्रेस सङ्गठनले व्यवसायी प्रसाईंको धम्कीप्रति आपत्ति व्यक्त गरेका थिए ।
इम्सनले विज्ञप्ति जारी गरेर पनि कुनै पनि विषयमा समाचार लेखेकै आधारमा मिडिया संचालक माथि ज्यान मार्ने धम्की दिईनु भत्सर्नायोग्य र आपत्तिजनक भएको बताएको छ ।
शक्ति केन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिविधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपत्तिजनक भएको इम्सनले जनाएको छ । साथै ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताको विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्योग सम्बन्धी कानून समेत आकर्षित हुने विषय भएको इम्सनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्मोग सम्बन्धी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको छ’, इम्सनको विज्ञप्तिमा भनिएको छ ।
प्रसाइले सञ्चालन गरेको अभियान गैरकानुनी भएको र उनको पृष्ठभूमी समेत संकास्पद भएको भन्दै छानविन गरेर कानुनी कारवाहीको प्रकृया अगाडि बढाउन इम्सनले प्रहरीलाई अनुरोध समेत गरेको छ । ‘संकास्पद पृष्ठभूमि र गैर कानुनी अभियानहरु चलाएर नेपाली समाजलाई नै बिथोल्ने प्रयास गरिरहेका प्रसाईमाथि आवश्यक छानविन गरि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन इम्सन नेपाल सरकार, गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई हार्दिक अनुरोध गर्दछ’, इम्सनका महासचिव नारायण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी,नेपाल पत्रकार महासंघ, ललिपतपुर शाखाले विज्ञप्ति प्रकाशन गर्दै समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो छाडेर पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्ने प्रश्न गरेको छ । शाखाका सचिव रामहरी कार्कीले एक विज्ञप्ति जारी गर्दैै व्यवसायी प्रसाईंले प्रधानसम्पादक पौडेलललाई दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघले प्रसाईंलाई आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्न र पत्रकारलाई धम्क्याउने कार्य र र गतिविधि नगर्न सुझाव दिएको छ । साथै प्रसाईंले प्रयोग गरेको शब्द दादागिरी शैलीमा भएको महासंघले जनाएको छ । साथै उनको धम्कीले महासंघ नडराउने र विचलित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन प्रसाईं सकृय भएको हामीले महसुस गरेका छौँ । तानाशाही व्यवस्थासँग लडेर गणतन्त्र ल्याउन हाम्रो भूमिका महत्वपूर्ण थियो । हामी सधैं जनताको चाहनाको पक्षमा बलियो गरि उभिन्छौ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहित जनताको पक्षमा अनवरत उभिएको पत्रकारको छाता संस्था यस्ता खालका कुनै पनि धम्कीबाट डराउने छैन, बिचलित हुने छैन’, विज्ञप्तिमा भनिएको छ । साथै महासंघले नेपाल सरकार, प्रहरी लगायतका निकायलाई विषयवस्तुको संवेदनशीलता बुझिदिन समेत अपिल गरेको छ ।
सङ्गठनका महासचिव रामकुमार एलनले एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारमाथि ज्यान मार्ने धम्की दिने कार्यको निन्दा गर्दै उक्त घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न आग्रह गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र प्रेसमाथि विभिन्न व्यक्ति, संस्था वा राज्य जुनसुकै पक्षबाट भएरगरेका धम्की दिने कार्यप्रति हाम्रो सङ्गठन विरुद्धमा रहने छ ।’ विज्ञप्तिमा विभिन्न पत्रकार तथा सञ्चारगृहलाई समाचार प्रकाशित गरेवापत पटक–पटक धम्क्याउने व्यक्ति तथा समूहलाई कडा कारबाही गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।