बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफीले बढायो हकप्रद सेयरको आकार
काठमाडौं । बैंकको ऋण तिर्न रकम अपुग भएपछि बलेफी हाइड्रोपावरले हकप्रद सेयरको अनुपात बढाएको छ । कम्पनीले यसअघि घोषणा गरेको हकप्रद सेयरले बैंकको ऋण तिर्न अपुग हुने भएपछि हकप्रद संशोधन गरेको हो । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर संशोधन गर्दै चुक्ता पूँजीको १ सय प्रतिशत पुर्याएको हो । अब कम्पनीको १ सय कित्ता सेयर हुने लगानीकर्ताले १ सय कित्ता सेयर लगानी गर्न पाउने छन् । कम्पजीले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् बिक्री प्रक्रिया अघि बढाउने छ । यसअघि कम्पनीले चुक्ता पूँजी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने बताएको थियो ।
प्रधानमन्त्री आइतबार इटाली भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । समिट जुलाई २४, २५ र २६ मा इटालीमा हुँदै छ । त्यस्तै, सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरलाई छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । मन्त्री शर्माले आजको मन्त्रिपरिषद् बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा। रवि मल्ललाई नियुक्त गरेको छ । ।
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना
काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ ।सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । बुधबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए । ‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनीसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं । मरासिनिले भने, कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसंग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरु गरेका हौं ।’ डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म दुई हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’ मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उनको भनाइ छ ।
भौतिक मन्त्रालयमा प्रकाश ज्वालाको तीन महिना, उपलब्धि के ?
काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात्रमन्त्री प्रकाश ज्वालाले सय दिनको अबधिमा १३ मुख्य काम गरेको दाबी गरेका छन् । चौतर्फी आलोचना र अस्तब्यस्त अबस्थामा रहेको यातायात क्षेत्रमा तीन महिनाभित्र गुणात्मक सुधार गरेको उनको भनाई छ । उनका अनुसार मन्त्रालय र यातायात ब्यवस्था विभागमा नयाँ नेतृत्व आएपछि नीतिगत र ब्यवहारिकरुपमा ठुलो सुधार देखिएको छ । यसअघि चालक अनुमति पत्र पाँच/पाँच बर्षमा नविकरण गर्ने प्रावधान थियो ‘त्यसलाई सुधार गरेर अब दश/दश बर्षमा नविकरण गर्ने ब्यवस्था गरेका छौ’, मन्त्री ज्वालाले भने । उनका अनुसार पाँच बर्षीय नविकरणको ब्यवस्था हटाउन सवारी तथा यातायात ब्यवस्था ऐन २०५० संशोधन गर्न नेपाल कानुन सम्बन्धी संशोधन विधेयक संसदमा पठाइएको छ । त्यसैगरी नेपालमा उत्पादन भएका सवारी साधनहरु नेपालमै दर्ता नहुँने अब्यवहारिक कानुनी ब्यवस्था थियो । त्यसलाई सुधार गर्न सवारी साधन तथा यातायात ब्यवस्था नियमावली २०५४ र कार्यविधी २०६० परिमार्जन गरी कार्यान्वय गरिएको छ । ‘अब्यवहारिक नियमावली र कार्यविधि परिमार्जन भएपछि नेपालमा बनेका सवारी साधन नेपालमा दर्ता र सञ्चालनमा आएका छन्, यही प्रावधानमा यात्री जस्ता सवारी साधनहरु दर्ता भई सञ्चालनमा आएका हुन्न्’ मन्त्री ज्वालाले भने । चालक अनुमति पत्रका लागि सवै परीक्षा उर्तिण गरेका तर स्मार्ट कार्ड नपाएपछि ठुलो जनगुनासो थियो । ‘गुनासोलाई तत्काल सम्बोधन गर्न प्रदेश कार्यालयबाट स्मार्ट कार्ड छपाईको ब्यवस्था गर्दैछौ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले भने, ‘स्मार्ट कार्ड छपाई मेसिन खरिद प्रक्रियामा छ र यसअघि खरिद प्रक्रियामा रहेका १२ लाख थान स्मार्ट कार्ड केही समयमै आउँदैछन् ।’ थप १५ लाख खरिदका लागि रकम विनियोजन गरिएको छ । स्मार्टकार्ड छपाई भएको जानकारी एसएमएसबाट गरिने भएको छ । सवारी चालक अनुमति पत्रको आवेदन, नविकरण बर्गथप, राजश्व भुक्तानी बिद्युतिय माध्यमबाट शुरु गरिएको छ । अहिले गण्डकी प्रदेशको पोखरा यातायात ब्यवस्था कार्यालयबाट सञ्चालनमा आएको छ । ‘अबको एक महिनाभित्र सवै प्रदेश कार्यालयबाट अनलाइन सेवा सुरु गरिदैछ, यसले सेवाग्राहीलाई सुविधामात्र दिने छैन, विचौलिया र यायायात कार्यालयको भीड पनि अन्त्य हुनेछ’ मन्त्री ज्वालाले भने । पेट्रोलियम सवारी साधनलाई विधुतिय सवारी साधनमा रुपान्तरण गर्न अध्ययन र अनुसन्धानको जिम्मा इन्जिनियरिड अध्ययन संस्थानलाई दिइएको छ । पेट्रोलियम सवारी साधन नेपालमै बिधुतिय सवारी साधनमा रुपान्तरण हुने भएका छन् । यसैबीच पेट्रोलियम पदार्थबाट चल्ने अन्तरप्रदेश सवारी साधनको भाडादर समायोजन गरिएकको यातायात ब्यवस्था कार्यालयका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । सार्वजनिक यातायातको सरसफाइ र सम्बद्ध कर्मचारीहरुको ब्यवहारलाई ब्यवस्थित गर्ने कार्यविधिमा पनि संशोधन गरिएको छ । सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालक कार्यविधि २०७७ सवै प्रदेशमा लागु गरिएको छ । पछिल्लो कर्णाली प्रदेशमा चैत २१ देखि लागुभएको छ । राइड शेयरिङ सेवालाई कानुनी दायरमा ल्याउने गरी संघिय कानुनमा सुधार गर्ने काम पनि भइरहेको छ भने इम्वोष्ट नम्वर प्लेट अंग्रेजी भाषामा हुने कानुनी ब्यवस्थालाई परिमार्जन गरी अंग्रेजी र नेपाली भाषामा राख्ने ब्यवस्था गरिएको छ ।
सिनामंगलमा भेटियो शंकास्पद बस्तु
फाइल फाेटाे काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार सिनामंगलमा रहेको खोटाङ हलेसी ज्जलर्सको सटर अगाडि उक्त वस्तु भेटिएको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उक्त वस्तुको नजिक हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत भेटिएको छ । उक्त वस्तु भेटिएसँगै वरपरका क्षेत्रलाई नियन्त्रणमा लिईएको भन्दै उनले नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताए ।
‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आकर्षक संरचना निर्माण गरिँदै छ । ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए । प्राकृतिकरुपमा रहेका सो क्षेत्रका ढुङ्गा तथा पहरालाई कुँदेर विभिन्न देवीदेवताका आकर्षक मूर्ति निर्माण गर्ने योजना छ । उद्यान निर्माणको जिम्मा श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीले पाएको छ । उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड १३ लाख बजेट विनियोजन गरी काम अघि बढाएको मगरले बताए । ‘दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्यानको ६० प्रतिशतभन्दा बढी संरचना निर्माण गरिएको छ’, उनले भने । त्यसैगरी ढुङ्गा तथा पहरामा खोपेर मूर्ति बनाउन थालिएको छ । उद्यान निर्माण उपभोक्ता समितिमार्फत ७९ लाख रुपैयाँको लागतमा काम अघि बढाइएको इन्जिनियर मगरले बताए । उद्यानको प्रवेशद्वारमा विभिन्न मूर्ति बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी उक्त उद्यानसम्म बाटो, प्रवेशद्वार, शौचालय, उद्यानलगायत संरचना निर्माण भइरहेका छन् । ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ आकर्षक उद्यान निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाले तयार पारेको गुरुयोजनाअनुसार उक्त झरनालाई व्यवस्थित बनाउन रु दश करोड खर्च लाग्ने अनुमान गरिएको छ । उक्त स्थानमा सिसाको भ्युप्वाइन्ट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । रासस
एक सय रुपैयाँमा कम्पनी दर्ता गर्न दिने सरकारको निर्णय
काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता शुल्कमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले कम्पनी दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको हो । बजेटमा गरिएको घोषणा कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन । सरकारले बजेट सार्वजनिक गर्दै नयाँ कम्पनी दर्ता, पुँजी बृद्धिमा कुनै शुल्क नगाग्ने घोषणा गरेको थियो । सरकारी घोषणा अनुसार साउन १ गतेदेखि उक्त निर्णय कार्यान्वयनमा आउनु पर्नेमा राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । यसअघि कम्पनी रजिष्ट्रार कार्यालयको सूचना नै जारी गरी राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र उक्त निर्णय कार्यान्वयनमा आउने उल्लेख गरेको थियो । यस्तै, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
भोजपुरको हतुवागढीमा एक करोड ३४ लाखमा पदमार्ग निर्माण गरिँदै
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । एक करोड ३४ लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकतम महेश निरौलाले जानकारी दिए । यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा एक करोड ५० लाख बजेट विनियोजन भएको उनको भनाइ छ । ‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, ‘हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ । यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’ पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ । दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उनले जानकारी दिए । ‘यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ’, उनले भने, ‘चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ । भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पर्यटकलाई प्राकृतिक दृश्यको अवलोकन गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । किरात राजाहरूले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ । ‘हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो’, उनले भने, ‘यहाँको छुट्टै विशेषता छ । हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ । यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ ।’ यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताउनुभयो । पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ । हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको छ । पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताए। पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको उनको भनाइ छ । रासस