पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात, प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार रुपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८/७९ मा सोही अवधिमा चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार रुपैयाँ मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो । गत आवको तुलनामा आव २०७९/८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् तुलनात्मक रुपमा तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ । यसैगरी, गत आवको तुलनामा आव २०७९/८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आव २०७९/८० मा तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । उनले अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए । आव २०७८/७९ मा दुई अर्ब ८७ करोड ४६ लाख १० हजार रुपैयाँ मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो । अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आव २०७९/८० मा ६३ करोड ९२ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख छ हजार रुपैयाँ मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८/७९ मा ३३ करोड ६९ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, आव २०७९/८० मा ८६ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८/७९ मा ६२ करोड ८९ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ । प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ । गत आवको तुलनामा आर्थिक वर्ष २०७९/८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ९९ करोड १० लाख ११ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड निकासी भएको छ । जवकी आव २०७८/७९ मा १० करोड ८० लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड निकासी भएको थियो । यसैगरी, आव २०७९/८० मा एक अर्ब १० करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको छुर्पी निकासी भएको छ । जवकि आव २०७८/७९ मा आठ करोड ४३ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको छुर्पी निकासी भएको थियो । कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ । रासस
लुम्बिनी केबलकारको ‘मर्निङ अफर’, टिकटमा ५० प्रतिशत छुट
लुम्बिनी । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयां रहेको छ । अब नेपाली नागरिकहरुले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ । यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । सो बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ । मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए । टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर,महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी,पोखरी लगायतका धार्मिक संरचनाहरु रहेका छन् । साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ । केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले ५० प्रतिशतका दरले बांडफाड गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत दिने सम्झौता गरेको छ ।
कञ्चनपुर भन्सार : लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
महेन्द्रनगर । मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९/८० मा भन्सार कार्यालयले वार्षिक ५८ करोड ९० लाख राजस्व सङ्कलनको लक्ष्य लिएको भए पनि ४२ करोड १० लाख मात्रै सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए। ‘आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व सङ्कलनमा कमी आएको हो’, उनले भने, ‘मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व सङ्कलनमा परेको छ ।’ उनले अघिल्लो आवमा पनि ६ करोड राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको बताए ।अघिल्लो वर्ष भन्सारले ५२ करोड ७७ लाख राजस्व सङ्कलन गर्नुपर्नेमा ४६ करोड २२ लाख सङ्कलन गरेको थियो । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरु भारतबाट आयात हुने गरेको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेक (बनबासा पुल) सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ । यहाँ प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ । बेलौरी छोटी भन्सारमा भने तालाबन्दी कैलाली भन्सार कार्यालय मातहत रहेको कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाको बेलौरी छोटी भन्सार प्रयोगविहीन भए पनि स्थानीयवासी आन्दोलित छन् । छोटी भन्सार कर्मचारीविहीन, मर्मतसम्भारविहीन बनेपछि बेलौरी उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारी त्यसको विरोधमा तालाबन्दी गरेका छन् । कैलाली भन्सारको चरम लापरबाही बेवास्ताले बेलौरी छोटी भन्सार ओझेलमा परेको आन्दोलतर पक्षको भनाइ छ । विसं १९१७ अर्थात् एक सय ६३ वर्षपहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारका रूपमा स्थापित बेलौरी भन्सार सदरमुकाम विस्थापित गराएको केही वर्षपछि कञ्चनपुर भन्सारअन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा राजस्व सङ्कलनसमेत राम्रै हुने गरेको थियो । केही वर्षयता प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको छोटी भन्सार सञ्चालनका लागि मन्त्रीदेखि नेतासम्मले आश्वासन दिए पनि त्यो अझै पूरा हुन सकेको छैन । रासस
महानगरले अनामनगरको भद्रकुमारी घले सेवा सदनमा चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरि भद्रकुमारी घले सेवा सदन सञ्चालन गरिएको भन्दै त्यसलाई खाली गराउन नगरप्रहरी पुगेको छ । नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न पत्रकाटेको थियो । तर तोकिएको समयमा भवन खाली नगरेपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो । सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त भवनमा असहाय अशक्त वृद्धवृद्धाहरुको लागि आश्रम सञ्चालन गरिएको छ । महानगरका मेयर बालेन्द्र शाहको सचिवालयकाअनुसार सार्वजनिक जग्गामा अनाधिकृत रुपमा भद्रकुमारी घलेले आफ्नो संस्था ‘भद्रकुमारी घले सेवा सदन’ सञ्चालनमा ल्याएकी थिइन् । महानगरले यसअघि सूचना प्रकाशित गर्दै उक्त ठाउँलाई खाली गर्नका लागि पनि निर्देशन दिएको थियो । पछिल्लो पटक तीन दिने सूचना निकाल्दै कब्जा गरिएको सार्वजनिक जग्गा खाली गर्न भन्दा पनि सो नभएपछि नगर प्रहरी आफैं पुगेको हो । महानगरले पछिल्लो समय अनाधिकृत रुपमा सार्वजनिक जग्गा कब्जा गरेर बस्नेहरुलाई जग्गा खाली गर्न सुचित गराइरहेको छ । बुधबार महानगरको नगर प्रहरी पुगेकै वडा नम्बर १० क्षेत्रमा अन्यले पनि सार्वजनिक जग्गा कब्जा गरेको महानगरका मेयरको सचिवालयले जनाएको छ ।
सिनामंगलबाट बम भन्दै मोबाइलमा तार जोडेर राख्ने व्यक्ति पक्राउ
काठमाडौं । सिनामंगलबाट बम भन्दै मोबाइलमा तार जोडेर राख्ने व्यक्ति पक्राउ परेका छन् । सिनामंगलस्थित सुन पसलको अगाडी फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हाे । बुधबार बिहान फेला परेको सो शंकास्पद वस्तु बम नभएको पाइएको सेनाले जनाएको छ । कालो टेपले बेरेको र दुईवटा तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर डिस्पोजल टोलीले शंकास्पद बस्तु बम नभएको पुष्टि गरेको छ । नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको नेपाली सेनाले जनाएको छ । सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट शंकास्पद बस्तु राखेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।
बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन सञ्चालनमा
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन् । बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो । टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा दुई करोड ८५ लाख ४५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । नव निर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउण्टर सञ्चालन गरिएको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कमा निर्माण गरिएको एकतले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन् । बसपार्कको भवन परिसरमा आरसिसी ढलान गरिएको छ । अपाङ्गतामैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसि टिभी क्यामेरा जडान गरिएको छ । उद्घाटन समारोहमा प्रमुख केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा सुविधा हुने बताए । उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार हुनाका साथै यो स्थल स्वच्छ र सफा भएकाले आउने पर्यटकलाई सकरात्मक सन्देश मिल्ने चर्चा गरे । नव निर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्न फर्निचरको व्यवस्था गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडानं–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए । उनका अनुसार बसपार्कलाई सफा र व्यवस्थित गराउन सात कर्मचारी नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरिएको छ । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन खर्च गरिने जनाइएको छ । । विसं २०७४ मा नगरपालिकाले तयार पारेको बसपार्कको गुरुयोजनामा २१ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ । रासस
सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको उक्त केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष सुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा रहेका पारिश्रमिक पाउने वा नपाउने सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो । सार्वजनिक पद धारण गरेका व्यक्तिले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९३० बमोजिम कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने जनाइएको छ ।
असारे विकासको विकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने- ‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु । मानव जीवनलाई सहज बनाउने विधि, प्रविधि र प्रणालीको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने इञ्जिनियरहरूसँग देश निर्माणका महत्वपूर्ण खम्बा हुन् । हामी राजनीतिक क्षेत्रबाट जनताको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन प्रयासरत छौँ । तपाईहरू अत्याधुनिक प्राविधिक शिक्षा, भौतिक पूर्वाधारको निर्माण, हरेक क्षेत्रमा प्रविधिको उपयोगका माध्यमबाट नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउँदै देशको मुहार फेर्न आधुनिक ज्ञान, सीप र अनुभव लिएर समर्पित भइरहनुभएको छ । हामी सबैको लक्ष्य एउटै छ, देश र जनताको सर्वोपरि हित र समुन्नति । मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो शर्त हो। भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको हुन्छ । ६० वर्षदेखि निरन्तर राष्ट्रको विकास र निर्माण लागिरहनुभएका इन्जिनियरहरुका सोंच-विचार, अनुभव र देश विकासको मार्गचित्रको बारेमा प्रत्यक्ष सुन्ने अवसर पाउँदा म खुसी छु । नेपाली जनताको निकै ठूलो त्याग र बलिदानको जगमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । यसलाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । राजनीतिक परिवर्तनका हिसाबले हामी सही मार्गमा छौँ। समावेशी लोकतन्त्रले देशका सबै जातजाति, वर्ग, समुदाय, धर्म र लिंगका नेपालीहरुलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक र सामाजिक विकासका हर क्षेत्रमा समाहित गरेको छ । तीनै तहका सरकारहरू नागरिकको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छन् । नागरिक अपेक्षा सम्बोधन गर्ने चुनौती अहिले पनि हाम्रोसामु छ। सूचना र सञ्चार प्रविधिले साघुरिँदै गएको विश्वमा जब मानिसले आफूले चाहेजस्तो सुविधा आफू जन्मिएको हुर्किएको गाउँ, ठाउँ र शहरमा नपाउँदा बौद्धिक पलायनको खतरा रहन्छ, जुन परिस्थिति आज सिंगो देशले सामना गरिरहेको छ। यसलाई रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ सिंगो देशले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको छ । आन्तरिक स्रोत साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ। त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ। असारमा गरिएका विकास र निर्माण कार्य मनसुनको बाढी र पहिरोले बगाउछ । बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु। यसमा रहेका कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिहरूमा सहजीकरण गर्न सरकार सबै तत्पर छ । एशोसिएसनले स्थापना दिवसको अवसरमा तय गरेको ‘आर्थिक उन्नतिको आधारः विकास र पूर्वाधार’ शीर्षकको नारा निकै सान्दर्भिक छ। विकास र पूर्वाधार विना आर्थिक उन्नति संभव छैन । विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ। पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस् । आन्तरिक राजश्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस् । विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउने छ । देशको मुहार फेरिने छ। सबै नागरिकको मुहारमा हाँसो आउने छ, यसका लागि नेपाल सरकार र प्रधानमन्त्रीकारुपमा म स्वयं लागिरहेको छु । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छ। सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ। सरकारको यस अभियानमा तपाईहरूलगायत आम जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यवद्धताप्रति नेपाल सरकारको तर्फबाट विशेष आभार व्यक्त गर्दछु। अन्त्यमा, ६१ औँ इन्जिनियर दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गरेर पुरस्कृत र सम्मानित हुनुभएका इञ्जिनियर मित्रहरूमा हार्दिक बधाइ ज्ञापन गर्दै फेरि एकपटक नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दछु ।