शिक्षक निमावि तहका लागि लाइसेन्सको परीक्षा खुल्यो
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न परीक्षाको लागि आवदेन खुला गरेको छ । साउन १० गतेको निर्णयअनुसार आज बिहीबारदेखि आवदेन गर्न सकिने गरी आयोगले आवेदन खुला गरेको हो । लाइसन्स प्राप्त गर्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुले अनलाईन प्रणालीबाट नै आवेदन गर्न सक्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।
टोखा नगरपालिकाले हटायो सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना
काठमाडौं। काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाइएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । ‘संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ’, नगरप्रमुख अधिकारीले भने । नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ ।
नागरिक स्टक डिलरले बैंकमा १८ करोड लगानी गर्दै
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरेर प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका अनुसार ७ दिन भित्र आवेदन पेश गर्नु पर्नेछ ।
मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ शाखा कार्यालयहरू बन्द गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जपश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने बैंकले जनाएको छ । बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साविकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ । त्यस्तै, साविकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साविकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ । शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । दुवै बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गरी नेपाल इन्भेटमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरेका हुन् ।
बैंकमा लुटपाट गर्ने एक जना पक्राउ
काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख रुपैयाँ लुटेको घटनामा साफी संलग्न थिए । चार÷पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
नेको इन्स्योरेन्सले विराटनगरमा ६ कठ्ठा जग्गा किन्दै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालयका लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा प्रादेशिक कार्यालयको भवन निर्माणका लागि विराटनगरमा जग्गा खरिद गर्ने जनाएको छ । विराटनगर उपमहानगरपालिकाको कञ्चनबारीदेखि महेन्द्रचोकसम्म हाईबेको पूर्व र पश्चिमसम्म ३ कठ्ठादेखि ६ कठ्ठा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ । इच्छुक जग्गाधनीले साउन २५ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्रमा बिक्री गर्न चाहेको जग्गा प्रतिधु के कति दरमा बिक्री गर्ने स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । प्राप्त भएका बोलपत्र ७ दिनभित्र खुला गरिने कम्पनीले जनाएको छ ।
इप्पान र बीमक संघबीचको विवाद तत्काल साम्य, हाइड्रोको प्रिमियम दर तोक्न अध्ययन समिति
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले हाइड्रोपावर कम्पनीको पुनर्बीमा गर्न नमान्दा समस्या आएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र बीमक संघबीच भएको जलविद्युत आयोजनाको प्रिमियबारे छलफलमा अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् । ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना आफ्नो पनि रहेको तर अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि नउठ्ने उनको भनाइ छ । ‘पुनर्बीमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बीमा गर्नै नमान्दा गाह्रो भएको हो, ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना मेरो पनि छ तर, अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि उठ्दैन,’ उनले भने । इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले गर्ने व्यवसायमा नाफा खोज्नुपर्ने तर, कति नाफा राख्ने भन्ने कुरामा स्पष्ट हुनु पर्ने बताए । उनका अनुसार बीमा कम्पनीले एकातिर प्रिमियम बढाउने अर्को तिर जोखिम क्षेत्र घटाउँदै जाने हो भने स्वीकार गर्न सकिँदैन । कार्कीले भने, ‘हामी बढी प्रिमियम तिर्न पनि तयार छौं तर, भनेको बेला दाबी भुक्तानी पाउने, धेरै भन्दा धेरै कुराको जोखिम बहन गर्ने पोलीसी ल्याउनुस ।’ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले पुरानै प्रिमियमलाई प्रवद्र्धकले अस्विकार गरेको बेला नयाँ प्रिमियम दरलाई प्रवद्र्धकले कुनै पनि हालतमा नस्वीकार्ने बताए । इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले ६० लाखको गाडी किनेर व्यवसाय गर्ने व्यवसायीले दुर्घटनामा मान्छे नै मारेपनि ढुक्कसँग बस्न सक्ने गरी सम्पूर्ण जोखिम बीमा कम्पनीले लिए जस्तै जलविद्युतमा पनि सबै जोखिम ट्रान्सफर गर्न चाहेको बताएका थिए । उनले अहिले बीमाको प्रिमियम बढाउन खोजेपनि दाबी परेपछि भुक्तानी पाउने न्युनतम वा अधिकतम समय स्पष्ट हुनु पर्ने बताए । यसअघि प्रतिहजारको २ रुपैयाँ मात्र रहेको जलविद्युत बीमाको प्रिमियम दर अहिले ७.५ रुपैयाँसम्म पुर्याउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । एकैपटक २ रुपैयाँबाट साढे ७ रुपैयाँ प्रिमियम र्पुयाउँदा जलविद्युत प्रवद्र्धकलाई पनि मर्का पर्ने उनको भनाइ छ । उनका अनुसार हाललाई साढे ५ रुपैयाँसम्म कायम गरेर जान सकिन्छ । प्रिमियमको विश्वव्यापी ट्रेण्ड विश्लेषण गरेर दर तोक्न एक समिति बनाएर अघि बढ्नु पर्ने उनको धारणा छ । हाललाई प्रति हजारको २ रुपैयाँ प्रिमियम लिने गरी बीमा पोलीसी किन्न इप्पानसँग उनले आग्रह गरे । प्रवद्र्धकहरुले भने समितिले दिएको प्रतिवेदन अनुसार बढेपनि घटेपनि प्रिमियम तिर्न तयार हुनु पर्ने शर्त राखे । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इप्पानसँग छलफल गर्न बुधवार इप्पान सचिवालयमा पुगेका हुन् । बीमक संघसँग भएको छलफलमा बीमाको वैज्ञानिक प्रिमियम दर कायम गर्न दुवै पक्षबाट ३/३ जना र २ जना विज्ञ सदस्यसहितको समिति बनाउने सहमति भएको छ । उक्त समितिले सिफारिस गरेको प्रिमियम अहिलेको भन्दा घटि वा बढी भएपनि संघ र इप्पान दुवैले स्वीकार गर्ने बताएका छन् ।
सुन लुकाएर ल्याउने रेडी ट्रेडको गोदाममा छापा, एक जना पक्राउ
काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले आज काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशङ्कामा विभागले बुधबार छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ । यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि आज पक्राउ गरेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ । उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ ।