पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात, प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक

<p>झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार रुपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८/७९ मा [&hellip;]</p>

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार रुपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।

आव २०७८/७९ मा सोही अवधिमा चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार रुपैयाँ मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो । गत आवको तुलनामा आव २०७९/८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् तुलनात्मक रुपमा तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ ।

यसैगरी, गत आवको तुलनामा आव २०७९/८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आव २०७९/८० मा तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

उनले अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए । आव २०७८/७९ मा दुई अर्ब ८७ करोड ४६ लाख १० हजार रुपैयाँ मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो ।

अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आव २०७९/८० मा ६३ करोड ९२ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख छ हजार रुपैयाँ मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८/७९ मा ३३ करोड ६९ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो ।

अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, आव २०७९/८० मा ८६ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८/७९ मा ६२ करोड ८९ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक

पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ । गत आवको तुलनामा आर्थिक वर्ष २०७९/८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ९९ करोड १० लाख ११ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड निकासी भएको छ । जवकी आव २०७८/७९ मा १० करोड ८० लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड निकासी भएको थियो ।

यसैगरी, आव २०७९/८० मा एक अर्ब १० करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको छुर्पी निकासी भएको छ । जवकि आव २०७८/७९ मा आठ करोड ४३ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको छुर्पी निकासी भएको थियो । कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ ।

पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ । रासस

Share News