विकासन्युज

मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र

काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायीका प्रदेश महासंघहरूले सातै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्ला संघहरूले जिल्ला जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् । सबै निर्माण कार्यको भुक्तानी पाउनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे मागसहित नेपाल निर्माण व्यवसायी महासंघले आन्दोनल गरिरहेको छ । सोहीक्रममा प्रदेशमा मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यलयमार्फत केन्द्रीय सरकारलाई ज्ञानपपत्र बुझाइएको निर्माण व्यवसायीहरुले बताएका छन् । उनीहरुले बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सम्बोधन गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने माग गरेका छन् । त्यसैगरी, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुअकरको कट्टी रकम समयमै राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित् सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले साउन १० देखि १३ सम्म विभिन्न राजनीतिक दलका नेताहरू तथा सम्बन्धित संघीय सरकारी निकायहरूमा आफ्ना मागहरू बारे जानकारी गराउने भएको छ ।

उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डबाट हिमालयन डिस्टिलरी सम्मानित

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन– २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन– सिल्भर अवार्ड हिमालयन डिस्टिलरीलाई प्रदान गरेको हो । अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका छन् । हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य उत्कृष्ट तरिकाले प्रस्तुत गरेको भन्दै यस्तो अवार्ड दिइएको हो । उक्त अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबेदीले बताए । कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

सनराइज बैंकका सीईओ शर्मासहित ५० जनाले रोजे भिआरएस, ३६ महिनाको सुविधा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले स्वेच्छिक अवकास सुविधा (भिआरएस)का लागि निवेदन दिएका छन् । दुवै बैंकको एकीकृत कारोबारपश्चात् खुला गरेको भिआरएसमा हालसम्म ५० जना कर्मचारीले निवेदन पेस गरेको बैंक स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । स्रोतकाअनुसार साउन १५ गतेसम्म भिआरएसका लागि  निवेदन दिने समय छ । निवेदन दिने अन्तिम दिनसम्म भिआरएसका लागि निवेदन दिनेकाे स‌ंख्या बढ्न सक्ने बैंक स्राेतले बताएकाे छ । ‘भिआरएसका लागि आवेदन दिने समय सकिएको छैन । अहिलेसम्म ५० जनाले भिआरएसका लागि निवदेन दिएका छन् । तर, समय नसकिएको हुँदा यो संख्या बढ्न सक्छ,’ स्रोतले भन्यो । भिआरएस सुविधाका लागि हालसम्म साविक सनराइज बैंकबाट ४० जना र साविक लक्ष्मी बैंकबाट १० जनाले निवेदन पेस गरेको बैंक स्रोतले बताएको छ । साविक सनराइज बैंकबाट सीईओ शुमन शर्मा, नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल र प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठले भिआरएसका लागि निवेदन दिएका छन् । साथै, अन्य कर्मचारीहरुमा जुनियर लेभल र सपोर्टेड तहका रहेकाे स्रोतको भनाइ छ । नेपाल र श्रेष्ठले अवकाश पाउने बेला भएकाले भिआरएस सुविधा लिएका हुन् । ‘साविक सनराइज बैंकबाट भिआरएस राेज्ने अधिकांश कर्मचारी जुनियर लेभलका छन् । ड्राइभर, सेक्युरीटी गार्डहरुले पनि भिआरएसका लागि निवेदन दिएका छन् । सिनियर लेभलका कर्मचारी भने त्यति धेरै छैनन्,’ स्रोतले भन्यो । साविक लक्ष्मी बैंकको सिनियर लेभलबाट भने एक जनासहित जुनियर तहका कर्मचारीले निवेदन दिएकाे स्राेतले बताएकाे छ। स्रोतकाअनुसार सहायक महाप्रबन्धक (एजिएम) सञ्‍जीवराज जोशीले भिआरएस सुविधा लिन खोजेका हुन् । जोशी साविक लक्ष्मी बैंकबाट भिआरएस लिने सबैभन्दा सिनियर कर्मचारी हुन् । के-के पाउँछन् सुविधा ? भिआरएसमा बाहिरीने कर्मचारीले २४ महिनासम्मको तलब सुविधा पाउने छन् । तर, सपोर्टेड (कन्ट्र्याक्ट)कर्मचारीलाई भने ३६ महिनासम्मको तलव सुविधा दिइनेछ । सीईओ शर्माले पनि २४ महिनाको तलब पाउने छन् । तर, उनले सवारी साधन भने नपाउने भएका छन् । ‘भिआरएसमा घोषणा गरेअनुसारको सुविधा पाउँछन् । सपोर्टेड स्टाफहरु ड्राइभर, सेक्युरीटी गार्डहरुले ३६ महिनाको सुविधा पाउने छन्,’ स्राेतले भन्याे, ‘सिनियर लेभलको कर्मचारीले भिआरएस लिएको भए धेरै खर्च हुन्थ्यो तर, जुनियर लेभलको कर्मचारीले भिआरएस राेजेकाे हुँदा धेरै खर्च आउँदैन ।’ सिनियर डीसीईओमा भट्टराई नियुक्त मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकमा तीन जना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त भएका छन् । साविक लक्ष्मी बैंकबाट सुमेद भट्टराई, साविक सनराइज बैंकबाट आरती राणा र अपचबहादुर यादव डीसीईओ बनेका हुन् । उनीहरु साविक बैंकको डीसीईओ थिए । बैंकमा ३ जना डीसीईओ भएपछि उमेर र अनुभवका आधारमा भट्टराईलाई सिनियर डीसीईओमा नियुक्त गरिएको हो । स्रोतका अनुसार डीसीईओ राणा र यादवले भने हालसम्म भिआरएस सुविधाका लागि निवेदन पेस गरेका छैनन् । ‘मर्जरपछि ३ जना डेपुटी सीईओ बन्नुभयो । ३ जनामध्ये भट्टराई सर सिनियर डेपुटी सीईओमा नियुक्त हुनुभयो,’ उनले भने, ‘डीसीईओ राणा र यादवले राम्रो रेस्पोन्सिबिलीटी पाउनु भएको छ । उमेर पनि छदैँछ । उहाँहरुलाई भिआरएस लिनु पर्ने बाध्यता छैन ।’ मर्जरपश्चात् कर्मचारी समायोजन सन्तुलित रुपमा गरेकाे बैंकले बताएको छ । सबै कर्मचारीलाई सहज वातावरण हुने गरी व्यवस्थापन गरेको बै‌ंकका अधिकारीहरु बताउँछन् । ‘सबै कर्मचारीले राम्रो रेस्पोन्सिबिलीटी पाउनुभएको छ । सहजरुपमा काम गर्ने वातावरण छ । दुबै बैंकका कर्मचारीलाई भेदभावरहित व्यवस्थापन गरिएको हो । कर्मचारी व्यवस्थापनमा लक्ष्मी सनराइज बैंक उदाहरणीय हुनसक्छ । दुवै बैंकका कर्मचारी खुशी नै रहेको रेस्पोन्स आइरहेको छ,’ उनले भने ।

जीवन बीमा व्यवसायमा देखियो चरम मन्दी, सीईओहरु भन्छन् : चालु आर्थिक वर्षमा गति लिन्छ

काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा मन्दी देखिएको छ । बजारमा तरलता अभाव हुनु र निरन्तर रुपमा महँगी बढेसँगै त्यसको असर आम मानिसको प्राथमिकतामा नपर्ने जीवन बीमा क्षेत्रमा परेको हो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आम्दानी २४.७२ प्रतिशतले घटेको छ । कम्पनीहरुले गत आर्थिक वर्ष (आव) मा ३१ अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्कबापत संकलन गरेका छन् । जबकी अघिल्लो आवमा कम्पनीहरुबाट ४१ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन भएको थियो । गत आवमा संकलित प्रथम बीमाशुल्कमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.८७ प्रतिशतले घटी हो । त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ, तेश्रोमा सूर्यज्योति, चौथोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र पाँचौंमा हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये सूर्यज्योति र हिमालयन लाइफ मर्जरमा गएका कम्पनी हुन् । १५ वटा जीवन बीमा कम्पनीमध्ये साविकको प्रभु लाइफको प्रथम बीमा शुल्क सबैभन्दा बढी प्रतिशितले घटेको छ । साविकको महालक्ष्मी लाइफसँग मर्ज भएको साविकको प्रभु लाइफको प्रथम बीमाशुल्क गत वर्षमा ५६.०४ प्रतिशतले घटेर ६३ करोड ५८ लाख रुपैयाँमा झरेको हो । त्यस्तै, साविकको महालक्ष्मी लाइफको पनि ४०.७५ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ । त्यस्तै, साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफको प्रथम बीमाशुल्क ४८.३७ प्रतिशतले घटेको छ । जुन प्रतिशतका आधारमा साविकको प्रभु लाइफ पछिको धेरै हो । राष्ट्रिय बीमा संस्थानको भने सबैभन्दा कम प्रतिशतले प्रथम बीमाशुल्क घटेको छ । समीक्षा अवधिमा संस्थानको बीमाशुल्क १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा संस्थानले ९६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको थियो । सीईओहरु भन्छन् : नयाँ आवमा गति लिन्छ जीवन बीमा क्षेत्रमा गत आर्थिक वर्ष शुरु भएदेखि नै मन्दी देखिन थालेको हो । कोभिड १९ को महामारीमा पनि प्रभावित नभएको यो क्षेत्र पछिल्लो समय चरम मन्दीमा छ । अर्थतन्त्र सुस्ताउँदै गएसँगै जीवन बीमा व्यवसाय पनि घट्दै गएको जानकारहरु बताउँछन् । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु भने अबको त्रैमासमा जीवन बीमा व्यवसायले गति लिनेमा आशावादी छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता बढ्न थालेसँगै बीमा व्यवसाय पनि बढ्ने उनीहरुको भनाई छ । जीवन बीमक संघका अध्यक्ष समेत रहेका पोषकराज पौडेल नयाँ वर्षमा नयाँ बिजनेसले गति लिने बताउँछन् । ‘गत वर्ष नयाँ बिजनेस स्लो भएपनि समग्रमा जीवन बीमा व्यवसाय राम्रै भएको छ, अब नयाँ आर्थिक वर्षमा नयाँ बिजनेस पनि राम्रो हुने छ भन्नेमा हामी आशावादी छौं,’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले विकासन्युजसँग भने । त्यस्तै, तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सका मनोज कुमार लाल कर्णले बजारमा तरलता अभाव भएकोले बीमा क्षेत्रमा मन्दी देखिएको बताउँछन् । ‘बजारमा तरलता अभाव भएकोले अन्य क्षेत्रसँगै यो क्षेत्रमा पनि मन्दी छाएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘यो केही समयलाई हो, अब विस्तारै बढ्छ, चालु आवको पहिलो त्रैमासमै जीवन बीमा व्यवसायले गति लिन्छ ।’

इन्टरनेटमा सिजी नेटको नयाँ अफर, धेरै रिफर गर्नेलाई पुरस्कार

काठमाडाै‌ ।  सिजी नेटले इन्टरनेट सेवामा नयाँ अफर ल्याएको छ । कम्पनीले रिफर, रिडम र रिपिट नामक अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने कम्पनीले बताएको छ । हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहारसमेत पाउने कम्पनीले बताएको छ । रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निस्शुल्क इन्टरनेट प्राप्त गर्ने कम्पनीले बताएको छ । यसका साथै ३ जनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गर्ने सिजी नेटले बताएको छ । ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफरर ट्रयाक गर्न लिडरसीप बोर्ड लागू गरेको र यस अवधिभरमा सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज उपलब्ध गराउने बताइएको छ । दोस्रो उच्चतम रिफररले ४३ इन्चको स्मार्ट टिभी र तेस्रो उच्चतम रिफररले ३२ इन्चको स्मार्ट टिभी पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

काठमाडौं । विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । ग्लोबीन, द लोनली एन्ड ग्रेट गड, माई लिटल बेबी, रिचमन, किङ इन द लभ, आदि जस्ता चर्चित कोरियन सिरिजहरु डिशहोमको गो एपमा उपलव्ध रहेको छ । यी कोरियन सिरिजहरुले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यस्तै, डिशहोमको गो एप मा १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ । ‘डिशहोम गो’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

बोटलर्स नेपालले पायो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड पाएको छ । आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाब प्रस्तुत गरिएकामध्ये आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटलर्स नेपाल लिमिटेडलाई यस्तो अवार्ड प्रदान गरिएको हो । एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले उक्त अवार्ड बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए । आइक्यानले सन् २०२२ को लागी दिएको अवार्डमा बोटलर्स नेपाल लिमिटेड मेरिट अवार्ड पनि पनि पाएको छ । अवार्ड पाएपछि कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोटलर्स नेपालले सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छाँै ।’

सेयर बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो : सेयर लगानीकर्ता

काठमाडौं । राष्ट्र बैंकले सेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको सेयर लगानीकर्ताहरुले बताएका छन् । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए । उनीहरुले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए । लगानीकर्ताहरुले राष्ट्र बैंकले लगानीकर्ताहरुलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए । उनीहरुले राष्ट्र बैंकले सेयर लगानीकर्ताहरुको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु सेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताइन् । उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताइन् । मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भए पनि सेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको महशुस भएको भए पनि दुई घण्टाको बीचमा बिरोध गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विगत दुई वर्षदेखि निरन्तर रुपमा गिरावट रहेको सेयर बजार विगतमा नीतिहरु परिवर्तन भएर मलम पट्टिको काम गर्छ भन्ने लगानीकर्ताहरुको अपेक्षा थियो । लगानीकर्ताहरुको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन’, उनले भनिन्, ‘ लगानीकर्ताहरुलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो त्यसले लगानीकर्ताहरु थप प्यानिक भएका छौं । मौद्रिक नीतिले आम लगानीकर्ताको माग सम्बोधन भएको छैन । सेयर बजार घटबढ राजनीतिक विषय,बजारमा तरलता र ब्याजदरको कारण हुन्छ । मुलुकको अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा सेयर बजार राम्रो हुन्छ भन्ने अपेक्षा थिएन । तर दुई वर्ष देखिको मौद्रिक नीतिकै कारण बजार प्यानिक भइरहेको छ ।’ सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई दुखि बनाएको उनले बताइन् । सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन् । पोखरेलले लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताइन् । त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताए । उनले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको बताए । सेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको उनले बताए । मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको उनको भनाइ छ । लगानीकर्ताहरुले विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे । लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने उनको भनाइ छ । मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्यवन अहिलेसम्म नभएको उनको आरोप थियो । भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताए । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गरे । ‘मौद्रिक नीति हामीले सोचे जस्तो आएन’ उनले भने, ‘भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा सेयर बजार बढ्यो । लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरियो । तर पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको छ ।’ सेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकमा महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने दाबी गरे । गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको उनको आरोप थियो । गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने उनको दाबी थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहे पनि पुँजीबजार अब कसैले रोकेर नरोकिने उनले बताए ।