विकासन्युज

वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी, आप्रवासी कामदार, विद्यार्थी वर्गलाई वा कुनै एक विपन्न लक्षित समुदायको लागि वित्तीय साक्षरता अभिवृद्धि गरिनेछ । सामुदायिक परियोजनामा रणनीतिक साझेदारको रुपमा कार्य गर्न इच्छुक गैर नाफामुलक संघसंस्थाले आशय प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । यस परियोजनाको बजेट बढीमा १२ महिनाको लागि २० लाख रुपैयाँ तय गरिएको बैंकले जनाएको छ । तर, सम्झौता अवधि थप हुन पनि सक्नेछ । कम्तीमा ५ प्रदेशमा वित्तीय साक्षरता परियोजना संचालन र व्यवस्थापन गर्न सक्ने तर, ७ वटै प्रदेशमा परियोजना संचालन गर्न सक्ने क्षमता भएकोलाई पहिलो प्राथमिकता दिइनेछ । सामुदायिक परियोजनामार्फत उपलब्धि हासिल गरेको बलियो रेकर्ड प्रस्तुत गर्न सक्ने हुनु पर्ने बैंकले बताएको छ । गैर नाफामुलक संस्था, सरकारी वा राजनैतिक भातृ संगठन नभएको, समान प्रकृतिका क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य गरिसकेको प्रमाणित अभिलेख भएको, कम्तीमा ३ वर्षको वार्षिक लेखा परिक्षण गरेको हुनु पर्नेछ । इच्छुक संघ संस्थाले सूचना प्रकाशित मितिले १५ दिनभित्र आशय पत्र पठाउनु पर्नेछ ।

नातेदारको खातामा ३२ करोड भुक्तानी गरेपछि बीमा कम्पनीका पूर्व अध्यक्षलाई मृत्युदण्ड

काठमाडौँ । चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ । दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले उक्त फैसला सुनाएको हो । सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा उनले ३२ करोड ५० लाख युआन (करिब चार करोड ५० लाख अमेरिकी डलर) बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत् गैरकानुनी रूपमा लिएको स्वीकार गरेका थिए । उनलाई सन् २०१२ को जनवरीदेखि हङकङमा आफ्ना नातेदारले खोलेको खातामा पाँच करोड ६४ लाख २० हजार युआन बराबरको विदेशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा दोषी ठहर गरिएको अदालतले जनाएको छ । फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ । दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । एजेन्सी

६१ किलो सुन प्रकरण : ५० जना विरुद्ध सङ्गठित अपराध र चोरी पैठारी कसुरको मुद्दा चलाइने

काठमाडौँ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भदौ २७ गते बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य मंगलबार साँझ सकिएकाले बुधबार बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी २७ गते प्रतिवेदन बुझाउने मिति तय गरिएको हो । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् । सबै गरी ५० जना विरूद्ध मुद्दा चलाउन लागिएकाे उच्च स्राेतले बतायाे । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारण सभा, बैंकमध्येकै पहिलो

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ । भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैंया संचित रहेको बैंकले जानकारी गराएको छ । हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

बागमती प्रदेशले कुनै पनि सहकारी दर्ता नगर्ने

काभ्रे । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई मंगलबार बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताए । ‘सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्’, मन्त्री महर्जनले भने । उनले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिए । उनले भने, ‘सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।’ मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए । ‘स्थानीयस्तरमा आर्थिक अप्ठेरो पर्दा गर्जो टारेको र घरेलु उद्योग गर्नसमेत सहकारीले सहयोग गरेकाले पनि सरकारले सहकारी आन्दोलन बिर्सनुहुँदैन’, उनले भने । उनले प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेल, जिल्ला समस्वय समिति काभ्रेपलाञ्चोकको प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नगरको सहकारीको अनुगमन गरी देखिएका समस्यामा समन्वय गरेकोमा बनेवा नगरपालिकालाई सम्मान गरिएको थियो । डिस्कोफका जिल्लाध्यक्ष दिलीप शर्माले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

टेक्सास् कलेजमा ८ सय विद्यार्थी बिदा भए, ९ सय भित्रिए [फोटोफिचर]

काठमाडौं । टेक्सास् इन्टरनेशनल कलेजले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र १२ सक्ने विद्यार्थीको लागि फेरवेल अर्थात बिधाई गरेको हो । टेक्सास् नेटवर्कका निर्देशक नारायण पोखरेलले कार्यक्रम कक्षा ११ का करिब ९ सय विद्यार्थीलाई स्वागत गरेको र करिब ८ सय विद्यार्थीलाई बिधाई गरेको बताए । ‘पढाइ कक्षामा मात्रै हैन, बाहिर पनि हुन्छ जसलाई सँगसँगै लिएर जान सकिन्छ र पढाई यसको सहयात्री बनाउन सकिन्छ भन्ने सन्देश दिने उद्देयका साथ कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने ।  

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार बैंक र चाबहिलको ओम अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा सो मात्राको छुट पाउने भएका हुन् । सो सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट आईपीडी डाइगनोष्टिक, फारमेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

बिहीबार देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले आगामी बिहीबार अर्थात भदौ २८ गते देशभर शोक बिदा दिने निर्णय गरेको छ । दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार गरिने भएकोले गृह मन्त्रालयले सो दिन नेपालभर शोक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका अनुसार सो दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने भएको छ । साथै, सो दिन उक्त कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृहमन्त्रालयले बताएको छ । संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएकोे हो ।