काठमाडौं । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले नयाँ सहकारीको दर्ता तथा भएका सकारीको शाखा विस्तारमा रोक लगाउनु पर्ने राय दिएको छ । योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा बनेको ‘सहकारी क्षेत्र सुधार कार्यदल’ले सो सुझाव दिएको छ । कार्यदलले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारीमा छ ।
कार्यदलका सदस्य तथा भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकणर्मी दुवाडीले कार्यदलले नयाँ सहकारी दर्ता रोक्नु पर्ने सुझाव दिएको बताएका छन् । उनका अनुसार कार्यदलले तत्कालीन, अल्पकालीन र दीर्घकालीन भनेर तीन थरी सुुझाव तयार पारेको छ ।
‘अहिले सहकारीको संख्या धेरै छ, स्वनियमनमा सहकारीहरु दर्ता भएर सञ्चालन भएको छैन भन्ने कार्यदलको निश्कर्ष छ, कार्यदलले तत्कालका लागि नयाँ सहकारी दर्ता बन्द गरेर, भएका सहकारीको क्षेत्र तथा शाखा विस्तारलाई स्थगित गर्नु पर्ने सुझाव दिएको छ,’ उनले विकासन्युजसँग भने ।