नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्र मन्त्री साउद
न्यूयोर्क । परराष्ट्र मन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलवार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्र मन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आउनुभएका परराष्ट्र मन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।
बैंकले घर बनाउन दिन थाले शतप्रतिशत कर्जा
काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्जा दिने योजना अगाडी सारेको हो । यस्तो कर्जाको व्याजदर पनि बैंकले तुलनात्मक रुपमा सस्तो नै राखेको छ । बेस रेटमा १ दशमलव ९९ प्रतिशत प्रिमियम थपेर व्याज निर्धारण गर्ने छ । हाल बैंकको बसे रेट ९ दशमलव ५५ प्रतिशत रहेको छ । यस आधारमा बैंकले घर कर्जामा ११ दशमलव ५४ प्रतिशत व्याज लिनेछ । नेपालीहरुले घर कर्जाको व्याज १० प्रतिशतभन्दा माथि हुनुलाई उच्च व्याजदर मान्दछन् । तर अहिले बैंकहरुले निक्षेपकर्तालाई नै ११ प्रतिशतसम्म व्याज दिईरहेको बेलामा घर कर्जाको व्याज ११ दशलवम ५४ प्रतिशत हुनु महँगो होइन । बैंकको बेसरेट घट्दा सोही अनुपातमा कर्जाको व्याजदर पनि घट्नेछ भने वेस रेट बढेको अवस्थामा कर्जाको व्याजदर पनि सोही अनुपातमा बढ्नेछ । पछिल्लो समय बैंकहरुको बेसरेट क्रमशः घट्दै गएको छ । नेपाल बैंकले घर वा जग्गा खरिद गर्नको लागि पनि सोही व्याजदरमा कर्जा दिने जनाएको छ । यस्तो सुविधा राजधानी र सहरी क्षेत्रमा मात्र हुने बैंकले सर्त राखेको छ । नेपाल राष्ट्र बैंकले ३ हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट किन्न वा बनाउनको लागि २ करोड रुपैयाँसम्म घर कर्जा दिन पाउने र यस्तो कर्जा धितोको ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थासँग आवास निर्माण र निर्माण सामाग्री उत्पादन तथा व्यापारले गति लिने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् ।
आइएमईले घोषणा गर्यो एक करोड रूपैयाँ उपहार, ‘आइएमई गरौं, करोडपति बनौं’
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने कम्पनीले जनाएको छ । साथै, प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।
ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् विभिन्न परिसूचकमा सबैभन्दा ठूलो बैंकको रुपमा उभिएको यस बैंकमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् । बैंकले बज्राचार्यपछि रेग्मीलाई दोस्रो महत्वपूर्ण भूमिका दिएको छ ।
राजधानीमा द्रुत बस सेवा सञ्चालन गर्न रातो रङको लेन निर्माण गरिँदै
काठमाडौं । काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्न सडकमा रातो रङको लेन निर्माण प्रकृयालाई अगाडि बढाइएको छ । जसमध्ये असोज ३ गतेदेखि सूर्यविनायक(रत्नपार्क द्रुत बस सेवा संचालन गर्न सडकमा डेडिकेटेड लेनको मार्किङ र रातो रङ लगाउने कामको शुरुवात गरिएको छ । काठमाडौं सडक डिभिजन कार्यालयले सो कार्यलाई अगाडि बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालनको लागि छुट्टै लेन निर्माण गर्न निर्देशन दिएका थिए, सोही अनुसार विभाग र डिभिजन कार्यालयले सो कार्यलाई अगाडि बढाएका हुन् । रातो रंगले मार्किङ गरिएको सडकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म बस संचालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता राजधानीमा हुँदै, स्टल बुकिङ खुला
काठमाडौं । ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए । यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए । यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएको छ । इन्टरनेशनल एक्स्पोमा पाँच सय जना भन्दा बढी विदेशी क्रेताहरु (अमेरिका, क्यानडा, यूरोप, चीन, भारतलगायत अन्य देशहरुबाट) को आगमन हुने भएको छ । प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरुलाई डिजीटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिष्ट्रेशन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपियाँको अनलाइन सपिङ भौचार उपलब्ध गराइने भएको छ । सो भौचारमार्फत अवलोकनकर्ताले इन्टरनेशनल एक्स्पोस्थलमा रहेका स्टलहरुमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका संयोजक अधिकारीले बताए । अर्नसिक्का नामक डिजीटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजीटल कारोबारमा साझेदारी गर्न लागिएको छ । नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ एक्स्पोस्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन ईच्छुक सबैमा स्टल बुकिङ खुल्ला गरिएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले स्थानीय उत्पादनको लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं बिक्री वितरणका लागि अघिल्लो वर्ष आयोजना गरेको एक्स्पोमा ३५० जना विदेशी क्रेताहरुले भ्रमण गरेका थिए । जसबाट पर्यटन विकास एवं नेपाली उत्पादनले विश्व बजारमा पहिचान हुने अवसर प्राप्त गरेको थियो । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपाली आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहने भएका छन् । एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेता बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ । विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवद्र्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जनाएको छ ।
आर्थिक रुपान्तरण गर्न देश भित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताएका छन् । मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताए । उनले आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै समोलन हुनपर्ने उल्लेख गरे । उनले मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए । उनले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिवद्ध रहेको बताए । ‘मुलुकमा समृद्धि ल्याउने कुरामा सबै मिलेर लाग्नुपर्ने छ । देशमा अब आर्थिक उन्नति हुन्छ भन्ने सकारात्मक माहोल बनाएर लगानी बढाउँदै आर्थिक गतिविधिमा संलग्न हुनु आवश्यक छ । देश र विदेशमा भएका नेपालीहरु मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । सरकार सुशासन र लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न सरकार प्रतिवद्ध छ’, अर्थमन्त्री महतले भने । उनले गणेशमान सिंह पार्कको स्थानीय,प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताए ।
सरकारलाई ट्याक्सी व्यवसायीको ७ बुँदे ध्यानाकार्षण पत्र, माग पूरा नभए अनशन बस्ने चेतावनी
काठमाडौं । सम्पूर्ण यातायात व्यवसाय तथा मजदूर चालक स्वतन्त्र संघर्ष समितिले आफूहरुको ट्याक्सी व्यवसाय धरासायी बनेको बताएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफूहरुको माग सम्बोधन नगर्दा व्यवसाय नै धरापमा परेको बताएको हो । संघर्ष समितिले आफूहरुका विभिन्न ७ बुँदे माग सार्वजनिक गर्र्दै अब सरकारले गम्भीरतापूर्वक सम्बोधन नगरे सडक संघर्षमा जाने बताएको छ । नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम पाण्डेले आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिँदा ट्याक्सी पेशा धरापमा परेको बताए । आफूहरुले राज्यसँग हारगुहार गर्दापनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । ‘यो राज्यले हामीलाई कहिल्यैपनि देखेन । पटक–पटक हामी राज्यको सम्बन्धित् निकायमा गुहार माग्न गयौं । हाम्रा माग तथा मुद्दालाई राज्यले बेवास्ता गर्यो,’– उनले भने । उनले अहिले पठाओ, इनड्राईभ लगायतका विभिन्न किसिमका एप्सहरुले ट्याक्सी व्यवसायलाई धरापमा पुर्याएको बताए । महानगरले पार्किङको पनि उपयुक्त व्यवस्थापन गर्न नसकेको उनले बताए । सम्पूर्ण यातायात व्यवसाय तथा मजदूर चालक स्वतन्त्र संघर्ष समितिका संयोजक सानु पूर्वछाने मगरले रातो नम्बर प्लेटको दुई पाङ्ग्रे सवारी साधनले खुलम्खुल्ला यात्रुहरु ओर्सादा सरकारले हेरेर बसेको बताए । उनले ट्याक्सी व्यवसायी र चालकको समस्याका बारेमा प्रधानमन्त्री र गृहमन्त्री र यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए । उनले ट्याक्सी व्यसायीको माग सम्बोधन नभए असोज १७ गतेबाट अनसन सुरु गर्ने चेतावनी दिए । आफूले रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु ओसारेमा कारबाही गर्न ट्राफिक महाशाखामा उजुरी दिएको समेत सुनाए । ‘रातो नम्बर प्लेटको दादागिरी, लुट र खुलमखुल्ला डकैती गर्नैलाई समाउन भनेर ट्राफिक महाशाखाका डिआईजीलाई म स्वयम् गएर पत्र बुझाएको छु ।’ उनले भने,‘यो माग पुरा भएन भने १७ गतेपछि फलफूल लिएर सानु पूर्वछानेलाई खुवाउन आउनुहोला ।’ सरकारले आफ्ना माग सम्बोधन नगरेमा सडक संघर्षमा जाने उनीहरुले बताए । नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले मापदण्डविपरीत निजी गाडीले यात्रु ओसारेको भन्दै आपत्ति जनाए । उनले यात्रु ओसार्ने मोटरसाईकलदेखि अन्य गाडीलाई कालो नम्बर प्लेटको व्यवस्था गर्न आवश्यक रहेको बताए । पठाओ र इनडाईभ लगायतका एप प्रयोग गरी यात्रा गर्दा यात्रुहरुले ट्याक्सीको भन्दा पनि बढि भाडा तिर्नुपरेको भन्दै यसको नियन्त्रण र नियमन गर्न सरकारसमक्ष आग्रह गरे । ट्याक्सी व्यसायीका मागहरु १.सम्मानित उच्च अदालतबाट तेस्रोपटक भएको फैसला परमादेश (मुद्दा न. ०७८–०–१२६६) मा नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारबाट मिति २०७९/११/१८, प. स. ०७९/८०, च. न. ४८ को पत्रमा १५ पाना “ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धि मापदण्ड २०७९“ मस्यौदा पेश गरिएको बमोजिम स्वेच्छिक पेट्रोल र विद्युतीय सवारी साधन दर्ता गर्न व्यवस्था तुरुन्त कार्यान्वयन लागू गरियोस् । २. उच्च अदालतको फैसला परमादेश (मुद्दा न.०७६-WO-०३९२) को बमोजिम मोबाइल एप्लिकेसनबाट संचालित राइड सेयरिङ्ग सम्बन्धि आवश्यक नीति नियम निर्माण कानुन तर्जुमा गर्न गराउन पहल गर्नु दिएको आदेश यथाशिघ्र कायम गरियोस् । ३. नेपाल अधिराज्यभर ट्याक्सीको भाडा दर एक रुपता कायम लागू गरियोस् । ४. ट्याक्सीलाई उपत्यकाको चार भञ्ज्याङ्ममा रहेको पट्के रुट परमिट २४सैं घन्टा खुल्ला गर । अनलाईन पटके प्रवाह गरीयोस । ५. मिटर जडित ट्याक्सीको मिटरमा लगाइएको सिल चुडिदा सवारी धनी तथा चालक जेल जानूपर्ने कानुन खारेज गर । ६.निजि प्रयोजनको रातो प्लेटको दुई तथा चार पाङ्ग्रे सवारीले भाडाको काम गर्ने कार्य तुरुन्त बन्द गरियोस् । नेपालको भूमिमा भाडाको गर्ने गर्ने भारतीय सवारी निषेध गरियोस् । ७. तेस्रो पक्ष बीमाबाट सवारी दुर्घटना भएमा सम्पूर्ण उपचार खर्च र मृत्यु भएमा २५ लाखसम्मको क्षतिपूर्तिको ब्यवस्था तत्काल गरियोस् ।