विकासन्युज

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक छात्रवृत्तिको लागि असोज १६ सम्म अनलाइन फारम भर्नुपर्ने

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस तथा कलेजहरुमा सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातक तहको कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न असोज १६ गतेसम्म अनलाईन फाराम भर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सोमबार सूचना जारी गर्दै शैक्षिक सत्र ०८०/८१ को स्नातक तहको विविए, विएचएम, विएचसिएम, विटिटिएस र विएफडिएम कार्यक्रमहरुको छात्रवृत्तिको लागि अनलाइन आवेदन खुल्ला भएको जनाएको हो । विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत एक हजार रुपैयाँ बुझाएर आवश्यक कागजात र पासपोर्ट साइजको फोटो अपलोड गरेर अनलाइन आवेदन गर्न सकिने जनाएको छ । प्रवेश परिक्षा असोजको २१ गते हुने विश्वविद्यालयले जनाएको छ ।

‘मुक्तिनाथ सेयरधनी बचत खाता’ मा सुविधाहरु थप

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि. र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकहरुले पाउनेछन् । उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्नेछन् नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात एक सय रुपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आइपिएस कनेक्सन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस मा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउन सक्छन् । सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएका छन् । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको डेबिट कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्न सकिने तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुनेगरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरु र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुनेगरी यी दुई कुरा बाहेक सबै कुरामा सरकार संसदमा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न तयार रहेको बताएका हुन् । उनले छलफल र सहकार्यबाट समाधान सबैकुरा समाधान गर्न सकिने बताए । कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको वर्तमान अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेकाले अहिलेको अर्थतन्त्रले धान्न नसक्ने मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारे । ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । शिक्षा विधेयक हामीले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले व्यवस्था, परिकल्पना गरेको र सरकारका तीन तहलाई नै त्योसँग जोड्ने गरी संविधानले परिकल्पना गरेको कुरालाई मुल आधार बनाएर शिक्षा विधेयक संशोधनको प्रक्रिया हामीले अघि बढायौँ । यसै सन्दर्भमा मन्त्री परिषद्ले शिक्षा विधेयक अघि बढाउने निर्णय गरेकै सन्दर्भमा शिक्षा विधेयक, ऐनसँग सम्बन्धित सम्पूर्ण शिक्षाविद्हरु योसँग जोडिएका महासंघहरु, विभिन्न संगठनहरु, सबैबाट केही महत्वपूर्ण सामुदायिक विद्यालय, निजी विद्यालय सबैका तर्फबाट केही महत्वपूर्ण कुरा आए । ती कुरालाई सम्माननीय प्रधानमन्त्रीको तेतृत्वमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक लियो । हामीले यसलाई थप छलफल गर्नका लागि केही समय लियौँ । सम्बन्धित सबैसँग हामीले उहाँहरुले उठाएका जायज मागलाई एक महिना छलफल गरेका छाँै । पहिलाको भन्दा अहिले सबैका सुझाव छलफल गरेर अहिले प्रश्तुत विधेयकमा धेरै हदसम्म समावेश गर्ने प्रयास गरेका छौँ । छलफल र सहकार्यबाट समाधान सबैकुरा गर्न सकिन्छ । अहिलेको मुलुकको वर्तमान अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ, ऋणात्मक छ, अहिलेको अर्थतन्त्रले धान्न नसक्ने माग र मुलुकको संविधानले व्यवस्था गरेको भन्दा परको माग बाहेक सबैकुरा हामी छलफलबाट समाधान गर्न तयार छौँ । मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरु, मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुनेगरी यी दुई कुरा बाहेक सबै कुरामा सरकार संसदमा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न र सबैकुरा मिलाउन सरकार तयार छ’, उनले भने । कार्यवाहक प्रधानमन्त्री खड्काले सकरारले शिक्षा क्षेत्रमा रुपान्तरणको आवश्यकता महशुस गरेको बताए । उनले प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयासहरु भइरहेको पनि बताए । उनले शैक्षिक कार्यतालिकालाई पूर्वअनुमान योग्य बनाउने सन्दर्भमा समयमा नै भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी विश्वविद्यालयहरुको एकीकृत र शैक्षिक कार्ययोजना तयार भएको बताए । उनले व्यवसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गर्दै प्राविधिक र व्यवसायिक शिक्षालयहरुको गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबैबाट यथेष्ट पहल हुनुपर्ने बताए । उनले भने, ‘शिक्षा क्षेत्रमा रुपान्तरणको आवश्यकता महशुस गरिएको छ । प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयासहरु भइरहेका छन् । यसलाई अझ प्रभावकारी रुपमा आघ बढाउनुपर्ने आजको आवश्यकता हामीले महशुस गरेका छाँै । शैक्षिक कार्यतालिकालाई पूर्वअनुमान योग्य बनाउने सन्दर्भमा समयमा नै भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी विश्वविद्यालयहरुको एकीकृत र शैक्षिक कार्ययोजना तयार भएको जानकारी सबैले प्राप्त गरेका छौँ । त्यसबाट शैक्षिक क्षेत्र व्यवस्थापनका साथै शैक्षिक गुणस्तरसमेत अभिवृद्धि हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ । व्यवसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको छ । विद्यार्थीलाई यसतर्फ आकर्षण गरी स्वदेशमै रोजगारीका अवसरहरु प्रदान गर्न सकिन्छ । यसका लागि प्राविधिक र व्यवसायिक तथा तालिम लगायतका शिक्षालयहरुको गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबैबाट यथेष्ट पहल हुनुपर्ने देखिन्छ । कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा क्षेत्रको सुधारको सन्दर्भमा सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको र काम पनि अघि बढीसकेको बताएका छन् ।

कर्णालीको योजना : एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा

भेरीगङ्गा, सुर्खेत । कर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय बनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने र प्रदेशका १० जिल्लामा एक/एक नमूना विद्यालय बनाउने गरी कार्यक्रम लागू गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै शिक्षा सुधारअन्तर्गत सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि, शिक्षण सिकाइ केन्द्र तथा विद्यालय व्यवस्थापन प्रणाली स्थापना गर्ने उल्लेख गरिएको थियो। यसका लागि कार्यविधि तयारी अन्तिम चरणमा पुगेको समाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा तथ्याङ्क शाखा प्रमुख बलवीर सुनारले जानकारी दिए। ‘दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादन गर्न एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्नेगरी बजेट विनियोजन भएको छ’, उनले भने, ‘कार्यविधि तयार भइरहेको र यसलाई कुन मोडेलमा लैजाने भनेर छलफल जारी छ । हामी केही दिनमा यो कार्यक्रम सञ्चालन गर्न कार्यविधिलाई अन्तिम रुप दिन्छौँ ।’ अहिलेसम्म शिक्षाको लगानीका नाममा भौतिक संरचना निर्माणमा मात्रै खर्च गरिने गरिएकाले अब शिक्षण सिकाइ र दक्ष जनशक्ति उत्पादनलाई जोड दिएर लगानी गर्न आवश्यक रहेको प्रमुख सुनारले बताए । ‘शिक्षामा लगानीका नाममा भवन मात्रै दियौँ’, उनले भने, ‘शैक्षिक सिकाइमा सुधार गर्दै लैजाने उद्देश्यले हामीले शिक्षामा लगानी गर्दैछौँ । अब प्रविधिमैत्री शिक्षासँगै व्यावहारिक शिक्षा चाहिन्छ, त्यसका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना विद्यालय बनाउने गरी हामी कार्यक्रम लागू गर्दैछौँ ।’ सरकारले सामाजिक विकास मन्त्रालयमार्फत खर्च गर्नेगरी यो कार्यक्रमका लागि १४ करोड विनियोजनसमेत गरेको छ । प्रदेश सरकारले प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न दक्ष सीपयुक्त जनशक्ति उत्पादन र सिकाइ क्षेत्रमा प्राथमिकता दिएको प्रमुख सुनारले बताए। यसैबिच, सङ्घ र स्थानीय तहसँगको समन्वय र सहकार्यमा कर्णाली प्रदेशलाई पूर्णसाक्षर प्रदेश घोषणा यही आर्थिक वर्षभित्र गरिसक्ने लक्ष्य लिइएको छ । कर्णालीका हिमाली पाँच जिल्ला पूर्ण साक्षर हुन सकेका छैनन् । तीन वर्षभित्रै प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिसक्ने लक्ष्य लिइए पनि हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पा जिल्ला पूर्ण साक्षर हुन सकेका छैनन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये ३६ वटा स्थानीय तहमा पूर्ण साक्षर हुन बाँकी रहेको भन्दै प्रमुख सुनारले यो वर्षभित्र बाँकी रहेका स्थानीय तहहरुलाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिइएको बताए । प्रदेश सरकारले महिलाहरुलाई प्राविधिक शिक्षाको पहुँचमा लिन प्रदेश सरकार गठन भएदेखि नै छोरीबुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिलेसम्म एक हजार दुई सयभन्दा धेरै छोरीबुहारी यो कार्यक्रमबाट लाभान्वित भइसकेको जनाइएको छ ।

बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमा सर्भेयरको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका थिए । अध्यक्ष सिलवालले प्राधिकरणबाट संचालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयबाट संचालित परीक्षामा भागलिन प्राधिकणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले आज संचालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सबमिट गरेका थिए । सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ । अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेश कुमार लालको उपस्थिति रहेको थियो ।

रक्षामन्त्री खड्काद्वारा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा आज उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरेका छन् । विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्गिक, सामुदायिक र निजी क्याम्पसलाई पुरस्कार प्रदान गरिएको हो । यसै वर्षदेखि स्थापित समाजकल्याण शिक्षा पुरस्कारसमेत प्रदान गरिएको छ ।

विद्यार्थीमा सफलताको भोक हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताए । उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए । उनले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए । उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरुले सफलताको भोक पनि राख्नुस् । परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन् । म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भनने तनाव छ । ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन् । सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आश नगर्ने हो । कर्म इमान्दारिताका साथ गर्नुपर्छ ।’ महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

ईभी गाडीको शतप्रतिशत बीमा सलिकोले गर्ने, पूर्ण क्षति भए नयाँ कार किन्न पैसा दिने

काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा र ब्याट्रीमा नोक्सानी हुँदा भने उपभोक्ताहरु ठूलो मारमा पर्ने गरेको पाइएको छ । ब्याट्री नोक्सान हुँदा बीमाले ५० प्रतिशत मात्र क्षतिपूर्ति दिन्छ भन्ने उपभोक्तामा जानकारीको अभावले बीमितहरु समस्यामा पर्न थालेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी कुवँर क्षेत्री बताउँछन् । विद्युतीय गाडीको कुल मूल्यको ५० देखि ६० प्रतिशत ब्याट्री मूल्य पर्छ । तर, वर्तमान मोटर बीमा निर्देशिकाअनुसार ब्याट्री नोक्सान भएमा बीमितले क्षति मूल्यांकनको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी पाउने छन् । ५० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय कारकाे ब्याट्री लागत मात्र नै २५ लाखभन्दा बढी हुन्छ । नयाँ गाडीको ब्याट्रीमा पूर्ण क्षति भयो भने बीमितले १२ लाख ५० हजार रुपैयाँ मात्र पाउँछन् । जवकी नयाँ व्याट्री किन्नु पर्दा २५ लाख रुपैयाँ भन्दा बढी पर्छ । ब्याट्री क्षति हुँदा नोक्सान जति हुन्छ त्यसको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी हुँदा बीमित दुःखी मात्र भएका छैनन्, बीमा कम्पनीप्रति आक्रोश व्यक्त गर्ने, गाली गलौज गर्ने जस्ता समस्या देखिएको नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्रीको भनाई छ । ब्याट्री नोक्सान हुँदा ५० प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्थाबारे गाडी बिक्रेताले पनि ग्राहकलाई जानकारी नदिने र उपभोक्ताले पनि बीमा रक्षावरणबारे पूर्ण जानकारी विनै बीमा गर्ने भएकोले यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ । विकल्पमा पुरक बीमा लेख, नयाँ कार किन्ने सुविधा पनि बीमितहरुको समस्या देखेपछि सलिकोले भीआईपी प्लस योजना ल्याएको छ । यसमा ब्याट्री नोक्सान हुँदा १०० प्रतिशत क्षतिपूर्ति पाउने, पुरानो गाडी पूर्ण रूपमा नोक्सान भएमा सोही प्रकार, बनौट र मोडलको नयाँ गाडी किन्न पैसा दिने, क्षतिमा ह्रास कट्टी रकममा पनि सोधभर्ना गर्ने लगायत सुविधा रहेको उक्त कम्पनीले जनाएको छ । भीआई पी प्लस योजनामा थप चार सुविधा थपिएको कम्पनीले जनाएको छ । सवारी पूर्ण क्षति भएको अवस्थामा सोही मोडल, प्रकार र बनौटको नयाँ सवारी किन्न सम्बन्धित गाडीको आधिकारिक बिक्रेताको कर बीजक मूल्य बराबर नगद भुक्तानी दिइनेछ । पूर्ण नोक्सान नभएको अवस्था कुनै पनि पार्टस फेर्नुपर्दा ह्रास कट्टी रकम बराबर शोधभर्ना गरिनेछ । सवारी दुर्घटना भइ वर्कशपमा बनाउन दिनु परेको अवस्थामा बीमितलाई १४ दिनसम्म दैनिक १५०० रुपैयाँ सवारी भाडा यातायात शिर्षकमा भुुक्तानी गरिने छ । सवारी दुर्घटना चालक वा यात्रुको व्यक्तिगत सामान नोक्सान भएमा १० हजार रुपैयाँसम्म रकम भुक्तानी गरिनेछ । यस्तो प्रकारको बीमा गर्दा करिब १६ प्रतिशत अतिरिक्त बीमा शुल्क लाग्ने कम्पनीले जनाएको छ । भीआईपी प्लसमा सलिकोले मोटर बीमा लेखसँग पुरक बीमा लेख पनि जारी गर्दछ । त्यसको प्रिमियम करिब ५/६ हजार रुपैयाँ बढी हुने क्षेत्रीले बताए ।